विदेश फाप्दैन कि ?

- माधव बस्नेत

नेकपाभित्र धेरै विदेश गइरहने नेतामा पर्छन्, माधवकुमार नेपाल । एकपल्ट त प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले भित्रियाहरूमाझ कटाक्ष नै गरे, ‘कुन दिनदेखि माधवजी घरको कुर्सीमा बस्दा पनि झुक्किएर सिटबेल्ट बाँध्न खोज्नुहोला ।’

रोचक के छ भने जब नेपाल घरमा हुन्छन्, अनि प्रधानमन्त्री ओली विदेश– पार्टीभित्र रडाको सुरु भइहाल्छ ।

गत असोजमा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका बेला माधव नेपाल एकाएक सक्रिय भए । उनले पार्टीका अगुवाको छुट्टै भेला मात्र गरेनन्, संसद्मै ओलीको कटाक्ष गरे । महासचिव विष्णु पौडेललाई आफ्नो फरक मत बुझाए । प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले त केही महिनाअघि आफ्ना कार्यकर्तासँग रिसै पोखे, ‘माधव नेपालले जति पनि सरकारको विरोध गर्न सक्नुहुन्न तपाईंहरू ।’

ओली पछिल्लो पटक विदेश जाँदा यता यसपल्ट लफडा थाल्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । नेपाल पनि यसमा सहभागी भए । उनीहरूबीच ओलीलाई रक्षात्मक बनाउने रणनीतिसहित बैठक बस्यो । अर्थात्, ओली स्वीट्जरल्यान्डको डावोस बैठकमा गएको मौका छोपेर प्रचण्डले यस्तो बखेडा झिके, जसले सरकार नै धरमरमा पर्यो ।

फर्केर आउनेबित्तिकै ओली कड्किए, “अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो । त्यसभित्र समस्या पैदा गर्ने कोसिस ओहो थामिसक्नु छैन । नेकपामा फुट ल्याउने प्रयास भइरहेको छ ।”

ओलीले १ फागुनमा दिएको यो अभिव्यक्ति नेकपाभित्रको चिसो झल्काउन पर्याप्त छ । १ फागुनमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ थाल्ने क्रममा ओली बोल्दै गर्दा नेकपा मुख्यालय धुम्बाराहीमा ‘जनआन्दोलन तथा जनयुद्ध दिवस’ मनाइँदै थियो । नेकपाका एक अध्यक्ष ओलीले त्यो कार्यक्रममा सहभागिता जनाउन आवश्यक ठानेनन् । ओली मात्रै होइन, नेताहरू नेपाल, झलनाथ खनाल, वामदेव गौतमसमेत त्यस दिनको कार्यक्रममा कतै देखिएनन् ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच २६ माघमा बालुवाटार निवासमा पछिल्लो पटक भेट भएको थियो । त्यसयता ओली र प्रचण्डबीच पुन: भेट भएको छैन ।

एकातिर दुई अध्यक्ष नै दुईतिर फर्किएका छन् भने अर्कातिर वरिष्ठ नेता नेपालले १ फागुनमा जनकपुर पुगेर अध्यक्षद्वयलाई आफूखुसी नचल्न चेतावनी मात्र दिएनन्, पार्टीको परिपाटी अध्यक्षले नै बुझ्न नसक्नु दुखद रहेको बताए । नेकपाभित्र असन्तुष्टि चुलिएकैले तल्ला कमिटीमा १५ माघभित्र एकता गरिसक्ने उद्घोष फागुन पहिलो साता बित्न लाग्दासमेत बेवारिसे छ ।

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेको भनाइमा यतिबेला पार्टीभित्र अन्योल र निराशा बढेको छ । नेतृत्व नै अनिर्णयको बन्दी भएको छ । “दुई तिहाइको सरकार र पार्टी एकीकरणले जुन ऊर्जा ल्याएको थियो,” गैरे भन्छन्, “अहिले शीर्ष नेतृत्वबीचकै बेमेलले सर्वसाधारणको पंक्तिसम्म निराशा चुलिँदो छ ।”

