हसाउँछ, बाँकी केही छैन

फिल्म : टोटल धमाल | रेटिङ : २/५

- गोकर्ण गौतम

रचनात्मकभन्दा मसलेदार फिल्मको दबदबा छ बलिउडमा । उद्देश्य एउटै- जसरी-तसरी मनोरञ्जन दिने । नवीनता र सिर्जनशीलताकोबेवास्ता गरिएको फिल्मको कोटिमै पर्छ,धमाल सिरिज । धमालडबल धमालपछि यतिबेला टोटल धमाल प्रदर्शन भएको छ । कथानक र पात्र हुबहु धमालकै । तर 'टि्रटमेन्ट' अलग । समझलाई एकातिर पन्छाएर हेर्दा खुब हसाउने । अजय देवगनदेखि अनिल कपुरसम्मका चिनिएका कलाकारको डफ्फा । संवाद उस्तै रसिला । निर्देशक इन्द्रकुमारको ध्याउन्न धमाल प्रेमीलाई रिझ्याउनमै एकाग्र देखिन्छ । कथाप्रतिको शून्य संवेदनशीलता ।

पिन्टु (मनोज पहृवा) ले ५० करोड भारु जनकपुरको चिडियाखानामा लुकाएर राख्छन् । यो रहस्य राधे (अजय देवगन), ललन (रितेश देशमुख), आदित्य (असरद वारसी) र अविनाश (अनिल कपुर)ले थाहा पाउँछन् । उनीहरुको साथमा अरु एक-एक साथी छन् । पिन्टुको मृत्यु हुन्छ । चार समूहमध्ये जो पहिले जनकपुर पुगेर पैसा पत्ता लगाउँछ, सबै पैसा उसकै हुने सहमति हुन्छ । यो अकुत रकमको पछाडि पुलिस कमिस्नर (बोमन इरानी) पनि छन् । अब पैसा कसले हत्याउला ? यसमै केन्द्रित छ फिल्म ।

कथा मात्र होइन, क्लाइमेक्स पनि धमालसँग मिल्छ । पात्रको प्रवृत्तिसार पनि फरक छैन । तर पैसा लुकाइएको ठाउँसम्मको यात्रा रोमाञ्चक छ । यात्राका क्रममा पात्रले भोग्ने अनेक सास्तीलाई हास्यपरक ढंगले देखाइएको छ । फिल्मको मुटु नै यही हो । यद्यपि मूलकथा प्रवेशचाहिँ धमालकोभन्दा ढिला हुन्छ । मुख्य पात्रहरु धेरै हुँदा उनीहरुलाई स्थापित गर्ने प्रधान चुनौती हुन्छ, पटकथाकार र निर्देशकसामु । तर टोटल धमालमा एउटै दृश्यबाट हरेक समूहको असलियत देखाइएको छ । पात्र चयनमा विविधता अपनाउँदा पनि रोचकता थपिएको छ । जस्तो, राधेलाई ठूलै धमाका गरेर टन्नै पैसा कमाउनु छ । ललन पनि पैसाका मामलामा ज्यादै लुच्चो छ । आदित्य र मानव (जावेद जाफरी)को दोस्ती त दर्शकलाई प्रिय लागिहाल्छ । अविनाश र बिन्दु (माधुरी दिक्षित)चाहिँ डिभोर्स गराउन हिँडेका बेला ५० करोडको चक्करमा लोभिन्छन् । स्काई ड्राइभिङ, अटोस्टार्ट हेलिकप्टर, रिमोटवाला गाडी आदिको प्रयोगबाट प्रशस्त हाँसो पैदा गरिएको हुन्छ ।

उसो त सिनेमाको धर्म हँसाउनु मात्र पक्कै होइन, कलात्मक तबरले कथा भन्नु पनि हो । यो गुण डबल धमाललाई खोजियो भने निराश हुनुपर्छ । सुरुआतबाटै कमेडीकै लागि अतिरञ्जित गरिएका दृश्यको बोलवाला छ । पात्र त्यतिकै 'लाउड' । संवादले सतही ढंगले हसाउँछन् मात्र । इन्द्रकुमार तिनै निर्देशक हुन्, जसले कुनै समय बेटा, इश्क, दिल, राजा, मनजस्ता सुन्दर सिनेमा बनाएका थिए । लभस्टोरी फिल्ममा उनकै छुट्टै स्थान थियो बलिउडमा तर कमेडी फिल्मको धङधङी सुरु भएपछि कथावाचक कम, बजारअनुरुप सिनेमा उत्पादन गर्ने व्यापारी ज्यादा भएका छन् । डबल धमाल त्यसकै निरन्तरता मात्र हो । धन्न ! उनले कमेडीको नाममा पट्यारलाग्ने फिल्मचाहिँ बनाएनन् ।

अनिल र माधुरीको जोडी १७ वर्षपछि एकसाथ देखिएको छ । उनीहरुको नोकझोँकले रमाइलो गराउँछ । अजय देवगन, अरसद वारसी, जावेद, रितेश, जोनी लिभर, सञ्जय मिश्राजस्ता हरेक कलाकारको 'कमिक टाइमिङ' गजबको छ । हिन्दी फिल्मको नियमित दर्शकले पर्दामा देखिने प्रायः सबै कलाकार चिन्छिन् । मसलाको डोज पुर्याउन सोनाक्षी सिन्हाको आइटम डान्स पनि थपिएको छ । चिडियाखानाको भीएफएक्सचाहिँ अन्य हिन्दी फिल्मको तुलनामा अपरिपक्व लाग्छ । जनावरसँगको रस्साकस्सी रोचक छ । डबल धमालभन्दा धमाल रमाइलो थियो । टोटल धमालचाहिँ धमालकै स्तरमा छ ।

कमेडी भए पुग्ने दर्शकका लागि हो, टोटल धमाल । जसले भरमार हसाउँछ, बाँकी केही छैन । हेर्यो, सकियो ।

प्रकाशित: फाल्गुन १०, २०७५