सांस्कृतिक खोजीमेली

पुस्तक : जनैपूर्णिमादेखि रानीपोखरीसम्म | लेखक: महेशराज पन्त | प्रकाशक : खिलशर्म–राजीवलोचन जोशी स्मारक प्रतिष्ठान | पृष्ठ : ४१४ | मूल्य : ८२५ रुपैयाँ

- राजकुमार बानियाँ

पौने दुई सय वर्षभन्दा बढी छुट्टै राज्यका रूपमा रहेछ काठमाडौँ । सोह्रौँदेखि उन्नाइसौँ शताब्दीसम्म काठमाडौँका १४ राजामध्ये सबैभन्दा प्रख्यात छन्, प्रताप मल्ल । हनुमानढोका दरबारदेखि अनेक देवस्थल तिनै ‘नेपालेश्वर’ का लेख र कलाकृतिले सिँगारिएका छन् । केही वर्ष पहिलेसम्म काठमाडौँ सहरको सौन्दर्यका रुपमा रहेको रानीपोखरी पनि उनकै प्रताप हो ।

प्रताप मल्ल कस्ता राजा भने चार छोरालाई एक–एक वर्ष राज्यभोग गराए । कान्छा चक्रवर्तीन्द्र मल्ल एक अहोरात्र (२४ घन्टा) मात्र राजा हुन पाए । तिनको सम्झनामा प्रताप मल्लले मोहर मात्र छापेनन्, गंगा, शोण, सरस्वती, यमुना, गण्डकी, कावेरी, कोसीलगायत नेपाल र भारतका ५१ तीर्थस्थलको जल मिसाएर पोखरी बनाए । जमल, विद्युत् प्राधिकरण र असनको सेरोफेरोमा रहेको त्यो न्ह्यु: पखु उनकै नातिनी बुहारी भुवनलक्ष्मीले संस्कार गरेपछि रानीपोखरीका रुपमा चिनियो । यद्यपि यो पोखरी काठमाडौँमा गोर्खाली शासनपछि चलनचल्तीमा आएको व्यहोरा छ, पुरातत्व, इतिहास र संस्कृति मर्मज्ञ महेशराज पन्तकृत किताब, जनैपूर्णिमादेखि रानीपोखरीसम्ममा ।

किताबका १७ ऐतिहासिक र सांस्कृतिक निबन्धमध्ये अन्तिम पाठ हो, ‘रानीपोखरी’ । तर विसं ०७२ को भूकम्पपछि सबैभन्दा चर्चा र विवाद हुँदै अहिले त चौरमै बदलिएको छ । कुनै बेला रानीपोखरीमा डुबाएर अपराधी र निरपराध छुट्याउने ‘दिव्यपरीक्षा’ समेत हुने गरेको इतिहासकार हेनरी एमब्रोस ओल्डफिल्डले लेखेका छन् । प्रताप मल्लले त्यतिखेरै ‘आत्महत्या आदि कसैले केहि पाप यो पोषरिमहा गर्नु नाहि’ भनी शिलापत्र राखेको रानीपोखरी सुलभ ‘सुसाइड स्टेसन’ समेत भयो । राणा प्रधानमन्त्री जंगबहादुरले १९०८ मा इँटको पर्खाल अनि जुद्धशमशेरले १९९४ मा फलामे घेरा हाले पनि त्यो क्रम रोकिएन ।

पहिलो लेख ‘जनैपूर्णिमा– पढाइसँग गाँसिएका चाड’ को शीर्षकले नै धेरै कुरा बताउँछ । प्राचीनकालमा श्रावण पूर्णिमाका दिन गुरुकहाँ पढ्न जाने परम्परा अहिले जनै फेर्नु र डोरो बाँध्नुमा खुम्चिएको लेखकीय टिप्पणी छ । दोस्रो लेखमा उनी बहुसंख्यक नेपालीको चाड दसैँबारे प्राचीन वाङ्मयमा कतै पनि उल्लेख नभएकामा विस्मय पोख्छन् । मानदेवको पालाको शिलालेखमा मात्र भगवतीको चर्चा भएकाले दसैँको इतिहास खासै लामो नभएको थाहा हुन्छ ।

