अथक अन्वेषकको सम्झना

- हर्षमान महर्जन

अन्वेषक शिव रेग्मीको निधन भएछ, ९ फागुन ०७५ मा ।

मृत्युपछि केही व्यक्ति र मिडियाले हतारमा उनीबारे केही तथ्य बिगारे । हरि अधिकारीले नागरिकन्युजमा लेखे- 'भूपी शेरचनको संग्रह घुम्ने मेचमाथि अन्धो मान्छेको संकलन र सम्पादन रेग्मीले गरे ।' कान्तिपुरले लेख्यो- 'उनले सिद्धिचरण श्रेष्ठका पत्रिकामा छापिएका तर संकलन नगरिएका निबन्ध सम्पादन गरी पुस्तक निकाले ।' साहित्यिक पत्रकारिताको संक्षिप्त ग्रन्थकोष प्रकाशित गरेको पनि उल्लेख गर्‍यो । भूपीको त्यो किताब साझा प्रकाशनले ०२५ मा छापेको हो, जुनबेला शिव रेग्मी समालोचना र अनुसन्धानमा लागेकै थिएनन् । अधिकारीको तथ्य गलत छ । मार्टिन चौतारी पुस्तकालय, मदन पुरस्कार पुस्तकालय, त्रिवि केन्द्रीय पुस्तकालय र लाइब्रेरी अफ कंग्रेस पुस्तकालयको अनलाइन क्याटलग प्रयोग गरी रेग्मीका प्रकाशित पुस्तकको सूची मैले बनाएँ । तर सिद्धिचरणको निबन्धको संग्रह प्रमाण फेला परेन । प्रेस काउन्सिल नेपालद्वारा प्रकाशित नेपाली साहित्यिक पत्रपत्रिका संक्षिप्त ग्रन्थकोष (२०६५) पनि उनको नाममा छैन ।

सम्पादकको नाम नभए पनि त्यो पुस्तकको सम्पादन रेग्मीले नै गरेका हुन् । यसबारे पुस्तकको प्राक्कथनमा प्रेस काउन्सिल नेपालका तत्कालीन अध्यक्ष राजेन्द्र दाहालले भनेका छन्- 'पुस्तकमा संगृहीत पत्रपत्रिकाको जानकारी र तस्बिर रेग्मीकै पुस्तकालयबाट उपलब्ध भएको थियो । शिव रेग्मीले अरुलाई पनि सहयोग गर्न अनुरोध मात्र गरेनन्, संकलित विवरण रुजु पनि गरे ।' अरुभन्दा धेरै सहयोग गरी रेग्मीले गुन लगाएकामा दाहालले हार्दिक आभार प्रकट गरेका छन् । यसको मतलब उनको काम मुख्य थियो । त्यो सम्पादन नै थियो । यसबारे उनले मलाई सूची पूरा नभएकाले आफूले नाम राख्न नचाहेको उल्लेख गरेका थिए । रेग्मीका अनुसार उनले सहयोगको आशा राखेका संस्था र व्यक्तिले सहयोग गरेनन् र कोश अपूरो भयो । यस प्रसंगले नेपालमा अनुसन्धानकर्ममा लाग्न कति गाह्रो छ भन्ने पाटो उजिल्याउँछ । सामग्री अभाव र पहुच नहुादा अनुसन्धान अपूरो हुने समस्या मात्र होइन, अनुसन्धान गर्न पनि गाह्रो हुन्छ ।

जीवन र लेखन यात्रा

१९९८ असोज १ मा काठमाडौँको ठमेलमा जन्मेका शिव रेग्मीले सानै उमेरदेखि बुबाले घरमा ल्याएका पत्रिका उद्योग, शारदा, उदय प्रगति पढ्ने बानी बसालेका थिए । पुस्तक संकलन भने ०१५ मा एसएलसी उत्तीर्ण गरेपछि थाले । यसबारे नेपालमा प्रकाशित संस्मरणात्मक लेखमा उनले भनेका थिए- 'किताब र पत्रिका सँगसँगै अनुसन्धनात्मक साहित्यिक लेख-रचनाहरुको पनि संकलनमा लागेँ । कुनै किताब पढ्दा कुनै लेख विशेषको चर्चा भएको छ भने त्यसको खोजीमा लागेँ ।'

