मेस्सेमा चम्किएका दिदीबहिनी

- नेपाल संवाददाता/जर्मनी

बिरालोका जुँगा भएका जुत्ता । ऊनैऊनको मलमल सिंह । ऊनकै किरिङ, कानेटोपी । चकटी । कुसन । झुमर । मुसा, बिरालो । बच्चाका खेलौनादेखि बूढाबूढीको न्यानो दिलाउने सामग्रीसम्म । कोठा सजाउनेदेखि भान्छाकोठाका सामानसम्म । माघ अन्तिम साता मेस्से फ्रयांकफर्टमा आयोजित एम्बिएन्टे मेलामा पाँच नेपाली महिला उद्यमी भेटिए । विश्वभरका उद्यमीहरूको ठूलोमध्येको यो मेलामा १७ नेपाली कम्पनीले भाग लिँदै गर्दा यो वर्षका नयाँ आकर्षण सायद यिनै पौरखी महिला थिए । भेडाको ऊनबाट बनेका आकर्षक सामग्री युरोपमा पुर्‍याउने ती पौरखी दिदीबहिनीको कथा हो यो ।

भेडाको ऊनबाट यसरी विभिन्न सामग्री बनाउनेमध्ये एक हुन्, शारदा रिजाल अधिकारी । मिलन नेपाल संस्था खोलेर ऊनी सामग्री उत्पादन गरिरहेकी अधिकारी फेल्ट एसोसिएसनकी संस्थापक हुन् । फेल्ट, अर्थात् भेडाको ऊनलाई 'फेल्टिङ गर्नु' (कात्नु) ।

अधिकारी भन्छिन्, "उपभोक्ताले चाहना गरे पुग्छ, हामी जुनसुकै सामग्री पनि उत्पादन गर्न सक्छौँ । हाम्रो काम देखेरै जर्मनीसम्म आउने अवसर दिलाउनुभयो, उहाँहरूले ।"

अधिकारी यसअघि अन्यत्रका व्यवसाय प्रदर्शनीमा पनि सहभागी थिइन् । एम्बिएन्टेचाहिँ पहिलो हो । युरोपकै ठूलो मानिने यो प्रदर्शनी देखेर उनीहरू एकचोटि त अचम्मित भए । सँगसँगै नेपाली उत्पादन लिएर आउन पाएकामा खुसी पनि । नुप्से क्राफ्ट नेपाल उद्योग चलाउने शान्ति भण्डारी श्रेष्ठ भन्छिन्, "नेपाली सामानप्रति विदेशीको चासो देखेर हाम्रो उत्साह बढेको छ ।"

फेल्टअन्तर्गत काम गर्ने यी महिला सुरुमा आफ्नै किसिमले साना रोजगारी चलाइरहेका थिए । उनीहरूको सीप विकास र सिर्जनाकै क्रममा चिनजान भएको हो । विपन्न गृहिणीलाई निःशुल्क सीप सिकाएर पछि कामै दिलाए, उनीहरूले । "सुरुमा हामीकहाँ आउँदा घरबुना सामग्रीबारे कुनै सीप नै नभएका महिला अहिले १० देखि ४० हजार रुपैयाँसम्म मासिक कमाउँछन्," लस्ट होराइजन ह्यान्डिक्राफ्टकी शान्ति बुढाथोकी कुमाल भन्छिन्, "पूरा समय नगर्नेहरूले घरै बसेर पनि काम गरिरहेका छन्, उनीहरूलाई पनि काम हेरेर पैसा दिने गरेका छौँ ।"

फेल्टमा ९९ प्रतिशत महिला समेटिएका छन् । सबै सामग्री हातैले बनाउँछन् । नेपाली उत्पादनमा विदेशी आकर्षण बढ्दै गएको देखेर छिमेकी भारत र चीनका कतिपय उद्यमी मेसिनबाटै सामान बनाएर पनि ह्यान्डिक्राफ्ट भन्दै बेच्दा रहेछन् । मेस्सेमै घुम्दा पनि यस्ता दृष्टान्त देख्न सकिन्थ्यो । तर पारखी उपभोक्ताले भने मेसिननिर्मित र हातले बनाएका सामान हेरेर छुट्याउने गरेको अनुभव उद्यमीहरू सुनाउँछन् । नेपाल ह्यान्डफेल्टकी सुनीता श्रेष्ठ भन्छिन्, "मेसिनले कम मिहिनेतमा छिटो सामान बन्छ, त्यसैले सस्तो पनि पर्छ । तर कतिपय विदेशीहरू त्यसमा झुक्किए पनि यसबारे बुझेकाले छुट्याउन सक्छन् । त्यस्ता सामानमा कला नदेखिने भएकाले बुझ्नेहरू मात्र नेपाली सामान लिन आउँछन् ।"

