जलवायु परिवर्तनको सम्भावित अँध्यारो

- अजय दीक्षित

झन्डै ३० हजार फिटमा विमान माछापुच्छ्रे हिमाल अगाडि आइपुग्यो । हिउँबिनाको फुस्रो देखियो, त्यो चुचुरो । माछापुच्छ्रे हिमाल पहिलोपल्ट साक्षात्कार गरेको रोमाञ्चक समय सम्झिएँ । सन् १९६९ मा एसएलसी दिएपछि केही महिना तौलिहवामा बिदा मनाएको थिएँ । नतिजा आएपछि काठमाडौँ फर्किने दिन तय गरियो, भैरहवाबाट डकोटा विमानमा पहिलोपल्ट यात्रा गरेर । भैरहवाबाट उडेको विमान केही समयपछि अवतरण गर्दा काठमाडौँ भन्ठानेको थिएँ तर पोखरा रहेछ । विमानबाहिर जाने अनुमति पाइयो । धर्ती टेकेको मात्र थिएँ, अगाडि हिउँमय माछापुच्छ्रे देखेँ, प्रकृतिले मिहिनेतले कुँदेको उपहार । सास ढक्क फुलेको सम्झन्छु । त्यसपछि माछापुच्छ्रेलाई धेरैपल्ट कहिले लुकेजस्तो, कहिले मुस्काएजस्तो देख्छु ।

हाम्रो भू-भागमा माछापुच्छ्रे हिमालजस्तै उपहार छन्, ८ हजार मिटरभन्दा अग्ला, गगनसित काँध मिलाइरहेका । भारतीय र युरेसियाली प्लेट करोडौँ वर्षअघि ठोक्किन पुगे, यी चुचुरा बने, तिनको तल्लो भेगमा पूर्व-पश्चिम लागेका पहाडी शृंखला । ठक्कर निरन्तर छ, भू-भाग हलिन्छ कहिले बिस्तारै, कहिले विनाश ल्याउँदै । २०१५ अपि्रलमा बेस्सरी हल्लियो, जनधनको विनाश भयो, संस्थागत अकर्मण्यताले । केही दिनअघि साँझ कीर्तिपुरमुनितिर फेरि बिस्तारै हल्लियो, 'नबिर्सनु है' भन्दै । भूकम्पका झट्काबाट हुने विनाश कम गर्नेछौँ, सिकेका छौँ भन्ने विश्वास गरौँ । तर जति सिक्नुपर्ने हो, छैन । भूकम्प आउने छैन, यस्तै हो चलिहाल्छ भन्ने मनस्थितिमा पुगेका छौँ ।

हिमालयको बाहिरी भागले डरलाग्दो चुनौती  भोग्न थालेको छ, यदि मानव जातिले लिएको खनिज तेलमा आधारित विकासपथ निरन्तर रहने र रूपान्तरण नगरिने हो भने । यस पथको एउटा अनपेक्षित प्रतिफल जलवायु परिवर्तन हो । झन्डै अढाई सय वर्षअघि बेलायतमा पहिलो औद्योगिक क्रान्ति सुरु भयो, क्रान्तिको एउटा टेको थियो खनिज इन्धनको दोहन । जमिनमुनि रहेको कोइला र खनिज तेल सतहमा ल्याइयो, तिनलाई बालेर बिजुली निकालिए, अझै बालिन्छन्, मोटर गाडी, हवाईजहाज, रेल, पानीजहाज निर्माण गरियो, ती व्यापक प्रयोजनमा आएका छन् । पश्चिमा मुलुकले आर्थिक विकास गर्ने एउटा बाटो तय गरे, धेरै थोक हासिल पनि । औखतीमूलो र कृषि पद्धतिमा ठूलो विकास भयो । अन्य मुलुक पनि त्यही बाटोमा लागे । खनिज तेल विश्व राजनीतिमा उनियो, त्यसमाथिको नियन्त्रण सामरिक अस्त्र बनेको छ । डयानियल यर्गिनको पुस्तक प्राइज : इपिक क्वेस्ट फर आयल, मनी एन्ड पावर खनिज तेलको इतिहासको उत्कृष्ट दस्तावेज हो ।

