जनकपुर जर्नल

- वसन्त थापा

साथीको जेठो दाजुको विवाहमा विसं २०२४ को फागुनमा पहिलो पटक म जनकपुर गएको थिएँ धरानबाट । आफू पढेको भगवती मिडिल स्कुलमा अस्थायी शिक्षकको जागिर पाएको दुई साता पनि बितेको थिएन, विवाहमा जनकपुर जाने यो संयोग परेका बेला । विवाह सम्पन्न गरेर जान-आउन घटीमा आठ-दस दिन लाग्ने त पक्का थियो । त्यति लामो बिदा मिल्न मुस्किल थियो भर्खर बहाली भएको नौसिन्दा शिक्षकका लागि । तर रेल चढ्न, विवाहमा रमाइलो गर्न पाइने र अनेक किस्सा सुनेको जनकपुर फोकटमा घुम्न पाइने मौका कसरी छाड्ने ? मारो गोली नाथे अस्थायी शिक्षकको जागिरको ! धन्न हेडसर टेकबहादुर कार्की बडा भलामानुस निस्के, बिनाहिच्किचाहट स्वीकृति दिए ।

जोगवनी स्टेसन धेरै पटक पुगेर रेललाई नजिकबाट हेरेको भए पनि चढ्नचाहिँ पाएको थिइनँ । यसपटक भने जिन्दगीमा पहिलोपल्ट रेलमा यात्रा गर्ने अवसर मिलेको थियो मलाई । जोगवनीबाट कुनै पनि ठाउँ पुग्न कटिहार जक्सन अनिवार्य थियो । विवाहको हाम्रो टोली कटिहार हुँदै समस्तीपुर, लेहरीसराय, दरभंगाको बाटो भोलिपल्ट सीमा नगर जयनगर पुग्यो । केही समयको आपाधापिपछि चढियो, साढे दुई फुटको लिकमा जयनगरदेखि चल्ने सानो नेपाली रेलमा । त्यसले सुस्त गतिमा र ठाउँठाउँको विश्रामपछि पु‍र्‍यायो हामीलाई जनकपुर ।

फुंगो र शुष्क

विराटनगरजस्तै जनकपुर पनि तराईको समतल मैदानमा उम्रेको नगर थियो । केही कुरा उस्तै हुँदाहुँदै पनि धेरै बेग्लै थिए, यी दुई ठाउँबीच । विराटनगर उहिल्यै औद्योगिक सहरका रुपमा स्थापित भइसकेको थियो र राजनीतिक हैसियतमा यसको स्थान काठमाडौँपछि दोस्रो थियो । तर जनकपुरमा भने जम्माजम्मी उबेलाको सोभियत संघले बनाइदिएको एउटा जनकपुर चुरोट कारखाना थियो । तराईमा सुर्तीको खेती प्रचुर मात्रामा हुन्छ र हुन सक्छ । त्यही कच्चा पदार्थको उपयोग गर्दै चुरोट कारखाना सजिलै चल्न सक्छ भन्ने विश्लेषणका आधारमा त्यो कारखाना त्यहाँ खुलेको थियो । तर अन्य पूर्वाधारको नितान्त अभाव प्रस्ट देखिने जनकपुर फुंग र उराठलाग्दो देखिन्थ्यो । फागुनमा चल्ने हावा र बढ्दै गरेको तापक्रमले त्यस ठाउँको शुष्कतालाई अझै बढाएको थियो ।

तराईवासी नेवार

म जसको जन्तीमा सामेल भएर गएको थिएँ, ती बेहुला नेवार परिवारका थिए । जनकपुरको रेल स्टेसनमा ओर्लेदेखि नै हाम्रो टोलीको स्वागत सत्कार गर्ने आतिथेय पनि नेवार परिवारको हुनु स्वाभाविक थियो । तर हेर्दा उनीहरु नेवारजस्ता पटक्कै नदेखिने । धोती-कुर्ता र चट्टी लगाएका, पान चपाइरहने पुरुष बिलकुल तराईवासी देखिन्थे । कतिको काँधमा सदैव गम्छा हुन्थ्यो । नेवार भाषा बोल्न नजान्ने उनीहरुको नेपाली भाषा पनि हिन्दी र मैथिलीको मिस्कट थियो । बेहुलीको घरमा साइपाटा लिएर जाँदा देखियो लवाइखवाइ र बोलीचाली सुन्दा नारीहरु पनि पहाडे कम, तराईवासी बढ्ता लाग्थे । कति पुस्ताको बसोबासको प्रभाव हुँदो हो उनीहरुमा !

