'दौरा-सुरुवाल सजिलो रहेछ’– बाबुराम भट्टराई

- माधव बस्नेत

गाडी वा हवाईजहाजबाट जिल्ला सदरमुकामसम्म टेकेका नेताहरूको भीडमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, ६५, योपल्ट अलग देखिए । मुलुकको पैदलयात्रा गरेर सर्वसाधारणको मनस्थिति बुझिरहेका छन् । ०६७ मै ७५ जिल्ला घुमिसकेको घोषणा गरेका उनले १५ माघ ०७५ देखि एकमहिने मध्यपहाडी लोकमार्ग यात्रा अभियान चलाइरहेका छन् । भट्टराईलाई माधव बस्नेतका प्रश्न :


चिवाभन्ज्याङदेखि झुलाघाटसम्म मध्यपहाडी लोकमार्गको यात्रा किन रोज्नुभयो ?

पहिलो कुरा- मध्यपहाडी लोकमार्गको अवधारणा नै मेरो हो । अंश-अंशमा त सडक बनेका थिए । तर म क्षेत्रीय विकास योजनाको विद्यार्थी हुनुको नाताले विकासका निम्ति भौतिक र सामाजिक पूर्वाधार राज्यले निर्माण गर्नुपर्छ, त्यसपछि कृषि, व्यापार, उद्योग, पर्यटन आदिको विकासमा निजी क्षेत्र सहभागी बन्छ भन्ने मान्यता राख्छु । ०६५ मा अर्थमन्त्री भएपछि मैले मध्यपहाडी लोकमार्गलाई पुष्पलाल लोकमार्ग नामकरण गरेर पहिलो पटक बजेट विनियोजन गरेँ । त्यसअघि हिसिलाजी भौतिक योजनामन्त्री हुँदा टुक्राटाक्री सडकलाई सकेसम्म पूर्व-पश्चिम जोड्ने गरी बनाउनुपर्छ भनेर थोरै प्रयास सुरु गरिएको थियो ।

दोस्रो, हाम्रा खुद्रे योजना राष्ट्रिय योजनामा नपरून्जेल अलपत्र पर्ने गरेका छन् । त्यसैले ०६८ मा प्रधानमन्त्री हुँदा मैले नै राष्ट्रिय गौरवका आयोजना ल्याएँ । सडक, जलविद्युत्, सिँचाइ, विमानस्थलजस्ता ठूला पूर्वाधारमा राज्यले नै दायित्व लिनुपर्छ, नेपाल आफैँले निर्माण गर्नुपर्छ, त्यसले हाम्रो प्राविधिक क्षमता वृद्धि हुन्छ, निजी क्षेत्रलाई लगानी वातावरण पनि बनाउँछु भनेर राष्ट्रिय गौरवका आयोजना सुरु गरेको हुँ । त्यसमध्ये मध्यपहाडी लोकमार्ग एउटा हो ।

नेपालको भौगोलिक एकीकरणपछि जनसंख्याको मुख्य बसोबास स्थल मध्यपहाड हो । पहाडको अर्थतन्त्रलाई पुनर्जीवन दिने हो भने सडक पूर्वाधार नै पहिलो आवश्यकता हो भनेर मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवका आयोजनामा राखेका हौँ । अहिले त्यसको काम कहाँ पुगेको छ ? अर्थतन्त्र र सर्वसाधारणको जनजीवनमा त्यसले पारेको प्रभाव बुझ्न यो अभियान गरिएको हो ।

तेस्रो, एक चौथाइभन्दा बढी भाषिक जनसंख्या भएका ९ जातिमध्ये राई, लिम्बू, गुरुङ, तामाङ, नेवार, मगर र खस सात वटा जाति पहाडमा बस्छन् । ठूला जातिमा थारु र मधेसी मात्र मधेसमा छन् । स-साना जातिको संख्या सबैतिर छ । भौतिक रूपमा आर्थिक विकास गर्न, बजार सिर्जना गर्न, आश्रति बजार जोड्न पूर्व पश्चिम जोडिनैपर्छ । हाम्रो सम्बन्ध दक्षिणतिर मात्र भयो । यसले ठूलो व्यापार घाटा भयो, परनिर्भरता बढायो । त्यसैले विकास, समृद्धि र एकताको प्रभाव बुझ्न यो यात्रा गरिएको हो ।

स्थानीय तह कत्तिको प्रभावी भएको पाउनुभयो ?