शिव रेग्मीको व्यक्तित्व र कृतित्वका शोधार्थी चन्द्रदेवी राईका अनुसार ०२२ मा उनी कानुन आयोगमा खरिदार पदमा अस्थायी रुपमा नियुक्त भए । त्यसपछि अझ पढ्नुपर्छ भन्ने विचार आयो र आईए पास गरे । ०२७ मा नायब सुब्बा पदमा बढुवा भई हुलाक सेवा विभागमा नियुक्त भए । ०३२ मा उनले नेपाली विषयमा एमए उत्तीर्ण गरे । त्यसै वर्ष उनी शाखा अधिकृत पदमा सञ्चार मन्त्रालयमा नियुक्त भए । ०५० मा उपसचिव पदमा बढुवा भएका रेग्मी ०५८ असोजमा सेवानिवृत्त भए ।

चन्द्रदेवी राईले तयार गरेको लेख-रचनाको विवरणमा रेग्मीले ०२० देखि ०५५ सम्म ४ सय ४० वटा लेखरचना पत्रपत्रिकामा प्रकाशित गरेको देखिन्छ । यी सामग्रीमा साहित्य, समालोचना, सञ्चार र साहित्यसम्बन्धी खोजमूलक लेख र अन्य विषयका रचना छन् । अन्य विषयमा उनले पर्यटन, ढुंगा, छाला उद्योग, परिवार नियोजनजस्ता विषयमा लेखेका थोरै लेख पर्छन् । सञ्चारको विषयमा हुलाक र पत्रपत्रिकासम्बन्धी लेख प्रकाशित छन् । ०५५ पछि प्रकाशित उनका फुटकर रचनाको सूची मैले देखेको छैन ।

उनले पत्रपत्रिकाबारे लेखेका लेख धेरै सरल र प्रमाणसहितका छन् । अतीतका पानामा मदनमणि दीक्षितले भनेका छन्- 'उहाँका लेखनहरु नेपाली साहित्यका ऐतिहासिक घटनालाई यथार्थका आधारमा केलाउने, तिनको मिति ठम्याउने र विचार सच्याउने रुपमा रहेका छन् ।' यसको राम्रो उदाहरण पहिलो नेपाली साहित्यिक पत्रिका सुधासागरबारे उनको लेख हो । यो पत्रिका कसैले कहिल्यै प्रकाशित नभएको विचार व्यक्त गरे भने बाबुराम आचार्यले आफूसँगै चार-पाँच प्रति भएको तर ०९० को भूकम्पमा हराएको दाबी गरेका थिए । यो निस्केको हो कि होइन, प्रकाशित भएको भए कहिले प्रकाशित भयो र त्यो मासिक हो वा साप्ताहिक भन्ने विवाद थियो । उनले खोजी गरी त्यो मासिक भएको र १९५५ मा प्रकाशित भए पनि त्यसबेला १ सय र २ सय प्रति निकालिएको, पछि पाउन मुस्किल भएको निष्कर्ष निकाले ।

उनले प्रमाणसहित दिने जानकारीले पाठकलाई पत्रपत्रिका नै पढ्न उक्साउँछ । कुमुदेशप्रसाद 'शैल' द्वारा ०१७ मा सम्पादित इन्दुबारे उनले लेखेका छन्- 'इन्दुको उल्लेखनीय समालोचनाको रुपमा मवीवी शाहको उसैको लागिमाथि गरिएको तारानाथ शर्माको कटु आलोचनाप्रति नारायणप्रसाद श्रेष्ठको प्रत्यालोचना र त्यसमाथि प्रत्यालोचना गरिएको वामदेव पहाडीको आलोचनात्मक प्रत्यालोचना उसैको लागि हेर्दा नै हो । यो पढेपछि तारानाथ शर्माले के लेखका थिए र अरुले कसरी विरोध र समर्थन गरे, जिज्ञासु पाठकलाई इन्दु नै पल्टाउन कुतकुत्याउँछ ।'