जनकपुर मात्र होइन, त्यसभन्दा पर्तिर सर्लाही र वीरगन्जसम्मका थुप्रै चेलीहरु बुहारी बनेर धरान आएका थिए, खासगरी नेवार परिवारमा । सञ्चारको नाममा चिट्ठी र आवा मात्र भएको र बाटोघाटो सुविधा नभएको त्यसबेला दूरस्थ ठाउँमा कसरी विवाहको तारतम्य मिलाउँथे, त्यो सोच्दा आश्चर्य लाग्छ । मान्नुपर्छ उसबेलाका लमीहरुलाई !

जन्तीमा सामेल हुने रैथानेमध्ये एक थिए जगदीश घिमिरे, जो दुलहाका माहिला भाइसित बनारसमा सँगै पढेका हुनाले आएका थिए । उतिखेर लेखकको चिनारी उनले बनाइसकेका थिएनन् । हिन्दी फिल्मका हिरो सञ्जय खानजस्तो लागेको थियो उनी मलाई- अग्ला कदका र सुदर्शन । अरु जन्तीलाई जस्तै मैले कागजमा बेरेको मसलाको पोको 'मसिंप्व' उनको हातमा राखिदिँदा के हो भनेर सोधेका थिए । मसिंप्व दिने चलन केवल नेवार समुदायमा थियो ।

जुन बाटो गएका थियौँ, त्यही बाटो अर्थात् जयनगर, दरभंगा, लेहरिसराय, कटिहार, जोगवनी हुँदै दुई दिन लगाएर नवदुलही, लोकन्ती, विवाहको तारतम्य मिलाइदिने दुलहाका मामा आदिसहित धरान फर्कियौँ । त्यति टाढा र लामो यात्रा गरेको अनि रेल चढेको मेरो जीवनको पहिलो अनुभव थियो । म फुरुंग थिएँ, जनकपुरजस्तो दूरदराजको ठाउँमा पुगेर आउन पाएकामा । त्यसको गफ साथीसंगीलाई सुनाउँथेँ । जानकी मन्दिरको प्रांगणमा खिचेको आफ्नो श्यामश्वेत तस्बिर हेरेर दंग पर्थें ।

ट्रान्जिट स्थल

त्यसको पाँच-सात वर्षपछि काठमाडौँ आउने-जाने क्रममा फेरि जनकपुर एक-दुईपटक पसेको छु । निर्माणाधीन भए पनि पूर्व-पश्चिम राजमार्गमा दुःखम्-सुखम् बस सेवा सञ्चालन हुन थालिसकेको थियो । अब धरानबाट काठमाडौँ आउन-जानलाई रेलबाट रक्सौल पुगिरहने झन्झट हटेको थियो । तर कमला नदीमाथि पुल बनिनसकेको र रात्रिसेवा चलिनसकेको अनि ढल्केबरमा गतिलो होटल नभएको हुँदा जनकपुर पूर्वतर्फका यात्रीका लागि 'ट्रान्जिट स्थल' बनेको थियो एक रात बास बस्नुपर्ने ।

त्यसबाहेक काठमाडौँ आएर नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनमा लागेपछि विद्यार्थी संगठनको सिलसिलामा पनि एक-दुईपटक जनकपुर पुगेको छु । त्यस्तो बेला साथीहरुसित खजुरको रुखको रस पिएर रमाइलो गरेको र हलमा गएर सिनेमा हेरेको सम्झना अझै छ ।

कमला नदीमाथि पुल बनेर पूर्वको बाटो सोझिएपछि जनकपुर पसिरहन परेन । अनि, मैले गृहस्थाश्रममा प्रवेश गरिसकेपछि त जनकपुर गइरहने कुनै कारणै मिलेन ।