संघीयताको कार्यान्वयन तल्लो तहसम्म कसरी भइरहेको छ भनेर स्थानीय तहका जनप्रतिनिधिसँगै बढी अन्तक्रिर्या गरिरहेका छौँ । स्थानीय तहमा तत्कालीन एमाले, कांग्रेस कार्यकर्ताको बाहुल्य भए पनि उनीहरू नेतृत्वसँग सन्तुष्ट छैनन् । र, त्यो असन्तुष्टि खुला प्रकट गर्न सक्ने अवस्थामा पनि छैनन् । संघीयताको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई जसरी सबलीकरण गरिनुपथ्र्यो, ऐन-कानुन समयमा बनाएर सहजीकरण जसरी गर्नुपथ्र्यो, त्यो भएको पाइएन । कर्मचारीको बाँडफाँट, ऐन-कानुन अनि राजस्व बाँडफाँटमा पनि काम भएको पाइएन । त्यसले स्थानीय तहमा असन्तुष्टि र अन्योल देखिन्छ ।

लोकमार्ग वरिपरि कतिपय जिल्लामा जनसंख्या घट्दै गइरहेको छ । मध्यपहाडी लोकमार्ग निर्माण जुन गतिमा हुनुपथ्र्यो, त्यसमा पनि अलि असन्तुष्टि देखियो । हाम्रो ठेक्का प्रणाली र सार्वजनिक खरिद ऐनअनुसार खण्ड-खण्ड गरेर ठेक्का दिइएको छ । एकाध ठाउँमा त ठेकेदारले राम्रै काम गरेको पनि भेटियो । जस्तो, पूर्वी रुकुम र पश्चिम रुकुममा सापेक्ष ढंगले अगाडि नै बढेको देखियो । मध्यपहाडी लोकमार्ग बाग्लुङमा सबभन्दा बढी डेढ सय किलोमिटर पर्छ । तर सदरमुकामदेखि गल्कोटसम्मको सडक दुई वर्षअघि म आउँदा जस्तो थियो, अहिले पनि त्यस्तै रहेछ । यसले हाम्रो ठेक्का प्रणाली, सार्वजनिक खरिद ऐन परिमार्जन गर्नुपर्ने देखियो ।

नुवाकोट, धादिङ राजधानी नजिकै भए पनि बत्तीमुनिको अँध्यारोजस्तो देखिए । राजमार्ग वरिपरि व्यवस्थित सहर निर्माण गरी आर्थिक प्रगति गर्ने विषयमा पनि त्यति ध्यान पुगेको पाइएन । समग्रमा सडकले कृषिप्रधान अर्थतन्त्रमा सामान्य रूपान्तरण गरेको छ । व्यावसायिक खेती थालिएको छ । पूर्वदेखि पश्चिमसम्म बजार विस्तार हुनु सकारात्मक पाटो हो । त्यसैले देखेका, भेटिएका, सबै यात्रा वृत्तान्त डायरीमा टिपेको छु । यसलाई संघीय संसद्मा प्रतिवेदन नै बनाएर प्रस्तुत गर्ने सोच बनाएको छु ।

तस्बिर : रवि मानन्धर


सर्वसाधारण उत्साहित छन् वा निराश ?

सरकारको एक वर्षको गतिविधिबाट जनता आम रूपमा निराश र बढीचाहिँ असन्तुष्ट नै देखिए । सत्तापक्षले नै चलाएको स्थानीय तहमा जसरी ध्यान पुग्नुपथ्र्यो, त्यो पुगेको देखिएन । पार्टी अनुशासनले गर्दा कार्यकर्ता बाहिर खुलेर त बोल्न सक्दैनन् । तर व्यक्त-अव्यक्त रूपमा निराशा धेरै छ ।

यात्राका अप्ठेरा के थिए ?

यात्राको २२ औँ दिन हामीलाई बाग्लुङ र पूर्वी रुकुमको सिमाना सात किलोमिटर हिउँले छोपेको दूरी पार गरेर रुकुम पुग्नु थियो । यात्रा गर्न सकिन्न भन्ने खबर आयो । त्यहाँबाट नजाँदा बुटवल झरेर दाङ हुँदै मुसीकोट आउनुपर्ने थियो । झन्डै तीन सय किलोमिटर घुम्नुपर्ने भयो । हामी मध्यपहाडी लोकमार्ग हेर्ने, यात्रा गर्ने भनेर आउने अनि फेरि सात किलोमिटर कष्ट बेहोर्न नचाहेर घुम्ने ? मलाई त्यो चित्त बुझेन । जसरी पनि जाऊँ, बाटो बनाऊँ भनेर यात्रा अगाडि बढाइयो, जुन कष्टकर र चुनौतीपूर्ण थियो ।

राज्यको पूर्वकार्यकारीलाई घरआँगनमा भेट्दा नागरिकले के अपेक्षा गर्दा रहेछन् ?

