आत्मविश्वासको टेवा

- पी खरेल

विश्वका सभ्यताको फैलावट र संकुचनको मानचित्र दिने स्टडी अफ हिस्ट्रीको निष्पक्ष व्याख्या मलाई बडो आकर्षक लाग्छ । तथ्यलाई सकेसम्म सर्वपक्षीय दृष्टिले विश्लेषण गरेका आर्नोल्ड जे टोयन्बीले पुस्तकमा मानव सभ्यताको विकासलाई आरम्भदेखि नै विश्वसनीय ढंगले पस्केका छन् । ग्रीक, इजिप्सेली र चिनियाँजस्ता संसारका मुख्य सभ्यताको कालक्रमिक विश्लेषण गरिएकाले यो पुस्तक राजनीतिक इतिहास अध्येताका लागि उपयोगी हुन्छ । मीठो भाषा भए पनि यो किताब आख्यानजस्तो द्रुत अध्ययन गर्न सकिँदैन र हुँदैन पनि ।  भनिन्छ, मान्छेका दृष्टिकोण र निर्णय क्षमतामा इतिहास र संस्कृतिको प्रभाव रहन्छ । अहिलेको समय-सभ्यताको स्वरुप र भविष्यका गति आकलन गर्न यो किताब सहयोगी नै हुन्छ । इतिहासलाई तत्कालीन समय र परिवेशकै आधारमा बुझ्नु उपयुक्त हुने धारमै उभिन्छन् टोयन्बी । टोयन्बीय अध्ययनको क्यानभासै ठूलो भएकाले उनले यस किताबको दर्जन भाग लेखेका छन् । तीस वर्षको अथक मिहिनेतमा लेखिएको यो किताब नेपाली इतिहासविद्का लागि गतिलो ऊर्जा पनि हो ।

पत्रकारिताको अभ्यास ०३० देखि गरिरहेकै थिएँ । तर मिडियालाई प्राज्ञिक अध्ययनसँग जोड्नुपर्ने आवश्यकताबोध भएपछि मेरै अग्रसरतामा बीए पत्रकारिताको सुरु भयो ०३६ मा । त्यसपछि मिडिया अध्ययन मेरो रुचि क्षेत्रमा निरन्तर परिरहेको छ । पाँच दर्जन स्थापित लेखकका गहन अध्ययन समेटिएकाले पउल म्यारिस र सु थर्नह्यामद्वारा सम्पादित मिडिया स्टडिज : रिडर  दोहोर्‍याइरहन्छु । मिडियाका मुख्य सिद्धान्तबारे यत्ति मिहीन प्रस्तुति छ कि यस किताबलाई हाम्रो सन्दर्भमा पत्रकारिताको विश्वकोश भने हुन्छ । भनिन्छ, सञ्चार मानव संस्कृति हो । सञ्चारले दिने सन्देश महफ्वपूर्ण हुन्छ । वेशभूषाबाहेक खानपान, चलन र चाडबाड व्यावहारिक सञ्चारका संकेत हुन् । यी मसिना कुरालाई समेत यस किताबमा व्यवस्थित ढंगले राखिएका छन् । मिडिया सिद्धान्तकारका अन्य पुस्तक पढ्न उत्प्रेरित गर्नु यो किताबको सबल पक्ष हो । सञ्चारलाई हामी मुख्यतः तीन कोटिमा राख्छौँ- व्यावहारिक सञ्चार, प्रतीकआधारित सञ्चार र जनसञ्चार । आम बुझाइजस्तो सञ्चार माध्यम भनेको रेडियो, टेलिभिजन, समाचार पत्रिका मात्रै होइन । टेलिशृंखला, वृत्तचित्र, सिनेमा जगतदेखि व्यक्तिगत व्यवहारसम्म सञ्चारका रूप हुन् । भाषण कलादेखि कूटनीतिक भेटघाटका परिवेश सजावट र व्यवहारमा समेत हामी सन्देश/अर्थहरू भेट्न सक्छौँ । जनसञ्चारका समाचार महफ्वपूर्ण हुन्छन् तर अब सामाजिक सन्देशका लागि विज्ञापनसमेत उत्तिकै बलियो माध्यम भइसक्यो । गम्भीर विज्ञापन या सिनेमा निर्माणका प्रविधि र तरिका जान्न चाहनेहरुका लागि पनि यो पुस्तकले मार्गनिर्देश गर्छ ।

