असल सिनेमा, खराब सिनेमा

- जीवन क्षत्री

अघिल्लो वर्ष विवेक अग्निहोत्री निर्देशित सिनेमा बुद्ध इन ट्राफिक जाम हेरेपछि म द्विविधामा परेँ– कुनै कलाकृति खराब हुन सक्छ कि सक्दैन ? मन नपरेको कुनै सिनेमा कमजोर/कमसल छ भनेर मूल्यांकन गर्न आधामै छाडेर हिँड्न हामी स्वतन्त्र छौँ । तर वैचारिक पक्ष वा सन्देश खराब लाग्दैमा त्यसलाई खराब भन्न मिल्छ कि मिल्दैन ? आम रुपमै कुनै कला वा साहित्यलाई असल–खराबको वर्गीकरणमा कैद गर्न मिल्छ कि मिल्दैन ?

पुस्तकहरुको हकमा यस्तो विवाद लामो समयदेखि चल्दै आएको छ । यो विषयमा एउटा बलियो तर्क छ– फरक विचारका किताब नपढ्नु वा तिनलाई खराब ठान्नु पाठकको आफ्नै वैचारिक कमजोरीको द्योतक हो । मन नपरेको विचारलाई खराब घोषित गर्नु वा वहिष्कार गर्नुको सट्टा त्यसका तर्कलाई आफ्ना तर्कले प्रतिकार गरेर स्वस्थ बहस सिर्जना गर्नुपर्ने मान्यता अब बनिसकेको छ । 

हिटलरको आत्मकथाजस्तो चरम नश्लभेदी र हिंस्रक मनोवृत्ति झल्किने किताबलाई समेत खराब भनेर तिरस्कार वा वहिष्कार गर्नुको सट्टा अलि गहिरिएर पढ्ने हो भने उनको मनोविज्ञान बुझ्न सजिलो हुन्छ । हिटलर व्यक्ति र वा उनका काम खराब हुन सक्छन् तर लेखिएका अक्षर, जसले हिटलर बुझ्न हामीलाई सघाउँछन्, त्यसलाई खराब भन्न मिल्दैन । 

यस्तै तर्क लगाएर मैले बुद्ध इन ट्राफिक जामप्रतिको आफ्नो मूल्यांकनलाई थाती राखेँ र समयक्रममा अन्य धेरै थोकजस्तै त्यो पनि स्मृतिबाट पर धकेलिँदै गयो । तर केही साताअघि अमित मुसरकर निर्देशित भारतीय सिनेमा न्युटन हेरेपछि त्यो वैचारिक द्वन्द्व फेरि सतहमा आयो । यसबीच विवेक अग्निहोत्रीको सिनेमाबाहिरको जीवनबारे म जानकार भइसकेको थिएँ । सायद त्यसले पनि ममा उनको कामप्रति खास छाप छाड्यो । म एउटा अनौठो लाग्ने निष्कर्षमा पुगेँ– हो, सिनेमा कमजोर र झुर मात्र होइन, खराब पनि हुन सक्छ । 

दुवै सिनेमाको विषय दुरुस्त एउटै नभए पनि तिनले उठाउन खोजेको केन्द्रीय मुद्दा एउटै छ– भारतमा दशकौँदेखि चर्किएको हिंस्रक नक्सलवादी भनिने वामपन्थी सशस्त्र संघर्ष । दुवैमा मूल पात्र त्यो संघर्षमा प्रत्यक्ष संलग्न नभए पनि परिस्थितिले त्यसलाई नजिकबाट भोग्ने अवस्थामा पुग्छन् । दुवै सिनेमाको प्रयास भारतीय समाजमा त्यो आन्दोलनले पारेको प्रभाव देखाउनु रहेको छ । 

दुईबीच समानताको त्यहीँ अन्त्य हुन्छ र भिन्नता सुरु हुन्छन् । न्युटनमा मुसरकरको लक्ष्य कथा भन्नु छ । त्यो कथाको केन्द्रमा भारतका ती आदिवासी छन्, जो सरकार र नक्सलवादीबीचको दोहोरो फायरिङमा फसेका छन् । यसमा कसैलाई देव वा दानव बनाएर श्यामश्वेतमा कथा भन्नु छैन । आदिवासीको कथा भन्ने क्रममा यो सिनेमाले संसारकै ठूलो भनिने भारतीय लोकतन्त्रको ‘ब्लइन्ड स्पट’ वा अन्धबिन्दुलाई उदांगो पार्छ । सिंगो सिनेमाको उद्देश्य यथार्थको नजिक पुग्नुबाहेक अरु देखिँदैन । 