अनुसन्धानको लत

फुर्सदको समयमा 'स्वान्तः सुखाय' का निम्ति फुटकर लेख-रचना निकाल्दै गर्दा उनलाई सन्तोष मिलेको थिएन । ०५४ मा जयदेव भट्टराईद्वारा सम्पादित र संकलित पुस्तक साहित्यकार परिचय अभिव्यक्तिमा रेग्मीले भनेका थिए- 'जानेर वा नजानेर साहित्य अध्ययन, मनन, लेखनतिर लागेँ । फलस्वरुप बसिबियाँलोको रुपमा केही लेखेँ पनि तर सन्तुष्टिचाहिँ अझै मिलेको छैन । अध्ययन र लेखन सँगसँगै लैजाने विचार अझै छ । आजकालचाहिँ दिनभरि कार्यालयको टिप्पणी लेख्छु । बिहान-बेलुकी फुर्सदमा घरमा सुख र सन्तोषका लागि साहित्यिक टिप्पणी लेख्छु । बस् यस्तै छ ।' उनलाई अन्वेषणको लत लाग्दै थियो ।

रेग्मीको लेखनमा तीन पुस्तक प्रकाशित भए- अतीतका पाना (२०६३), खोजी-नीति (२०६९) खोजीमेली (२०७३) । यी पुस्तकमा उनले विभिन्न पत्रिकामा लेखेका फुटकर लेख संकलित छन् । यसका साथै उनको सहलेखनमा नेपालमा आमसञ्चारको विकास (२०५८) पनि प्रकाशित छ । उनी एक्लैले नौ कृति संकलन र सम्पादन गरे- भूपी शेरचनका कविता (२०५७), 'शारदा' का सम्पादकीय विचारहरु (१९९०-२०२०) (२०५८), नेपाली कविताका भूमिकै भूमिका (२०५९), कमल दीक्षित : दृष्टि दृष्टिकोण -(२०६०), भाषा पद्यसंग्रह (२०६२), महाकविका भूमिका (२०६६), महाकवि देवकोटाका निबन्ध (२०६६), राजीनामा : भैरव अर्यालका विविध रचना (२०७१)भीमनिधिका भूमिकाहरु (२०७२) शारदासम्बन्धी किताबको काम उनले २० वर्ष लगाएर गरेका थिए । त्यस्तै, उनले पाँच कृतिको सहसम्पादन गरे- गोरखापत्र : सय वर्षका १०१ कथा (२०५८), मोतीराम भट्ट संसर्गी कवि (२०६०), गोरखापत्रका एक सय एक निबन्ध (२०६०), गोरखापत्रको इतिहास (२०६७) बन्दीपुरका कवि लेखक साहित्यकार (२०७०)

०६३/०६४ तिर हुनपर्छ, रेग्मीसँग मेरो चिनजान भएको । त्यसैबेलादेखि हो, म उनको निवास धाउन थालेको- सुरुमा १४३, साहित्यमार्ग, बत्तीसपुतली, पछि कात्यायनी मन्दिर, भूपी मार्ग । सुरुदेखि नै उनको मृदुभाषा, सहयोगी व्यवहार र अथाह ज्ञानले मलाई तानेको थियो । हाम्रो सम्बन्ध झांगिँदै गयो । त्यसपछि मैले नेपाली सञ्चारमाध्यमको इतिहाससम्बन्धी गरेको प्रत्येक अनुसन्धानमा उनको सहयोग पाएँ । म पनि आवश्यक पर्दा उनलाई सहयोग गर्थें । चाहिएका तर उनीसँग नभएका पत्रपत्रिका र किताबका अंश त्रिवि केन्द्रीय पुस्तकालयबाट सुरुमा फोटोकपी र पछि फोटो खिचेर प्रिन्ट गरी उनलाई दिन्थेँ ।

अरुले पनि उनलाई सहयोग गरे । 'माधवी : एक सर्वेक्षण' लेखको सुरुको वाक्य यस्तो छ- 'स्नेही मित्र शान्तदेव भट्टराई, सम्पादक रत्नश्रीको सहयोगबाट मैले हालै माधवी साहित्यक पत्रिका (१९६५) का सम्पूर्ण अंश अध्ययन गर्ने अवसर पाएँ ।' गोरखाली पत्रिकाको तेस्रो अंक प्रकाश ए राजले उपलब्ध गराएको कुरा पनि यो पत्रिकासम्बन्धी लेखमा उल्लेख छ । अध्ययन-अनुसन्धान एक्लैले गर्न गाह्रो हुन्छ । यसका लागि राम्रो माहोल चाहिन्छ । एकअर्कालाई सहयोग गर्ने वातावरण हुन आवश्यक छ । रेग्मी सधैँ अरुलाई सहयोग गर्न तयार हुने भएकाले अरुको पनि साथ पाए । अनुसन्धान-अन्वेषणको वातावरण तयार गर्न उनले पुस्तक, पत्रपत्रिका संकलन गरे र आफूसँग भएको ज्ञान बाँडे । आफूले संकलन गरेका कतिपय सामग्री मार्टिन चौतारी पुस्तकालयलाई प्रदान गरे ।

