हेलिकोप्टर दुर्घटनामै बितेका थिए आङछिरिङका भाइ पनि

- माधव बस्नेत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार एअर डाइनेस्टीको हेलिकप्टर १५ फागुन ०७५ दिउँसो ताप्लेजुङमा दुर्घटना हुँदा सात जनाको दुखद निधन भयो । दुर्घटनामा परी निधन हुनेमा मन्त्री अधिकारी, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री केपी ओलीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र हेलिकप्टर चालक प्रभाकर केसी छन् ।

दुर्घटनामा परी निधन भएका आङछिरिङ शेर्पा उड्डयन व्यवसायमै थिए । उनी यति र तारा एयरलाइन्सका प्रबन्ध निर्देशक हुन् । शेर्पा परिवारले गत वर्षबाट मात्र विदेश उडान भर्ने गरी हिमालय एयरलाइन्स सञ्चालनमा ल्याएको छ । उनको जन्म सोलुखुम्बुको साविक जुभिङ गाविस पाङबोचेमा भएको हो । पाङबोचे हाल खुम्बु पासाङल्हामु गाउँपालिका-१ मा पर्छ । तीन दाजुभाइमध्ये जेठा सोनाम छिरिङ, माइला आङछिरिङ र कान्छा टेन्डी शेर्पा हुन् । जेठा सोनामको नेतृत्वमा थामसेर्कु ट्रेकिङ चलिरहेको छ ।

एयरडाइनेस्टी दुर्घटनामा परी निधन भएका आङछिरिङका कान्छा भाइ टेन्डीको देहान्त पनि ०५५ असोजमा हेलिकोप्टर दुर्घटनामै भएको थियो । त्यसबेला टेन्डी यती एयरलाइन्सका निर्देशक थिए । टेन्डीकै योजनामा शेर्पा परिवारले एयरलाइन्स सञ्चालनमा ल्याएको थियो । बिरामी पर्यटकको उद्धार गर्न काठमाडौँबाट पाङबोचे गएर फर्कने क्रममा सोलुखुम्बु साविक काकु गाविसको घनाजंगलभित्र टेन्डी सवार हेलिकोप्टर दुर्घटनामा परेको थियो । टेन्डी त्यसबेला तत्कालीन नेकपा एमालेबाट जिल्ला विकास समितिमा समेत प्रतिनिधित्व गर्थे । उनी तत्कालीन संरचनाअनुसार १ नम्बर इलाकाबाट जिविस सदस्य निर्वाचित भएका थिए । अर्को संयोग के पनि भने टेन्डी दुर्घटनामा परेको हेलिकप्टरसमेत एयर डाइनेस्टीकै थियो । "दुवै दाजुभाइ दुर्घटनामा परेको हेलिकप्टर एयर डाइनेस्टीकै हो," खुम्बु पासाङल्हामु गाउँपालिका प्रमुख निम दोर्जी शेर्पा भन्छन्, "दुवै दाजुभाइको निधन एउटै कम्पनीको हेलिकोप्टरमा भयो ।"

सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङल्हामु शेर्पा पनि यही परिवारकी सदस्य हुन् । उनी जेठा सोनाम छिरिङकी पत्नी अर्थात् आङछिरिङ र टेन्डीकी भाउजू हुन् । पासाङल्हामुको सगरमाथा आरोहण गरी फर्कनेक्रममा ०५० वैशाखमा निधन भएको थियो । "एउटै परिवारका तीन जना अगुवादुर्घटनामा बित्नु दुःखद घटना हो," टेन्डीका मित तथा यति एयरलाइन्सका निर्देशक भीमराज राई भन्छन्, "आज आङछिरिङको निधन भएपछि त व्यवसाय कसरी सञ्चालन गर्ने भनेर ठूलो पीडा थपिएको छ ।"

 

प्रकाशित: फाल्गुन १५, २०७५

ट्याग: समसामयिक