विश्वसनीय आत्मकथा

पुस्तक : कप्तान १९९८ | आत्मकथाकार : एलबी क्षेत्री | प्रकाशक : क्रियटिभ बुक्स | पृष्ठ : २१६ | मूल्य : ४२५ रुपैयाँ

- नयनराज पाण्डे

व्यक्ति, उसको भोगाइ र अनुभूतिलाई उसकै शब्द या प्रस्तुतिमार्फत बुझ्ने विधाका रुपमा लिइन्छ आत्मकथालाई । आत्मकथा लेखकले आफ्ना अनुभूति अभिव्यक्त गर्ने क्रममा निजी गन्थन मात्र गर्दैन, त्यो समयको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिलाई पनि प्रत्यक्ष/अप्रत्यक्ष अभिव्यक्त गरिरहेकै हुन्छ । तर आत्मकथा रोचक मात्र भएर पुग्दैन, यो प्रामाणिक पनि हुनुपर्छ । तथ्य या यथार्थलाई आफूखुसी तोडमोड गरेर आफूलाई महान् बनाउने आत्मकथाले केही समयलाई लेखकीय अहंको तुष्टि त गर्ला तर त्यसले आत्मकथा विधा, पाठक र वाङमयसित एकसाथ अक्षम्य बेइमानी गर्छ । नेपालमै पनि केही वर्षयता आत्मकथा लेख्ने या लेखाउने क्रम बढ्दो छ । केही चर्चित भनिएका आत्मकथामै पनि तथ्यलाई तोडमोड गरिएको प्रसंग उठ्छन् । हुन त आत्मकथामा लेखकले बाँचेको या सक्रिय रहेको कालखण्डमा आफ्नो उपस्थिति र योगदान नै लेख्छ । पाठकले खोज्ने पनि त्यही हो । तर त्यसमा लेखक आफ्ना अनुभूतिप्रति कति तटस्थ रहन सक्यो भन्ने कुरा बढी अर्थपूर्ण हुन्छ । यही कुराले आत्मकथालाई गरिमामय र विश्वसनीय बनाउँछ ।

यसै मेसोमा केही महिनाअघि कप्तान १९९८ नामक आत्मकथा कृति बजारमा आएको छ । शीर्षकले संकेत गरेझैँ यो सन् १९९८ ताका नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरिसकेका एलबी क्षत्रीको आत्मकथा हो ।

क्षेत्रीका पिता रोजगारीका क्रममा नेपालबाट गुवाहाटी हुँदै कोलकाता पुगे र त्यहीँको बन्दरगाहमा काम गर्न थाले । बर्दियामा जन्मेका क्षत्रीको बाल्यकाल कोलकातामै बित्यो । किशोरवयबाटै त्यहाँका स्कुल, कलेज, युनिभर्सिटी हुँदै उनले ए डिभिजनका क्लबमा पनि क्रिकेट खेल्ने अवसर पाए । पछि नेपाल आएर उनले बाँके कोहलपुरलाई आफ्नो कर्मक्षेत्र बनाए । नेपालमा पनि क्लबस्तरीय प्रतियोगिता खेले । उनी सन् १९९७ मलेसियामा  सम्पन्न पहिलो एसीसी क्रिकेट प्रतियोगितामा नेपाली टिमको उपकप्तान बने र लगत्तै अर्को वर्ष काठमाडौँमै भएको एसीसी क्रिकेट प्रतियोगितामा नेपाली टिमको कप्तानी सम्हाले ।

