मानवताको 'ह्याकिङ'

- काशीराज दाहाल

इजरायली इतिहासविद् युवल नोह हरारीको तेस्रो चर्चित किताब ट्वान्टी वन लेसन्स फर ट्वान्टी फर्स्ट सेन्चुरीले मानवता र विवेकमा जोड दिन्छ । बीसौँ शताब्दीमा लन्डन, न्युयोर्क, बर्लिन, मस्कोले तीन खालका राजनीति अभ्यास गरे । मस्कोले साम्यवादको अभ्यास गर्यो । लन्डनले उदारवादको अभ्यास गर्यो भने बर्लिनमा हिटलरले फासीवादको । दोस्रो विश्वयुद्धले हिटलरको पतन गराएपछि फासीवाद र नाजीवादलाई काम नलाग्ने बनायो ।

सन् १९४०-१९८० सम्म उदारवाद र साम्यवादबीच एक किसिमको वैचारिक द्वन्द्व रहिरह्यो । १९८० पछि धेरै देशमा कम्युनिस्ट शासन अस्ताएर उदारवादी व्यवस्था आयो । हरारीका अनुसार उदारवादी लोकतन्त्रले पनि मानव समुदायको हितलाई सम्बोधन गर्न सकेन । उदारवादी लोकतन्त्रमा मानव अधिकार, समानता, खुला बजार र वैयक्तिक स्वतन्त्रता भए पनि भूमण्डलीकरणको सन्दर्भमा प्रविधिको विकासले मानवताको संरक्षण र जगेर्ना गर्न सकेन । व्यक्तिगत स्वार्थप्रेरित विभाजनदेखि आतंकवादलाई प्रवर्द्धन मात्रै होइन, वैश्विक तापमान पनि वृद्धि गर्यो उदारवादले ।

अहिलेको चुनौती नै सामूहिकताको विघटनमा जन्मिएको व्यक्तिकेन्द्री 'विद्युतीय तानाशाही' हो भन्ने निष्कर्ष छ, हरारीको । लोकतन्त्रमा सूचना छरिएकाले एउटै व्यक्तिसँग शक्ति केन्द्रीकृत हुन पाउँदैनथ्यो । तर अहिले जोसँग शक्ति छ, उहीसँग सूचना छ । र, जोसँग सूचना छ, शक्ति पनि उसैसँग छ । जलवायु परिवर्तनसँगै निम्तिने विपद् र आतंकवादलाई सम्बोधन गर्न नसक्नु उदारवादी लोकतन्त्रको गम्भीर सीमा हो । सन् २०५० सम्म यस्तै अवस्था निरन्तर रहेमा विश्वकै निम्ति खतरापूर्ण हुनेछ । चिन्ता गर्नुपर्ने कुरा हो- मानव समाजको भविष्य । नेपालमा चाहिँ जलवायु परिवर्तनबारे यथेष्ट जनचेतना देखिँदैन । एकीकृत वस्ती विकास गर्नुको साटो जताततै 'डोजर आतंक' ले प्रकृतिको दोहन गरेको छ । यस्तो भयावह परिस्थितिमा हरारीको यो पुस्तकले वातावरणीय विनाशको असर र भविष्यबारे सचेत रहन आह्वान गर्छ । मानवताको 'ह्याकिङ' प्रति चिन्तित हरारीको आशय छ- यो पुस्तकले सबै समाधान दिँदैन तर विमर्श गरौँ ।

