कच्चा 'क्याप्टेन'

- गोकर्ण गौतम

अनमोल केसीको आगमनसँगै सहरिया युवापुस्ताको नेपाली फिल्मप्रति मोह बढ्यो । चकलेटी मुहारका धनी अनमोल 'लभर ब्वाई'का रुपमा पर्दामा खुब रुचाइए । उस्तै प्रकृतिका भूमिकामा रमाएको आरोप लाग्न थालेपछि कृमा एक्सन अवतारमा देखिए । यो आफैँमा सकारात्मक कदम थियो तर उनको साख बढाउन कृ सफल भएन । उनै अनमोल नयाँ फिल्म क्याप्टेनमा फुटलबरका रुपमा देखिएका छन् । तर यसको हविगत पनि कृभन्दा रक्तिभर भिन्न छैन । बासी प्लट र अतिरञ्जित 'मेलोड्रामा'को धङधङीबाट ग्रस्त छ । अनमोललाई एकोहोरो 'हिरो' बनाउने चक्कर त छँदैछ । अपजसको पहिलो भागीदार हुन्, लेखक/निर्देशक दिवाकर भट्टराई । उनले एउटै यस्तो दृश्य सिर्जेका छैनन्, जुन पहिल्यै पर्दामा नहेरिएको होस् । अरु के भन्नु !

देशलाई गोल्ड मेडल जिताउने बुबाको आकांक्षा पूरा गर्न इशान (अनमोल) फुटबल खेल्दैछन् । खेल राम्रै छ तर पारिवारिक समस्याले फुटबल खेल्न पाउँदैनन् । पैसा कमाउनकै लागि नानाथरी काम गर्छन् । बल्लतल्ल राष्ट्रिय टिममा पर्छन् तर साफ गेम अगावै टिमबाट बाहिरिनुपर्छ । बच्चादेखि फुटबल भनेपछि मरिहत्ते गर्ने इशानले देशको नाम चम्काउन सक्लान् ?आक्कलझुक्कल नेपाली फिल्म हेर्नेलेसमेत क्लाइमेक्स सहजै पहिल्याउन सक्छन् ।

खेलबाट बुबाको सपना अधूरै हुने, त्यो सपना छोरामा लाद्ने, आमाले अवरोध गर्ने, छोराचाहिँ अब्बल हुँदाहुँदै पनि अनेक झालझेलमा परेर अगाडि बढ्न नसक्ने तर अन्तिममा छोरैले जित्ने कथादर्जनौँ पटक हेरिसकिएको छ । प्रायः 'स्पोर्टस् ड्रामा' यही घेराभित्र हुन्छन् । तैपनि,नवीन कथा भन्नेशैलीमार्फत ताजगी ल्याउन सकिन्थ्यो तर निर्देशक दिवाकर पूरापूर परम्परागत ढर्राबाट पिल्सिएका छन् । योभन्दा खट्कने पक्षचाहिँ, केन्द्रीय द्वन्द्वमै रहेको अलमल हो । घरी फिल्म फुटबलरको यात्राजस्तो लाग्छ, घरी त्रिकोणात्मक प्रेमकथा । पारिवारिक उल्झन पनि उत्तिकै छन् । विल्सनविक्रम राई, राजाराम पौडेल, रवि डंगोल, निर्मल शर्मालगायतका कलाकार हसाउन हाजिर छन् । यसरी मसलेदार बनाउने लहडमा फिल्म बेस्वादको भएको छ ।

हामीकहाँ खेल र खेलाडीलाई केन्द्रमा राखेर असाध्यै कम फिल्म बन्छन् । त्यसैले क्याप्टेन बन्नु आफैँमा सुखद हो । यसले मनछुने कथा पस्केर फुटबलप्रतिको प्रेम थप सशक्त बनाउने आशा राखिएको थियो। तर फिल्म हेरिसकेपछि निराशाको पल्लाभारी हुन्छ । कतिसम्म भने, खेलाडीका रुपमा अनमोलको संघर्ष देख्नै पाइन्न । सिर्फ, फुटबल खेल्न नपाएको बाह्य अवरोधमै सीमित छ । सोही कारण इशानलाई खेलाडीको रुपमा दर्शकले आत्मसात् गर्नै हम्मेहम्मे पर्छ । जर्सी र बुट लगाउँदैमा फुटबलर मानिदिनुपर्ने हो भने त अलग कुरा ! त्यसमाथि इशानको जीवनमा दुई हिरोइनको दबदबाले फुटबलर हुन् भन्ने बिर्सिइन्छ, पटक-पटक । यसलाई पात्र र कथाप्रतिको अस्पष्टताको परिणाम मान्न सकिन्छ ।