जनसञ्चारका प्रख्यात विद्वानहरुको वैचारिकी समेटिएको यस किताबले अरु क्षेत्रजस्तै सञ्चारका पनि शक्ति र सीमा छन् । हामी प्रस्ट हुनु जरुरी छ, लोकतान्त्रिक सञ्चारमा जाँदै छौँ कि पपुलर सञ्चारमा ? सञ्चारमा सूचनाको हेरफेर, सफेद झूठ, अश्वेत प्रोपगान्डा, खैरो प्रोपगान्डा घृणाभावसहितको दानवीकरण र लोकतान्त्रीकरण हुने गर्छन् । यस्ता पक्षबारे मिडियाकर्मी मात्रै होइन, सार्वजनिक सम्बन्धका अध्येता, कलाकार, राजनीतिज्ञ, दलका प्रवक्तादेखि मन्त्री र मन्त्रालयका सञ्चार संयोजकले बुझ्नुपर्छ । त्यसका लागि यो किताबले मद्दत गर्छ, जसबाट सार्वजनिक छवि पनि निर्माण पनि हुन्छ । सञ्चार माध्यममा हुने त्रुटिलाई सच्याउन र लक्षित प्रापकसम्म सन्देश पुर्‍याउने प्रभावकारी तौरतरिकाको सन्धानका लागि पनि यो पुस्तकले सहायता गर्छ ।

वेदका मुख्य दर्शनलाई गम्भीर व्याख्या गरिएको निर्णयसिन्धु मलाई रुचिपूर्ण लाग्यो । केही साथीको सिफारिसमा पढिएको टीकाकार प्रा वेणीमाधव ढकालको यो किताब यज्ञमा केन्दि्रत छ । विभिन्न यज्ञका मनसाय र कारणबारे विशिष्ट अध्ययन गरिए पनि विधान लाद्ने उद्देश्य देखिँदैन । यज्ञलाई कसरी हेरिन्छ, त्यसका आधारमा अभिप्राय र प्रयोजन पनि भिन्न हुन्छ । मैले यसलाई जीवनपद्धतिको रुपमा हेरेँ । जीवनपद्धतिअनुसार जीवन-मूल्य फरक हुने हुँदा ठीक-बेठीक लाग्न सक्छ र त्यहीअनुरुप कार्यान्वयन गर्ने/नगर्ने निर्णय लिनुपर्छ । पूर्वीय दर्शनलाई विशिष्ट ढंगले बुझ्न पनि यस किताब उपयोगी हुन्छ । मौखिक परम्पराबाट आएको वैदिक दर्शन र पद्धतिप्रति कसैलाई चित्त नबुझ्न सक्छ तर आलोचनाका लागि समेत अध्ययन त गर्नुपर्‍यो । यो पुस्तकको सबल पक्ष हो, विधान र पद्धति पछ्याउने/नपछ्याउने निर्णय गर्ने अधिकार हामी आफैँमा रहेको कुरा स्थापित गरिनु ।

हिमवत् खण्डीय दर्शनको व्यावहारिक पाटोलाई बोधमा उतार्ने यो किताबले जीवनमा भौतिकताभन्दा आत्मिक आनन्द सर्वोपरि रहेको बताउँछ । भौतिक साधनको पर्याप्त र सहज उपलब्धताभित्रै पनि असन्तोषले गाँज्न सक्छ । त्यसैले गुणस्तरीय जीवनको सबैभन्दा सरल सर्त व्यक्तिको मानस शान्ति हो । अरुलाई नकारात्मक असर नपर्ने गरी आनन्द लिन सके जीवन अर्थपूर्ण हुन्छ । यस्तै सकारात्मक सोचको वृद्धि गराउने यो किताबले हाम्रो ज्ञान र व्यवहारलाई आध्यात्मिक ढंगले जोडाउँछ ।

वर्तमान जीवनलाई बुझ्ने आफ्नो ज्ञानमा आलोचनात्मकता र आत्मविश्वासको टेवा मिलोस् भनेर किताबमा डुब्छु ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: फाल्गुन २३, २०७५

ट्याग: तीन किताब