बुद्ध इन ट्राफिक जाममा अग्निहोत्रीको संकथन अलग्गै छ– उनको सिनेमाको पृष्ठभूमिमा भारतलाई राष्ट्र र सभ्यताकै रुपमा के कुराले थला पारेको छ भन्ने प्रकल्पना छ । सिंगो सिनेमा त्यही प्रकल्पनालाई सिद्ध गर्ने अभ्यास भएकाले त्यो विषयको यथार्थ के हो भन्ने कुराबाट विच्छेदित छ । फलस्वरुप सिंगो सिनेमा यथार्थबाट नभई त्यो प्रकल्पनाबाट निर्देशित छ । उसो त सिनेमा यथार्थमै आधारित हुनुपर्छ वा त्यसमा प्रचुर कल्पनाशीलता हुनुहुँदैन भन्ने पटक्कै छैन । तर सिंगो सिनेमाको जोडचाहिँ यो यथार्थको चित्रण हो भनेर दर्शकलाई विश्वस्त तुल्याउनुमा छ । यही विरोधाभासका कारण शिल्पका हिसाबले अब्बल हुँदाहुँदै पनि यो सिनेमामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ । न्युटनजस्तो यथार्थपरक सिनेमाको ऐनामा हेर्दा त्यो प्रश्न झनै टड्कारो हुन्छ । 

नक्सलवादी वा माओवादी भारतको सुरक्षाका लागि चुनौती हुन्, उनीहरु त्यहाँको व्यवस्था पल्टाएर बन्दुकको भरमा शासन गर्न चाहन्छन् भन्ने सबैले स्वीकारेकै कुरा हो । भारतजस्तो समाजमा यदि नक्सलवादीलाई दानवीकरण गरेर सिनेमा बनाइन्छ भने त्यो बुझ्न सकिने कुरा हो । कुनै बेला धनी वा सामन्तको दानवीकरण नगरी बनाइएका हिन्दी सिनेमा भेट्न गाह्रो थियो । समयक्रममा विविधता थपिएर गए पनि त्यस्तो संकथनलाई चुनौती दिने पहिलो हिन्दी सिनेमा सायद २००७ मा बनेको मणिरत्नम निर्देशित गुरु थियो । समाजको कुन पक्षलाई कति उज्यालो वा अँध्यारो छविसहित चित्रण गर्ने भन्ने विशुद्ध लेखकीय र निर्देशकीय छनोटको विषय हो । 

विवेक अग्निहोत्रीको समस्या के छ भने उनले सिनेमाको पर्दाभित्र र बाहिर गर्ने पैरवीको भेद मेटिँदै गएको छ । फलस्वरुप उनले वास्तविक जीवनमा भारतलाई ‘बचाउन’ गरिरहेका संघर्षका महत्त्वपूर्ण कडीका रुपमा सिनेमा र पुस्तक छन् । कला जब कलामै सीमित नभएर व्यावहारिक जीवनलाई निर्देशित गर्न थाल्छ, तब कलामा प्रयुक्त कल्पनाशीलताले व्यक्तिको वास्तविक जीवनलाई प्रभावित गर्न थाल्छ । यस्तो अवस्था दुर्भाग्यपूर्ण हो किनकि वास्तविक जीवनका सक्रियता, अभियान र संघर्षले यथार्थ नभई कल्पनामा टेक्न पुग्दा सत्य र मिथ्या, इमान र बेइमानीबीचको भेद मेटिन पुग्छ । 

अग्निहोत्रीको सिनेमालगत्तै सोही विषयमा लेखेको पुस्तक र वास्तविक जीवनमै उनको निरन्तर सक्रियता– तीनै चीजले एउटै पैरवी गर्छन्, भारतमा नक्सलवादीलाई सिध्याएर देश बचाउनुपर्छ अनि त्यसका लागि उनीहरुप्रति सहानुभूति राख्ने सहरियालाई निस्तेज पार्नु अनिवार्य छ । तर कथित ‘सहरिया नक्सलवादीहरु’, जसलाई उनले सिंगो भारतीय समाज र सभ्यताको वैरी भनेर सबै माध्यमबाट दानवीकरण गरेका छन्, आजका दिनमा भारतीय समाजको त्यो हिस्सा वास्तविक जीवनमै चरम दानवीकृत र उत्पीडित छ । भीडले गर्ने नृशंस हत्यासमेत जायज ठहरिने भारतको अहिलेको विषम परिस्थितिमा आदिवासीलगायत उत्पीडितको पक्षमा बोलिदिने उनीहरुबाहेक कोही पनि छैन । 

