पूर्वमा अस्ताएका ती सात

- योगेश ढकाल

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोय, उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको निधन हुन पुग्यो । यी सातै जना आ-आफ्ना कर्म क्षेत्रमा अब्बल थिए ।


अथक नेता

रवीन्द्र अधिकारी, मन्त्री

फरक विचारसँग सहिष्णु । ऊर्जाशील । मुद्दा समाउन सक्ने ।

अर्थात्, रवीन्द्र अधिकारीसँग यस्तै गुण थिए । कलिलो उमेरमै राजनीतिमा क्रियाशील अधिकारीलाई कर्मले नै सम्भावनाको दियोका रूपमा स्थापित गरिदियो ।

१५ फागुन ०७५ त्यो दियो निभ्यो ।

११ वर्षे कलिलो विद्यार्थी राजनीतिदेखि पर्यटनमन्त्रीको जिम्मेवारीसम्म उस्तै रापतापमा आइपुगेका अधिकारी विकासप्रेमी नेताका रूपमा स्थापित भइसकेका थिए । संसद्मा विकास समिति सभापति भएर काम गर्दा उनले दृष्टिकोण र योजना दुवै भएका परिपक्व नेताको छवि बनाए । ०७२ मा झन्डै पाँच महिना लामो भारतीय नाकाबन्दीपछि अधिकारीको टोली उत्तरी ढोका खोज्ने क्रममा केरुङ, कोरला र किमाथांका नाकाको सम्भाव्यता अध्ययनमा निस्किएको थियो ।

यसबीच समृद्ध नेपाल पुस्तक लेखेर अधिकारीले विकासबारे आफ्नो बुझाइ र सपना पस्किइसकेका थिए । मन्त्री अधिकारीको सान्निध्यमा झन्डै एक वर्ष काम गरेका तत्कालीन पर्यटन सचिव कृष्णप्रसाद देवकोटा सम्झन्छन्, "अधिकारीमा १० वर्षमा महसुस हुने गरी विकासका परियोजना फत्ते गर्ने इच्छाशक्ति थियो ।" अधिकारी जसरी पार्टी बैठकमा मुद्दालाई मसिनो गरी रिपोर्टिङ गर्थे, मन्त्री हुँदा योजनालाई मिहीन ढंगले केलाए । हेर्दा साना लाग्ने तर परिणाममुखी क्षेत्रमा हात हाले ।

जब ०५४ मा एमाले विभाजन भयो, विद्यार्थी संगठनमार्फत योगेश भट्टराई, रूपनारायण श्रेष्ठ, रवीन्द्र अधिकारी, शिव गुरुङहरू मालेमा सक्रिय भए । भट्टराई, अधिकारी र श्रेष्ठले पोखरा जाने क्रममा दमौली छेउको एक चिया पसलमा आन्दोलनका एजेन्डा तय गरे । भट्टराई अहिले सम्झन्छन्, "काठमाडौँ-कालापानी मार्चपास, विद्यालयदेखि विश्वविद्यालय अभियान र सांस्कृतिक जागरण अभियान त्यही चिया पसलमा टुंगो लागेका एजेन्डा हुन् ।" कालापानी जाने बेला रवीन्द्र जन्डिसले थलिए । अधिकारीसँगका बसाइ यतिबेला भट्टराईका आँखाभरि छाइरहेका छन् । ०४५ मा कीर्तिपुर छात्रावासको एक महिने बसाइबाट सुरु दोस्ती कुपन्डोलमा एउटै कोठाको डेरासम्म तन्किएको थियो ।

सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत छूट दिलाउने आन्दोलनको नेतृत्व गरेका थिए, अधिकारीले । ०५५ मा तत्कालीन शाहज्यादा पारस शाहले हाँकेको गाडीको ठक्करले संगीतकार प्रवीण गुरुङको मृत्यु भएको विरोधमा सर्वसाधारणलाई एकजुट गराउने अभियानको अगुवाइ उनैले गरेका थिए । यो परिघटनाले अधिकारीलाई निडर युवाको रूपमा स्थापित गरायो ।

