नजर नाकातिर

- आनन्द गौतम

ताप्लेजुङ– नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले १४ माघमा मेची महाकाली यात्रा सुरु गर्दा पाँचथरको याङवरक गाउँपालिकाले भव्य स्वागत गर्‍यो । आफ्नै पार्टीका कार्यकर्ताबाट खादा पनि नलगाउने नीति लिएका भट्टराईको टोलीलाई गाउँपालिकाले गलाभरि खादा र माला थमाइदियो । विद्यार्थीले सडकमा निस्किएर स्वागत गरे । थर्पुस्थित गाउँपालिका भवनअगाडि स्वागतद्वार बनाएको गाउँपालिकाले पूर्वको चर्चित च्याब्रुङ बाजासहित सम्मान गर्‍यो ।

७० जनाको भट्टराई टोलीलाई थर्पुमा खाजा, च्याङथापुमा खसी मासुसहितको खाना र बस्ने व्यवस्थापन जिम्मा स्थानीय तहले नै मिलाइदियो । फर्कंदा पनि खाना खुवायो । भट्टराईलाई नेकपामा आबद्ध गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य सबैले अभियान सुरु गर्ने सिमानाका चिवाभन्ज्याङसम्मै पुगेर साथ दिए ।

आफ्नो पार्टीका नगन्य कार्यकर्ता भएको स्थानमा बाबुरामले यति सम्मान पाए कि ताप्लेजुङ र पाँचथरका डेढ सयभन्दा बढी त हिउँ जमेको सिमानासम्मै पुगे । चार वर्षअघि ओलाङचुङगोला नाका खोल्ने भन्दै आएका तत्कालीन माओवादी नेता/कार्यकर्तालाई ताप्लेजुङले यसरी नै साथ दिएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे आफैँ सडकमा निस्किएर सम्मान गरेका थिए । जनप्रतिनिधि नभएको त्यो समयमा हरेक राजनीतिक दलले साथ दिए । ओलाङचुङगोला नाका खुलाउन सरकारलाई दबाब दिन आएको टोलीले सदरमुकाम फुङलिङको केन्द्र वीरेन्द्रचोकमा स्वागत पायो । स्थानीय लिटल बुद्ध आवासीय माविका बालबालिकाले स्वागत नृत्य र नगर परिक्रमासहित बिदाइ गरे । टोली सीमा छेउसम्म पुगेर फर्कियो ।

दुवै भ्रमण राजनीतिक उद्देश्य–प्रेरित देखिए पनि स्थानीयको चासो र आशा भने सीमानाका सञ्चालन थियो । सीमानाकामा सडकको ट्रयाक खुलेसँगै आशा बढेको छ । जसले गरे पनि त्यसमा राजनीति नमिसाएर आफ्नो क्षेत्रको सुन्दर भविष्यका रूपमा लिएको याङवरक गाउँपालिका पाँचथरका अध्यक्ष लेखनाथ घिमिरे बताउँछन् । “जनताको चासो, दबाब र हाम्रो सफलता यही नाकामा छ,” घिमिरे भन्छन्, “जब भारतको सिक्किमबाट गाडी चल्न थाल्छ, तब हाम्रो समृद्धि सुरु हुन्छ ।”

चिवाभन्ज्याङ र ओलाङचुङगोला छिमेकी भारत र चीनसँग जोडिएका सीमा नाका हुन् । दुवै देशसँग सीमा जोडिए पनि ताप्लेजुङको भारततर्फ सडकले जोडिने सम्भावना कम छ । तिम्बुङ पोखरी, कालिखोलालगायतका सीमा जोडिएका क्षेत्र विकट छन् । तर पाँचथरको चिवाभन्ज्याङ ताप्लेजुङको कालीखोलासँगै जोडिएको छ भने याङवरक गाउँपालिकाको उत्तरतर्फको भाग पूरै ताप्लेजुङसँग जोडिएको छ । यी दुई सीमा जोडिएका जिल्ला हुन् । इन्द्रावती र कावेली नदीले सीमा छुट्याएको छ ।