तिनताका नेपाली क्रिकेटले विश्व क्रिकेटको खासै ध्यानाकृष्ट गर्न सकेको थिएन । क्षत्री र उनीपछिको समयमा बिस्तारै नेपाली क्रिकेटले लोकप्रियता हासिल गर्दै गयो । खेलाडीको ग्ल्यामर बढ्दै गयो र विश्व क्रिकेटको ध्यान पनि नेपाली क्रिकेटप्रति आकृष्ट हुँदै गयो । एकखालको संक्रमणमा रहेको नेपाली क्रिकेटमा क्षत्रीको प्रवेश भएको थियो । उनले आफ्नो प्रतिभा, अनुभव र आत्मविश्वासले नेपाली क्रिकेटलाई स्थापित गर्न महत्त्वपूर्ण योगदान दिएको कुरा यो किताब पढ्दा छर्लंग हुन्छ । तर किताबमा उनले आफ्नो महिमामण्डन गरेका छैनन्, ससाना प्रसंगमार्फत खेलप्रतिको आफ्नो लगाव, धैर्य, परिश्रम, सफलता-असफलता र संघर्ष सँगसँगै खेलमा हुने राजनीतिक हस्तक्षेपलाई पनि उजागर गरेका छन् ।

पिताको मृत्यु, आमाको संघर्ष, आमा र परिवारसितको आत्मीय सम्बन्ध, आफन्तको मृत्यु, बिहे, प्रेमजस्ता घटनाक्रमबाट उत्पन्न संवेदना यो किताबमा अभिव्यक्त भएको छ । त्यसबाहेक खेल जित्दाका खुसी, क्याप्टेन हुँदा खेलाडीबीचको समन्वय, कोचका रुपमा खेलाडीसित जोडिएका ससाना कुरामा प्रकट गर्ने भावनात्मक प्रतिक्रियाले क्षत्रीको खेलकर्मप्रतिको अथाह विश्वास पनि प्रकट भएको छ ।

नेपालमा महिला क्रिकेटको सुरुआत गरी यसलाई सफलतामा पुर्याउन क्षत्रीले दिएको योगदान अमूल्य छ । किताबको प्रारम्भ यिनै प्रसंगबाट हुन्छ । त्यसले सुरुमै पाठकको चेतनामा लेखकको व्यक्तित्वलाई बलियो किसिमले स्थापित गरिदिन्छ । त्यसपछि पाठकलाई उनका कुरा पढ्न झनै रुचिकर लाग्छ । किताबले पाठकलाई आफूसँगै हिँडाउन थाल्छ । सुरुचिपूर्ण भाषा, छरितो प्रस्तुति, चुस्त सम्पादन र छोटाछोटा अध्यायले पुस्तकलाई अन्त्यसम्मै पठनीय बनाइराख्छ ।

क्रिकेटमा आफ्ना निजी महत्त्वाकांक्षा, संघर्ष र उपलब्धिको बखान मात्रले किताबका पाना भरिएको भए यो एक औसत संस्मरणात्मक कृति बन्ने थियो । तर नेपाली क्रिकेटको विगतदेखि वर्तमानसम्मको रोमाञ्चक यात्रा, क्रिकेट कूटनीति, खेलमा हुने राजनीतिक हस्तक्षेप, नेपालमा क्रिकेटलाई नियमन गर्ने निकाय (क्यान) का समस्या र त्यहाँभित्रको रस्साकस्सी एवं खेलाडीको सामाजिक सुरक्षालगायतका ससाना विवरणले किताबलाई गहकिलो बनाएका छन् । समग्र आत्मकथा पढिसकेपछि नजानिँदो किसिमले पाठकको मनभित्र लेखक क्षत्रीको जुझारु खालको नायक व्यक्तित्व स्थापित भइसक्छ । यो नै किताबको सफलता हो ।

कतिपय आत्मकथामा लेखकले आफ्ना उपलब्धिका लम्बेतान फेहरिस्त दिँदा पनि पाठकले त्यसप्रति संशय प्रकट गरेको देखिन्छ । तर कप्तान १९९८ ले त्यो समस्या भोग्नुपर्दैन । किनभने, यसमा लेखकले बिनातथ्य मपाइँत्व प्रदर्शन गर्ने ठाउँ नै थिएन । किताबमा उल्लिखित तथ्य प्रामाणिक छन् र त्यसले आत्मकथालाई विश्वसनीय बनाएको छ ।

प्रकाशित: फाल्गुन २२, २०७५

ट्याग: पुस्तक