पारसलाई कारबाही गर्न ५ लाख २४ हजार हस्ताक्षर नारायणहिटी दरबारमा बुझाएलगत्तै राजा वीरेन्द्रको निजी सचिवालयले वार्ताका लागि रवीन्द्रलाई पत्र पठायो । त्यसबेला आन्दोलनमा सक्रिय रवीन्द्रका मित्र शिव गुरुङ सम्झन्छन्, "प्रवीणकै हालत बनाइदिन्छु भन्ने धम्की आउँदा पनि निडर भएर उनले आन्दोलनको नेतृत्व गरे । रवीन्द्र त्यतिबेला विद्यार्थी संगठनको ९४३२ नम्बरको आरएक्स मोटरसाइकल चढ्थे ।"

वामदेव गौतम नेतृत्वको माले ०५६ को निर्वाचनमा शून्य सिटमा समेटियो । नेता/कार्यकर्ता निराश थिए । पलायन भइरहेका थिए । पार्टी गतिविधि शून्य थियो । वामदेव र सिपी मैनालीको अन्तरसंघर्ष चर्को थियो । तर अनेरास्ववियुका अधिकारी-गुरुङहरू प्रभावी थिए ।

०५८ को एक दिन । एमालेका तत्कालीन महासचिव माधव नेपालले भेटका लागि बोलाए, अनेरास्ववियु अध्यक्ष अधिकारी र उपाध्यक्ष गुरुङलाई । प्रमुख प्रतिपक्षी दलका नेता नेपालको जनसम्पर्क कार्यालय सातदोबाटोमा थियो । नेपालले कोठामा पुग्नेबित्तिकै पत्नी गायत्रीसँग चिनाजान गराए । गायत्रीले मिठाई, चकलेट खुवाइन् । नेपालले यी युवा नेतालाई 'पार्टी एकताको वातावरण मिलाउन' भने । तुरुन्तै कुपन्डोल कार्यालयमा आए वामदेव गौतम भेट्न । माधव नेपाललाई भेटेको बेलिविस्तार लगाए । एमाले एकताप्रति व्याकुल रहेकोसम्म भन्न भ्याए । अधिकारी र गुरुङको कुरा सुनिरहेका गौतमले अन्तिममा भने, 'अब अखिलले नै यसो भन्छ भने म किन बाधक बन्नु !' त्यसको दुई महिनामा वार्ता समिति बन्यो । गुरुङ अहिले सम्झन्छन्, "हाम्रो त्यो भेट र कुराकानी वास्तवमै पार्टी एकताका लागि महत्त्वपूर्ण कडी बन्यो ।"

एकीकरणपछि हेपिने, अवसर नपाइने विश्लेषण गरेर अधिकारी र भट्टराई निराश भइसकेका थिए । "हामीले पार्टीमा भन्दा पनि पढ्ने, लेख्ने काममा सक्रिय हुने, बरु पीएचडी गर्न बाहिर जाने योजना बनाएका थियौँ," भट्टराई सम्झन्छन् । १८ असोज ०६९ को राजा ज्ञानेन्द्रको कदमले उनीहरूको भविष्य मोडियो । जब आन्दोलनमा सक्रिय भए, बिदेसिने योजना पनि तुहिए ।

अधिकारीको राजनीतिक उचाइमा सँगै अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेकी श्रीमती विद्या भट्टराईको योगदान पनि कम छैन । नहारेका र छवि धुमिल नबनाएका एकाध नेतामा पर्ने अधिकारीले नेपाल वायुसेवा निगमको वाइडबडी खरिद भ्रष्टाचारको आरोप खेप्नुपर्‍यो । भलै, खरिद प्रक्रिया अगाडि बढ्दा अधिकारी मन्त्री थिएनन् । बेलामौकामा उनले भन्ने गरेका थिए, "त्यसको जवाफ मसँग छ ।" तर जवाफ दिन नपाउँदै अधिकारी दुर्घटनामा परे ।