नक्सलवादीलगायत देशको संविधान नमान्ने र राज्यविरुद्ध सशस्त्र युद्ध गर्नेहरु भारतका शत्रु हुन् भन्ने बुझाइ स्वाभाविक हो । तर अग्निहोत्रीको निशानामा पर्नेचाहिँ देशको संविधान मान्ने शान्तिपूर्ण जीवनमा रहेका नागरिक नै छन् । तीमध्ये कसैले आदिवासीको अधिकार वकालत गर्छन् र उनीहरुको इलाकामा बलपूर्वक गरिने खनिज उत्खनन र विकासको विरोध गर्छन् । कसैले राज्य पक्षबाट द्वन्द्वका क्रममा भएको मानव अधिकार हननको निन्दा गर्छन् । कसैले आदिवासीको पक्षमा राज्यको छवि धमिलिने गरी समाचार वा लेख लेख्छन् । कसैले ‘सल्वा जुडुम’ जस्ता राज्यले गठन गरेका हिंस्रक र विध्वंसात्मक मिलिसियाको विरोध गर्छन् । कसैले सोनी सोरीजस्ता आदिवासी अधिकारवादीमाथिको बर्बर यातना र राज्य आतंकको विरोध गर्छन् । 

राज्यका गलत नीति र व्यवहारका कारण नभई खालि ती सबैको समर्थनका कारण नक्सलवादी उन्मूलन हुन नसकेको भनेर विश्वास गर्नेको जत्था भारतमा ठूलो छ । तर अग्निहोत्रीको सिनेमाले त्यो तर्कलाई अर्कै उचाइमा पुर्‍याइदिन्छ– भारतका चम्किला सहरका ठूल्ठूला विश्वविद्यालय र शिक्षण संस्थाका शिक्षक र विद्यार्थीदेखि अधिकारकर्मी र पत्रकारसम्म नक्सलवादीलाई समर्थन गर्ने र सहानुभूति जनाउनेहरु मात्रै छैनन्, असली नक्सलवादी आफैँ सबै संस्थामा घुसेका छन् । उनीहरुको लक्ष्य जंगलमा रहेका छापामार कमरेडहरुको आन्दोलनलाई सघाउनु मात्रै होइन कि भारतका लोकतान्त्रिक संस्था र व्यवस्थालाई भित्रैबाट धराशयी बनाउन आफैँ निर्णायक भूमिका खेल्नु हो । तिनबाट कोही पनि सुरक्षित छैन । सिनेमा हेरिसक्दा लाग्छ– सिंगो भारतीय राज्य अब नक्सलवादीको कब्जामा जानेवाला छ । 

सिनेमाबाहिर अग्निहोत्रीको पैरवी झनै समस्याग्रस्त छ । केही महिनाअघि भारतीय पुलिसले पाँच नागरिक अभियन्तालाई माओवादी पार्टीसित सम्बन्धित भएको बनावटी आरोपमा पक्राउ गर्‍यो । अरु अभियन्ताकहाँ समेत छापा मारियो । भारतभर सरकारको आलोचना भयो किनकि पक्रिनेहरु दशकौँदेखि देशको संविधानअनुसार आदिवासी, दलितलगायत अन्यायमा परेकाहरुको पक्षमा लड्दै आएका थिए । धेरैले यसलाई सन् १९७५ मा इन्दिरा गान्धीले लगाएको संकटकालसित तुलनासमेत गरे । 

अग्निहोत्रीलाई चाहिँ त्यति धरपकड काफी भएन । उनले ट्वीटरमा त्यस्तै अरु ‘अर्बान नक्सल’ समर्थकहरुको सूची बनाउन आह्वान गरे ताकि पहिचान गरेर उनीहरुबाट भारतलाई बचाउन सकियोस् । उनको जस्तै अभियानका कारण अहिले सत्तासीन हिन्दुवादी दल र संस्थापनको विरोध गर्नेहरुलाई राष्ट्रद्रोही घोषणा गर्नु सामान्य भइसकेको छ । तीमध्ये नरेन्द्र दभोल्कर, एमएम कल्बुर्गी, गोविन्द पान्सरे र गौरी लंकेश मारिइसकेका छन् । अरु अभियन्ताका घाँटीमा समेत सरकार र मुख छोपेका हत्याराको दोहोरो तरबार झुन्डिइराखेको छ । 

जुन सिनेमाले समाज, सभ्यता र राष्ट्रियताबारे निर्माण गर्ने र प्रश्रय दिने संकथनले मानिसको ज्यान लिन्छ, त्यसलाई खराब किन नभन्ने ? 

प्रकाशित: फाल्गुन ८, २०७५

ट्याग: सिनेमा