पद्मकन्याकी पहिली सभापति

- मीना पाण्डे

स्ववियु निर्वाचनलगायत ३६ सूत्रीय माग राखेर २२ चैत ०३५ देखि सुरु भएको विद्यार्थी आन्दोलनले राजधानी काठमाडौँसहित देशैभर राजनीतिक प्रतिरोधको स्वरुप लियो । आन्दोलनको दौरान कैयौँ विद्यार्थी घाइते भए । विभिन्न खेमामा विभक्त विद्यार्थी संगठन एउटै भई शाही सरकारसँग मुकाबिला गर्न ९ सदस्यीय संयुक्त संघर्ष समिति बनाए, २७ चैत ०३५ मा । त्यो समितिमा नेपाल विद्यार्थी संघका बलबहादुर केसी, बेनुप प्रसाईं, शिव भुर्तेल, अनेरास्ववियुका शरणविक्रम मल्ल, भरत पोखरेल र ध्रुव ज्ञवाली अनि नेराविफेका ध्रुव श्रेष्ठ, कैलाश कार्की र सुनील मानन्धर थिए ।

पहिलोपल्ट विद्यार्थी संगठन एकीकृत मागसहित आन्दोलनमा उत्रिएपछि पञ्चायती सरकार वार्तामार्फत समस्या समाधान गर्न तम्सियो । त्यसैको परिणाम राजा वीरेन्द्रले विद्यार्थी आन्दोलनका क्रममा भएका ज्यादती छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका न्यायाधीश धनेन्द्रबहादुर सिंहको अध्यक्षतामा शाही आयोग गठन गरे, ७ जेठ ०३६ मा ।

संघर्ष समितिका प्रतिनिधि र शाही आयोगबीच भएको वार्ता समझदारीमा टुंगियो । विद्यार्थीका माग पूरा गर्न सरकार बाध्य भयो । आन्दोलनकै कारण राजनीतिक दल प्रतिबन्धित रहेकै अवस्थामा पहिलोपल्ट सरकारी/निजी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन गठन गर्ने अधिकार पनि प्राप्त भयो । विभिन्न पार्टी संगठनमा आस्था राख्ने विद्यार्थी संगठनबीच क्याम्पसमा स्ववियु सभापति चुनिने व्यवस्था गरियो ।

त्रिभुवन विश्वविद्यालय क्याम्पस, विद्यार्थी युनियन विनियम, ०३६ अनुसार नेपालभरका सरकारी तथा निजी क्याम्पसमा स्ववियु चुनाव भयो, २७ कात्तिक ०३६ मा । पद्मकन्या (पीके) मा अध्ययनरत मैले पहिलोपल्ट स्ववियु सभापतिमा उम्मेदवारी दिने सहमति बन्यो । दलीय व्यवस्था प्रतिबन्धित रहे पनि स्ववियु चुनावमा पार्टीको सिफारिसमा उम्मेदवारी तय हुन्थ्यो । 

उबेला पीकेमा करिब ५ हजार विद्यार्थी अध्ययनरत थिए । स्ववियु निर्वाचनमा पहिलोपल्ट विद्यार्थीले त्रासबिनै खुला वातावरणमा मतदानमा भाग लिए । पीकेमा नेविसंघ समूहबाट स्ववियु पदाधिकारीमा ११ जना चुनावी मैदान उत्रिएका थियौँ । त्यसमध्ये सभापतिमा मीना खड्का (उबेला मेरो बिहे भइसकेको थिएन), उपसभापतिमा ज्योति भण्डारी, सचिवमा इन्दिरा बस्नेत, सहसचिवमा प्रतिमा पाठक, कोषाध्यक्षमा कुसुम शाक्य थियौँ । त्यस्तै, स्ववियु सदस्यका लागि दुर्गा भट्टराई, माया आले, चोलावती उपाध्याय, वसन्ती मिश्र, गीता श्रेष्ठ र कल्पना पियाले चुनावी प्रतिस्पर्धा गरेका थिए ।

स्ववियु निर्वाचनमा विभिन्न विचारधाराका कम्युनिस्ट पार्टीहरुका विद्यार्थी संगठनले एकीकृत रुपमा उम्मेदवारी घोषणा गरेका थिए । सोहीअनुसार सावित्री भुसाल अखिल छैटौँ (नेकपा) र कमला ज्ञवाली (माले) सभापतिको प्रतिस्पर्धामा थिए ।

स्ववियु निर्वाचनको समयमा त्रिविका उपकुलपति महेन्द्र प्रसाद थिए । पीकेका क्याम्पस प्रमुख साम्बभक्त पन्त अध्यक्षताको समितिले स्ववियु निर्वाचन गराएको थियो । स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिविले खटाएका चेतनाथ गौतमले निर्वाचन आयुक्तको जिम्मेवारी पाएका थिए । निर्वाचनको भोलिपल्ट अर्थात् २८ कात्तिक ०३६ मा उनै गौतमले मत परिणाम घोषणा गरे ।

पद्मकन्या स्ववियु इकाइको चुनावमा सभापतिसहित नेविसंघ समर्थक पूरै प्यानल विजयी हुन सफल भयौँ । हामीले खसेको मतको करिब ७५ प्रतिशत (३ हजार ७ सय ५०) र  कम्युनिस्ट पार्टीमा आबद्ध विद्यार्थी संगठनले २५ प्रतिशत (१ हजार २ सय ५०) मत ल्याउन सके । क्याम्पस परिसरभित्र दलीय आधारमा भएको स्ववियु चुनाव संसदीय निर्वाचनभन्दा भिन्न देखिँदैनथ्यो । माउराजनीतिक दलका शीर्ष नेतृत्वसमेत भ्रातृसंगठनबाट चुनावी मैदानमा उत्रिएकालाई हौसला दिन क्याम्पस परिक्रमा गर्थे ।

उबेला निजी कलेजको संख्या न्यून थियो । पीकेमा शाही परिवारका नाता-सम्बन्ध भएका र पञ्च शासक/प्रशासकका छोरीचेलीले पनि अध्ययन गर्थे । पञ्चायती शासन टिकाउन भरथेग गरिरहेका उनै पञ्चायत समर्थकका छोरीहरुको मतबाट प्रजातन्त्रमा आस्था राख्ने हामी अत्यधिक मतले चुनियौँ ।   

स्ववियु सभापतिको हैसियतमा हाम्रो टिमले पद्मकन्यामा सर्वप्रथम बाहिरबाट अध्ययनका लागि आएका विद्यार्थीलाई सहज आवास सुविधा दिलाउन पहल गर्‍यौँ । सोही पहलस्वरुप ११ पुस ०३६ मा पीकेमा ३२ कोठासहितको छात्रावास निर्माण भयो । त्यो छात्रावासचाहिँ रानी ऐश्वर्याले उद्घाटन गरेकी थिइन् । पीकेमा स्ववियु सभापतिको कार्यकाल पूरा गरेपछि म महिला संघमा आबद्ध भएँ ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: फाल्गुन १७, २०७५

ट्याग: स्मरण