पोखरी, चौर, फेरि पोखरी : पिम्बहाः पुखु संरक्षणको कथा

- शिशिर वैद्य

सार्वजनिक जग्गा र पोखरीमाराको गिद्धे दृष्टिबाट बचेर कसरी सुन्दर र संरक्षित भयो ?


पाटन सहर पस्ने प्राचीन ढोका हो, पाटनढोका । ढोकामा पौभा कलाका पारखी हातले सुन्दर कलाकृति कोरिएका छन् । सुन्दर देखिएको छ ढोका । दुलही भित्र्याउन सिंगारिएको घरको मूलढोकाजस्तो । पाटन सहर पौभाकला, वास्तुकला, काष्ठकला, मूर्तिकलाका लागि प्रख्यात छ । ढोकाबाट सुरु सहर विभिन्न टोल, चोक, बहा, बही हुँदै फैलिएको छ । तिनै बहाःहरूमध्ये एक पाटनढोका नजिकै रहेको छ- पिम्बहाः ।

रानीपोखरी पुनर्निर्माणको चर्चासँगै चर्चित भएको थियो यो बहाः । पिम्बहाःलाई यहाँ रहेको पोखरीले जीवन्त बनाएको छ । पिम्बहाः पुखु (पोखरी) भनिन्छ पोखरीलाई । जमः पुखु, लाखे पुखु पनि भनिन्छ । स्थानीय प्रयासमा संरक्षित छ, पुखु । यसपटकको वर्षाका कारण पानी भरिएर झन् सुन्दर बनेको छ पुखु । पिम्बहाः पुखुको पानीको स्रोत के हो, कसैलाई थाहा छैन । पानी बगेर कता जान्छ, त्यो पनि कसैलाई थाहा छैन । पोखरीमा रमाएर खेलिरहेका माछा हेर्न र लय मिलाएर ट्वार ट्वार कराउने भ्यागुताको आवाज सुन्न युवायुवती झुम्मिने क्रम बढेको छ । माछा हेर्ने बहानामा डेटिङ स्पट भएको छ पोखरी आजभोलि ।

तेह्रौँ शताब्दीको एक अभिलेखमा पोखरीको वर्णन भेटिनुले यो निकै पुरानो हो भन्ने प्रमाणित गर्छ । तर यो पोखरी कसले बनायो भन्ने विषयमा ऐतिहासिक प्रमाण भेटिएको छैन । किंवदन्ती र जनश्रुति नै यसका प्रमाण हुन् । पोखरीको निर्माणसँग 'गयो बाजे' नामक एक तान्त्रिकको नाम जोडिएको छ ।

जनश्रुतिअनुसार तिनै गयो बाजेले 'लाखे' (राक्षस) हरूलाई वशमा पारेर रातभरमा पोखरी निर्माण गर्न लगाएका थिए । पोखरी निर्माण गर्दागर्दै उज्यालो हुन लागेपछि लाखेहरू एउटा ठूलो ढुंगामुनि लुकेको जनविश्वास छ । लाखेहरू लुकेको त्यो ठूलो ढुंगा पोखरीमा अझै छ । 'लाखे ल्ह्वं' भन्छन् स्थानीय उक्त ढुंगालाई ।

सन् १८०० तिर बनेको एउटा चित्र भेटिएको छ पिम्बहाः पुखुको । चित्रमा पिम्बहाः पुखु निकै सुन्दर छ । त्यही चित्रलाई आधार मानेर पोखरीको स्वरूप संरक्षित गर्ने प्रयासमा छन् स्थानीय । पुखु संरक्षणका लागि चारैतिर फलामे बारसहितको पर्खाल लगाइएको छ । पोखरीको बीचमा रहेको पाटीसम्म पुग्न सुन्दर पुल (बाटो) निर्माण भएको छ ।

ललितपुरमा थुप्रै पोखरी थिए उहिले । ती अधिकांश पोखरी अतिक्रमित हुँदा लोप भइसकेका छन् । सार्वजनिक जग्गा र पोखरीमाराको गिद्धे दृष्टिबाट बचेर पिम्बहाः पुखु कसरी सुन्दर र संरक्षित भयो ? पिम्बहाः पुखु छेउ टहलिरहँदा यस्तै प्रश्न उर्लेका थिए मनमा ।

संरक्षणअघि पिम्बहाः | तस्बिर : शिशिर वैद्य


कसरी थाहा पाऊँ, कसलाई सोधौँ भनी पोखरी वरपर घुमिरहँदा भेटिएका थिए, प्राध्यापक केदारलाल श्रेष्ठ । श्रेष्ठसँगको भेट ढुंगा खोज्दा देउता मिलेजस्तै भयो । पोखरी संरक्षणका नायो (नाइके) उनै रहेछन् । प्रा श्रेष्ठकै अध्यक्षतामा ०५६ मा गठित समितिको प्रयासमा लोप हुन लागेको पोखरीले अहिलेको नयाँ स्वरूप पाएको रहेछ । पोखरीको उत्तरपट्टि चण्डेश्वरी मन्दिरको आडैमा श्रेष्ठको घर छ । हामी केही बेर त्यहीँ बसेर गफियौँ ।