'तपाईं (पूर्वप्रधानमन्त्री) स्तरको मान्छे, हाम्रो घरआँगनमा देख्न/भेट्न पाएको पहिलो पटक हो । चुनावका बेलामा एकाध नेता देखिन्छन्, त्यसपछि पूरै हराउँछन् । हाम्रा गुनासा सुनिदिने कोही छैनन्' भन्ने सर्वसाधारणको दुखेसो थियो । यसले हाम्रो शासनसत्ता जनताबाट कति कटेको छ भन्ने देखाउँछ । मलाई यो पनि ठूलो र नयाँ अनुभव भएको छ । ज्ञान निर्माणमा नयाँ इँटा थपिएको छ । जनताले एकदमै सद्भावपूर्ण ढंगले कुरा राखेका छन् ।

जनताको जीवनस्तरचाहिँ कस्तो रहेछ ?

गाउँठाउँको गरिबी, बेरोजगारी र आर्थिक अवस्था हेर्दा बडो भावुक बनाउँछ । हामी करिब-करिब मध्ययुगीन अवस्थामै छौँ । गाउँमा खानेपानी, सिँचाइ व्यवस्था छैन । खेतबारी बाँझै छन् । अरू रोजगारको विकल्प छैन । मान्छे आधा पेट खाएर बाँचेका छन् । कुपोषणको लक्षण प्रस्टै देखिन्छ । शरीरमा लगाएको कपडा हेर्‍यो, फोहर, मयल कट्कटिएको छ । घर हेर्‍यो, मध्ययुगीन खालकै छन् । बहुसंख्यक सर्वसाधारण अभावैअभावमा छन् ।

पार्टीप्रति सर्वसाधारणको सहानुभूति बटुल्न यो अभियान चलाउनुभएको भन्ने पनि नि ?

त्यो पूर्वाग्रही धारणा हो । त्यतातिर नलागौँ । देश लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेपछि समृद्धिकरण नै हाम्रो प्रमुख एजेन्डा हो । राजनीतिक क्रान्तिको चरण नै संसारभर करिब-करिब सकिएको समय हामीले नेपालमा राजनीतिक क्रान्ति गरेका हौँ । भोलि गएर अर्कै खालको क्रान्ति होला । यस बेलाको विश्व एजेन्डा नै विकास र समृद्धि हो । हामीले राष्ट्रिय रूपमै समृद्धिको नयाँ खाका कोर्नु छ । त्यसका लागि भौगोलिक स्थिति, जनताको जीवनस्तर, माग, बदलिँदो समयजस्ता विषयलाई नजिकबाट नियाल्नुपर्छ । सहरमा सुविधामा बसेर अभाव, दुःख देखिन्न । योजना बनाउँदा त्यसलाई समेट्न सकिन्न । अहिले हामीले गरेको यात्रा र नयाँ शक्तिले अगाडि सारेको अवधारणा समृद्धिको एउटा राष्ट्रिय एजेन्डा तयार पारौँ भनेको हो ।

अब कांग्रेसका मान्छे कांग्रेस र नेकपाका मान्छे नेकपा मात्रै भएर बसिराख्ने हो भने, कांग्रेसले करिब ३३ प्रतिशत र एमाले-माओवादीले करिब ४५ प्रतिशत मत लिएर बसिराख्ने हो । करिब-करिब ८० प्रतिशत भोट यताउति नगर्ने हो भने नयाँ वैकल्पिक शक्ति कसरी बन्छ ? विकास र समृद्धि कसरी आउँछ ? त्यसैले हामीले पार्टी बनाउने, फुटाउने, भत्काउने पसल थापेको होइन । मुलुकलाई नै एउटा एजेन्डामा ध्रुवीकरण गर्न खोजेको हो । नयाँ ज्ञान, प्रविधिप्रति जनतामा सचेतना जगाउन खोजेको हो । जसरी हिजो व्यवस्था फेर्न सबै पार्टी र जनता खास/खास समयमा एकजुट भएका थिए, अब विकास र समृद्धिका लागि पनि एक भएर राष्ट्रिय अभियान सुरु गरौँ भन्ने मेरो मान्यता हो ।

तपाईंले मध्यपहाडी राजमार्गको यात्रा गरिरहँदा आफ्नो पकड क्षेत्र रसुवाका प्रदेश सांसदलगायत कांग्रेस प्रवेश गरे नि ?