सुदीप बरालको खिचाइबाहेकका प्राविधिक पक्षमा क्याप्टेन उस्तै चुकेको छ । सुरुआतबाटै पाश्र्वध्वनि यति चर्को छ कि दृश्यभाव र त्यसबाट दर्शकमा पैदा हुनसक्ने मुड पूरै विथोलिन्छ । कैयौँ दृश्यमा 'डबिङ' छुटेको छ, कतै पात्रको आवाजको लेभल तलमाथि छ । फिल्मभित्र अनमोलका हरेक गोल जादूयी देखाउन भीएफएक्सको सहारा लिइएको छ । तर त्यसमा खेलाँची गरिएकाले गोलको मज्जा लिनै सकिन्न । भीएफएक्स गरिएका हरेक दृश्य आँखामा बिझाउँछन् । दर्शकप्रति उत्तरदायी नभएको प्रमाण हो यो । त्यसमाथि फिल्मको अन्त्यतिर बंगलादेश र भारतसँगको खेलमा मैदानको हुटिङ सुन्नै पाइन्न, पाश्र्व संगीत र कमेन्ट्री मात्र सुनिन्छ । सोही कारण दर्शकसम्म खेलको रोमाञ्च प्रवाह हुनसक्दैन । घाइते खेलाडी छोरालाई हि्वलचेयरमा मैदान पुगेर बाबुले हौसला दिने र छोरा जुरुक्क उठेर भटाभट गोल ठोक्ने दृश्य पनि यही फिल्ममा देख्न पाइन्छ । इशानकी आमा (सूर्यमाला खनाल) ले राष्ट्रिय टिमका प्रशिक्षकका अगाडि छाँटेको राष्ट्रवाद पनि पचाउन मुस्किल पर्छ । फुच्चे इशान लक्का जवान हुन्छ तर बाबुआमाजस्ताको तस्तै।

'रहर छ सँगै...' गीत सुमधुर छ । अनमोललाई पहिलो पटक पेन्टिङ गर्ने, सिमेन्ट बोक्ने, सहरका भित्तामा पोस्टर टाँस्नेजस्ता काम गर्दै गरेको देख्न पाइन्छ । तथापि उनलाई सुन्दर देखाउन कुनै कसर छाडिएको छैन । केही संवाद अर्थपूर्ण छन् । सेट डिजाइन, कलाकारको भेषभूषा, लोकेसनमा चमकधमक देखाउन कन्जुस्याइँ गरिएको छैन । तर गुदी नै कमसल भएपछि चहकिलो आवरणले मात्र कहाँ धान्छ र ? अनमोलको करिअर र क्रेजमा यो कोटिको फिल्मले 'ब्याकफायर' गर्छ । अघिल्ला फिल्मका तुलनामा उनको अभिनयमा पनि परिपक्वता देखिन्न, ऐजन-ऐजन मात्र हो । यो चालाले उनी नेपाली फिल्मको 'क्याप्टेन' बन्न सक्दैनन् ।

बरु यही फिल्मबाट डेब्यु भएकी उपासना सिंह ठकुरीले स्वाभाविक अभिनय गरेर सम्भावना देखाएकी छन् । अर्की नवहिरोइन प्रियंका एमभीको न भूमिका विश्वसनीय छ, न त अभिनय नै । प्रशान्त ताम्राकार सधैँ एउटै भूमिकामा । हसाउन विल्सनविक्रम ठीकठाक छन् । रवीन (अमित श्रेष्ठ) को चरित्रलाई पूरापूर अन्याय गरिएको छ । उनलाई जबर्जस्ती गुन्डा बनाएबाटै निर्देशकको समझको छनक पाइन्छ । चौथो फिल्मसम्म आइपुग्दा पनि दिवाकरमा उस्तै अपरिपक्वता झल्किन्छ । कम्तीमा निर्देशकका लागि फिल्मको मेरुदण्ड पटकथा र प्रस्तुति हुनुपर्छ, न कि स्टार । तर फिल्म हेरिरहँदा लाग्छ, अनमोल लिएपछि चलिहाल्छ भन्ने सोच हाबी छ ।

अनमोल भनेपछि हुरुक्क हुनेलाई क्याप्टेनले जेनतेन चित्त बुझाउला । नवीनता र सिर्जनशीलता खोज्नेलेचाहिँ हेर्ने कष्ट नगरेकै वेश । फेरि एकपटक प्रमाणित भएको छ, फिल्म स्टारले होइन, कन्टेन्टले अब्बल हुन्छ । 'स्टारडम'को ललिपप लामो समय टिक्दैन ।

प्रकाशित: फाल्गुन १७, २०७५