हिउँ खेल्न आनन्द, झेल्न कठिन

- आनन्द गौतम

फक्तालुङ-६ लेलेप घुन्साका च्युमे शेर्पा फागुन पहिलो साता बस्ती फर्किएका छन् । कञ्चनजंघा आधारभूत विद्यालयका शिक्षक उनी पुस पहिलो साता गाउँ छाडेर हिँडेका थिए । ३ हजार १ सय मिटर उचाइको आफ्नो बस्ती छाडेर ओरालो झरेका उनले यो अवधिमा धादिङमा रहेको ससुराली र काठमाडौँका आफन्त भेटे र भलाकुसारी गरे । श्रीमती, छोराछोरीसहित जिल्ला सदरमुकाम फुङलिङमा पनि एक साता बिताए । भन्छन्, "दूरदराजमा छौँ, अरू समय मिल्दैन, चाडपर्वमा पनि भ्याइँदैन, त्यसैले स्कुल छुट्टी हुने बेला आफन्त भेट्न जान्छौँ ।"

च्युमेको वास्तविकता यति मात्र होइन । मुख्य समस्या हो, हिउँ । हिउँ खेल्नेलाई जति आनन्द र मजा हुन्छ, झेल्नेलाई त्यत्तिकै कठिन । हिउँले धाराको पानी पुरिदिन्छ । खोलो जमाइदिन्छ । घरको छानादेखि बार्दली, पेटीसम्म थाकका थाक हिउँ जम्मा हुन्छ । घरमै बसेपछि प्रत्येक दिन पन्साउन मन लाग्छ । काठको छानाबाट तपतप पानी र्झन थाल्छ । चुलोमा आगो बाल्न कठिन हुन्छ । सिरक तात्दै तात्दैन । यी सबै हैरानी खेप्नुभन्दा बरु दुई/अढाई महिना बाहिर बसौँ अनि फर्कौंजस्तो हुन्छ । त्यसपछि फुत्त निस्कन्छन् । यत्तिका लामो समय एकै घरमा बसिरहन असहज र अप्ठेरो हुने भएकाले आफन्त पहिल्याउँदै हिँड्छन् । च्युमे थप्छन्, "ताप्लेजुङकै आठराई त्रिवेणीको चाँगे घर भएका मेरा स्टाफ एलएन प्रसाईं र पाथीभरा याङवरकको नाङखोल्याङ घर भएका हेडसर एलसी गुरुङकहाँ पनि बस्यौँ ।"

यसरी बस्ती छाड्ने च्युमे एक्ला भने होइनन् । गाउँभरिका हुन्छन् । भलै, कोही नजिकै सर्छन् त कोही ठूला सहर र आफन्तसम्मै पुग्छन् । मंसिरदेखि चैतसम्म हिउँ पर्ने फक्तालुङ गाउँपालिका-६ लेलेपको घुन्सा, खम्बाछेन, वडा-७ ओलाङचुङगोलाको याङमा, मिक्वाखोला-५ पापुङको तोक्पेगोलाका वासिन्दा प्रत्येक वर्ष गाउँ छाडेर हिँड्छन् ।

तस्बिरहरू : आनन्द गौतम


धेरैजसो घुन्साबाट फलेमा सर्छन् । दूरीको हिसाबले यो एक घन्टाको पैदल हो । तर घुन्साको तुलनामा यो क्षेत्र पारिलो र छिट्टै घाम देख्न पाइने भएकाले उनीहरू सर्ने गरेका हुन् । घाम लागे हिउँ चाँडो पग्लने, मान्छेले पनि घामको न्यानो लिन पाइने र पानीको समस्या लामो नहुने भएकाले सर्नुपरेको डण्डु शेर्पा बताउँछन् । घुन्सा वरिपरि डाडाँले घेरेको बीचमा भएकाले दिउँसो १ बजेतिर देखिने घाम ३ नबज्दै ओझेल पर्ने डण्डु सुनाउँछन् । प्रत्येक वर्ष काठमाडौँ जाने हिमाली चुङ्दा तीन/चार महिनाका लागि बौद्धमा वर्ष दिनको भाडा तिरेर कोठा लिएको बताउँछन् । भारतको दार्जिलिङ, सिक्किम गएर बस्नेहरू पनि छन् ।

