अब भ्रष्टाचार लुक्नु पर्दैन

- सुरेश किरण

कामविशेषले सिंहदरबार जाँदै थिएँ, मूलगेटमै भ्रष्टाचारसँग भेट भयो । सिंहदरबार आउ-जाउ गरिरहनुपर्ने भएकाले भ्रष्टाचारसँग अक्सर भेट भई नै रहेको हुन्थ्यो । तर यसरी खुला स्थानमा, खुला ढंगले भेट भएको भने पहिलो पटक हो । योभन्दा अघि भ्रष्टाचारसँग टेबुलमुनि, भर्‍याङमुनि, अँध्यारो कुना, ट्वाइलेटपछाडि, सुनसान चौरजस्ता स्थानमा भेट हुने गथ्र्यो ।

भ्रष्टाचार सिंहदरबारको गेटमै उभिइरहेको देखेर मैले सोधिहालेँ, "के हो भ्रष्टाचारजी ? आज त तपाईंलाई खुलै देख्दै छु । गजब भएछ त ।"

भ्रष्टाचारले भन्यो, 'गजब मान्नुपर्दैन, अब सधैँ खुलै हुने हो ।"

"किन र !" मेरो आश्चर्य थपिँदै गयो ।

तर उसले उत्तरको सट्टा उल्टो प्रश्नै गर्यो, "अस्ति प्रधानमन्त्रीज्यूको भाषण सुन्नुभएन ? अब भ्रष्टाचारले लुक्नुपर्दैन भन्नुभाथ्यो नि उहाँले । लुक्नुपर्दैन भन्नुको अर्थ खुला हुनु भनेको हो नि, होइन र ? त्यसैले हामी पनि खुला नै हुने हो ।"

"भ्रष्टाचार पनि खुला ?" म भ्रमित र चकित हुँदै थिएँ ।

उसले भन्यो, "अस्ति राष्ट्रपतिले भन्नुभएको सुन्नुभएन तपाईंले ? भ्रष्टाचार अब देशमा संस्थागत भइसकेको छ रे । जब संस्थागतै भइसकेको छ भने लुकेर किन बस्नु ? हैन र ?"

भ्रष्टाचारले कम्मरमा हात राखेर मेरो अनुहार हेर्न थाल्यो, जो देखाउन लायक थिएन ।

प्रकाशित: फाल्गुन ९, २०७५

ट्याग: परिहास