झिनो विषय, रसिलो प्रस्तुति

फिल्म : लुका छुपी | रेटिङ : ३/५

- गोकर्ण गौतम

भारतीय कानुनले 'लिभ-इन रिलेसनसिप'लाई मान्यता दिइसकेको छ । केटाकेटीको मञ्जुरी छ भने विवाह नगरी एकसाथ बस्न सक्छन् । तर समाज र धर्मका अगुवायस्तो जोडीलाई अपराधीको व्यवहार गर्छन् । निर्देशक लक्ष्मण उटेकरले युवायुवतीको यही व्यथालाई केन्द्रमा राखेर फिल्म बनाएका छन्, लुका छुपी । भारतीय समाज र त्यहाँका तन्नेरीको पछिल्लो मनोदशा उतारिएको छ । कथामा उलटपुलट केही हुन्न, सानो घेराभित्रै सकिन्छ तर रसिलो प्रस्तुतिले फिल्म हेर्न लायक बनेको छ । मुख्य भूमिकामा छन्, कार्तिक आर्यन र कृति सानोन ।

सानो सहर मथुराको स्थानीय टेलिभिजनका स्टार रिपोर्टर हुन्, गुड्डु (कार्तिक) । दिल्लीबाट आमसञ्चार पढेर आएकी रश्मि (कृति) त्यही टीभीमा आइपुग्छिन् । गुड्डु उनलाई मन पराउँछन् । विवाहको प्रस्ताव राख्छन् तर रश्मि विवाहअगाडि सँगै बसेर एकअर्कालाई चिन्नुपर्ने अडान राख्छिन् । त्यसैले परिवारलाई पत्तै नदिई सँगै बस्छन् । अर्काको खुबै चियोचर्चो गर्ने समाजमा उनीहरुले कति तनाव झेल्नुपर्ला ? यही सवालवरपर घुमेको छ फिल्म । क्लाइमेक्स सन्देशमूलक बनाउन खोजिएको छ ।

प्रायः लभस्टोरी फिल्ममा केटा विवाहलाई आलटाल गर्छ, केटी हतारिन्छे । लुका छुपीमा उल्टो । गुड्डुलाई जतिसक्दो छिटो रश्मिलाई दुलही बनाउनु छ तर रश्मिचाहिँ 'लिभ-इन रिलेसन'मै रमाउन खोज्छिन् ।उनलाई हुनेवाला पतिको परीक्षण गर्नुछ । यी पात्रको चरित्रचित्रण रोचक छ । सोही कारण उनीहरुका हरेक आनीबानी दर्शकलाई प्रिय लाग्छ । मध्यान्तरसम्म कथामा उल्लेख्य बदलाव आउँदैन । कसैलाई नभनी सँगै बस्छन्, बिहेको नाटक गर्छन्, बस् । तर परिस्थिति यस्तो बन्दै जान्छ कि विवाह नगरी सुखै पाउँदैनन् । त्यहीबेला विवाह गर्ने वातावरण मिल्दैन ।

पटकथाकार रोशन शंकरले सामान्य घटनाक्रमलाई पनि हास्य र कथामा मलजल गर्ने ढंगले बुनेका छन् । सहायक पात्रहरुले रोचकता थप्छन् । गुड्डुको परिवारका सदस्यले पनि दर्शकलाई बरोबर हँसाइरहन्छन् ।

बलिउडमा ठूला बजेट, स्टार र चर्को हल्लाखल्ला गरिएका फिल्म पाखा लाग्दैछन् । सलमान खानको रेस , शाहरुख खानको जिरो, आमिर खानको ठग्स अफ हिन्दोस्तान उदाहरण हुन् तर मध्यम बजेट र नयाँ पुस्ताका अभिनेताका फिल्मले नाम र दाम कमाउँदैछन् । लुका छुपी यही कोटीमा पर्छ । कार्तिक आर्यनको क्रेज उकास्न यस फिल्मको काफी भूमिका छ । चमकधमकबिनै चुस्त पटकथाले फिल्मलाई झर्कोलाग्दो हुनबाट जोगाएको छ । संस्कृति जोगाउने बहानामा प्रस्तुत गरिने हिंस्रक व्यवहार, वर्गीय-जातीय विभेद, पुरातनवादी सोच र अरुको स्वतन्त्रता हनन गर्ने रवैयामाथि कटाक्ष गरिएको छ ।

'लिभ-इन रिलेसनसिप'लाई गहिरो ढंगले उतार्ने मामलामाचाहिँ निर्देशक उटेकर सफल छैनन् । हास्य पैदा गर्न जोड दिँदा विषयवस्तु सतहमै अल्झिएको छ । मध्यान्तरअघि उस्तै आशयका दृश्य दोहोर्याउँदा 'पन्चलाइन'ले मात्र धान्न मुस्किल छ ।

कथालाई प्रभावकारी शैलीमा बुन्नभन्दा कथा भन्ने तरिका स्वादिलो बनाउन ध्यान दिनुको परिणाम हो यो । विवाहका विभिन्न उपक्रममै अल्मल्याउन खोजिएको छ । लाग्छ, विवाहबाहेक केटाकेटीको जिन्दगीमा अरु उद्देश्य छैन । तर यी तमाम कमजोरीलाई ढाकछोप पार्छ, 'सिचुएसनल कमेडी'ले । कार्तिक आर्यनको भावभंगिमामै उनीभित्रको बेचैनी झल्कन्छ ।

प्यारका पञ्चनामाबाट चम्किएका यी अभिनेताका लागि यो फिल्म सम्झनलायक हुनेछ । कृति सानोनको चरित्रमा धेरै भारतीय युवतीले आफूलाई पाउँछन् । कार्तिकका साथी बनेका अपर्शक्ति खुराना पनि प्रिय लाग्छन् । सिनेमाटोग्राफरमा सीमित लक्ष्मण उटेकरले निर्देशकको रुपमासमेत दरिलो सम्भावना देखाएका छन् ।

हलमा दुई घन्टा हाँसेर बिताउन चाहनेलाई लुका छुपीले निराश पार्दैन । गम्भीर फिल्मका पारखीका लागिचाहिँ उपयुक्त विकल्प होइन ।

प्रकाशित: फाल्गुन २४, २०७५