रंगमञ्चकी रेनुका

- गोकर्ण गौतम

एसएलसी सकिएकै थिएन, रेनुका कार्कीले धरानदेखि काठमाडौँ आएर नाटक देखाउने मौका पाइन्, गुरुकुल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, ०६४ मा । धरान वरगाछी वरपर हुने सडक नाटकमा सधैँ देखा पर्थिन्, रेनुका । सरल स्वभाव, मन छुने अभिनय । सबैको नजरमा परिहालिन् । गुरुकुल महोत्सवमा नाटक देखाएपछि अभिनय–प्रेम अझ घनीभूत भयो । नभन्दै यो एक दशकमा रेनुकाले नेपाली रंगमञ्चमा दरिलो छाप बनाएकी छन् । काठमाडौँ मात्र होइन, देशैभर हुने नाट्य गतिविधिमा उनको सक्रियता लोभलाग्दो हुन्छ । यो सम्भव भयो, संघर्ष र लगनले ।

सानी छँदा रेनुकाले गायिका बन्ने सपना बुनेकी थिइन् । जसले उनको स्वर सुन्थे, फुर्काइदिन्थे । यो त्यही समय हो, जतिबेला नेपाल टेलिभिजनमा दलन सिरियल आउँथ्यो । जाति प्रथाविरोधी यो सिरियल वरगाछीमा लोकप्रिय थियो । सबै एकै ठाउँ भेला भएर हेर्थे । नाम जान्दैनथे, तर अभिनय गर्ने कलाकारको खुब तारिफ हुन्थ्यो । ती कलाकार रेनुकालाई पनि प्रिय लाग्थे । निरुता सिंह भनेपछि हुरुक्क हुन्थिन् । हलिउडकी एन्जेलिना जोलीको पनि नाम सुनेकी थिइन् । उनको बालमानसमा खेल्थ्यो, ‘सबैले अभिनय गरेरै प्रसिद्धि कमाएका छन् । म पनि कलाकार नै बन्छु ।’ त्यसैले बाल दिवस, महिला दिवसमा हुने सन्देशमूलक नाटक खेल्न थालिन् । तर अभिभावकको आँखा छली–छली । ‘छोरी बिग्रिन्छे’ भन्ने खुब पिरलो थियो, बाबुआमालाई । रेनुका भन्छिन्, “साथीको घरमा पढ्न जान्छु भनेर नाटक खेल्न जान्थेँ । थाहा पाएपछि गाली खानुपथ्र्यो । तैपनि, कहिल्यै नाटक छाड्न मन लागेन ।”

रेनुकाले नाटक रोज्नुको मन पोल्ने कारण अर्को पनि छ ।

गाउँभरका मान्छे उनको घरमा कपडा सिलाउन आउँथे । तर घरनजिकैको सरकारी धाराबाट पानी ल्याउन पाइँदैनथ्यो । उनीहरुलाई छुनै घिन मान्थे । स्कुलमा रेनुकाका साथीहरु भन्थे, “घरमा हामीलाई तिम्ले छोएको नखानू भन्नुभएको छ ।” यो विभेदले फुच्ची रेनुकामा छटपटी पैदा गथ्र्यो । उनको बालबुझाइले भन्थ्यो, ‘कपडा सिलाएकै कारण यस्तो अपमान बेहोर्नुपरेको हो ।’ यही कारण हुनुपर्छ, दर्जीकलामा नजानिँदो पाराले वितृष्णा पलायो । नाटक गर्दा भेटिने नयाँ मान्छे जातकै कारण कहिल्यै दुव्र्यवहार गर्दैनथे । भन्छिन्, “तल्लो स्तरको व्यवहार भोग्न नपरोस् भनेर पनि नाटकतिर लहसिएँजस्तो लाग्छ । बच्चा बेलाको विभेद अहिले पनि मुटुमै बिझेको छ ।” अभिनयबाट प्राप्त हुने सम्मानकै भोक हुँदो हो उनलाई ।

०६६ देखि नियमित काठमाडौँ बस्न थालिन् । सपना उही, अभिनय गर्ने । तर यो विरानो सहरमा गोरेटो देखाउने कसले ? पूरै अन्योल । त्यसमाथि आफ्नै खुट्टामा उभिनुपर्ने बाध्यता । त्यसैले एउटा साप्ताहिक पत्रिकाको बजार व्यवस्थापक बनिन् । न तलब आकर्षक थियो, न त काम गर्ने वातावरण नै । तैपनि, घोटिनुको विकल्प थिएन । तिनताका गुरुकुलमा नाटक हेर्न जान्थिन्, घरमा आएपछि तड्पिनुपथ्र्यो । उनी नाटक खेल्नै राजधानी आएकी थिइन् तर पत्रिका बेचेर बस्नुपरेको थियो ।

