एकान्तको आनन्द

- मेरी डेशेन

यात्रामा उपयोगी हुन्छन्, प्रिय किताब । बाटोमा धेरै पटक साथ दिएका दुई किताब हुन्– आहुतिको तपस्वीको गीत र खगेन्द्र संग्रौलाको नलेखिएको इतिहास । सामाजिक–सांस्कृतिक शब्दचित्रलाई प्रभावकारी, आकर्षक र यथार्थपरक ढंगले कसरी लेखिन्छ भनेर खोज्ने क्रममा यी पुस्तकप्रति आकर्षित भएकी हुँ । प्राज्ञिकहरुले लामो लेख्छन् तर थोरैले पढ्छन् । कथाकार छोटो–मीठो लेख्छन् र धेरैले पढ्छन् । कविले तौलेर चयन गरेका शब्द कसैको दिलमा सदाका लागि अमिट हुँदो रहेछ । मेरा लागि तपस्वीको गीत त्यस्तै कविता बन्यो र त्यसको अनुवादसमेत गरेँ । नलेखिएको इतिहासमा यति मीठो शब्द चयन र सटिक दृष्य छन्, त्यसका कतिपय कथालाई गद्य–कविता भने पनि हुन्छ ।

यी किताबको एउटा साझा गुण हो– संवेदनशील र मार्मिक चित्र पाठकको मनमा कोर्न सक्नु । यति मात्रै भए यो शैलीगत प्रशंसा हुन्थ्यो, विषय र दृष्टिकोण जे भए पनि । मूलभूत साझा गुणचाहिँ रचनाकारहरूको विश्वदृष्टिसँग सीधै जोडिएको छ । वाम–आन्दोलनमा हिँडेका र हुर्केका ती दुवै रचनाकारको साझा विषय हो– सीमान्तकृतले भोग्ने अत्याचार, भेदभाव र शोषणका अन्तहीन अवतार र तिनका निश्चित स्रोत । श्रमजीवी वर्गको कोणबाट वर्तमान सामाजिक–सांस्कृतिक संरचनालाई हेर्ने धरातलबाट पाठकलाई दायाँ–बायाँ भागेर पलायन हुन नदिनु यी लेखकका विशेषता हुन् ।

यतिखेर समाजवादको आधार बसाल्ने नाममा पुँजीपतिको ढुकुटीमा धनराशि थुपार्ने   नीति प्राथमिकतामा परेको देखिन्छ । वाम पृष्ठभूमिका प्रशासनयन्त्रसमेत असमानता बढाउन र पर्यावरणीय विनाश गराउन लागिपरेको देख्दा स्वाभाविक रुपले प्रगतिशील विश्वदृष्टिका धेरै मानिस दु:खित छन् । अरु पनि यो टिठलाग्दो यथार्थबाट अझै पलायन भइरहेका छन् । अर्कोतिर– वामपन्थइतरले वर्तमान प्रशासनिक गतिविधिलाई ठेट वामपन्थी मूल्य–मान्यताको परिणाम ठान्छन् । सबै थरी पाठकलाई यी दुई किताब पाठशाला बन्न सक्छन् । यी किताब सामाजिक र राजनीतिक विसंगतिलाई बुझ्न र तिनको सामना गर्ने सामथ्र्य खोज्न अवश्य उपयोगी हुन्छन् ।

आमाबाट अक्षर चिनेकी मैले ३ वर्ष छँदै जानीनजानी किताब पढ्न थालेकी हुँ ।  जब नेपाली पढ्न थालेँ, नलेखिएको इतिहासलाई त्यसरी नै पढेँ । त्यो अनुभव विपुल पत्रिकामा छापियो पनि । विद्यार्थी छँदै ०४१ तिर नेपालबारे व्यापक अध्ययन गर्ने क्रममा हर्क गुरुङको विद्यावारिधि शोधपत्र खोजेँ । तर कतै पाइनँ । एक मात्र कपी एडिन्बर्ग स्कटल्यान्डमा रहेको थाहा पाएर त्यहीँ पढ्ने साथीलाई फोटोकपीका लागि अनुमानित खर्च पठाएँ । इन्टरनेट नभएको त्यो जमानामा बेखबरै दुई–तीन महिना बिते ।