पछिल्लो पटक माघ पहिलो साता प्रधानमन्त्री ओली स्वीट्जरल्यान्डमा आयोजित विश्व आर्थिक मञ्च (डावोस) बैठकमा गएयता झन्डै एक महिना बित्दासमेत उनीहरूले एकअर्काबीच अंकमाल गर्न सकेका छैनन् । बरु एकअर्कालाई घोचपेच गरिरहेका छन् । पार्टी एकीकरण गरिसक्दासमेत शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन प्रधानमन्त्री ओलीले आनाकानी गरिरहेको, बरु अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई दोषी ठहर्‍याउने प्रयत्न भइरहेको भन्दै प्रचण्ड तरंगित भएका छन् । स्रोत भन्छ, यही बिन्दुबाट ओली र प्रचण्डको सम्बन्धमा चिसोपन बढेको हो ।

यसको कथा सुरु हुन्छ, ९ माघबाट । संयुक्त राष्ट्रसंघको समन्वयमा अमेरिका, फ्रान्स, अस्ट्रेलिया, स्वीट्जरल्यान्डलगायत ७ दूतावासले सत्य निरुपण तथा मेलमिलाप आयोगप्रति चासो देखाउँदै संयुक्त वक्तव्य सार्वजनिक गर्दा ओली स्वीट्जरल्यान्डमै थिए । त्यसकै भोलिपल्ट प्रचण्डले ललितपुरको झम्सिखेलमा नेपाल, खनाल, गौतम, नारायणकाजी श्रेष्ठसहित नेकपाका शीर्ष नेता जुटाए । त्यहाँ शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने सवालमा ‘विदेशीहरूले अनावश्यक चासो देखाइरहेको’ विषयका साथै पार्टी एकता टुंग्याउने, सरकारको कामको गति र प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि पनि लामै छलफल भएको थियो । शीर्ष नेताहरूले आफ्नो सुरक्षामा परिचालित सुरक्षाकर्मीलाई समेत यो बैठकबारे सुइँको दिएका थिएनन् ।

ओली निकट एक नेताका अनुसार प्रचण्डको अगुवाइमा शीर्ष नेताहरूबीच गोप्य छलफल भएको जानकारी स्वीट्जरल्यान्डमै पाएका प्रधानमन्त्रीले आफूमाथि गम्भीर षड्यन्त्र भएको आशंका गरे । त्यस बैठकमा शीर्ष नेताहरू एकता प्रक्रिया टुंगोमा नपुग्नुमा प्रधानमन्त्री ओलीको कार्यशैली र व्यवहार जिम्मेवार रहेको निष्कर्षमा पुगेका थिए । उनको विकल्प खोज्ने विषय भने उठेको थिएन । तर ओली प्रचण्डले आफूमाथि षड्यन्त्र रच्न थालेको निष्कर्षमा पुगे ।

१२ माघमा ओली डावोस बैठकबाट फर्कंदै थिए । त्यसको अघिल्लो दिन नै अर्को एउटा विषय घुस्यो नेकपाभित्र । त्यो थियो, भेनेजुएला राजनीतिक संकट । अध्यक्ष प्रचण्डले ११ माघमा राष्ट्रपति निकोलस मदुरोको पक्षमा अमेरिकालाई लक्षित गर्दै कडा वक्तव्य निकाले । वक्तव्य निकाल्ने/ननिकाल्ने प्रधानमन्त्री र पार्टीको प्रथम अध्यक्षको क्षेत्राधिकार भएकामा प्रचण्डले सल्लाहसमेत नगरी ‘क्रस’ गरेको बुझाइमा पुगे ओली ।

खासमा प्रचण्डले मदुरो र भेनेजुएलाको मायाले भन्दा पनि अमेरिकी अगुवाइमा ९ माघमा सत्य निरुपण तथा मेलमिलाप आयोगबारे चासो राखेर निकालिएको वक्तव्यको ‘काउन्टर’ दिएका थिए । यसपछि भेनेजुएला प्रसंग तन्किरहेको छ, राप अझै सेलाएको छैन ।