सन् १८५० को दशकमा वैज्ञानिक जोन टिन्ड्लले के पत्ता लगाए भने कार्बनडाइअक्साइडजस्ता ग्यासले वायुमण्डललाई सिरकले जस्तै ढाकेको छ र त्यसले वायुमण्डलको औसत तापक्रम सन्तुलित राख्न सहयोग गर्छ । त्यस कालखण्डमा वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा २ सय ८० पीपीएम थियो र औसत तापक्रम १४ डिग्री सेल्सियस । त्यसपछि विभिन्न मानवीय क्रियाकलापका कारण कार्बन उत्सर्जन बढेको छ, वायुमण्डलीय सिरकभित्र तातो बढ्दै छ । हिजोआज कार्बनडाइअक्साइडको मात्रा ४ सय ११ पीपीएम पुगेको छ भने विश्व वायुमण्डलको औसत तापक्रम १ डिग्री बढेर १५ डिग्री सेल्सियस पुगेको छ । सन् १९६९ मा पंक्तिकारले पोखराको धर्ती टेकेर, माछापुच्छ्रेको पहिलोपल्ट दर्शन गर्दा कार्बनडाइअक्साइडको मात्रा करिब ३ सय २५ पीपीएम थियो ।

१ डिग्री सेल्सियस वृद्धि केही होइनजस्तो लाग्न सक्छ । समुद्र सतह, जंगल, मरुभूमि, पहाड सबैतिर तातो बढेको मानक हो यो औसत वृद्धि । प्रचण्ड तातो थपिएको छ । हिमालयलगायतका उच्च क्षेत्रमा तापक्रम औसतभन्दा माथि पुगेको छ । विषम मौसमी घटना नियमित बन्न थालेका छन् ।

तापक्रम वृद्धि र संकट न्यून गर्ने संगठित प्रयास यूएनएफसीसीसीअन्तर्गतका मुलुकहरू (पार्टी) ले १९९२ मा सुरु गरेका हुन् । २३ वर्षपछि सन् २०१५ मा पार्टीहरूले पेरिस अभिसन्धिमा हस्ताक्षर गरे, सन् २१०० सम्ममा विश्व वायुमण्डलको औसत तापक्रम वृद्धि १.५-२ डिग्रीमा सीमित गर्ने ध्येय राखेर । तीन वर्षपछि सन् २०१८ अक्टोबरमा आईपीसीसीले स्पेसल रिपोर्ट १.५ (एसआर-१.५) प्रकाशित गर्‍यो । प्रतिवेदनले भनेको छ- उत्सर्जन कम गर्दै औसत तापक्रम वृद्धि १.५ डिग्रीमा सीमित गर्न हामीसित छोटो समय बाँकी छ, सन् २०३० सम्म । त्यसबेलासम्म सन् २०१० को तुलनामा ४५ प्रतिशत उत्सर्जन कटौती गर्नुपर्नेछ अनि सन् २०५० सम्म कुल उत्सर्जन शून्य हुनु । अन्यथा सन् २१०० मा औसत वृद्धि ३ डिग्रीभन्दा माथि पुग्नेछ, अकल्पनीय प्रभाव ल्याउँदै ।

विगतमा उत्सर्जन गरिएका हरितगृह ग्यासले तापक्रम बढाएर जलचक्रलाई उथलपुथल पार्दै छ भने सतह पहिलेभन्दा तातो हुँदा समुद्री आँधीको क्रम र आवृत्ति बढेको छ । गत वर्ष प्रशान्त र आन्ध्र महासागरमा विनाशकारी फ्लोरेन्स र माङ्खुठ आँधी एकैपल्ट आएका थिए । सन् २०१९ जनवरीमा  अमेरिकाको सिकागो सहरतिर कल्पनै नगरेको चिसो भयो, अस्ट्रेलियामा अनुभव नगरेको गर्मी र त्यसपछि ठूलो बाढी आयो । उत्तरी र दक्षिणी भूमण्डलमा एकैपल्ट विषम चिसो र गर्मी सायद पहिलोपल्ट भएको हो ।