प्रविधिको यो तीव्र प्रतिस्पर्धामा हातले बनाएका सामानको अवस्था के होला ! यी उद्यमी दिदीबहिनालाई पनि यसको चिन्ता नभएको होइन । तर मौलिकता बोकेका उत्पादन खोज्ने ग्राहकको संख्या पनि बढ्दै गएको उनीहरू दाबी गर्छन् । नुप्सेकै अर्की उद्यमी किपा श्रेष्ठ भन्छिन्, "नत्र हाम्रो आम्दानी पहिलेको तुलनामा दोब्बर बढी कसरी हुन्थ्यो ?" लस्ट होराइजनकी कुमालका अनुसार अहिले उनी एक वर्षमा ८ देखि १० करोडसम्मको कारोबार गर्छिन् । प्रायजसो सबै उद्यमी वाषिर्क २ करोड कारोबार गर्दा रहेछन् । "राम्रो काम भएरै त जर्मनीसम्म आइपुगेका हौँ, नत्र यहाँसम्म आइपुग्ने थिएनौँ," कुमाल भन्छिन् ।

नेपाली उत्पादन हुँदाहुँदै पनि यसका लागि आवश्यक कच्चापदार्थ भने न्युजिल्यान्ड, अस्ट्रेलिया र बेलायतबाट आउँदो रहेछ । अर्की उद्यमी सुनीता श्रेष्ठ नेपाली ऊनबाट विश्वस्तरको गुणस्तर नआउने हुँदा विदेशबाट कच्चापदार्थ ल्याउन बाध्य भएको बताउँछिन् । "सुरुमा हामीले नेपाली भेडाकै ऊनबाट पनि गर्न सकिन्छ कि भनेर हेर्‍यौँ, तर माग र गुणस्तर धान्न नसकिने देखेरै बाहिरबाट सामान मगाउनुपरेको हो," श्रेष्ठ भन्छिन् । श्रेष्ठ दोस्रोपल्ट मेस्से आएकी हुन् । अघिल्लो वर्ष उनी दर्शकका रूपमा सहभागी थिइन् ।

नेपालीलाई बरु यी सामग्रीबारे थाहा नहोला, तर विदेशीको आकर्षण बढी छ भन्ने प्रमाण प्रदर्शनी अवलोकनमा आउनेहरू नै थिए । हातले बनाएका सामान भन्नेबित्तिकै मोहित हुनेहरूको संख्या निकै हुँदो रहेछ । घरबुना सामग्रीमा नयाँपन देखेर मेस्सेमा भाग लिँदै आएका नरेशलाल श्रेष्ठले प्रदर्शनीमा सहभागिताका लागि प्रस्ताव गरेका रहेछन् । यो उनीहरूका लागि अन्तर्राष्ट्रिय बजारमा आफ्ना उत्पादन चिनाउन पाउने मौका पनि थियो ।

युरोपकै महत्त्वपूर्ण वाणिज्य हब फ्रयांकफर्टमा नेपाली जान थालेको तीन दशकभन्दा बढी भइसकेको छ । मेस्सेमै भेटिएका एम्बिएन्टे सहभागीमध्ये अधिकांश त पुरुष उद्यमी हुने नै भए । यसपल्ट भने महिला संख्या उल्लेख्य हुनु सकारात्मक भएको टिप्पणी गर्छन्, मेस्से फ्रयांकफर्टका नेपाल प्रतिनिधि विनोद मल्ल । "उहाँहरूको उत्पादनमा पक्कै युरोपलगायत अन्य महादेशका उपभोक्ताको ध्यान जान सक्छ भन्ठानेर सहभागी गराएका हौँ," उनी भन्छन्, "पहिलो वर्षको काम हेर्दा उत्साह जागेको छ । आगामी वर्षमा हामी अझै सक्रिय सहभागिता गराउने प्रयासमा लाग्नेछौँ ।"