शेर्पाको छवि बदले

आङछिरिङ शेर्पा, व्यवसायी

अभाव र दुःखको भूमरीले थलिएको पाङवोचे गाउँमा औसत जिन्दगी पनि थिएन । हिउँको चिसो कहरको त्यो जिन्दगीमा शिक्षाको उज्यालो पुग्ने त कल्पनै भएन । स्वास्थ्योपचार सपनामा पनि सोचिदैन थियो । जब, तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथाको चुचुरो चुमे, बल्ल खुम्बु क्षेत्रबारे संसारले सुन्न थाल्यो । पीडाले लपेटिएका पाङबोचेका शेर्पाहरू सन् १९५० पछि बल्ल चौँरीगोठालो जिन्दगीबाट अलिक पर सोच्न थाले, विदेशी पर्यटकको भरिया बन्नेसम्म । त्यसैले ४ अक्टोबर सन् १९६४ मा पाङ्वोचेमा जन्मिएका शेर्पा सानै उमेरमा टे्रकिङ पेसामा लागे, किचेन ब्वाईका रूपमा ।

शेर्पाको संघर्ष कथा काठमाडौँबाट सुरु हुन्छ । सन् ८० दशकमा काठमाडौँ आएका शेर्पाले संघर्षलाई सिकाइमा बदले । अभाव र पीडाको भारीबाट थिचिनेभन्दा फैलिने प्रयास गरे । फैलावटको त्यही स्वप्न बोकेर काठमाडौँ छिरेका शेर्पा ५५ वर्षको उमेरसम्म आइपुग्दा ५० अर्बभन्दा बढी लगानीको मालिक बनिसकेका थिए ।

आङछिरिङले दाजुभाउजू लाक्पा सोनाम शेर्पा र पासाङल्हामु शेर्पाको थाम्सेर्कु कम्पनीमा काम सुरु गरे । संघर्षबाट उठेका आङछिरिङले शेर्पाप्रतिको बाहिरिया नजर नै परिवर्तन गरिदिए । आङछिरिङको त्यही शक्ति र सपनाले शेर्पालाई भरियाको रूपमा मात्रै बुझ्ने विदेशीलाई व्यावसायिक घरानाको पहिचान पनि दिलाए ।

शेर्पा उच्च क्षेत्रमा गल्फ खेल्न रुचाउँथे । त्यसै कारण ६ हजार १ सय ८७ मिटर अग्लो कोङदे हिमालको काखमा गल्फ खेलेको तस्बिर अन्तर्राष्ट्रिय मिडियामा चर्चित बन्यो ।


सुरक्षा उपकरणका जानकार

वीरेन्द्रप्रसाद श्रेष्ठ, उपमहानिर्देशक

वीरेन्द्रप्रसाद श्रेष्ठको जीवनमा तीन वर्षको अन्तरालमा दुई ठूला हवाई दुर्घटना भए । चुनौतीको साँधमा उभिएका श्रेष्ठले तीन वर्ष पहिलाको दुर्घटना सम्हाले । तर तीन वर्षपछिको दुर्घटनालाई श्रेष्ठले टार्न सकेनन् । नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक श्रेष्ठ सुरक्षा उपकरणका प्राविधिकविज्ञ मानिन्थे ।

२० फागुन ०७२ । २ सय २७ यात्रु बोकेको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानसम्म पुग्यो । त्यही घाँसे मैदानका कारण विमानमा थप क्षति हुन पाएन । तीन दिनसम्म अन्तर्राष्ट्रिय उडान अवरुद्ध गर्ने त्यो दुर्घटना सम्हालेका थिए, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धकको हैसियतमा ।