श्रेष्ठको अध्यक्षतामा गठित समितिले पोखरी संरक्षणको कदम चाल्नुअघि पिम्बहाः पुखुको अस्तित्व विलुप्त हुने अवस्थामा थियो । जलकुम्भी झारले पोखरी भरिएको थियो । बच्चाहरू बल खेल्थे त्यहाँ । पर्खाल ढलेका थिए, मन्दिर र पाटी भत्किएको थियो । श्रेष्ठ सम्झन्छन्, 'जर्मन सहयोग नियोगका प्रफुल्लमान सिंह र प्रयागराज जोशी मेरो घरमा रोटरी मिटिङको बहानामा नआएका भए सायद यो पोखरीको अवस्था अहिलेको जस्तो हुँदैनथ्यो ।'

'यस्तो ऐतिहासिक पोखरीलाई किन संरक्षण नगरी चौर बन्न दिएको त डा साब ?' चिन्ता व्यक्त गर्दै प्रफुल्लले बोलेका यी वाक्यले भौतिकशास्त्रका प्राध्यापक श्रेष्ठलाई निकै बिझ्यो । सरकारको आँखामा पोखरीको दुरवस्था परेको थिएन । नगरपालिकालाई चासो नै थिएन । स्थानीय प्रयासले मात्र पोखरी संरक्षण गर्नु सम्भव थिएन । यसमा उपाय निकाले प्रफुल्लले, 'ल तपाईं अघि सर्छु भन्नुस्, पैसा म जुटाइदिन्छु ।' प्रफुल्लको आर्थिक सहयोग मिलाइदिने आश्वासनलगत्तै श्रेष्ठ पोखरी संरक्षणका लागि जुर्मुराए । टोलवासीसँग सल्लाह गरे । तत्कालीन वडाध्यक्ष चन्द्र महर्जन पनि सहयोग गर्न तयार भए । त्यसपछि बन्यो, १३ सदस्यीय समिति । अध्यक्ष थिए श्रेष्ठ । जर्मन सहयोग नियोग र स्थानीयको आर्थिक सहयोग र सहभागितामा पोखरी संरक्षणले गति लियो । त्यसबखत ललितपुर नगरपालिकाका मेयर थिए, बुद्धिराज वज्राचार्य ।

पोखरी संरक्षणको क्रमिकता सम्झिँदै श्रेष्ठ भन्छन्, "हामीले सबैभन्दा पहिले पोखरी पूरै ढाकेर उम्रिएको जलकुम्भी निकाल्यौँ । बाक्लोसँग गाँजिएको जलकुम्भी निकाल्नु सजिलो थिएन । जलकुम्भी निकालिसक्दा त्यसको मुनि बाक्लो हिलोको तह थियो । हिलो हटाएपछि बल्ल पोखरी क्षेत्र सफा देखियो । हिलोमुनि थियो कालो माटो । यसलाई हामीले चलाएनौँ । माटोको त्यो तह चलाएको भए पोखरीमा पानी अडिँदैनथ्यो ।"

पिम्बहाः पुखुको सौन्दर्य र चर्चा सुन्न जति आनन्द आउँछ, यसको संरक्षणमा परेको मिहिनेत र कष्ट निकै नरमाइलो छ ।

पछिको पिम्बहाः पुखु | तस्बिर : रवि मानन्धर


पिम्बहाः पुखु जीर्णोद्धारका क्रममा पीँधमा इँटा छापियो । पोखरीको माटोलाई नचलाई छापिएको इँटामा कुनै मिश्रण प्रयोग गरिएन । कहीँ-कहीँ नमिलेको ठाउँमा बालुवा राखियो । इँटा छाप्नुको तात्पर्य बेलाबेला सफा गर्न सजिलो होस् भन्ने मात्रै थियो । पोखरीको बीचमा रहेको पाटीसम्म पुग्न बनेको माटोको ढिस्को साँघुरो थियो । त्यसले पोखरीको पानीको बहाव छेक्थ्यो । त्यसैले ठूल्ठूला ह्युमपाइप हालेर पानी चारैतिर बग्न मिल्ने बनाइयो । यसले पोखरीको बीचसम्म पुग्ने बाटो सुन्दर देखियो ।

श्रेष्ठका अनुसार पिम्बहाः पुखुको एउटा अद्भुत विशेषता थियो- पोखरीको पीँधदेखि सतहसम्म लगाइएको ढुंगाको पर्खाल । ठूल्ठूला ढुंगा खप्ट्याएर मात्र बनाइएको पर्खालका ढुंगा जोड्न कुनै प्रकारको सम्मिश्रण प्रयोग गरिएको थिएन । तर पोखरीमा पानी भरिन्थ्यो ।