रुल्स एन्ड रिजनः पर्सपेक्टिभ अन कन्स्टिच्युस्नल पोलिटिकल इकोनोमीमा संसारमा भएका संघीय प्रणालीगत अभ्यासको अध्ययन गरिएको छ । राम मुदाम्बी, पिएट्रो नभर्रा र गिउसेप्पे सोब्बि्रयोद्वारा सम्पादित यस किताबले राजनीतिक ढाँचाको परिवर्तन मात्रै पर्याप्त नहुनेमा जोड दिन्छ । आर्थिक संरचनाको परिवर्तनपछि नै समाज रुपान्तरण हुने वैचारिकताको पक्षमा उभिने स्थापित अध्येताहरुको लेख संगृहीत यस किताबमा संघीय प्रणाली सफल पार्ने आधारबारे विमर्श गरिएको छ । संघीय प्रणालीमा राज्य शक्तिको विभाजन र निक्षेपण आवश्यक हुन्छ तर अर्थतन्त्रको आकारभन्दा ठूला र अनावश्यक संगठन तथा संरचना खडा गर्नु हुँदैन । अन्यथा, प्रणालीप्रति नै जनतामा वितृष्णा पैदा हुन्छ । व्यवस्थित कर प्रणाली, प्राकृतिक स्रोत-साधनको न्यायोचित तहगत वितरण र समन्वय आदि पक्षलाई अर्थतन्त्रअनुरुपै ढालियो भने मात्रै समृद्धि सम्भव हुन्छ भन्ने बोध गराउँछ यस किताबले । जर्मनी र भारतको सहयोगात्मक मोडललाई स्वीकारेर नेपालको संविधानमा संघीयतालाई सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित हुने परिकल्पना गरेको छ ।

संरचनालाई खर्चिलो र बोझिलो बनाउनुभन्दा सेवामा जनताको पहुँचलाई सहज तुल्याउन सफल संघीय राज्यको आधारभूत सर्त रहेको पाटोलाई हाम्रोजस्तो अभ्यासरत मुलुकले बुझ्नु आवश्यक छ । भ्रष्टाचाररहित शीघ्र र गुणस्तरीय सेवाबाट मात्र राज्य/सरकारको अनुभव जनताले गर्न सक्छन् ।  संविधानभित्रैबाट सापेक्षिक सुधार खोज्ने, संविधान निर्माण प्रक्रियामा जनताको संलग्नता र स्वीकार्यता बढाउन ध्यान दिनुपर्ने कुरालाई लेखकले यस किताबमा जोड दिएका छन् ।

कर्तव्यनिष्ठ समाजका लागि श्रीमद्भगवत गीताको उपयोगिता दीर्घकालीन देख्छु । कृष्ण-अर्जुन संवादको रुपमा प्रख्यात गीताले बोलेको 'धर्म' कर्मकाण्डीय होइन, यो व्यावसायिक धर्म हो- कर्तव्य । न्यायाधीश न्यायकै मानकमा चुक्नु उसको धर्मबाट च्यूत हुनु हो । प्राविधिकले आफ्नो ज्ञानको प्रयोग गर्नुपर्छ । राजनीति जहिल्यै दार्शनिक हुनुपर्छ, उसले गन्तव्य देख्ने-देखाउने मात्रै होइन, नेतृत्वसमेत गर्नुपर्छ । पूर्वीय दर्शनको निचोड भेटिने गीता मानवीय मूल्य-मान्यताको संरक्षण गर्ने सामूहिक विवेकको पक्षमा छ । असल शासनका लागि निजी स्वार्थभन्दा माथि उठ्नुपर्ने सन्देश दिने गीतामा राजनीति, कूटनीति, न्याय, प्रशासन आदिको समग्र ज्ञान भेटिन्छ । 'बहुजन हिताय, बहुजन सुखाय' मा आधारित नीति बनाउनुपर्नेमा स्वार्थ समूहबाट प्रभावित हुनु आजको नेतृत्वको कमजोरी हो ।

गीताको 'निष्काम कर्मयोग' लाई मनन गरी राज्यका हरेक जिम्मेवार व्यक्ति खट्ने हो भने समाज बिस्तारै न्यायिक बन्छ । तर शक्तिशाली लाग्ने कृष्णले परोक्ष सन्देश दिएका छन्- कहिलेकाहीँ ज्ञान र कर्मले मात्रै परिस्थितिका जटिलता चिर्न सकिँदैन, न्यायका लागि चक्र पनि चलाउनुपर्छ । न्यायका लागि चाहिने कुरा हुन्- विधि, विधान र दण्ड । कर्तव्यविपरीत काम गर्ने भ्रष्ट व्यक्तिकै लागि हो, दण्ड । लाग्छ- कर्तव्यनिष्ठ नागरिक जन्माउन असल किताबले ठूलो मद्दत गर्छ ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: फाल्गुन १७, २०७५

ट्याग: तीन किताब