१५ फागुन ०७५ मा श्रेष्ठ आफैँ हेलिकप्टर दुर्घटनामा परे । रेडियो टेक्निकल अफिसरबाट प्राधिकरण प्रवेश गरेका श्रेष्ठले हवाई सञ्चार र पथप्रदर्शन (नेभिगेसन) हेर्थे । उनको कुशलताकै कारण आन्तरिक विमानस्थलमा आधुनिक सञ्चार र नेभिगेसनमा स्तरोन्नति गरियो । आईकाओ र इयुले नेपालको हवाई सुरक्षामाथि प्रश्न उठाएपछि श्रेष्ठको टोली सक्रिय थियो । सन् २००९ पछि नेपालको हवाई सुरक्षामा चामत्कारिक सुधार भएको छ, प्राविधिक र संवेदनशीलताको कोणबाट । त्यसको जस श्रेष्ठमा पनि जान्छ । श्रेष्ठले भरपूर विज्ञता दर्शाएका थिए । सरल र मिजासिला श्रेष्ठ कतिपय उपकरण जडानमा फिल्डमा पुग्ने मात्र होइन, आफैँ काम पनि गर्थे ।


इन्जिनियरका पनि इन्जिनियर

ध्रुव भोछिभोय, इन्जिनियर

चुहानडाँडा मन्तव्य रवीन्द्र अधिकारीको अन्तिम भाषण बन्यो । छोटो समय बोलेका अधिकारी ध्रुव भोछिभोयको क्षमता र विज्ञतामाथि बोल्न भ्याए । त्यही भाषणमा भनेका थिए, 'भोछिभोय इन्जिनियरका पनि इन्जिनियर' हुन् । प्रधानमन्त्री ओलीको पुख्र्यौली गाउँ चुहानडाँडामा विमानस्थल बनाउने प्रयासमा पुगेको यो टोली स्थानीयलाई आश्वस्त पार्न चाहन्थ्यो । त्यस अर्थमा अधिकारीले भोछिभोयलाई देखाएर विमानस्थल निर्माणमा आशंका हटाउन चाहेको देखिन्थ्यो ।

इन्जिनियरिङ विभाग प्रमुख भएकाले भोछिभोय प्राधिकरणमा स्वाभाविकै 'इन्जिनियरका पनि इन्जिनियर' हुने भइहाले । नागरिक उड्डयनको सिभिल इन्जिनियरविज्ञ भोछिभोयले सिभिल इन्जिनियरिङबाट सेवा प्रवेश गरेका थिए । त्यतिबेला आन्तरिक विमानस्थल हेर्ने निर्देशकका रूपमा कार्यरत थिए । पुख्र्यौली घर बनेपा भएका भोछिभोय दुई महिनामा प्राधिकरणबाट अवकाश हुँदै थिए । अवकाशपछि बनेपामा घर बनाउने उनको इच्छा थियो । र, त्यही सन्देश दिएका थिए, घर पुगेर बाबुआमालाई । तर घर बनाउने इच्छा पूरा नहुँदै ज्यान गुमाए ।


इमानी अधिकृत

युवराज दाहाल, उपसचिव

मिजासिला र विकासप्रेमी कर्मचारीको छवि बनाएका थिए, उपसचिव युवराज दाहालले ।  धनकुटा, इलाम, काठमाडौँ  दाहालले जहाँजहाँ काम गरे, त्यहाँ मौलिक र रचनात्मक काम भयो । इलामलाई हरित नगरको रूपमा विकास गर्ने योजना होस् वा चियाबारीमा ट्रेकिङ रुटको परिकल्पना । दाहालका ती परिकल्पना र अवधारणा अहिले इलामको पहिचान बनेका छन् । इलाम नगरपालिकाको कार्यकारी अधिकृत भएर काम गर्दा दाहालले विकासको आफ्नो मोडल मात्र देखाएनन्, इमानको नमुना पनि देखाए । अहिले प्रधानमन्त्री कार्यालयका उपसचिव दाहाललाई त्यही इमान, मिजासिलो र भिजनका कारण प्रधानमन्त्री केपी ओलीले रुचाएका थिए ।

