मगन्तेमुक्त काठमाडौँ

- सुरेश किरण

धेरै वर्षपछि मेरो विदेशी मित्र नेपाल आउँदै थिए । नेपाललाई माया पनि गर्छन् । विदेशमा बसे पनि नेपालबारे सामान्य जानकारी राख्ने गर्छन् । राम्रै हो । बेलाबेला मसँग च्याटिङ पनि भइरहेको हुन्छ ।

सधैँजसो नेपाल आएपछि उनलाई दरबार स्क्वायर जानैपर्ने, स्वयम्भू र पशुपति घुम्नैपर्ने । र, काठमाडौँको सडकमा हिँडेरै जानुपर्ने । यसपालि पनि उनको त्यो रुटिन फेरिएन । उनीसँग म काठमाडौँको कुनै सडक यात्रामा हिँड्दै थिएँ । अचानक उनले भने, "मित्र, यसपटक म काठमाडौँमा केही नयाँ कुरा अनुभव गर्दै छु ।"

"के कुरा ?" मैले सोधेँ, "काठमाडौँमा त्यस्तो अनुभवै गर्न मिल्ने केही नयाँ भएजस्तो त मलाई लाग्दैन ।'

उनले भने, "भएको छ । यसपटक मैले काठमाडौँमा माग्न आउने मगन्ते एउटै देखिनँ । पहिले-पहिले त हामी विदेशीहरुलाई देख्नेबित्तिकै मगन्तेहरु ग्वारग्वार आउने गर्थे ।"

"ए, हो हो," म हाँसेँ, "अहिले काठमाडौँलाई मगन्तेमुक्त सहर बनाएको छ नि । यहाँ अब कसैले पनि माग्न पाइँदैन ।"

"साँच्चै हो र ?" उनले ट्वाक्क सोधिहाले, "उसो भए काठमाडौँमा माग्न नपाइने भएरै तिम्रो प्रधानमन्त्री अस्ति स्वीट्जरल्यान्ड पुगेर माग्न गएका हुन् ?"

मित्रको प्रश्नले म ट्वाँ परेँ । सायद 'ट्वाँ' नै मेरो जवाफ थियो ।

 

प्रकाशित: फाल्गुन ९, २०७५

ट्याग: परिहास