मधेस आन्दोलनको राप

३४-३५ वर्षको अन्तरालपछि बल्ल जनकपुर जाने सन्दर्भ उत्पन्न भयो सन् २००९ मा । नेपालका अन्य कथित सहरजस्तै अव्यवस्थित तवरले आयतन ह्वात्त बढेको जनकपुर त्यसबेला मधेस आन्दोलनको ज्वालामा परेर नराम्रोसित पोलिइसकेको थियो । भानुभक्तको सालिक तोडिइसकेको थियो । धोती र टोपीको विषालु नारा गुञ्जिसकेको थियो । पहाडे समुदायको पलायन एउटा अप्रिय वास्तविकता बनिसकेको थियो । हामी पुग्दा आन्दोलन मत्थर भइसके पनि त्यसको रापताप अझै बाँकी थियो ।

त्यसपटक म जनकपुर जाने प्रयोजन थियो, घुम्ती 'किम्फ' (काठमान्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल) अन्तर्गत सिनेमा देखाउने । त्यहाँ सार्वजनिक रुपमा देखाइने फिल्ममा दीपक रौनियारको प्रथम फिल्म चौकठि  पनि परेको थियो । नारीप्रधान विषय रहेको त्यस छोटो फिल्ममा पहाड- मधेसको सांस्कृतिक चरित्रलाई बडो रोचक ढंगले देखाइएको थियो । फिल्म प्रदर्शनपछि गरिने प्रश्नोत्तरका क्रममा युवाहरुको एक हूल बडो आक्रामक ढंगले प्रस्तुत भयो । फिल्ममा खोट लगाउने कुरा थिएन, तर उनीहरुले कुरा बटारेर हामी मधेसीलाई 'नेपालीहरु'ले हेप्ने गरेको भन्ने खालका अप्रासंगिक कुरा उठाउन थाले । त्यसो भनेर उनीहरुले आफू मधेसी मात्र हौँ, नेपाली होइनौँ भन्ने भाव आक्रोशित ढंगले व्यक्त गरिरहेका थिए ।

गोवामा धेरै वर्षअघि जाँदा गोवानिजहरुले गैरगोवावासीलाई यी ' इन्डियनहरु' भनेको सुनेको थिएँ । यहाँ ठीक त्यसरी नै मधेसीहरु गैरमधेसीलाई 'नेपालीहरु' भनिरहेका थिए । मेरा लागि त्यो कुरा अनपेक्षित थियो । सुनेर म हतप्रभ भएँ । स्थिति त्यस हदसम्म पुगेको अनुमान मलाई थिएन । त्यसै बखत मेरो छेउ उभिइरहेका दीपक रौनियारले उत्तिकै आक्रामक ढंगमा 'के तपाईंहरुचाहिँ नेपाली होइन' भन्ने प्रतिप्रश्न गर्दै बखेडा मच्चाउन उद्यत समूहलाई चुनौती दिए । उनले 'म पनि मधेसी हुँ, तर त्यसभन्दा पहिले नेपाली हुँ' भनेर तिनका मुखमा बुजो लगाइदिए । 'क्या बात् दीपक' भनेँ मनमनै र पछि उनलाई मनको कुरा बताएँ पनि । तर त्यहाँ भएको सवाल-जवाफले मेरो दिलमा कतै च्वास्स घोच्यो ।

दिल घोच्ने अर्को घटना पनि त्यसबेलाको तीनदिने बसाइमा भयो । साथमा गएकी मेरी पत्नीलाई जनकपुर रेल स्टेसन घुमाउन लगेको थिएँ । १०/१२ वर्षका एक हूल 'खाते' टाइपका केटाकेटी हामी जता जान्छौँ, उतै पछ्याउँदै आए । मानौँ, हामी कुनै कौतूकका विषय थियौँ । मैले त्यसरी नपछ्याउनु भन्दा उनीहरु झन् ताली पिट्दै हाहा गर्न थाले । लाग्यो, मेरो मतुवाली अनुहारले उनीहरुलाई आकर्षित गरिरहेको थियो । उनीहरुलाई चीन, जापान, कोरिया, पहाडिया यस्तै के-के भन्न लगाइरहेको थियो । त्यसले मलाई विराटनगरमा एकदम सानो छँदा सुनेको ' पहाडे भूत, जंगलमा सुत' भन्ने गालीको सम्झना दिलायो । अहिले 'खसआर्य' कहलिने समुदाय मावली भएकी मेरी पत्नीको पृथक् मुहारले पनि उनीहरुको गिल्लालाई रोक्न सकेन । उनीहरुको गिल्ला एकोहोरो मप्रति लक्षित थियो । केही सीप नलागेपछि रिक्सा लिएर त्यहाँबाट उम्कन खोज्दा पनि निकै परसम्म उनीहरु रिक्सा पछिपछि कराउँदै दौडिरहेका थिए ।  यी दुई कुराले म त्यसबेला भग्न हृदय लिएर काठमाडौँ फर्केको थिएँ ।

