[सम्पादकीय] शोकभित्र सन्तप्त सन्देश

- सम्पादकीय

ताप्लेजुङ दुर्घटनाको शोकबाट देश बाहिर आइसकेको छैन । १५ फागुनको मध्याह्न देशले मन्त्रीसहित होनहार सात नागरिक गुमायो । योसँगै अन्तर्राष्ट्रिय क्षेत्रका लागि नेपाली आकाश फेरि एकपल्ट संशयको बादलले मडारिएको छ ।

दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सरकारी टोली सवार थियो, जसमा वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुन घिमिरे, ध्रुव भोछिभोय थिए । पाइलट प्रभाकर केसीले उडाएको त्यो हेलिकप्टरमा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा सँगै थिए । भ्रमण मुकाम तेह्रथुम चुहानडाँडा तोकिए पनि प्रतिकूल मौसमबीच बिनायोजना ताप्लेजुङको उच्च पहाडी क्षेत्र पुगिछाड्ने दुस्साहसी सोचको सिकार बन्न पुग्यो, यो दुर्घटना ।

नियमित आकस्मिकताजस्तै बन्ने गरेका हेलिकप्टर दुर्घटना शृंखलाको पछिल्लो कडीका रूपमा ताप्लेजुङ घटना भएको छ । यो पछिल्लो प्रकरणले सिंगो देशलाई जति मर्माहत बनाएको छ, त्यति नै सरोकारवाला उच्च तहमा जवाफदेही संस्कृतिको बिलकुलै अभाव रहेको यथार्थ फेरि एकपल्ट बोध गराएको छ ।

त्यसैले उपल्लो सरकारी तहले शोककै बीचमा यो सकार्नुपर्छ- ताप्लेजुङको दुःखद घटना हाम्रो उड्डयन क्षेत्रका पुरानै गल्तीको निरन्तरता हो । नेपालको यो अंकमा मनबहादुर बस्नेत ताप्लेजुङ संवाददाता आनन्द गौतमले आफ्नो रिपोर्टमार्फत यसै तथ्यलाई जोड दिएका छन् । उच्चस्तरीय छानबिन टोलीले आफ्नो अध्ययनपछि दिने निष्कर्ष यसैको वरिपरि आउनेमा हामी विश्वस्त छौँ ।  प्रतिकूल मौसममा अपनाउनुपर्ने सावधानी तथा यसमा अद्यावधिक प्रविधिको खाँचो पूर्तिका लागि शीघ्र निर्णय गर्न हामी सरकारलाई घच्घच्याउन चाहन्छौँ ।

कस्तो दुःखद संयोग ! हालसम्म नेपाली आकाशबारे अन्तर्राष्ट्रिय मञ्चमा चल्दै आएका नकारात्मक हल्लाको अन्त्य गर्न स्वयं मन्त्री अधिकारी क्रियाशील थिए । पहिलोपल्ट कुनै मन्त्रालय सम्हालेको अनुभव लिँदै गरेका उनले नेपाली आकाशलाई भरपर्दो बनाउने, हवाई उड्डयनसमेतको सहाराले पर्यटन प्रवर्द्धन गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेर काम गरिरहेका थिए । सम्मुखमा 'भिजिट नेपाल-२०२०' आउँदै थियो, जसको तयारीमा उनी अग्रसर थिए ।

पक्कै, अरू समकालीनझैँ अधिकारी कमजोरीसहितका नेता थिए । तर नेपाली समाजमा राजनीतिलाई घृणा र हेयभावले हेर्ने आम प्रवृत्तिबीच राष्ट्रिय आशाको सञ्चार गर्न क्रियाशील उनको असमयमा अस्त भएको छ । सँगसँगै उनले अघि सारेका राष्ट्रिय लक्ष्यले अब कस्तो आकार लिने हुन् भन्ने चिन्ता पनि उठेका छन् ।

मन्त्री सवार हेलिकप्टरमा ७ यात्रु चढ्ने अनुमति थियो तर भौगोलिक उचाइअनुसार वहन क्षमता घटबढ हुने तथ्यबारे विज्ञहरूले अवगत गराउने गरेका छन् । त्यसैले मन्त्री अधिकारीसँगै दिवंगत अरू ६ यात्रुलाई श्रद्धाञ्जली व्यक्त गर्दै गर्दा प्रकृति र प्रविधिसँग नजुध्ने प्रण पनि सँगसँगै गर्नुपरेको छ । प्रतिकूल मौसमसँग मानिसले सम्झौता गर्नैपर्छ । निश्चित उचाइभन्दा माथिका लागि प्राविधिक सावधानी त्यत्तिकै आवश्यक पक्ष हो ।

जति नै प्रार्थना गरे पनि बितेकाहरू अब फर्केर आउने छैनन् । जतिसुकै खराब अनुभवले पनि केही न केही पाठ सिकाएरै जान्छ । ताप्लेजुङ घटना यस्तै एउटा शिक्षा हो- नेपाली आकाशको सुनिश्चितता र हवाई यात्रु सुरक्षाको । यसलाई बेवास्ता गरे हामी जन, धन र राष्ट्रिय प्रतिष्ठाको थप खतितर्फ उन्मुख हुनेछौँ ।

ताप्लेजुङ दुर्घटनाको शोकभित्र सन्तप्त सन्देश यही हो ।

यी पनि पढ्नुहोस् :

→ मौसमको लय नबुझ्दा

पूर्वमा अस्ताएका ती सात

हेलिकोप्टर दुर्घटनामै बितेका थिए आङछिरिङका भाइ पनि

प्रकाशित: फाल्गुन १९, २०७५