प्रेम तामाङ युवा हुन्, उनले कठिन क्षणमा हामीलाई साथ पनि दिए । तर पछिल्लो समय उनको आदत बिगि्रसकेको थियो । ०७४ मंसिरको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्दा मैले शेरबहादुर देउवासँगै सल्लाह गरेर संघीय संसद्मा रसुवा र गोरखा गरी दुई सिट लिएका थियौँ । यहीअनुसार रसुवामा प्रेमलाई उठाइयो । पछि उनलाई कांग्रेसका अर्बपति ठेकेदार मोहन आचार्यले किनेछन् । संघीय संसद्मा बल्लबल्ल टिकट लिएका थियौँ, प्रेम त टिकटै बेचेर प्रदेश झरेछन् । त्यस्तो पात्र विचलित हुनु ठूलो कुरा भएन ।

भौतिक रुपमा आर्थिक विकास गर्न, बजार सिर्जना गर्न, आश्रति बजार जोड्न पूर्व- पश्चिम जोडिनैपर्छ । हाम्रो सम्बन्ध दक्षिणतिर मात्र भयो । यसले ठूलो व्यापार घाटा भयो, परनिर्भरता बढायो । त्यसैले विकास, समृद्धि र एकताको प्रभाव बुझ्न यो यात्रा गरिएको हो ।

यो यात्रामा तपाईंको राजनीतिक अभीष्ट लुकेको छैन ?

समाजलाई रूपान्तरण गरौँ, समृद्धिमा लैजाऊँ भन्ने छ । दलगत राजनीतिक स्वार्थ लुकेको छैन । नयाँ शक्ति पार्टीको एक/दुई लाख भोट बढाऊँ भनेर यो अभियान गरिएको होइन । एक-दुई लाख भोट बढेर के हुन्छ ? कम्तीमा दुई दशक दुई अंकको आर्थिक वृद्धिदर भयो भने मात्र नेपाल 'तेस्रो विश्वबाट पहिलो' मा पुग्छ । त्यसका लागि राष्ट्रिय संकल्प निर्माण गर्न खोजेको हो ।

यात्रामा तपाईंलाई बढी संवेदनशील बनाएको कुनै घटना ?

हिउँ यात्रा छिचोलेर हामी पूर्वी रुकुमको भूमे गाउँपालिका-१ को लुकुम गाउँ पुगेका थियौँ । त्यहाँ करिब ६ सय घर खाम मगर र ५०/६० घर दलित बस्ती रहेछ । घर राम्रा, झुरुप्प छन् । आलु खेती, भेडापालनका लागि प्रसिद्ध रहेछ । जनयुद्धमा त्यो गाउँबाट ११ जना सहिद भए पनि जनजीवनमा खासै परिवर्तन छैन । जनयुद्धै लडेका युवा साउदी, कतार, दुबईतिर गएका छन् । जाडोका कारण हामीले भएभरका लुगा लगाएर सुत्यौँ । तर बूढाबूढीहरू त्यो ठिहीमा खाली खुट्टा हिँडेका छन्, चिसोले कठ्यांगि्रएका छन् । त्यो देख्दा आँसु नै आयो । जनयुद्धले संस्थागत परिवर्तन कति गर्‍यो त भनेर मलाई निकै संवेदनशील बनायो ।

जनयुद्धले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन किन सकेन ?