जनकपुरधाम

त्यो घटना भएको दस वर्षपछि म हालै फेरि जनकपुर पुगेको थिएँ कार्यवश । यसबीच मुलुकले भुइँचालोको धक्का बेहोर्यो, नयाँ संविधान पायो र त्यसका साथै दोस्रो मधेस आन्दोलनको आडमा भारतीय नाकाबन्दीको मार भोग्यो । एक दशकको अवधिमा जनकपुर कति बदलियो, त्यो हेर्ने जिज्ञासा थियो मनमा ।

सबैभन्दा मुख्य कुरा त अहिले जनकपुरले जनकपुरधाम भन्ने नाम औपचारिक रुपमा अख्तियार गरेको रहेछ । नाममा के राखेको छ त भन्छन्, तर यसमा धेरै कुरा राखिएको हुँदो रहेछ । यो नाम ग्रहण गरेर जनकपुरले आफूलाई एउटा धाम, एउटा तीर्थ वा एक पावन नगरीको चिनारी दिन खोजेको देखिन्छ । सन् १९१० मा निर्मित जानकी मन्दिर यहीँ छ । अर्को महत्त्वको स्थल राममन्दिर छ । केही दूरीमा धनुषाधाम अवस्थित छ । धनुषसागर, गंगासागरजस्ता धार्मिक, सांस्कृतिक महत्त्व बोकेका सरोवर छन् । प्रदेश सभासद् रामाशीष यादवको पहलमा गंगासागरमा सांयकालीन आरतीको आकर्षक कार्यक्रम केही वर्षदेखि थालिएको छ । यस्ता उपक्रमले धामको रुपमा जनकपुरको चिनारीलाई बलियो पार्छ । भारतका प्रधानमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीले जनकपुरधामलाई आफ्नो यात्राको गन्तव्य यसै बनाएका होइनन् ।

अहिले सहरको धेरै भागमा घर तथा भौतिक संरचना भत्किएका वा बनिरहेका र सडक तथा बाटो बन्ने क्रममा रहेका देख्दा भुइँचालोको असर अझै रहेको लाग्न सक्छ । तर असलमा भुइँचालोले एकदमै थोरै असर पारेको ठाउँमध्ये पर्छ जनकपुर । अहिलेको असरल्ल अवस्था वास्तवमा हालका नगरपिताको हिम्मतको परिणाम भन्थे मानिसहरु । उनले नियम मिचेर बनेका घर, पर्खाललाई भत्काएर सडक फराकिलो पार्ने आँट गरेछन् । पुनर्निर्माण सम्पन्न भएपछि सहरको मुहार सुन्दर हुने आशा लिएका छन् जनकपुरवासीले । एउटा अव्यवस्थित नगरलाई व्यवस्थित सहरका रुपमा रुपान्तरण गर्ने काम हाम्रा हरेक सहरका नगरपिताहरुको प्राथमिक चुनौती हो । प्रदेश राजधानी भएकाले त्यो चुनौती जनकपुरधामका मेयरसामु अझ बढी छ ।

राजधानी भएकाले प्रदेश सरकारले धेरै वर्षदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना परिसरलाई आफ्नो सचिवालय बनाएको छ । आखिर सरकार चलाउनलाई ठाउँ त चाहियो । तर केन्द्र सरकारचाहिँ त्यसलाई पुनः सञ्चालनमा ल्याउँछु भनिरहेको छ । राजधानी भए पनि यहाँ रोजगारीका नयाँ सम्भावना खुलेका देखिँदैनन् । यस्तो अवस्थामा कारखाना खुलाउने कि सरकारको सचिवालय चलाउने भन्ने कुराको निक्र्योल गर्नु त्यति सजिलो छैन ।

