खस जातिको खसखस

- राम लोहनी

खस जातिको खसखसले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बालकृष्ण पोखरेललाई जागिर त्याग्न प्रेरित गर्‍यो । त्यसपछि जन्मियो, खस जातिको इतिहास

पोखरेलले खस जातिको नालिबेली खोज्न तुलनात्मक भाषाविज्ञानको विधि प्रयोग गरेका छन् । उनले कोलकाता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर उपाधि लिएका थिए सन् १९६० मा । त्यसको एक वर्षपछि सहायक उप-प्राध्यापकका रुपमा त्रिवि सेवामा प्रवेश गरे । १२ वर्षपछि यसै विश्वविद्यालयबाट नेपाली साहित्यमा पनि स्नातकोत्तर उपाधि लिए ।

सुनीतिकुमार चटर्जीको परम्परामा तुलनात्मक भाषाशास्त्रको तालिम पाएका पोखरेललाई नेपाली के कति कारणले खस भाषा भयो भन्ने कुराले कुत्कुत्यायो । जर्ज ग्रिएर्सनले नेपाली भाषा (तत्कालीन पर्वते) लाई वर्गीकरण गर्ने क्रममा खसबाट विकसित भएको बताएका थिए । तर कुन प्राकृत भाषाबाट खस भाषा जन्मियो भन्ने कुरा परम्परागत प्राकृत व्याकरणबाट खुलेको थिएन । चटर्जीले खस प्राकृत र त्यसबाट खस अपभ्रंशको विकास भएको अवधारणा अगाडि सारे । यता नेपालमा पारसमणि प्रधान, महानन्द सापकोटाहरुलाई खस भाषाबाट पर्वते, गोरखा हुादै नेपाली भाषा बनेको कुराले निकै प्रभाव पार्न थालेको थियो । सूर्यमणि ज्ञवाली भने नेपालीलाई खस भाषाको आधुनिक रुप मान्न तयार थिएनन् । राहुल सांकृत्यायन समेतबाट प्रभावित पोखरेल खस भाषाको फेर समात्दै यस जातिकै खोजमा तानिए ।

सन् १७८६ मा विलियम जोन्सले संस्कृत, ग्रीक र ल्याटिनजस्ता पश्चिमा भाषा एउटै मूलभाषाबाट निःसृत भएको तर्क अगाडि सारेपछि तुलनात्मक भाषाशास्त्रको नयाँ ढोका उघ्रिएको थियो । एउटै मूलभाषाबाट छुट्टएिर समयक्रममा बेग्लै बनेका भाषाका व्याकरण र शब्दमा धेरै मेलजोल पाइन्छ । छुट्टएिर गएको समय जति धेरै भयो, यिनीहरुबीचको समानता पनि बिस्तारै धुमिल हुादै जान्छ भन्ने ऐतिहासिक भाषाविज्ञानको मान्यता हो । सहजात शब्दको विश्लेषण गरेर तिनको माउ शब्द अनुमान गरिन्छ । ऐतिहासिक भाषाविज्ञानमा लोप भइसकेका भाषाको पुनर्निर्माण यही विधिबाट गर्ने गरिन्छ । यस्तै विधिबाट सहजात मिथ र संस्कृतिको पनि तुलना गरेर सभ्यताकै पुनर्निर्माण गर्न सकिन्छ । खस जातिको इतिहास पर्गेल्न पोखरेल हिँडेको बाटो यही थियो ।