पत्रिका छाडेर गार्मेन्ट कम्पनी रोजिन्, त्यहाँ पनि रम्न सकिनन् । पार्लर सिकिन्, ब्युटिपार्लरमा काम सुरु गरिन् । तलब ठीकै थियो तर मन रित्तो–रित्तो । रेनुका सम्झिन्छिन्, “के गर्न आएकी थिएँ, के गर्दैछु भनेर रनभुल्लमा पर्थें ।” यसबीच एउटा टेलिसिरियलमा काम पाइन् तर टेलिभिजनबाट प्रसारण नहुँदै ‘गर्लफ्रेन्ड बन्नुपर्छ, स्टार बनाइदिन्छु’ भन्ने आशयका प्रस्ताव आउन थाले । रेनुका त्यो माहोलबाट भागिहालिन् । बल्लतल्ल राहत पाइन्, जब शिल्पी थिएटरले बत्तीसपुतलीमा नाटकघर खोल्ने भयो । उनी त्यहीँ नियमित बस्न पाउने भइन् ।

नाटकघर बनाउन सिमेन्ट, इँटा बोकिन् । श्रम धेरै थियो तर मन फुरुंग । नाटक खेल्न पाइन्छ भन्ने लोभ जो थियो । नाटकघर बन्यो, अभिनय प्रशिक्षण लिइन् । कोमा : पोलिटिकल सेक्स, यल्लो कमेडी, मजिपा लाखेहारजीत खेलिन् । तीन वर्ष यत्तिकै बित्यो । शिल्पीबाहेक अन्य नाटकघरबाट पनि प्रस्ताव आउन थाले । अभिनय प्यास बढ्दो थियो । रेनुका भिन्न समूहसँग भिन्न प्रकृतिका नाटक खेल्न चाहन्थिन् । तर शिल्पीको नियमले सबै रोकिदिन्थ्यो । त्यहाँ आबद्ध भएकाले अन्त नाटक खेल्न पाउँदैनथे । त्यसैले रेनुकाले कठोर निर्णय लिइन्, शिल्पी छाड्ने र स्वतन्त्र भएर काम गर्ने । भन्छिन्, “आफूले पसिना बगाएको नाटकघरबाट चटक्कै अलग्गिँदा पक्कै चोट थियो तर आज पश्चाताप छैन । कम्तीमा एकै प्रकारका नाटक खेल्नुपरेको छैन ।”

शिल्पीबाट बाहिरिएपछि थिएटर भिलेजसँग सान्दाजुको महाभारत खेलिन् । विमल सुवेदी निर्देशित यस नाटकमा चार वटा भूमिका थिए उनका । त्यसबाहेक भजाइना मनोलग, बेड नम्बर ९९, खबर हराएको चिट्ठीलगायत नाटकमा अभिनय गरिन् । निर्देशनको कार्यशाला लिइन् । त्यसपछि यौनिक तथा लैंगिक अल्पसंख्यकको व्यथा समेटिएको नाटक साथीको कथा बनाइन् । उनी निर्देशित दोस्रो नाटक रुपा कृ ६ फागुनदेखि १० दिनसम्म सर्वनाम थिएटर, कालिकास्थानमा मञ्चन हुँदै छ । भन्छिन्, “अभिनय गर्दा होस् वा निर्देशन, म आफूलाई निखार्ने र चिन्ने प्रयास गर्दै छु ।”

हिजोआज हरेक तीन महिनामा कम्तीमा ५० नयाँ कलाकार थिएटरमा आइपुग्छन् । त्यही अनुपातमा नाटक हुँदैनन् । त्यसैले अभिनय कौशल देखाउने ‘प्लेटफर्म’ साघुरिँदै गएको भान हुन्छ, रेनुकालाई । अरु त अरु, शिल्पी थिएटरमै फेरि नाटक गर्ने संयोग जुरेको छैन । न अहिले भनेजस्तो पैसा छ, न त भविष्य सुरक्षित देखेकी छन् । सरस्वती चौधरी, पशुपति राईजस्ता धेरै अग्रज कलाकारसँग संगत छ उनको, जो अझ पनि संघर्षरत छन् । त्यसैले बेलाबेला उनको मन  बेचैन हुन्छ । “सात वर्ष नाटकमै बित्यो । अरु क्षेत्रमा गए पनि फेरि शून्यबाटै सुरु गर्नुपर्छ । यहाँजस्तो सन्तुष्टि पनि मिल्दैन,” उनी भावुक सुनिइन्, “त्यसैले रंगमञ्चबाट टाढा हुनै सक्दिनँ । गर्दै जाऊँ, एक दिन कसो उज्यालो नआउला ।”

तस्बिर : भास्वर ओझा

प्रकाशित: फाल्गुन ६, २०७५

ट्याग: रङ