मरेपछि 'गद्दार स्टालिन’

- हरिराम जोशी

क्रान्तिबारे जिज्ञासा उत्पन्न हुँदा म १२ वर्षको मात्रै थिएँ । पद्मशमशेरको शासनकाल १७ वैशाख ००४ मा काठमाडौँका तीनै सहर तथा वीरगन्ज, विराटनगरलगायत स्थानमा राणा शासनविरुद्ध 'इन्कलाव जिन्दावाद’को नारा घन्कियो । त्रिचन्द्र कलेजका विद्यार्थी कम्युनिस्ट समर्थक पुष्पलाल श्रेष्ठको नेतृत्वमा राणा शासनविरोधी क्रियाकलाप भइरहे ।

राणा शासन हटाउने मूल लक्ष्य लिएर पुष्पलाल, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्यले कोलकाताको श्यामबजारमा सम्मेलन गरी नेपाल कम्युनिस्ट पार्टी स्थापनाको घोषणा गरे, ७ वैशाख २००६ मा । तिनैमध्येका निरञ्जनगोविन्द वैद्यसँग मामाको नाता भएकाले मलाई कम्युनिस्ट पार्टीप्रति लाग्न प्रेरणा मिल्यो । उबेला वैद्यको कार्यक्षेत्र वीरगन्ज थियो । राणा, कांग्रेस र भारतबीचको सहमतिले निरंकुश राणातन्त्र हटे पनि दिल्ली सम्झौता अस्वीकार गरेपछि नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धित भयो, २००८-२०१३ सम्म ।

पाटन मंगलबजार टंगल न्हागल टोलमा बाजेले पुख्र्यौली आम्दानी स्रोतका रुपमा सानो कपडा पसल चलाउँदै आएका थिए । बाजेको मृत्यु (२००५) पछि बाबा भारथराम जोशीको काँधमा कपडा पसलको जिम्मेवारी आइलाग्यो । त्यो पसलमा ०५-०६ मा राजनीतिमा सक्रिय माणिकलाल र भक्तलाल श्रेष्ठ आइरहन्थे । बासँग राजनीतिबारे कुराकानी गर्थे । त्यसैको प्रभावका कारण कम्युनिस्ट पार्टीका नेता/कार्यकर्तालाई बाको सहयोग र समर्थन रहन थाल्यो ।

बाजेले चलाएको त्यो कपडा पसलमा कुलेखानीदेखि मकवानपुरसम्मका मानिसको भीड लाग्थ्यो । दाजु केशवराम जोशी (२००९) नेपाल कम्युनिस्ट पार्टी ललितपुरको जिल्ला सेक्रेटरी र म ललितपुर नगर कमिटीको सेक्रेटरी भयौँ । कम्युनिस्ट नेता सिद्धिलाल सिंह सहपाठी थिए । मैले नै उनलाई नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गराएँ । पार्टीमा लागेपछि कम्युनिस्ट कार्यकर्ताको गाँस, बास र कपासको जोहोसमेत हाम्रै पसलबाट जुटाउनुपर्‍यो बाले । पसलको आम्दानी कार्यकर्ता पाल्न प्रयोग गरियो । आफ्नै परिवारका १२ सदस्य र भूमिगत कम्युनिस्ट नेता/कार्यकर्ताले खाना खाने थलो हाम्रै घर बन्यो । त्यसकारण सबै श्रीसम्पत्ति सकिँदा टाट पल्टियौँ । कपडा पसलको व्यापारले थेगेन ।

त्यतिबला हाम्रो बासथलो इन्द्रचोक थियो । कम्युनिस्ट कार्यकर्ताका लागि सेल्टरजस्तै बन्यो २००७-२०१२ सम्म हाम्रो घर । नेकपाको प्लेनम र सेमिनार हाम्रै घरमा हुन्थे । पार्टीका आगामी रणनीतिबारे गुप्तवासी नेताहरुले त्यही घरमा योजना बुन्थे ।

पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, निरञ्जनगोविन्द वैद्य, तुलसीलाल अमात्य, शम्भुराम श्रेष्ठ, शैलेन्द्रकुमार उपाध्याय, साधना/सहानादेखि केशरजंग रायमाझीलगायतका नेता/कार्यकर्ताको आउजाउ भइरहन्थ्यो हाम्रो घरमा ।

रोचक के भने निरञ्जनगोविन्द वैद्य पुष्पलालको उपस्थितिमा हाम्रै घरबाट बेहुला बनेर दुलही लिन गएका हुन् । ०११ टंकप्रसाद आचार्य प्रधानमन्त्री भएको समय (०११-०१४) कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा भयो ।

कार्यकर्तालाई एउटै भान्सामा खुवाए पनि बालाई कहिल्यै कम्युनिस्ट पार्टीको कार्यकर्ता बन्ने रहर जागेन । देशमा आमूल परिवर्तनका लागि दुवै छोरा कम्युनिस्ट राजनीतिमा लागेपछि आफ्नै जायजेथा सकाएर नेता/कार्यकर्ताको संरक्षण गर्ने बाको चाहना भने पूरा हुन पाएन ।

कम्युनिस्ट पार्टीका नीति र सिद्धान्त विदेशी विचारबाट प्रभावित हुने गर्छन् । विद्यालय तह (०१०) सकाएर म त्यही वर्ष खुलेको पाटन इन्टरकलेजमा भर्ना भएँ, अध्ययन अगाडि बढाउन । अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीका सिद्धान्त घोकेर कार्यकर्ता बनेको मेरा लागि ०११ अविष्मरणीय भइदियो । त्यही बेला सोभियत संघ (हाल रुस) मा एकछत्र कम्युनिस्ट राज चलाइरहेका जोसेफ स्टालिनको मृत्यु भयो । बाँचुन्जेल उनलाई रुसमा 'देवता' समान पुजिन्थ्यो । मर्नासाथै उनैका उत्तराधिकारी खुश्चेभले गद्दार घोषित गरिदिए । यस घटनाले कम्युनिज्मप्रतिको हामी दाजुभाइको आस्थामा उलटफेर ल्याइदियो । कुनै बेला पार्टी चलाउन पाटनका गल्लीगल्लीमा चन्दा माग्न घरदैलो चहार्ने म ०१२ मा कम्युनिस्ट पार्टीबाट मात्र नभई राजनीतिबाटै विश्राम लिन पुगेँ। मैले कम्युनिस्ट पार्टी परित्याग गरेँ, दाजुचाहिँ नेपाली कांग्रेस प्रवेश गरे ।

जोशी इतिहासकार तथा पुरातत्वविद् हुन्

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: फाल्गुन २४, २०७५

ट्याग: स्मरण