जर्नेलको जंगी रहर

- मनबहादुर बस्नेत

नेपाली सेना मातहतको राष्ट्रिय सेवा दल (एनसीसी) ले किशोरकिशोरी विद्यार्थीमा राष्ट्रिय भावना जगाउन बर्सेनि तालिम दिँदै आएको छ । एनसीसीको यस्तै विकासक्रमबारे पुस्तक निकालिएको रहेछ, राष्ट्रिय सेवा दल (विगत वर्तमान) । नागरिकलाई सदाचारी बन्न प्रेरित गर्ने यो संस्थाका प्रमुख आफैँ आचरणविपरीत काम गर्दा रहेछन् । किताब पल्टाउँदा प्रमाण खडा छ । एनसीसी प्रमुखको हैसियतमा रमीन्द्र क्षत्रीको दुईपाने मन्तव्य छ । मन्तव्यको पुछारमा उपरथी पद लेखेका छन् । क्षत्री उपरथी होइनन् । सहायक रथीबाट अवकाश पाएका उनलाई उपरथी मानार्थ दर्जा दिइएको हो ।

अवकाशलगत्तै एनसीसीको प्रमुख सल्लाहकार बनेका क्षत्री चार वर्षपछि कार्यकारी निर्देशक हुँदै हालसम्म बहाल छन् । मानार्थ भए पनि उपरथीकै पोसाकमा कार्यालय आउजाउ गरिरहेका छन् । अवकाशप्राप्त केही सैनिकको सिकायत जंगी अड्डामा नपरेको होइन । तर सबै मौन छन् । अहिले अर्को रमिता थपेछन्, सेवारत उपरथीसरह पुस्तकमा आफूलाई अंकित गरेर । दर्जा लेखेर अवकाशप्राप्त राखिने अन्तर्राष्ट्रिय चलन नै हो ।

एनसीसीको यो पुस्तक ०६९ मा निकालिएको नेपाली सेनाको इतिहासकै लेखकहरुमध्येका प्रा कमलसिंह राठौरले तयार पारेका रहेछन् । यस किताब पनि सेवा दलको इतिहाससम्बन्धी हो, तर सुरुमै तथ्यको हुर्मत लिइएको छ । प्रश्न स्वाभाविक छ, जंगी अड्डाले इतिहास लेखिरहेछ कि भत्काइरहेछ ? एक जर्साबको रहरमा सैनिक इतिहास बंग्याउन मिल्छ ? 

फेरि पनि दुरुपयोग

प्रसंग एनसीसीकै । बारास्थित अमलेखगन्जमा चिया पिउन पसेको होटल परिसरमा टाँसिएको एउटा फोटोले ध्यान तानिहाल्यो । फोटोमा सैनिक पोसाकका व्यक्ति देखिन्छन् । सैनिक अधिकृतबाट एक व्यक्ति प्रमाणपत्र लिइरहेका छन् । फोटोको टुप्पोमा लेखिएबाटै थाहा भयो, भर्नासम्बन्धी सूचना रहेछ ।

सुरुमा त सेनाको स्कुल रहेछ भन्ने अन्दाज लगाइयो । नियाल्दा कुरो अर्कै । हेटौँडा एकेडेमीको प्रचार पो रहेछ । प्रमाणपत्र थाप्ने व्यक्ति रहेछन्, विवादित व्यापारी अजेयराज सुमार्गीका भाइ अरुण । हेटौँडा एकेडेमी उनकै रहेछ । उक्त विद्यालयका विद्यार्थी एनसीसीको तालिममा सहभागी भएका रहेछन् कुनै बखत । त्यही बेला खिचिएको फोटो विद्यालयले नाफामुखी प्रचारमा राखेछ ।

मिडियाकर्मीलाई सेनाकै सूचना तथा जनसम्पर्क निर्देशनालयले ओरिएन्टेसन कार्यक्रमअन्तर्गत फिल्डमा लगेको थियो । सँगै रहेका सेनाका अधिकारीसमक्ष जिज्ञासा राख्दा यसलाई 'मिल्दै नमिल्ने' भनेर टिप्पणी गरे । पहुँचको आडमा बर्दीवाला तस्बिर देखाएर व्यापार गर्नेमाथि जंगी अड्डाले के गर्‍यो, थाहा छैन । 

अध्यागमनमा जमानी सम्झौता

ट्रेकिङ पेसाका एक चिनारु फ्रान्सबाट निम्तो आएपछि जाने भए । भिसा लाग्यो । मिति तय भयो, १९ माघ । निर्धारित समयमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे, दिउँसो साढे २ बजे । 'अर्जेन्ट' भनेर चिनारुको म्यासेज आयो । अध्यागमन कर्मचारीले उनलाई अगाडि जान दिएनछन् । अध्यागमनले कारण केही बताएनछ ।

प्रतिबन्धित मुलुक पनि होइन । सामान्य सोधपुछ गर्दैमा डराएका होलान् भनेर केहीबेर पर्खन आग्रह गरेँ । साढे ४ बजेको उडान छ, पौने ४ सम्म नछाडेपछि फेरि अत्तालिएको स्वरमा फोन आयो । कारण खुलाउँदैन । जान पनि दिँदैन । पहिलोचोटि कसरी फ्रान्सको भिसा लाग्यो ? एसएलसी पास मात्र व्यक्ति कसरी फ्रान्स जान सक्छ ? यस्ता बेतुकका प्रश्न सोधेर मानसिक रुपमा गलाएछ । 

बेलिविस्तार लगाएर एक जना मन्त्रीका पीएलाई समस्या बिसाएँ । उनले तुरुन्तै अध्यागमन विभागका महानिर्देशकलाई समस्या पुर्‍याइदिएछन् । महानिर्देशकले चासो राखेपछि उनी उडे । तर विमानस्थल पुर्‍याउन जाने आफन्तसँग ऊ फर्केर आउँछ भन्ने बेहोराको जमानी कागजात गराएर । फर्केर आउँछ वा आउँदैन भन्ने चासो हाम्रो अध्यागमनको हो कि सम्बन्धित मुलुकको ? 'खासमा अध्यागमनका कर्मचारीले अनुहार हेरेरै  सोझासीधालाई आफ्नो अवैध आम्दानीको स्रोत बनाउँछन् । अत्तालिएर पैसा दिन्छन्,' यो गतिविधि नियालिरहेका एक प्रहरीले जमानी बस्नेलाई र्फकने बेला सुटुक्क भनेछन् ।

यात्रुबाट यस्तै अनधिकृत कमाइ गरेकै कारण विमानस्थल अध्यागमनका कर्मचारी बारम्बार कारबाहीमा परेका, कर्मचारीको समूह नै फेरेका घटना थुप्रै सुनिए । तर यो अड्डाको चरित्र कहिल्यै नफेरिने रहेछ । के गर्ने होला सरकार ? 

प्रकाशित: फाल्गुन १७, २०७५

ट्याग: नोटबुक