माओवादी आन्दोलनले दलित, महिला, जनजातिलगायतलाई अधिकारप्रति जागरुक बनायो । हामी पनि यो देशका नागरिक हुँ भन्ने भावना जगायो । त्यसलाई उपलब्धि मान्नुपर्छ । राजनीतिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएर जुन संविधान बनेको छ, त्यो पनि उपलब्धि हो । त्यसलाई टेकेर अगाडि जान माओवादी आन्दोलनले आफूलाई रूपान्तरण गर्नैपर्छ । रुकुम माओवादीको उद्गम थलो, स्थानीय तहदेखि प्रदेशसभा हुँदै केन्द्रसम्म जितेको ठाउँ हो । तर त्यहाँका जनताको जीवनस्तर भने कष्टकर नै छ । मुख्यतः प्रचण्डजी त्यहीँ चुक्नुभयो भन्ने लाग्छ । उहाँले कि त पुरानै ढाँचाले लैजाने आँट गर्नुपथ्र्यो, त्यो पनि गर्नुभएन । हामीले रूपान्तरित भएर नयाँ एजेन्डा लिएर जाँऊ भन्दा पनि उहाँको अहंले दिएन । अहिले त एमालेमै विलीन हुनुभयो । तल्लो तहका जनतालाई अधिकारसम्पन्न बनाउने एजेन्डा पनि छैन । विभेद, उत्पीडनमा परेका जनतालाई आर्थिक लाभ हुने क्रियाकलाप, योजना पनि खास केही आएको छैन । प्रचण्डले माओवादी आन्दोलनकै बिसर्जन गरिदिनुभयो । हामीले नयाँ ढंगले रूपान्तरण गरेको हो । माओवादी आन्दोलन विडम्बनापूर्ण भएछ भन्ने अनुभूति रुकुम आउँदा लाग्यो ।

०७२ असोजसम्म सँगै रहेर पनि प्रचण्डको रूपान्तरणमा केही गर्नुभएन ?

म प्रचण्डजीसँग मुख्य रूपमा अलग हुनुको कारण नै त्यही थियो । सत्तामा राखिदिएपछि उहाँ वैचारिक/राजनीतिक सम्झौतामा आनाकानी गर्ने मान्छे होइन । सुरुमा उहाँ संविधानसभाविरोधी हुनुहुन्थ्यो, पछि मात्र मान्नुभयो । लोकतान्त्रिक गणतन्त्र ल्याउनुपर्छ भन्दा होइन, राजासँग मिल्नुपर्छ बरु भारतसँग लड्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । त्यसो हुँदा गणतन्त्र नआएसम्म सहकार्य गरौँ भनेको हो । उहाँलाई जसरी पनि सत्तामा पुग्नुपर्ने । सत्तामा भएपछि कमिसनखोरसँग नमिलुन्जेल पैसा हुन्न । पैसा नभएसम्म आसेपासे खडा गरेर पार्टी कब्जा गर्न सकिन्न । यही दुष्चक्रले जनतासँग उहाँको सम्बन्ध टुट्यो ।

यात्राका क्रममा तपाईंले दौरा-सुरुवाल लगाएको प्रसंग चर्चित भयो नि ?

यो सजिलो पोसाक रहेछ । पहिले सानो छँदा भोटो र दौरा लगाएको थिएँ । दौरा-सुरुवालचाहिँ पहिलोचोटि लगाएको हुँ । जाडो धेरै हुने ठाउँमा पुग्दा पनि न्यानो लाग्यो ।

उतै किन्नुभएको हो ?

यात्रामा निक्लनुअघि हिसिलाजीले काठमाडौँकै एउटा पसलबाट किन्नुभएको हो । जुन जातिको जहाँ बाहुल्य छ, त्यही लगाउने भन्ने विचार थियो । तमुवानमा जाँदा तमुको र तामाङ बस्तीमा तामाङको पोसाक पनि लगाएको थिएँ ।

प्रधानमन्त्री भएका बेला पनि दौरा-सुरुवाल लगाएको भए हुने रहेछ भन्ने लागेन ?

त्यस्तो लागेन । एउटा मात्रै जातिको पोसाकलाई सबै जातिको प्रतीक मान्न सकिन्न । सबैको वेशभूषाप्रति सम्मान हुनुपर्छ भन्ने भावना ममा छ । दौरा-सुरुवाललाई मात्रै राष्ट्रिय पोसाक मान्ने विचार ठीक होइन । तर यो पनि राष्ट्रिय पोसाक हो ।

युद्ध अवधिमा तपाईंहरूले दौरा-सुरुवालप्रति खिसिट्युरी अनुभव हुने किसिमका व्यवहार गर्नुभयो नि ?

एउटै पोसाक, भाषालाई मात्रै मान्यता दिने सोचविरुद्ध हामीले अभियान चलाएको हो । तर लगाउनै निषेध गर्नुपर्छ भन्ने सोच थिएन । अबको समयमा यस्ता कुरालाई खुला रूपले हेर्नुपर्छ ।

प्रकाशित: फाल्गुन १३, २०७५

ट्याग: संवाद