आफन्तको उपेक्षा र चौतर्फी दबाबले कलिलो उमेरमै आत्महत्या

- गोकर्ण गौतम

 पासोमा कोपिला


हात्तीगौँडा सुन्दरबस्तीस्थित डिआर मेमोरियल स्कुलमा २ कक्षामा पढ्थे, समुन्द्र मल्ल, १२ । पढाइमा मध्यम थिए, अतिरिक्त क्रियाकलापमा तेज । होस्टेलमा बस्थे । उनै समुन्द्रले घाँटीमा पासो लगाएर आत्महत्या गरे, ७ फागुनमा । सुसाइड नोटमा लेखिएको थियो, 'म माया (नाम परिवर्तन) का कारण मरेको ।' उनी सोही स्कुलकी एक छात्रालाई मन पराउँथे । छात्राले सोहीअनुरूप व्यवहार गरिनन् । सहपाठीका अनुसार मर्ने दिन बिहानैबाट समुन्द्र तनावमा देखिन्थे । उनको स्थायी घर मुगुको सोरु गाउँपालिका-२ हो । बाबु भारतमा छन्, आमा पक्षघातले घरमै थलिएकी छन् ।

समुन्द्रको घटना सार्वजनिक भएको एक साता पनि बितेको थिएन, सप्तरी मन्सापुरका अर्का एक बालकले त्यस्तै बाटो रोजे । १३ वर्षीय कृष्णकुमार मण्डलले बाँसको बलोमा तन्नाको पासो लगाएर आत्महत्या गरे । कारण खुल्न सकेको छैन ।

गत असारमा तुलसीपुर उपमहानगरपालिका-११, सुकौराका ७ वर्षीय बालक शुभम गिरीले झुन्डिएर आत्महत्या गरे । विद्यालयबाट घर फर्केपछि आफैँलाई सलले बेरेका थिए उनले । स्थानीय निजी विद्यालयमा युकेजीमा अध्ययनरत उनी आमासँग बस्थे । बाबु वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब गएका थिए ।

आम बुझाइ छ, मान्छेले तनाव झेल्न नसकेपछि आत्महत्या गर्छन् र यस्तो ठूलालाई मात्र हुन्छ । बच्चालाई सुखै-सुख हुन्छ, मानसिक दकस हुँदैन । तर माथिका तीन घटनाले यो आम बुझाइ नकार्छन् ।

नेपाल प्रहरीको तथ्यांक अझ डरलाग्दो छ । आर्थिक वर्ष ०७५/७६ मा २ सय ५० बालबालिकाले आत्महत्या गरे, बालिकाको संख्या मात्रै १ सय २९ छ । आँकडामा पाँच वर्षअघि १ सय ८३ थियो । नेपालमा बर्सेनि १३ प्रतिशतले आत्महत्या बढिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि ९ लाख मानिसले आत्महत्या गर्छन् । यो संख्या २०२२ सम्म १५ लाख पुग्ने आकलन छ । अहिले नै प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् । नेपालमा चाहिँ प्रत्येक २ घन्टामा । र, बाहिरी दुनियाँमा जस्तै नेपालमा पनि कम उमेरमा आत्महत्या गर्ने प्रवृत्ति बढ्दो छ । कान्ति बाल अस्पतालका बालमनोरोग विशेषज्ञ डा अरुण कुँवर भन्छन्, "बाबुआमा र बच्चाको भावनात्मक दूरी बढ्दो छ । यस्ता बच्चाले आफूलाई कमजोर ठान्छन्, निराशाको सिकार हुन्छन् । तनावको अन्तिम रूप आत्महत्या हो ।"

अहिलेको पारिवारिक संरचना र माहोल नै बच्चालाई डिप्रेसनमा धकेल्ने मुख्य कारण भएको विभिन्न अध्ययनले देखाएका छन् । बाबुआमा व्यस्त छन्, सानै उमेरमा प्रविधिमा आदत बस्छ, सँगै पढाइमा प्रथम हुनैपर्छ, यति प्रतिशत ल्याउनैपर्छ भन्ने दबाब झेल्नुपर्छ । अतिरिक्त क्रियाकलापमा पनि अब्बल हुनैपर्ने बाध्यता सिर्जना गरिन्छ । तर आफ्नो सन्तानले खास खोजेको के हो, उसको क्षमता कति छ, अभिभावकलाई वास्तै हुँदैन । वरिष्ठ बालमनोविज्ञ गंगा पाठक भन्छिन्, "अभिभावक र स्कुलको दबाबले बच्चा झनक्क रिसाउने, सहन नसक्ने, भोलि के हुन्छ भनेर आकलन गर्न नसक्ने अवस्थामा पुगेका छन् । आफूले भनेजस्तै नहुँदा तुरुन्तै प्रतिक्रिया जनाउँछन् । कहिलेकाहीँ त्यही घातक भइदिन्छ ।" केही समययता आफ्नो सन्तान छिट्टै रिसाउँछ, भनेको मान्दैन, एक्लै बस्छ भन्दै पाठककहाँ परामर्श लिन अभिभावक आत्तिदै आइपुग्छन् । दोषजति सबै बच्चामै थुपार्छन् । भन्छिन्, "जबकि आमाबाबुको व्यवहारबाटै बच्चा आक्रामक भएका हुन्छन्, यसको ख्याल गर्दैनन् । शिक्षित र सम्पन्न भनिएका बाबुआमामै सन्तान कसरी हुर्काउने भन्ने ज्ञान अभाव छ ।"