पोखरेलले स्वीकारेका छन्, 'तुलनात्मक भाषाशास्त्रको छात्र नभएको भए दूरवर्ती अतीतलाई अथ्र्याउन मलाई असजिलो पथ्र्यो ।' ऋग्वेदको पुरुष सूक्तअनुसार ब्राह्मण ब्रह्माको मुखबाट, क्षत्री बाहुबाट, वैश्य तिघ्राबाट र शुद्र पाउबाट पैदा भएका हुन् । पोखरेल ब्रह्माका यी अंगलाई भूगोलको प्रतीक देख्छन् । मुख भनेको हालको टर्कीको अंकारा, बाहु भनेको अजरबैजानको बाकु, तिघ्रा भनेको तत्कालीन मेसोपोटामिया र हालको दक्षिणी इराकमा पर्ने उर र पाउ भनेको हाल यमनअन्तर्गत पर्ने सोकोत्रा द्वीप हुन् । अर्थात्, अंकाराका जातिलाई ब्राह्मण मानियो, बाकुका क्षत्री भए, उरमा बसोबास गर्ने वैश्य र सोकोत्राका बासिन्दा शुद्र  ! भूगोलका यी स्थानलाई जोड्दा एउटा पुरुष सदृश स्वरुप तयार हुन्छ र यही पुरुषलाई नै ब्रह्मा भनिएको हो । खस जातिको इतिहासको आवरणमा यही ब्रह्माले स्थान पाएको छ । पोखरेलले यस्ता धेरै तर्क आफ्नो ग्रन्थमा गरेका छन् । कतिसम्म भने चार युगको अवधारणालाई पनि पोखरेल भूगोलसाग तुलना गर्छन् ।

खस जातिको इतिहासलाई झ्यालको रुपमा लिन्थे पोखरेल, यस्तो झ्याल जसबाट मानव जातिको इतिहास चिहाउन सकियोस् । पश्चिममा इजिप्टदेखि हिमालयको दक्षिणतिर बंगालको खाडीसम्म कसरी खस जाति फैलिए र बसाइ सर्दै आउँदा कसरी आफ्ना प्राचीन संस्कारलाई कतै जोगाउँदै, कतै वर्णशंकर बनाउँदै आजको अवस्थामा आइपुगे भन्ने कथा नै खस जातिको इतिहास हो । पोखरेलका अनुसार इतिहासको डिस्कोर्सको निर्माण तथ्यबाट मात्र सम्भव नभएको अवस्थामा अनुमान र प्राक्कल्पनाले खाली ठाउँ भर्दै जानुपर्छ ।

आजका दिनसम्म आइपुग्दा कुनै जाति पनि रक्तशुद्धिको आधारमा चोखो छैन । जातिको पहिचान भाषालाई ठान्छन् पोखरेल । उनका अनुसार खस पनि भाषाले जोडेको जाति हो । कर्णाली क्षेत्रमा बसोबास गर्ने रक्तमिश्रति जातिको आफ्नो भाषा थियो, त्यो मौलिक रुपमा खस थिएन । त्यहाँ शासन गर्न जो आइपुगे, ती खस थिए । पैतृक भूमिबाट हजारौँ वर्ष लगाएर शासक बन्न आइपुगेका यिनीहरुसँग आफ्नो भाषा थिएन, बाटोमै कतै बिलाइसकेको थियो । शासकले प्रजाको भाषा अपनाए, अनि प्रजालाई आफ्नो खस पहिचान भिडाइदिए । फलस्वरुप प्रजा खस भए, खस राजाको भाषा पनि खस नै कहलियो । त्यही भाषा आजको नेपालीको पुरानो रुप रहेको पोखरेलको दाबी छ । पाँच सय वर्ष नेपाली भाषाको विकासलाई झल्काउने लिखित सामग्रीलाई ऐतिहासिक कालक्रममा मिलाएर राखिएको ग्रन्थ हो । राष्ट्र भाषामा आइपुग्दा पोखरेल वर्तमान नेपाली भाषाको राष्ट्रिय स्वरुप र त्यसका भाषिकाको चर्चा गर्छन् । राष्ट्रभाषा निर्माणमा खसेतर भाषाको देनलाई पोखरेल खुलेर प्रशंसा गर्छन् । संसारका विभिन्न भाषाबाट शब्द लिएर अंग्रेजी समृद्ध बनेजस्तै नेपाली पनि नेपालका अन्य भाषाका शब्दलाई मौलिकीकरण गर्दै समृद्ध हुन सक्छ भन्ने विश्वास थियो पोखरेलको ।