याङमाका पूरै ११ परिवार चेने र्झछन् । उनीहरू भने दोहोरो लाभ लिन्छन् । हिउँ पनि छल्छन् र आलु पनि साट्छन् । एक दिनको पैदल बाटो चौँरीलाई बोकाएर ल्याउने उनीहरूसँग आलु साट्न तापेथोक, इखावु, खेजेनिम, सावादिनका किसान जान्छन् । औल क्षेत्र हो यो । लेकबाट ल्याएको बिउ औलमा राम्रो फल्ने हुँदा उनीहरू धान, कोदोलगायतका अन्न लिएर जान्छन् र सरोबरी साटेर र्फकन्छन् । चेनेमा पनि हिउँ परे पनि बस्ती पुरिँदैन । चौँरी चराउन सहज हुने याङमावासी बताउँछन् ।

गाउँमै बस्नेले मानिसका लागि खाद्यान्न, लत्ताकपडा, पशुचौपायाका लागि घाँस, पराल, कुटोको व्यवस्थापन गर्नुपर्छ । कम्तीमा तीन महिना अभाव नहुने गरी खाद्यान्न जोहो गर्छन् । परिवार संख्याअनुसारको चामल, दाल, तेल, पशुचौपायाअनुसार नुनको बन्दोबस्त मिलाउँछन् । चौँरी, याकजस्ता चौपायाका लागि उवा, गहुँ, जौको डाँठ, छुसाङ, छिलिङजस्ता घाँस भेला पार्ने गरेका छन । परालको डाँठ, मकैको खोस्टा काटेर औलबाट लैजाने गर्छन् ।

बाक्लो हिउँ पर्दा गाउँले बन्दीजस्तो भएर बस्ने गर्छन् । जति ठाउँमा हिउँ पर्छ, त्यहाँ सञ्चार सम्पर्क हुँदैन । ओलाङचुङगोला र घुन्सामा चार/चार लाइन एनटीएसटी टेलिफोन छ । नेपाल टेलिकमले गत वर्ष घुन्सामा मोबाइल फोन टावर बनाए पनि सञ्चालन गरेको छैन । स्थानीयले चाँडो सेवा उपभोगका लागि पक्की भवन निर्धारित समयअघि नै बनाइदिएका छन् ।

हिउँदयाममा एउटाबाट अर्को बस्तीमा पुग्न कठिन हुन्छ । डाँडापाखा छिचोल्नुपर्ने भएकाले उनीहरू हिँड्न पनि चाहँदैनन् । आकाश धुम्मिएपछि डाँडापाखामा हिउँ थुपि्रन थालिहाल्छ । हिउँ पर्दा उकालो चढ्न कठिन हुने डण्डु बताउँछन । लेक लागे ज्यान जाने जोखिम हुन्छ । त्यसैले घरमा बस्नुको विकल्प हुँदैन ।

चीनको तिब्बतसँग जोडिएकाले तिब्बतको रिउ बजारबाट पहिल्यै सामान ल्याउने गरिन्छ । सदरमुकाम फुङलिङबाट पनि लगिन्छ । खाद्यान्न ढुवानी चौँरी, याकलाई बोकाएर गरिन्छ । बीचैमा सकिए पैँचो चलाउने र हिउँ सकिएपछि ल्याएर तिर्ने प्रचलन रहेको ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन भोटे बताउँछन् । तगाउँमा दोकान पनि छन् तर खाद्यान्न भने बिक्रीका लागि राखिँदैन ।