मेस्सेमा स्टल राखेर बसेका यी महिलालाई आफ्नो ब्रान्डको विश्वसनीयता जोगाउने र त्यसलाई प्रवर्द्धन गर्ने चुनौती त्यत्तिकै छ । त्यसका लागि उनीहरूले सम्बन्धित मन्त्रालयका अधिकारीलाई पनि भेटेर समस्या सुनाउने जमर्को नगरेका होइनन् । नेपालमा आफ्ना उत्पादनको महत्त्व बुझ्ने दिन आउन अझै बाँकी रहेको उनीहरूको दुखेसो छ । उद्यमी शारदा रिजाल अधिकारी भन्छिन्, "नेपाली उत्पादनको माग बढेको देखेर अरू देशकाले समेत आफ्ना सामानमा 'मेड इन नेपाल' ट्याग हानेर बेचिरहेका छन्, हामीले भने आफ्नै देशमा यसको महत्त्व बुझाउन सकिरहेका छैनौँ । हामीलाई माथिल्लो निकायको सहयोग चाहिएको छ ।"


एम्बिएन्टेमा १७ नेपाली कम्पनी

जर्मनीको फ्रयांकफर्टमा माघ अन्तिम साता चलेको एम्बिएन्टे-२०१९ मा योपल्ट १७ नेपाली कम्पनी सहभागी थिए । यो प्रदर्शनी मेस्से फ्रयांकफर्टले २५ माघदेखि २९ सम्म आयोजना गरेको हो ।

एम्बिएन्टेमा नेपालबाट बागमती पेपर इन्डस्टि्रज, एभरेस्ट फेसन, सुपेरियर आर्ट्स एन्ड ह्यान्डिक्राफ्टस, नेपाल क्राफ्ट ट्रेडर्स, नेपाल क्राफ्ट ग्यालरी, यती फेसन एन्ड डिजाइन, हाताले, डेको हिमाल, मानुषी, एसोसिएसन अफ क्राफ्ट प्रोड्युसर्स, साना हस्तकलालगायत सहभागी थिए । त्यस्तै, कुम्भेश्वर टेक्निकल स्कुल, न्यु साडल, महागुठी क्राफ्ट विथ कन्साइन्स, वुमन्स स्किल डेभलपमेन्ट अर्गनाइजेसन, हिलटप कास्मिरी पस्मिना इन्डस्टि्रज प्रालि र नेपाल उल फेल्ट प्रोड्युर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन सहभागी भएको मेस्से फ्रयांकफर्टका नेपाल प्रतिनिधि विनोद मल्लले जानकारी दिए ।

मूल्यअभिवृद्धि हुने खालका नेपाली उत्पादनलाई विश्वबजार पुर्‍याउन मेस्से फ्रयांकफर्टमार्फत सहजीकरण गरिरहेको मल्लले बताए । "निर्यातजन्य वस्तु सीमित भए पनि तिनको संख्या पहिलेभन्दा बढ्दै गएको छ," उनी भन्छन्, "नेपाली समानलाई अन्तर्राष्ट्रिय बजारसम्म चिनाउने, देशको व्यापार बढाउने तथा बिक्रेता-क्रेताबीचको सम्बन्ध बढाउने प्लेटर्फम नै मेस्से फ्रयांकफर्ट हो । हाम्रो देशमा व्यापार घाटाको बहस सधैँजसो चल्छ, एम्बिएन्टे फेयरजस्ता फोरमलाई नेपाली व्यवसायीले उपयोग गर्न सक्ने हो भने राज्यको घाटा घटाउन योगदान दिन सक्छौँ ।"

नेपाली उद्यमीले मौलिक उत्पादनलाई विश्वभरका उपभोक्तासम्म पुर्‍याउने र त्यसको बजारीकरण गर्न मेस्से फ्रयांकफर्टले आयोजना गर्ने एम्बिएन्टे फेयरलाई उपयोग गर्दै आएका छन् । अघिल्लो वर्षको एम्बिएन्टेमा ८८ देशका ४ हजार ३ सय ७६ उत्पादन स्टल समावेश थिए । घरायसी उपयोग, सजावट सामग्री, ह्यान्डिक्राफ्ट आदि उत्पादन एम्बिएन्टेमा प्रदर्शनीमा राखिन्छन् ।

प्रकाशित: फाल्गुन १३, २०७५

ट्याग: उद्यमी