प्रविधिसँगको सहज पहुँच अर्को एउटा यस्तो कारण हो, जसले साना उमेरका बालबालिकालाई भावनात्मक रूपमा असाध्यै शिथिल बनाएको छ । हरर फिल्म, सामाजिक सन्जाल, कार्टुन, दौडने, कुद्ने, गोली हान्नेजस्ता भिडियो गेमले मेसिनजस्तो बनाएको छ । वास्तविक संसारभन्दा इन्टरनेटकै भुलभुलैयामा रमाउँछन् । बाबुआमा पनि बच्चाको हातमा मोबाइल थमाएर आफू उम्कन खोज्छन् । यसबाट थाहै नपाई बच्चामा मोबाइलको लत बस्छ । जब भनेका बेला पाउँदैनन्, तड्पिन्छन् । चोरबाटोबाट भए पनि मोबाइल लिन खोज्छन् । समाजशास्त्री उप्रेती भन्छिन्, "५-६ वर्षका बच्चा मोबाइल नहुँदा छटपट भएको मैले देखेकी छु । अब ती बच्चा कसरी संवेदनशील हुन्छन् ? उसका लागि त संसारै मोबाइल हुन्छ । न अभिभावकको वास्ता हुन्छ, न त आफ्नै ।" मोबाइलले समाजबाट एक्लाउँछ पनि । अझ कति गेमले त मर्नु पनि साहसिक काम हो भन्ने सन्देश दिन्छन् । बच्चाले त्यसैलाई आदर्श मान्छन् ।

बालमनोविज्ञ पाठकका अनुसार १३ वर्षमुनिका केटाकेटीले योजनाबद्ध ढंगले आत्महत्या गरेका हुँदैनन् । टीभी वा मोबाइलमा देखेअनुरूप मर्ने वा एक्सन गर्ने अभ्यास/नक्कल गर्छन् । तर दुर्घटना घटिसक्छ ।

गत मंसिरमा झापाबाट ठ्याक्कै यस्तै प्रकृतिको खबर सार्वजनिक भयो । ९ वर्षीय बालकले आत्महत्या गरे, त्यो पनि टेलिभिजनमा देखाइने स्टन्टको नक्कल गर्दा । भद्रपुर नगरपालिका-९ मा बस्दै आएका सचिन मिश्र टेलिभिजनमा देखाइने दृश्यको नक्कल गर्थे । एक दिन स्कुलबाट घर आएर सिलिङमा झुन्डिने प्रयास गरे । टीभीअगाडि आमा र दिदीका सात वटा सल जम्मा पारे, घाँटीमा बेरे, कम्मर र हातमा पनि कसे । पोस्टमार्टमका क्रममा घाँटीमा सल कस्सिँदा निस्सासिएर मृत्यु भएको देखियो । पाठक भन्छिन्, "परिवारको उचित निगरानी हुँदो हो त उक्त घटना हुन्नथ्यो । मोबाइल दिइयो, टेलिभिजन दिइयो तर त्यसबाट बच्चामा पर्न सक्ने नकारात्मक प्रभाव वास्तै गरिएन । आम अभिभावकको समस्या हो यो ।" कतिपय बच्चामा हुर्कंदै गर्दा अर्काको ध्यान आफूतिर तान्न खोज्ने, घुर्काउने, धम्क्याउनेजस्ता अबोध मानसिकता विकसित हुन्छ । यस्तो बेला परिवारले पहिचान गरेर परामर्श दिएन भने परिणाम फेरि विकराल नै हुन्छ ।