इलामको नगरमा प्यागोडा शैलीका चौतारा निर्माणमा उनको भिजनले काम गरेको थियो । त्यस्ता काम दाहालले त्यो समयमा गरे जतिबेला स्थानीय निकाय रिक्त थियो । अनि, राजनीति संक्रमणको चरण पनि उत्कर्षमा थियो । काम गरे हुने रै'छ, भिजन र सत्प्रयास मात्र आवश्यक छ भन्ने उदाहरण दाहालले दिएका थिए । त्यतिबेला नै दाहालले इलामको भविष्यका लागि विमानस्थलको आवश्यकता पनि औँल्याएका थिए ।


कर्तव्यनिष्ठ पीएसओ

अर्जुन घिमिरे, जमदार

रामेछापको दुर्गम गाउँ गुम्देलमा दुःखको भारीले थिचिएर हुर्केका हुन्, अर्जुन घिमिरे । जीवन गुजाराका लागि नै सेनाको जागिर रोजेका थिए, त्यो पनि संकटकालको समयमा । माओवादी द्वन्द्वको त्यो उत्कर्ष समय ०५८ मा जागिर प्रवेश गरेका घिमिरे उमेरले ३४ वर्षका थिए ।

घिमिरे बाबु बित्नु एक महिनाअगाडि मात्रै मन्त्री अधिकारीका पीएसओ हुन पुगेका थिए । बाबु बितेको ६ महिनामै उनले पनि जीवन गुमाए । घिमिरे निकटका अनुसार उनी कहिल्यै रिसाउँदैनथे र रमाइलो गर्न पनि खास रुचि राख्दैनथे । उनका आमा, श्रीमती, नौ वर्षका छोरा छन् । भाइ पनि सेनामा कार्यरत छन् ।


परिपक्व र लगनशील

प्रभाकर केसी, पाइलट

५ वर्षे उडान लामो समय होइन, तर भरपर्दो र लगनशील व्यक्तिले छोटो समयमै उडानमा परिपक्वता देखाउन सक्छन् । त्यही परिपक्वता र अनुभवी पाइलटमा पर्थे, २६ वर्षे प्रभाकर केसी । आकाशको उडानमा मौसम होस् वा प्राविधिक पक्ष । जे भए पनि पाइलट चनाखो हुनैपर्छ । सायद, यी सबै विषयमा केसी परिपक्व मानिन्थे । त्यसैले भीआईपीको उडानमा उनी रोजाइमा पर्थे । १५ फागुनको उडानमा पनि पर्यटनमन्त्री रवीन्द्र अधिकारी र आङछिरिङ शेर्पाको रोजाइमै थिए । केही दिन पहिला केसीकै उडानमा आङछिरिङ सोलुखुम्बु गएका थिए । एयर डाइनेस्टी हेलिकप्टर सर्भिसका बालकृष्ण पण्डित स्मरण गर्छन्, "पर्यटनमन्त्री अधिकारी पनि केसीलाई राखिदिनू भन्थे ।" सन् २०१४ मा एयर डाइनेस्टीमा आबद्ध भएका थिए । केसी आबद्धताको ५ वर्ष भए पनि कम्पनीको पूर्णकालीन जागिरे भएको भने ३ वर्ष मात्र पुगेको थियो । पण्डितको भनाइमा केसी कम्पनीमा मिलनसार र हितैषी पाइलटमा पर्थे ।

यी पनि पढ्नुहोस् :

मौसमको लय नबुझ्दा

→ [सम्पादकीय] शोकभित्र सन्तप्त सन्देश

हेलिकोप्टर दुर्घटनामै बितेका थिए आङछिरिङका भाइ पनि

प्रकाशित: फाल्गुन १९, २०७५