“सतहमा भेनेजुएला प्रसंग देखिए पनि ओली/प्रचण्ड दुवैको भित्री शंका/उपशंका भने अर्कै हो,” ओली निकट एक नेता भन्छन्, “शंकैशंकाका भरमा उनीहरूको दूरी बढिरहेको छ । हामीले घटाउने प्रयास गर्दा पनि सम्भव भएको छैन ।”

नेपालले विश्वबारे बोल्नुपर्ने एजेन्डा थुप्रै थिए, छन् । म्यानमार सरकारले रोहिंगा समुदायमाथि दमन गर्दा प्रचण्डले कुनै विज्ञप्ति निकालेका थिएनन् । अझ केही रोहिंगालाई नेपालले शरणसमेत दिनुपरेको थियो । जारी संविधानविरुद्ध असोज पहिलो साता ०७२ बाट झन्डै पाँच महिना भारतले नाकाबन्दी लगाउँदा भेनेजुएला नेपालबारे केही बोलेको थिएन । तर त्यहाँ संकट सुरु भएको चार दिन नबित्दै प्रचण्डले कडा विज्ञप्ति निकाले । यसले ९ माघको कदमविरुद्ध प्रचण्ड बहानाको खोजीमा थिए भन्ने सहजै बुझ्न सकिन्छ ।

ओली निकट अर्का नेताका अनुसार २६ माघको भेटमा उनले प्रचण्डलाई ‘झम्सिखेल बैठकको कुरा के हो ? मलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन खोजिएको हो ?’ भनेर सोधेका थिए । प्रचण्डले ‘सरकारलाई थप प्रभावी बनाएर पार्टी एकता कसरी छिटो टुंग्याउने भनेर सरकार र पार्टीको कार्यदलमा नरहेका साथीबीच सामान्य छलफल मात्र भएको हो । प्रधानमन्त्री र पार्टी अध्यक्ष परिवर्तन गर्ने कुरा बिल्कुलै गरेका छैनौँ । तपाईंले त्यस्तो कल्पना नगर्नुस्, हामीले पनि त्यो कल्पना गरेका छैनौँ’ भनेको ती नेता बताउँछन् ।

सरकार सञ्चालन विषयमा ओलीले आफूसँग गहन सल्लाह नगरेको प्रचण्डको बुझाइ छ । ओलीले आफूसँग स–साना विषयमा पनि सल्लाह गरून् भन्ने चाहना छ प्रचण्डको । ओलीचाहिँ केही गर्न खोज्दाखोज्दै पनि प्रचण्ड, नेपाललगायतले साथ नदिएको, बरु स–साना विषयमा निहुँ खोजेर दु:ख दिइरहेको ठम्याइमा छन् ।

“प्रचण्ड ओलीले आफूलाई वास्ता नगरेको, ‘कर्नर’ मा पार्न खोजेको बुझाइमा छन् । त्यही भएरै ओलीलाई पन्छाउन उनी विदेशमा रहेका बेला भेनेजुएला प्रसंग टेकेर वक्तव्य निकालेका थिए,” प्रचण्ड निकट नेकपा स्थायी समिति सदस्य भन्छन्, “ओली पनि प्रचण्डले आफूलाई भित्री मनदेखि नै सहयोग गरेनन् भन्ने अड्कलबाजीमा छन् । यही विषयमा अध्यक्षद्वयबीच दूरी बढेको हो ।”

नेकपा नेता विशाल खड्काका अनुसार अध्यक्षद्वयले नै दूरी बढाउँदा जिल्ला पार्टी एकीकरणमा झन्झन् विलम्ब भइरहेको छ । “अध्यक्षद्वयले स–साना विषयलाई तन्काएर चित्त दुखाएका छन्, नेताको विवादले कार्यकर्तामा निराशा बढ्दैछ,” उनी भन्छन्, “यस्तो शैली ठीक होइन ।”

प्रकाशित: फाल्गुन ६, २०७५

ट्याग: नेकपा