नेपाल सरकारले केही वर्षअघि यूएनएफसीसीसीलाई बुझाएको प्रतिवेदन भन्छ- सन् १९७७ र २०१० बीच हिमालय क्षेत्रमा १ सय २९ घनकिमि हिउँको परिमाण घटेको छ । काठमाडौँस्थित इसिमोडको आयोजनामा संसारभरिका ३ सयभन्दा बढी विश्लेषकले हिमालय क्षेत्रमा अध्ययन गरेको प्रतिवेदन केहीअघि सार्वजनिक भयो । त्यसको एउटा निक्र्योल छ, यदि यही दरमा कार्बन उत्सर्जन रहने हो भने सन् २१०० अर्थात् ८० वर्षपछि हिमालयका दुई तिहाइ हिमनदी रहने छैनन् । उत्सर्जन न्यून गरेर औसत तापक्रम १.५ डिग्री राख्न सकिए पनि एक तिहाइ हिमनदी मासिनेछन् ।

एसआर-१.५ ले सुझाएको बाटो लिन नसक्ने हो भने हिमाल सेता रहने छैनन्, हिउँबिनाका फुस्रा देखिनेछन् । नेपाली गायक रामकृष्ण ढकालको गीत छ, 'बिहान उठ्नेबित्तिकै हिमाल हेर्न पाइयोस् ...' गीतको मर्मले सेतो चम्किलो हिमाल परिकल्पना गरेको छ, फुस्रो होइन ।

ध्रुवीय क्षेत्रमा हिउँको पारिस्थितिकीय प्रणाली ह्रास हुँदैछन् भने तेस्रो ध्रुव अर्थात् हिमालय पनि प्रभावित हुँदैछ । हाम्रो क्षेत्रमा पहिलेजस्तो वर्षा हुन छाडेको छ । झरर पर्छ, खण्ड खण्डमा । हिउँ पर्ने क्रम कम भएको छ, हिमाली बरफ पग्लँदै । हिमालबाट सुरु भएका नदीमा पानीको मात्रा घट्न थालेको छ । खडेरीका घटना र अचाक्ली तातो हावा आउने गर्मीका दिन बढेका छन् । वायुमण्डलमा बाफको मात्रा बढेको हुँदा, गर्मीले छटपटी बढाएको छ, ज्यानले एयरकन्डिसनजस्ता चिसो खोज्छ ।

सन् २०३० सहस्राब्दी लक्ष्य हासिल गर्ने गन्तव्य पनि हो । अघिल्लो साता 'कान्तिपुर कन्क्लेभ'मा सन् २०३० बारे विद्वान्हरूले चर्चा गरेका थिए तर केही सहभागीले मात्रै जलवायु परिवर्तनका जोखिमबारे सचेत गराए । समृद्ध बन्ने आकांक्षामा जोखिमका विषय उठाउनु सायद आवश्यक ठानिएन ! तथापि नेपालका सञ्चारमाध्यमलगायत अन्य परिवेशमा जलवायु परिवर्तनबारे कुराकानी नभएका होइनन् । राष्ट्रपति विद्या भण्डारी पोल्यान्डमा आयोजना गरिएको जलवायु परिवर्तन सम्मेलनमा सहभागी भइन्, नेपालमा परिवर्तनले पार्ने संकटबारे बताइन् ।

गत अक्टोबरयता तीन पुस्ताका सञ्चारकर्मीका भनाइ प्रतिविम्बका रूपमा देखिन्छन् । सञ्चारकर्मी कुन्द दीक्षितले, आफ्नो सोलुखुम्बु यात्रापछि लेखे, 'खुम्बुको पातलो बरफमा ।' कान्तिपुर दैनिकका प्रधानसम्पादक नारायण वाग्लेले सम्पादकीयमा लेखेका छन्, 'हामीले देख्दादेख्दै हाम्रा हिमाल पग्लँदै छन् ।' तेस्रो पुस्ताका बसन्त बस्नेतले ' धमिला हिमाल' शीर्षकमा स्थानीयका पीडा प्रस्तुत गरेका थिए । नेपालभरका जिल्ला विकास समितिका प्रतिनिधिले सिन्धुपाल्चोकमा भेला भएर जलवायु परिवर्तनबारे परिचर्चा गरे । तिनले गाडीका ताँती प्रयोग नगरेका भए जाती हुन्थ्यो, राम्रो सन्देश जान्थ्यो, गरिएन ।