चाइनिज बिस्कुट, चाउचाउ, साबुन, जुत्ताजस्ता सामान मात्रै बिक्रीमा राखिन्छ । दाउराको जोहो कात्तिकसम्म भइसक्छ । दाउरा घरको तलामुनि हार लगाएर राखिन्छ । त्यसको छेउमा घाँस हुन्छ । दुहुना चौँरी र तिनका बाच्छाबाच्छी घरको मुनि तलामा बाँधिन्छ । लेकमा यिनका लागि घर छेउमा छुट्टै गोठ बनाउने प्रचलन छैन । मानिस दोस्रो तलामा बस्छन् । हिमाली क्षेत्रका घर दुईतले मात्रै हुन्छन् । छानो काठको लगाइन्छ । दोस्रो तलाको बीचमा परिवारका सबै सदस्य वरिपरि बस्न मिल्ने गरी चुल्हो बनाउने प्रचलन रहेको घुन्साकी डोल्मा शेर्पा बताउँछिन् ।

घरका मूली र अरू बस्ने आ-आफ्नै ठाउँ हुन्छ । चुल्हो बलेपछि घरका मानिस वरिपरि गोलो लागेर बस्छन् । पानीका धारा जाम भएपछि हिउँलाई भाँडोमा हालेर तताउने र पानी बनाउने गरिन्छ । मान्छेदेखि पशुचौपायाले त्यही पानी प्रयोग गर्छन् । हिउँभित्र पानी बगेको सुनिन्छ तर देखिँदैन, न त भर्न नै मिल्छ । सबैभन्दा पीडा गाउँमा कोही बिरामी भए हुन्छ । सञ्चार, बाटो नहुँदा अरूलाई खबर गर्न पनि कठिन हुन्छ । हिँडेरै गन्तव्यमा पुग्नुको विकल्प नभएको छेतेन बताउँछन् । त्यसकारण पनि धेरैले बस्ती सार्ने गरेका हुन् ।

हिउँका कारण हिमाली क्षेत्रका जंगली जनावर बस्ती नजिक र्झछन् । सिकारको समस्याले पनि उनीहरू बस्ती नजिकमा झर्ने भएकाले जंगली जनावरबाट सावधानी अपनाउनुपर्छ । प्राकृतिक हिसाबले दुःख पाउने भएकाले जनावर हिंस्रक र आक्रामक स्वभावका हुने स्थानीय घुन्साको आधारभूत विद्यालयका प्रधानाध्यापक लीलाचक्र गुरुङको अनुभव छ ।

हिउँ पग्लिने बेलामा बाटो चिप्लो हुने भएकाले यात्रामा सावधानी अपनाउनुपर्छ । हिउँमा चिप्लिएर भएका घटना थुप्रै रहेको स्थानीय सुनाउँछन् । हिउँले थलिएका पशुचौपायामा पनि नजर लगाउनुपर्छ । हरियो घाँस तान्न जाँदा लडेर मर्छन् । चौँरी भने हिउँ पर्ने संकेतसँगै एकै ठाउँ भेला भएर बस्छन् । जब हिउँ पर्न छाड्छ, तब मात्रै चर्न निस्कन्छन् । जनावरको आक्रमणबाट बच्न संगठित हुने गरेको नुपु शेर्पाको भनाइ छ ।

पछिल्लो समय बेमौसमी हिउँले स्थानीयलाई तनाव दिएको छ । एक दशकअघिसम्म मंसिरदेखि सुरु भएको हिउँ पर्ने क्रम माघ अन्तिममा टुंगिन्थ्यो । फागुनदेखि योजना बनाएर बाँकी काममा लाग्दा हुन्थ्यो । अहिले भने वैशाखसम्म पनि भारी हिउँ पर्ने गरेको ओलाङचुङगोलाका नुपु बताउँछन् । बेमौसमी हिउँले ६ वर्षअघि पापुङमा एकै किसानका ३९ वटा चौँरी मरेको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष कृष्ण ओझा सुनाउँछन् । भन्छन्, "गोठबाट चराउन धेरै टाढा लगेका बेला परेको हिउँ छिचोल्ने क्रममा लडेर मर्छन् । भमरी हिउँ पर्दा बाटो पूरै ठप्प हुन्छ र गन्तव्य पहिल्याउन नसक्दा मर्छन् ।"

प्रकाशित: फाल्गुन १२, २०७५