एकल संस्कृति

मैले यसपटक जनकपुरमा दुई रात र तीन दिन बिताएँ । यस अवधिमा मेरा आँखा र कान दुई कुराबाट तानिए- यस ठाउँको भाषा र भेषबाट । यहाँका घर, सडक, गल्ली, बजार, कार्यालय, शिक्षालय सर्वत्र सुनिने र बोलिने भाषा मैथिली हो । त्यसपछि सुनिन्छ, हिन्दीमा वार्तालाप अनि नेपालीमा । राजनीतिक प्रकृतिका पोस्टर वा ठूला तोरण मैथिली या हिन्दीमा लेखिएका पाइन्छन् । पसलका नामपाटी उभय प्रकृतिका देखिन्छन् जस्तै, फेन्सी स्टोर, वस्त्रालय, मिष्ठान्न भवन, शृंगार गृह, पुस्तक भण्डार आदि । देवनागरीमा लेखिएका ती नाम नेपाली/हिन्दी जे ठानेर पढे पनि हुन्छ । मैथिली नै माने पनि हुन्छ । आम भाषाका रुपमा मैथिलीको प्रबलता र जीवन्तता स्पष्ट छ ।

जनकपुर बसुन्जेल मैले शिरमा टोपी लगाइराखेँ । यसो गरेर मैले पहाडे राष्ट्रवादको अभिव्यक्ति दिएको होइन । टोपी लगाउने कारण बडो सरल छ । जाडोमा कच्चा शिरलाई चिसोबाट जोगाउने मेरो व्यावहारिक उपाय हो यो । तर मैले जसरी शिरलाई टोपीले छोप्ने व्यक्ति सिंगो सहरमा एक जना मात्रै देखेँ । ती व्यक्ति एउटा साँघुरो गल्लीबाट छापामार शैलीमा फुत्त निस्केर तुरुन्तै अर्को गल्लीतिर हराए । मानौँ- उनी आफ्नो टोपीयुक्त शिर लुकाउन कतै भागिरहेका थिए ।

निःसन्देह जनकपुरको जनसांख्यिक बनावटमा व्यापक परिवर्तन आएको प्रस्ट देखिन्छ । पाँच, चार या तीन दशकअघिसम्म विद्यमान यसको विविधता लुप्त भएको छ । एउटा स्थानीय शिक्षालयमा कार्यरत सिन्धुलीका दुई जना बराल बन्धुले मलाई बताएअनुसार मधेस आन्दोलन हुनुअघि पहाडे मूलका मानिसका २ हजार ५ सयवटा घरधुरी थिए जनकपुरमा, अहिले २ सयवटा पनि छैनन् । यस तथ्यांकको आधिकारिकता के हो, त्यो थाहा भएन । तर ४० जनाजति विद्यार्थी भेला भएका एउटा कार्यक्रममा मुस्किलले दुई जना पहाडे मूलका विद्यार्थी देख्दा उनीहरुको कथन तथ्यपरक रहेको अनुमान लगाउन सकिन्थ्यो ।

जानेर होस् या नजानेर, जनकपुरमा 'मोनो कल्चर' वा एकल संस्कृतिको प्रवर्द्धन हुन गयो र त्यही विकसित हुन पुग्यो । आजको जनकपुरमा त्यही देख्न पाइन्छ । सहरका उदारमना बौद्धिकजन यस स्थितिलाई 'दुर्भाग्यपूर्ण' बताउँछन् । विख्यात वनस्पतिविज्ञ प्राध्यापक प्रमोदकुमार झाले एकपटक कुनै सन्दर्भमा 'एकै खाले रुखहरुको वन राम्रो पनि हुँदैन, टिकाउ पनि हुँदैन' भनेको सम्झन्छु ।

जनकपुरलाई एकै खाले रुखको वन हुनबाट जोगाएर विविधतायुक्त वन कसरी बनाउने ? जनकपुरबाट फर्केपछि मेरो मनमा उठेको प्रश्न यही हो । यसलाई यक्षप्रश्न भनेर परिभाषित गरे पनि हुन्छ । तर म युधिष्ठिर होइन, यसैले यस प्रश्नको उत्तर मसित छैन ।

प्रकाशित: फाल्गुन १६, २०७५

ट्याग: संस्मरण