कुनै एउटा मौसमी घटनालाई जलवायु परिवर्तनले गरेको हो भन्न स्थापित विज्ञानले सक्दैन तर सिलसिला स्पष्ट हुँदैछ । पानी चक्रको चरित्र फेरिँदो छ, जसको प्रभाव सामाजिक र आर्थिक व्यवस्थामा पर्न थालेको छ । पहाडी भेगमा पानीका मूल सुक्न थालेका छन् । हिमालय प्रणालीका शृंखलाबाट बग्न सुरु गरेका सिन्धु गंगा, त्रिशूली गंगा, कोसी, गण्डकी, महाकाली र कर्णाली नदीलाई स्मरण गरौँ । महाभारत र चुरेबाट बगेका बाग्मती, कमला, सिर्सिया, मोहना र बेरिङजस्ता नदीलाई पनि सम्झौँ । हिमालय र पहाडी शृंखला सबै गंगाका जननी हुन् र छेउछाउमा बस्ने वासिन्दाको जीवन आधार ।

हामी हिमाल पग्लने दर रोक्न सक्छौँ ? कात्तिक ०७५ को कान्तिपुर दैनिकको सम्पादकीय भन्छ- 'हामी आफैँ पनि कार्बन उत्सर्जन बिस्तारै शून्यतर्फ झर्दै विश्वलाई सन्देश दिन सक्छौँ । हिमाल नांगै र काला हुनुअघि हामी जाग्न सक्छौँ ।' कार्बन उत्सर्जन शून्य पार्ने यो प्रस्ताव एसआर-१.५ सित मिलेको छ । तर यात्रा त्यस गन्तव्यतर्फ छैन र हाम्रो वास्तविकता हेर्दा सम्पादकीयको प्रस्ताव ह्यारी पोटरको तिलस्मी ब्रह्माण्डसरह लागेको छ ।

यही दरमा कार्बन उत्सर्जन भइरहने हो भने वायुमण्डलको औसत तापक्रम अझ माथि जानेछ, हिमाल फुस्रो बन्ने क्रमलाई निरन्तरता दिँदै । बेलाबेलामा हिउँ परेका मौसमी घटनाले हामीलाई होइन, सब ठीक छ भन्ने अनुभूति होला । पंक्तिकार जस्ताका तर्क, विचलित मनस्थितिको अतिरञ्जन मानिनेछ । दरियोस्, परिदृश्य गलत होस्, राम्रो हुन्छ । चासो यस्तो भविष्य आउन नदिऔँ, हुनुहुँदैन भन्ने हो । ५० वर्षअघि र त्यसपछि देखिने गरेको चाँदीसरहको माछापुच्छ्रे हिमाल र अन्य उपहार हाम्रा सन्ततिका लागि तद्नुरूप रहिरहून्, मानवीय क्रियाकलापका कारणले नमासियून् ।

हाम्रा हिमाललाई फुस्रो हुन नदिन कार्बन उत्सर्जन न्यून गर्नैपर्छ र यसको मुख्य जिम्मा धेरै उत्सर्जन गर्ने मुलुकहरूको हो । नेपालको कुल कार्बन उत्सर्जन खासै छैन भन्ने तर्कचाहिँ गर्ने तर ठाडो घाँटी लगाएसरह खनिज-तेल आयात गर्ने व्यवस्था स्वीकार्य हुनु हुँदैन । आउँदो एक वर्षमा तेल आयात कम गर्ने मात्रा तोकौँ, तद्अनुरूप नीति लागू गरौँ, लामो यात्राको पहिलो पाइला लिएको सन्देश प्रवाह हुनेछ । आयातको मात्रा हरेक वर्ष घटाउँदै लैजाऊ ।

यस यात्रामा लागि पर्न नेपालका युवा पुस्तालाई आह्वान गरौँ । तिनको विचार, उत्साह र समर्पण संयोजन हुने माहोल बनाउने जिम्मा सरकार र मुलुकका अगुवाको हो । तिनको सिर्जना जलवायु परिवर्तनले ल्याउने सम्भावित अँध्यारो भविष्य बन्न नदिने यज्ञको अगुवाइ गर्न पनि समर्पित होस् ।

प्रकाशित: फाल्गुन १६, २०७५

ट्याग: विचार