प्रविधिको गलत प्रयोगसँगै प्रेमसम्बन्ध पनि बालआत्महत्यासँग कहीँ न कहीँ जोडिएको हुन्छ । विज्ञका अनुसार पहिले छोरी १२ वर्ष र छोरा १३ वर्ष पुगेपछि पूर्व किशोरावस्था सुरु हुन्थ्यो । अहिले खानपान र रहनसहनले छोरीको ९ वर्ष र छोराको ११ वर्षमै 'सेक्स हर्मोन' पैदा हुन्छ । विपरीत लिंगीप्रतिको आकर्षण बढ्छ । तर त्यहीअनुरूपको मानसिक परिपक्वता हुँदैन । यसको सन्तुलन नमिल्दा बच्चा एकोहोरो हुन्छन् । समाजशास्त्री उप्रेती भन्छिन्, "४ कक्षामा पढ्ने केटोले मेरी गर्लफ्रेन्ड छ भन्छ । कहाँबाट सिकेको भन्दा दाइदिदीको नाम लिन्छन् । बच्चाका लागि पनि माया-प्रेम लहड र देखासिकी भएको छ ।" परिपक्व भएपछि प्रेम गर्नेले विकल्प धेरै देखेका हुन्छन् तर बच्चाको ध्यान एउटै मान्छेतिर हुन्छ । पाएनन् भने सहन सक्दैनन् । हात्तीगौँडाकै समुन्द्र उदाहरण हुन् । जब आफूले मन पराएकी केटीले उस्तै प्रतिक्रिया दिइनन्, समुन्द्र विक्षिप्त भएर झुन्डिएको देखिन्छ, सुसाइड नोटबाट ।

एकातिर सन्तानको भित्री चाह बुझ्ने चेष्टा अभिभावकले गर्दैनन्, अर्कातिर खाने, बस्ने, सुत्ने, हिँड्ने, कपडा लगाउने, कतिसम्म भने कसलाई साथी बनाउने, कसलाई नबनाउने भन्नेसम्म आमाबाबुको नियन्त्रण हुन्छ । बच्चाले स्वतन्त्रता उपयोग गर्नै पाउँदैनन् । बाबुआमा भौतिक सुविधा उपलब्ध गराएर बच्चाप्रतिको आफ्नो जिम्मेवारी पूरा भएको ठान्छन् । स्कुलचाहिँ जसरी हुन्छ, परीक्षामा उच्च अंक ल्याउने गरी छात्राछात्रलाई पेलाउँछ । बालबालिकाले खास खोजेका के हुन्, उनीहरूको क्षमता/रुचि के छ, ख्यालै गरिन्न । पढाइको एकोहोरो रटान हुन्छ । कान्ति बाल अस्पतालका बालमनोरोग विशेषज्ञ डा कुँवरका अनुसार यस्तो रापमा परेका बच्चाले आफ्नो अस्तित्व खोज्छन्, पहिचान खोज्छन् । तर पाउँदैनन् । साथीहरूबाट पनि तिरस्कृत भएका हुन सक्छन् । चारैतिर आफ्नो भन्ने कोही देख्दैनन् । यस्तो बेला आत्महत्यातिर आकषिर्त हुन्छन् ।

बच्चाले अभिभावकबाट खोज्ने पहिलो कुरा हो, खुसीको माहोल । अभिभावकले कुरा गरे, उनीहरूको समस्या र भोगाइ सुने भने बच्चाको आत्मबल बढ्ने विज्ञहरू बताउँछन् । त्यसका लागि बच्चासँग 'क्वालिटी टाइम' बिताउनुपर्यो । तर सन्तानको बानीबेहोरामा अचानक परिवर्तन आयो, बोल्न छाडे, धेरै रिसाउन, घुर्काउन र धम्काउन थाले भने परामर्शदाताकहाँ लैजानुपर्छ । तर हामीकहाँ बालबालिकालाई मानसिक रूपमा सबल बनाउन न अभिभावक सचेत छन्, न त शिक्षक नै । परिणाम कम उमेरमा हुने आत्महत्या विकराल सामाजिक समस्या बन्दैछ । सानो उमेरमा यसरी मानसिक तनावमा फस्दा त्यसको असर बाँकी जीवनभर पर्छ । "परिवार, स्कुल, समाजको सोच र व्यवहार बालमैत्री नहुने हो भने उनीहरू मनोवैज्ञानिक रूपमा थप विचलित हुन्छन् । यसले अन्ततः आत्महत्या बढाउँदै लैजान्छ," समाजशास्त्री उप्रेती भन्छिन्, "त्यसैले बच्चालाई बच्चा जसरी नै हुर्कन र बढ्न दिने माहोल निर्माण गरौँ ।"  

प्रकाशित: फाल्गुन २१, २०७५

ट्याग: समाज