विमानस्थलमा बीपीलाई देख्दा

- मीना पाण्डे

स्कुले जीवनमै कांग्रेस समर्थक रहे पनि पार्टीका वरिष्ठ नेताहरुसँग ०३३ पछि मात्रै भेटघाटको अवसर जुर्यो । त्यसअघि बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्यलगायतका कांग्रेस नेताहरुबारे सुनिन्थ्यो मात्र । उनीहरु प्रवासमा थिए । बीपीलगायतका नेताले बिनाकसुर ८ वर्षसम्म पञ्चायती शासनको बन्दी जीवन बिताएपछि ०२५ मा स्वेच्छिक निर्वासन रोजे । तर निर्वासनमै रहेका बेला भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल घोषणा गरिन् । नेपालको पूर्वी क्षेत्र नजिकको सानो राष्ट्र सिक्किमलाई भारतले आफूमा विलय गरायो । प्रवासमा भएका यी दुई घटनाले बीपीमा नेपालको सार्वभौमसत्ताबारे चिन्ता थपिदियो । त्यसकारण बीपी, गणेशमानलगायत निर्वासन त्याग्ने निर्णय गर्दै १६ पुस ०३३ मा नेपाल फर्किए ।

त्यसताका म पद्मकन्या क्याम्पसमा बीए अध्ययनरत थिएँ । १६ पुस दिउँसो ११ बजे बीपीको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने समय निर्धारण गरिएको थियो । तर बीपी काठमाडौँ उत्रिनुअगावै नेता कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना, नेविसंघ अध्यक्ष विपिन कोइरालालगायत हजारौँ कार्यकर्तालाई पञ्चायती प्रशासनले बिहानै ७ बजे पक्रिएर हनुमानढोका हुँदै नख्खु जेल पुर्यायो । कांग्रेस समर्थक नेता/कार्यकर्तालाई ठाउँका ठाउँ पक्रियो, बीपीको स्वागतमा जनलहरको उभार आउने आशंकामा ।

बीपीलगायतका नेताहरु बिहान ११ बजे विमानस्थलमा उत्रिए । उनीहरुलाई स्वागत गर्न त्यहाँ उपस्थित हामीहरुमाथि पनि प्रहरीले अन्धाधुन्ध लाठी बर्सायो/धरपकड गर्यो । गृहमन्त्री जोगमेहर श्रेष्ठ नेतृत्वको पञ्चायती शासनका कर्ताधर्ताले कांग्रेस समर्थक नेता/कार्यकर्ता र शुभेच्छुक सबैमाथि बीपी स्वागत/सत्कारमा आएको भन्दै अमानवीय व्यवहार गरे । बीपीलाई स्वागत गर्न रामचन्द्र पौडेल, लीला कोइराला, बिना कोइरालालगायतका सयौँ कांग्रेस समर्थक नेता/कार्यकर्ता विमानस्थल गएका थियौँ ।

विमानस्थलमा प्रहरी र पञ्च समर्थकको लाठीमुंग्री चलिरहेका बेला बहालवाला गृहमन्त्री श्रेष्ठले हामीलाई अपशब्द बोले । विद्यार्थी नेतृ बिनाले जोगमेहरको कठालो समातिन् । बिनालाई प्रहरीले पक्रियो । महिलामाथि अशिष्ट व्यवहार र बोलीका कारण कठालो समाउँदा अंगरक्षक र प्रहरीले नै सुरक्षा दिएर श्रेष्ठलाई भीडबाट छुटाउनुपरेको थियो । त्यतिबेला बिना साझा स्वास्थ्य संस्थामा जागिरे थिइन् । बीपीको स्वागतमा सहभागिता जनाएकै आरोपमा उनको जागिरसमेत खोसियो ।

बीपी, गणेशमान विमानबाट ओर्लिन नपाउँदै प्रहरीले जीपमा हुल्यो । दुवै जनालाई महाराजगन्ज पुलिस प्रशिक्षण केन्द्रमा लगियो । हामी 'प्रजातन्त्र जिन्दावाद, गृहमन्त्री मुर्दावाद, पञ्चायती व्यवस्था मुर्दावाद' भन्दै नारा लगाइरहेका थियौँ । विमानस्थलको अन्यत्र बाटो प्रयोग गरी नेता बीपी र गणेशमानलाई प्रहरीले महाराजगन्ज पुर्याएछ ।

पञ्च कार्यकर्तासहित विमानस्थल पुगेका गृहमन्त्री श्रेष्ठले समेत बीपी, गणेशमान र कांग्रेसलाई राष्ट्रघाती, देशद्रोही करार कर्दै नारा लगाइरहे । देशको राष्ट्रियता संकटमा परेको भन्दै स्वदेश फर्किएका बीपीलाई राजतन्त्र समर्थकले राष्ट्रद्रोही र फाँसीको सजायसमेत माग गरे । बीपी भने राजासँग सुलह गरेर प्रजातान्त्रिक व्यवस्था ल्याउने अभियानमा अगाडि बढिरहे । बन्दी अवस्थामै रहेका बेला बीपी बिरामी परे । ०३४ भदौमा राजा वीरेन्द्रले उपचारका लागि अमेरिका जान स्वीकृति दिए । अमेरिकामा उपचार गराएर १५ कात्तिक ०३४ मा स्वदेश फर्किए ।

राजासँग सम्झौता गरेर देशमा प्रजातन्त्र ल्याउने बीपीको मनसाय थियो । उनीमाथि लागेका ७ वटा मुद्दा खारेज हुँदै गए । अन्तर्राष्ट्रिय दबाबका कारण उनीमाथि थोपरिएका मुद्दा खारेजीका लागि पञ्चायती शासनले अञ्चल अदालत हेटौँडाका न्यायाधीश जनकमान श्रेष्ठ अध्यक्षताको इजलास तोक्यो । उनको इजलासमा पेस भएका सबै मुद्दा क्रमशः खारेजी प्रक्रियामा गए । बीपी पक्षबाट मुद्दा हेर्ने जिम्माचाहिँ गणेशराज शर्माले लिएका थिए । ०३५ वैशाखमा बीपीमाथिका सबै मुद्दा खारेज भए । त्यसपछि विद्यार्थी आन्दोलन सुरु भइहाल्यो । त्यो आन्दोलनले देशलाई जनमतसंग्रहको बाटोमा पुर्यायो । जनमतसंग्रह घोषणापछि काठमाडौँमा भएका जनसभामा बीपीसँगै मैले पनि बोल्ने अवसर पाएँ ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: फाल्गुन १०, २०७५

ट्याग: स्मरण