अन्तिम वर्षहरु

प्रत्येक भेटमा उनलाई जिज्ञासा राख्थेँ- के लेख्दै हुनुहुन्छ ? उनी मलाई आफूले लेख्न खोजेको वा लेख्दै गरेको लेखबारे जानकारी दिन्थे ।

तर पछिल्ला केही वर्षमा उनी निराश देखिन्थे । मेरो प्रश्नमा भन्थे, 'खोइ, के लेखूँ, कसले छाप्छ ।' निराशाको भावना उनको चिनी रोग, श्रीमतीको रोग र पछि पत्नीशोकका कारणले मात्र जन्मेको होइन, प्रकाशकले समयमै पुस्तक नछापेका कारणले पनि उत्पन्न भएको हुनुपर्छ । फुटकर रचना संगृहीत पहिलो कृति रत्न पुस्तक भण्डारले छापेपछि उनी हौसिएका थिए । उनले यसै प्रकृतिका पुस्तकको पाण्डुलिपि रत्न पुस्तकलगायत अरु प्रकाशकलाई बुझाएका थिए । तर कुनै पनि प्रकाशकले पर्याप्त चासो दिएनन् । प्रकाशित भएका अरु किताब बुझाएको धेरै वर्षपछि छापिएका थिए । खोजीनीतिमा रेग्मी लेख्छन्- 'केही वर्षअघिदेखि तयार भएका यी रचनाको संग्रह निकाल्न सहज रुपमा तयार हुनु भएका सुसजनदेवकृष्ण, मालिक तलेजु प्रकाशन, काठमाडौँलाई हार्दिक धन्यवाद भन्छु ।' मतलब- यो पाण्डुलिपि कुनै प्रकाशकलाई दिइएको थियो तर छापिएको थिएन । अरुको भूमिकालाई महत्त्व दिई संकलन गर्ने रेग्मीले खोजीमेलीका लागि लेखेको ५३ शब्दको प्राक्कथनमा पाठकले उनको निराशा भेट्न सक्छन् ।

देवकोटाका छरिएका भूमिका र निबन्धको संकलनपछि रेग्मीले देवकोटाकै राजनीतिक कथा बटुलेका थिए । उनको दुखेसो थियो- 'देवकोटाकैअनुरोधमा मैले त्रिवि पुस्तकालयबाट एकाध कथा खोजी फोटोकपी गरी उनलाई बुझाएझैँ लाग्छ । तर महाकविका परिवारजनबाट स्वीकृति नपाउँदा त्यो पुस्तक छापिएन ।'

मित्र अर्जुन पन्थीका अनुसार रेग्मीका तीन पुस्तकका पाण्डुलिपि अझै अप्रकाशित छन् । पहिलो, गोरखापत्रमा छापिएका रेग्मीका लेखको संग्रह पाण्डुलिपिका रुपमा विभिन्न प्रकाशकलाई बुझाइएको थियो । तर उनीहरुले चासो नदिएपछि रेग्मीले अर्कै प्रकाशकलाई दिए । दोस्रो, विभिन्न व्यक्तिको सम्झनामा उनले पत्रपत्रिका अनि स्मृतिग्रन्थमा लेखेका लेखको संगालोको एक भाग फिनिक्स बुक्सलाई दिइएको थियो । त्यो प्रकाशित भएको छैन । तेस्रो, स्मृतिलेखनका बाँकी भाग कुनै प्रकाशकलाई रेग्मी आफैँले दिएका थिए । यी तीनै पुस्तक अवश्य छापिनेछन् । 

प्रकाशित: फाल्गुन १९, २०७५

ट्याग: सम्झना