एक दिन हुलाकीले ठूलो प्याकेज मेरो हातमा थमाइदिए । बाकसभित्र बाकस, त्यसभित्र कपडा र प्लास्टिकले जतनसाथ बेरिएको थियो, हर्क गुरुङको मौलिक शोधपत्र । पानाहरु पल्टाउँदै जाँदा चकित भएँ । साथै, पुस्तकालयले समुद्रपारि पठाउन आनाकानी गर्नुको कारण बुझेँ । त्यसमा मौलिक तस्बिर र मसिनो कागजमा हातैले कोरेका रंगीन नक्सा संगृहीत थिए । मलाई पनि फोटोकपी गर्ने आँट आएन । आद्योपान्त पढेर जस्तो पाएकी थिएँ, उस्तै पठाइदिएँ । साथीले दुरुस्तै फर्काई पुस्तकालयमा । धेरैपछि गुरुङलाई यो प्रसंग सुनाउँदा रमाइलो भयो ।

काव्यप्रेमी म अहिले नयाँ प्रतिभा राजु स्याङ्तानका कविता पढ्दै छु । आख्यानले पनि उत्तिकै छुन्छन् मलाई । तर परिवर्तनशील विश्वमा ऐतिहासिक विकासको दृष्टिकोणबिना बुझाइ अपूर्णप्राय: हुँदो रहेछ । त्यसैले इतिहास धेरै पढ्छु ।

साहित्यबाहेक अचेल वनस्पति, परिस्थिति विज्ञान, जैविक कृषि र भूमण्डलीकृत पुँजीवादबारे पढिरहेकी हुन्छु । मानव जातिबारे बुझ्नु त पर्छ नै । तर वर्तमान पृथ्वी र प्राकृतिक संसारको अवस्था र त्यसका असरबारे जानकारी लिनु हामी सबैको कर्तव्य हो । नोबेल पुरस्कार विजेता कार्ल भोन फ्रिसको म्यान एन्ड लिभिङ वर्ल्ड ले पुँजीवादग्रस्त मानव जातिको अहं र अन्धता घटाउन मद्दत गर्छ । प्रकृतिको मियो मानव होइन/हुनु हुँदैन भन्ने ऐतिहासिक उद्विकासको सिद्धान्तमा आधारित यस किताबले चराचर जगतमा अन्य प्राणीको पनि उत्तिकै जिउने हक र सीप रहेको  देखाउँछ । पृथ्वीलाई नै कविताका रुपमा सुन्दर वाचन गर्छन् फ्रिस । हामीले पृथ्वीलाई संकटग्रस्त बनाएका छौँ । साझा गुँड यो धरतीलाई जोगाउने कर्तव्य पनि हाम्रै हो । यसका लागि अध्ययन र व्यवहारलाई जोड्नुपर्छ । अन्य प्राणीलाई स्वतन्त्र बाँच्ने ठाउँ नदिने हो भने कालान्तरमा मानव जातिकै अस्तित्व संकटमा पर्ने संकेत म्यान एन्ड लिभिङ वर्ल्ड ले ७० वर्षअघि नै दिएको हो, जुन शतप्रतिशत प्रमाणित भइसक्यो अब ।

एकान्तमा किताब पढ्नुको आनन्द अरुसँग तुलना हुँदैन । तर हल्लाहरुबीच पढ्नुको मिठास पनि छुट्टै हुन्छ । जानकारी, ज्ञान, तर्क–वितर्क, दृष्टिकोण र सिर्जनशीलताका लागि पुस्तक बलियो स्रोत र अभिन्न साथी हो मेरा लागि । रुचि मिल्ने साथी भए उपयुक्त किताब छनोट गर्न सहज हुन्छ । संवादबाट किताबको थप गहिराइ बुझ्न सकिन्छ । पहिले पुस्तकालय खुब चहार्थें, मानौँ– पुस्तकालय हरियो चौर हो र म बाख्रा हुँ । अचेल अनलाइनमा पठन सामग्री बढी खोज्छु ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: फाल्गुन ८, २०७५

ट्याग: तीन किताब