प्रकाण्ड विद्वान् पन्त निबन्धहरुमा भरतखण्डमै लोप भइसकेका बिस्केट, इन्द्रजात्रा, घोडेजात्रा आदि पुराना रीतिस्थिति नेपालखाल्डोभित्र चलाइराख्नमा नेवारहरुको ठूलो अवदान रहेको धारणा राख्छन् भने चन्द्रशमशेरको पालामा अर्थात् विसं १९६१ मा तिथिको ठाउँमा गते लेख्न थालिएको प्रसंग उप्काउँछन् । उनको अध्ययनमा पनौती झन्डै १४ सय वर्ष पुरानो सहर हो । यो सहरको मौलिक चिनारी भने पुण्यमाता (लीलावती) र रोसीखोला (रुद्रावती) को दोभानमा हुने मकर मेला स्नान नै हो । गौतम ऋषिपत्नी अहल्यालाई छक्याएर यौन सम्बन्ध राखेका स्वर्गका राजा इन्द्र यहीँ नुहाएर महापातकबाट मुक्त भएको धार्मिक विश्वास छ ।

देवमूर्तिका रुपमा मनुष्यमूर्तिको प्रतिष्ठापन लिच्छविकालदेखि नै थालिएको प्रसंगदेखि लाजिम्पाटको १५ सय वर्ष पुरानो तीन फड्का मार्ने मूर्तिको त्रिविक्रम (विक्रान्त) सम्मको इतिवृत्त छ किताबमा । काष्ठमण्डप कहिले बन्यो ? कसले बनायो ? काष्ठमण्डपसँग लीलावज्रको के सम्बन्ध छ ? यसको खोजीनिती पनि किताबमै छ । इटुंबहालको प्रज्ञापारमिता, फर्पिङको झंकेश्वरीमूर्ति, प्रताप मल्लको तीर्थयात्रा ठ्यासफू पनि आकर्षक पठनीय सामग्री हुन् । लेखकले चलिआएका कतिपय विश्वासलाई अस्वीकार गरेका छन् भने कतिपय नयाँ तथ्य उठान गरेका छन् ।

खासमा यो किताब ४० वर्षे अवधिमा लेखिएका चाडबाड, देवमूर्ति, देवस्थल र प्राचीन पुस्तकसम्बन्धी लेख/निबन्धको संकलन हो । यसमा महत्त्वपूर्ण चाडबाडदेखि मठमन्दिरबारे प्रामाणिक रुपमा लेखिएको छ । नेपाली संस्कृतिका विविध आयाम बुझ्न चाहनेका लागि यो गहकिलो खुराक हुन सक्छ ।

पन्तका लेखरचना हाडेओखरजस्ता लाग्छन् । यी शास्त्रज्ञले भुस निफनेर कनिकाजस्ता सामग्री एकमुष्ट भेला पारेका छन् । यसको विशेषता मूलपाठको भन्दा पादटिप्पणीको लम्बाइ ज्यादा हुनु पनि हो । ‘लेखकले पुस्तक तयार पार्दा लिइएका साधनको तालिका’ ले नै १ सय १० पृष्ठ ओगटेको छ । यसमा लेखकीय इमानदारी झल्किए पनि नयाँ पाठक भड्किने त्रास हुन्छ ।

नाम र आवरण हेर्दा किताबमा कुनै मौलिकता झल्कँदैन । किताबको पहिलो र अन्तिम लेखका शीर्षक जोडिएको छ, बस् । एउटा चाड र अर्को पोखरीबीच अर्थसंगति नमिलेको लेखक स्वयंले स्वीकारेका छन् । फेरि पनि हामीलाई चाहिएको बोक्रा होइन, गुदी हो ।

चाख नहुने यो किताबमा पस्नै सक्दैन, चाख हुने नपढी निस्कँदैन ।

प्रकाशित: फाल्गुन ८, २०७५

ट्याग: पुस्तक