पोखरेलको भाषिक योगदान यतिमा मात्र सीमित छैन । कोश निर्माण र निर्वचनमा पनि पोखरेल सक्रिय रहे । नेपाली शब्दको इतिहास केलाउने क्रममा नेपाली निर्वचन तीन भागसम्म प्रकाशित गराए । पोखरेल ०३६ बाट पाँच वर्ष तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य मनोनीत भएका थिए । यही अवधिमा नेपाली बृहत् शब्दकोश प्रकाशित भयो । पोखरेल यो परियोजनाको निर्देशक थिए । शब्दकोशमा अढाई दशकदेखिको झर्रोवादी आन्दोलनका उपलब्धि अभिलिखित भएका छन् । मुख्य गरेर तत्समबाहेकका शब्दलाई नेपाली वर्णविन्यासमा लेख्नुपर्ने आग्रहले यसमा स्थान पायो । ०२१ मा प्रकाशित मदन पुरस्कारद्वारा सम्मानित नेपाली भाषा तथा साहित्यको पहिलो अध्यायमा भाषासम्बन्धी पोखरेलका धेरै मान्यता संगृहीत छन् । नेपाली लेखन (वर्णविन्यास, हिज्जे) लाई सरल र सहज बनाउने पोखरेल नेतृत्वको आन्दोलनले नेपाली भाषालाई संस्कृतको आग्रहबाट धेरै हदसम्म मुक्त गर्न भूमिका खेल्यो । कोशकारको रुपमा पोखरेलको अर्को योगदान नेपाली-अंग्रेजी-नेपाली शब्दकोशको रुपमा प्रकाशित छ ।

नेपाली भाषा-साहित्यमा पोखरेललाई सम्झिने अर्को बिन्दु हो झर्रोवाद । बनारस केन्द्र रहेर नेपाली भाषाको विकास हुन गाह्रो पर्दै थियो । एकातिर संस्कृत र अर्कोतिर हिन्दीले चेप्दै थियो । अंग्रेजीको प्रभाव पनि दिनानुदिन बढ्दो थियो । लिखित नेपाली त उसै पनि संस्कृतबाट अधिक प्रभावित थियो । यसले नेपालीको मौलिकतामाथि नै प्रश्न उठ्न सुरु भयो । नेपालीलाई नेपालीपन दिन आफ्नो मौलिकतालाई लेखाइमा पनि प्रयोग गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे पोखरेलसहितका केही दौँतरी । यिनमा मुख्यतः तारानाथ शर्मा र बल्लभमणि दाहाल, चूडामणि रेग्मी थिए । ०१३ बाट सुरु नौलो पाइला प्रकाशन कोसेढुंगा सावित भयो । झर्रोवादी आन्दोलनले नेपाली भाषा-संसारमा चिन्तनको सूत्रपात गरेको पोखरेल दाबी गर्छन् । फलस्वरुप, नेपाली भाषा 'इन्डिया-रिटर्न' बाजे र 'बनारस-रिटर्न' बाजेहरुको चटक हेर्न गुजुम्म उभिने मुर्खहरुको भाषा मात्र नभएर आफ्नै माटोमा शिक्षित भएका चेतनशील हिमालीहरुको भाषा भएको छ ।

बालकृष्ण पोखरेल रुपमा भाषाशास्त्री भए पनि सारमा भने साहित्यकार नै थिए । पोखरेल कविता, कथा, नाटक, निबन्ध, समालोचना, उपन्यास, बालसाहित्य सबै विधामा बगेका छन् । शैली हेर्दा यिनमा अनुसन्धानमूलक र इतिहास विषयक लेखनलाई पनि साहित्यको रस प्रदान गर्नुपर्छ भन्ने मान्यता रहेको अनुमान हुन्छ । झर्रोवादी लय र मिठास तथा संकथनभित्र प्रवेश गर्ने अगणित रुपक त पोखरेलको लेखकीय हस्ताक्षर नै भयो । साहित्य रचनामा पोखरेलका गम्भीर र सरल दुवै कृति छन् । यद्यपि ठट्यौली यिनको लेखनको अर्को पहिचान हो । ठेट र झर्रा आनीबानीलाई लेखनको विषय बनाउने यिनको शैली देखिन्छ । अर्कोतिर, शक्तिबल्लभको थर अज्र्याल हो कि आचार्य हो, प्रचलित बधुशिक्षा भानुभक्तको हो कि मोतीरामको हो भनेर गरिएका गम्भीर प्रकृतिका तर्क पनि माहिर लाग्छन् ।

