अनौठो किरिया

- पर्वत पोर्तेल/काँकडभिट्टा

सन्थाल (सतार) समुदायको मृत्यु संस्कार अनौठो हुन्छ । मृत्युपछि खबरे (गुडित) ले आफन्तकहाँ सन्देश पुर्‍याउँछ । आफन्त भेला भएपछि मात्रै शवको अन्त्येष्टि हुन्छ । शवलाई नदी छेउ पुर्ने वा जलाउने चलन छ । सन्थाल समुदायका मुखिया (माजिहडाम) विष्णु हेमरम भन्छन्, "सक्नेले जलाउँछन्, नसक्नेले जमिनमा पुर्छन् ।"

मृतकको कपाल र नङलाई अस्तु मानी नदीमा बगाइन्छ । आफन्त र नातागोताले पनि कपाल काट्नुपर्छ । मलामीहरू मृतकले प्रयोग गर्ने एउटा थाल बोकेर आर्यघाट जान्छन् । त्यो थालमा इच्छा र गच्छेअनुसारको पैसा चढाइन्छ । त्यही पैसाले मलामीलाई मदिरा खुवाइन्छ । अन्त्येष्टि सकेर आएपछि कुल 'देवता' लाई कुखुराको भाले भोग दिइन्छ । मलामीलाई त्यही भालेको मासु चामलमा मिसाएर खिचडी खुवाइन्छ । अन्त्येष्टि सकेर कम्तीमा १३ दिनपछि भान्डान अर्थात् किरिया कर्म हुन्छ । मुखिया हेमरम भन्छन्, "१३ दिनसम्म परिवार शोकमा हुन्छन् तर अरू समुदायजस्तो कोरामै बस्नुपर्दैन ।"

सन्थाल समुदायमा किरिया कर्म अर्थात् शुद्धयाइँ शैली पनि अनौठो छ । जुन बार मान्छेको मृत्यु हुन्छ, त्यही बार पारेर किरिया कर्म गरिन्छ । यो दिन नातागोता भेला हुन्छन् । आफन्तहरू मदिरा, बाख्राको पाठी र कुखुराको भाले बोकेर शोक परेका घर पुग्छन् । नजिकैको खोलामा परिवार र आफन्तले केश मुण्डन गर्छन् । वाद्यवादन टोली साइकल गन्जी, पन्ची र घुँघुरु पहिरिएर तुम्दा, ड्राम र राहाडको तालमा खोला बगरमा मदिरा पिउँदै नाच्छन् । त्यसपछि मात्र उनीहरू चोखिएको मानिन्छ । "हरेक पर्व, जन्म-मृत्युजस्ता कर्ममा जाँड र मासु प्रयोग अनिवार्य छ," सन्थाल अगुवा कविराज मुर्मु भन्छन्, "यो संस्कार र संस्कृति हाम्रो समुदायको पहिचान हो ।"

पूर्वसांसद तथा सन्थाल समुदायका अगुवा मोहन टुडुका अनुसार बाजागाजा बजाएर बिदा गर्दा दिवंगत आत्माको स्वर्गमा वास हुने र सुख मिल्ने विश्वास छ । बाजाको ताल र गीतको सुरबाट सन्थालको मृत्यु संस्कार हुँदैछ भन्ने सन्देश प्रवाह हुन्छ र आफन्त, छरछिमेक भेला हुन्छन् भन्ने मान्यता छ ।

लोपोन्मुख आदिवासी सन्थाल पूर्वी नेपालको झापा, मोरड र सुनसरीमा बस्छन् । ०६८ को जनगणनाअनुसार सन्थालको कुल जनसंख्या ५१ हजार ७ सय ३५ छ ।

तस्बिरहरु : पर्वत पोर्तेल

प्रकाशित: फाल्गुन १२, २०७५