किंवदन्तीअनुसार ती ढुंगा लाखेहरूले ललितपुरको दक्षिणी भाग टीकाभैरवबाट गुडाउँदै ल्याएका थिए । लाखे अर्थात् राक्षस । समितिले जीर्णोद्धार गर्दा सो पर्खाललाई जस्ताको तस्तै छाडिएको थियो । तर ०६२/६३ को आन्दोलनपछि ललितपुर उप-महानगरपालिकाले पानी चुहिएको बहानामा पोखरी वरपरको ढुंगाको पर्खाल ढाकेर ढलान गर्यो । ढलानको बाहिरी भागमा फेरि ढुंगाका टायल टाँसियो । यससँगै पिम्बहाः पुखुको ऐतिहासिकता र प्राकृतिक सौन्दर्य नासियो । पोखरीका भित्ताबाट रसाएर आउने पानीको बाटो पनि बन्द भयो ।

पिम्बहाः पुखुको सौन्दर्य र चर्चा सुन्न जति आनन्द आउँछ, यसको संरक्षणमा परेको मिहिनेत र कष्ट निकै नरमाइलो छ । थुप्रै मानिसको श्रम, विवेक, समय खर्चिएपछि बल्ल पोखरीले यो रूप प्राप्त गरेको छ । पटक-पटक गरी करोडौँ रुपैयाँ खर्च भएको छ । विभिन्न स्वार्थ समूहको गिद्दे नजरबाट बच्दै/बचाउँदै पोखरी अहिलेको रूपमा आएको छ ।

मल्लकालीन इतिहास बोकेको रानीपोखरी संरक्षणमा काठमाडौँ महानगरले पिम्बहाः पुखबाट केही पाठ सिके एउटा ऐतिहासिक पोखरीको अस्तित्व बाँचिरहने थियो ।

सुन्दर पुखु हेर्न युवायुवती झुम्मिने क्रम बढेको छ । तस्बिर :  यमन मानन्धर


०५६ मा पिम्बहाः पुखु संरक्षणबारे छलफल चल्दै गर्दा दरबारबाट आधा पोखरी पार्क बनाउने प्रस्ताव आयो । किन आयो ? अझै बुझ्न सकेका छैनन् श्रेष्ठले । पोखरीको आधा भाग पार्क बनाउने तथा आधा पोखरी नै राख्ने निर्णय र बजेटसहित नगरपालिकामार्फत आएको प्रस्तावले समिति सदस्यहरू अक्क न बक्क परेका थिए । तर समितिले उक्त प्रस्ताव मानेन बरु उल्टै सर्त तेस्र्यायो- पोखरीका लागि बजेट दिने भए लिन्छौँ । त्यो बजेट नगरपालिकाले पूर्णचण्डीको पोखरीमा सार्यो ।

आधा पार्क बनाउने र आधा पोखरी नै राख्ने निधो भयो । पूर्णचण्डीमा अहिले न पोखरी बाँकी छ, न त पार्क । पार्कका लागि पोखरीको पीँधको माटो चलाउँदा पोखरीको पानी थाम्ने प्राकृतिक शक्ति क्षीण भयो । जे गर्नु हुँदैन भनिएको थियो, त्यही गल्ती गर्दा पूर्णचण्डीको पोखरी सुक्यो । पार्कको जमिन अतिक्रमित भएर बस्ती बस्यो ।

पिम्बहाः वरिपरिको वातावरण संरक्षण, ब्रेल ट्रयाक निर्माण, बर्खे पानी संकलन, पोखरीमा माछापालन, सरसफाइलगायत थुप्रै काम नयाँ समितिले गरिरहेको छ । आधुनिक निर्माण सामग्री प्रयोग गरेर भइरहेको यो संरक्षणले कालान्तरमा नकारात्मक असर पार्नेमा चाहिँ स्थानीय र समिति सजग भएको नभएको बताउँछन्, श्रेष्ठ । पहिले पिम्बहाः वरिपरि इँटा छापिएको थियो । अहिले सिमेन्ट प्रयोग गरेर ढुंगा छापिएको छ । यसरी सिमेन्ट प्रयोग गर्दा जमिनको पानी रिचार्ज प्रक्रिया बन्द भएको छ ।

पिम्बहाः पुखु संरक्षण उदाहरणीय छ । पिम्बहाः पुखुभन्दा काठमाडौँको रानीपोखरी क्षेत्रफलमा ठूलो छ । तर दृढ संकल्प र आत्मीयताबिना सम्पदा संरक्षण सम्भव हुँदैन भन्ने पिम्बहाः पुखुले प्रमाणित गरिसकेको छ । मल्लकालीन इतिहास बोकेको रानीपोखरी संरक्षणमा काठमाडौँ महानगरले पिम्बहाः पुखबाट केही पाठ सिके एउटा ऐतिहासिक पोखरीको अस्तित्व बाँचिरहने थियो ।

प्रकाशित: फाल्गुन २६, २०७५