साहित्यमा प्रशस्त उपनाम भएका व्यक्ति सम्भवतः बालकृष्ण पोखरेल मात्र होलान् । यी उपनाम हेर्दा यी नाम चयन गरिनुका पछाडि के-कस्ता मनोभावले काम गरे होलान् भन्ने पनि लाग्छ । भिन्नभिन्न प्रकृति रचनाका लागि फरक-फरक उपनाम प्रयोग गरेको अनुमान हुन्छ । किशोरकिशोरी लक्षित उपन्यास वसन्त नामले लेख्थे । यी उपन्यास युवायुवतीको रोमान्टिक प्रेमाकर्षणलाई केन्द्रित गरेर लेखिएका छन् । रोमान्टिक भइकन पनि छाडा हुनबाट बचेका यी उपन्यास केही अघिसम्म निकै लोकप्रिय थिए । हिमालपाने बराल, केकेमनुक्च्यो पोखरेल, लक्ष्मीविलास पाध्या, रुपावासी आदि परिचित उपनाम हुन् यिनका । उपनामबाट लेखिएका सरल र रोमान्टिक कृति पाठकका लागि मनोरन्जन र आफ्ना लागि विशुद्ध आर्थिक प्रयोजनले लेखिएको कुरा पोखरेलले पटक-पटक स्वीकारेका पनि थिए ।

साहित्य, भाषा र अनुसन्धानबाहेक पोखरेलका अन्य केही चिनारी पनि छन् । विराटनगर क्षेत्रमा यिनका बारे थरीथरीका किस्सा चर्चामा रहन्थे । पोखरेल आफ्नो जीवनकालमा पटक-पटक सक्रिय राजनीतिमा पनि प्रवेश गर्न खोजेका देखिन्छन् । ००७ को क्रान्तिअघि नेपाली कांग्रेसको नेतृत्वमा सक्रिय थिए । क्रान्तिपछि ००८ तिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरे । ६ वर्ष कम्युनिस्ट रहेर पार्टी राजनीतिबाट अलग भएको घोषणा गरे । राजनीतिक रुपले तटस्थ रहे पनि यिनले तत्कालीन पञ्चायतको नेतृत्वलाई स्वाभाविक रुपले स्वीकारेको देखिन्छ । ०४६ मा आएर बाहेक राजनीतिक मूल प्रवाहको अर्को विकल्प छैन भनेर नेपाली कांग्रेस पार्टीमा पुनः प्रवेश गरेको देखिन्छ । राजनीतिक पहिचान खोज्दै भौँतारिए पनि यो समयमा यिनको अनुसन्धान र लेखन छुटेन, राजनीतिले त्यसमा खासै प्रभाव पारेन ।

भाषा, साहित्य, इतिहास, मानवशास्त्र आदिका अथक यी साधकले गत ११ फागुनमा ८६ वर्षको उमेरमा सदाका लागि बिदा लिए । १९९० मा जन्मिएका पोखरेलले ७० वर्षको सक्रिय जीवनमा धेरै उपलब्धि हासिल गरे । विभिन्न पुरस्कार र सम्मानबाट विभूषित भए । पोखरेल भाषाविज्ञान समाजलगायत विभिन्न विद्वत् समाजको मानार्थ सदस्य पनि थिए । नेपाली विद्वत् जगतमा पोखरेलको स्थान सधैँ अग्रपंक्तिमा छ । भाषा, साहित्य र विशेषगरी खस जातिको प्रसंगमा पोखरेल चिरस्मरणीय रहनेछन् ।

प्रकाशित: फाल्गुन १९, २०७५

ट्याग: सम्झना