दुवै नाका सञ्चालनमा आए पूर्वी नेपालको समृद्धि यसैमा रहेको चीनसँग सीमा जोडिएको फक्तालुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ बताउँछन् । त्यसैले चीनसँगको सिमाना टिप्तालाभन्ज्याङबाट ओलाङचुङगोलाको बस्तीसम्म नियमित सडक सञ्चालन गर्न गाउँपालिकाले ४५ लाख रुपैयाँ छुट्याएको छ । यही बजेट खर्चेर चीनबाट स्काभेटर ल्याएर सडक चौडा बनाउने गाउँपालिकाको योजना छ । रातो किताबबाटै हटाइएको दोभान–सुकेटार–लेलेप–ओलाङचुङगोला र तमोर करिडोरलाई केन्द्र सरकारअन्तर्गत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यी योजना रातो किताबबाटै हटाएपछि ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराई आलोचित भएका थिए ।

यी दुवै सडक जोडिए आर्थिक उन्नति हुने र समृद्धि भित्रिने आशा स्थानीयको छ । उत्तर–दक्षिण लोकमार्ग आयोजनाका पूर्वप्रमुख इन्जिनियर कुवेर नेपाली तमोर करिडोर बनेपछि नेपाल र चीनको सीमानाका टिप्तालादेखि प्रदेश १ को हालको राजधानी विराटनगर रानीभन्सारको दूरी २ सय ५१ किलोमिटर मात्रै हुने बताउँछन् । “यो नेपाल, भारत र चीन त्रिदेशीय भन्सार जोड्ने सबैभन्दा छोटो दूरीको सडक हुनेछ”, उनी भन्छन् ।

तमोर नदी चीनतर्फको सीमा टिप्तालादेखि सुरु भई सुनसरीको चतरा छेउसम्म पुग्छ । चिवाभन्ज्याङदेखि मेची राजमार्ग गणेशचोकसम्मको दूरी ३० किलोमिटर छ । मध्यपहाडी यो राजमार्ग गणेशचोकबाट पाँचथर सदरमुकाम फिदिमको जोरसाल हुँदै तेह्रथुमतर्फ लाग्छ भने ताप्लेजुङ सदरमुकाम फुङलिङ जोडिन्छ । फुङलिङबाट तमोर करिडोरको दोभान १७ किलोमिटर मात्रै छ ।

तमोर करिडोरले ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा हुँदै तराईका जिल्ला जोड्छ । यसले दोभानबाट छुट्टिएर मदन भण्डारी राजमार्ग हुँदै संखुवासभा, तेह्रथुम, धनकुटा भएर सुनसरीको धरान जोड्छ । चीनले सीमा नजिकको रिउ बजारलाई विस्तार गर्दै लगेकाले नेपालका लागि सामान आयात–निर्यातको मुख्य केन्द्र हुने चीनसँग जोडिएको फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वालुङ बताउँछन् ।

वालुङका अनुसार यो सडक जोडिन अब ३९ किलोमिटर मात्रै छ । सदरमुकाम फुङलिङबाट सुकेटार हुँदै लेलेपको टाँसीगाउँसम्म सडकको ट्रयाक खोलिसकिएको छ । तिब्बतबाट गोलाको बस्तीसम्म स्थानीय आफैँले लगानी गरेर २४ किलोमिटर ट्रयाक खोलेका छन् । गाउँपालिकाले स्तरोन्नतिमा बजेट छुट्याएको छ भने ट्रयाक खोल्ने काम एलाइट निर्माण प्रालिले गरिरहेको छ । कम्पनीका अनुसार ३९ करोडको ठेक्कामा ५ करोड हाराहारी बजेट सकिएको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने थर्पुबजार | तस्बिरहरू : आनन्द गौतम


गाउँपालिका, निर्वाचन क्षेत्र विकास कार्यक्रम र सानिमा हाइड्रो पावरले फुङलिङ नगरपालिकाको हान्दुङदेखि फक्तालुङ गाउँपालिकाको सिस्ने हुँदै गाउँपालिका केन्द्र तापेथोकसम्मको सडक विस्तार तथा स्तरोन्नतिको काम गरिरहेका छन् ।

भारतसँगको सिमाना चिवाभन्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्गले देशको राजधानी काठमाडौँलाई पनि छुन्छ । मध्यपहाडी भएर पूर्व पश्चिम जोड्ने लोकमार्गसँगै राजधानी जोड्ने ट्रयाक खुलिसकेको छ । अबको दुई वर्षमा यही लोकमार्ग भएर काठमाडौँ पुग्न सकिने मध्यपहाडी लोकमार्ग आयोजनाफिदिम पाँचथर कार्यालयका प्रमुख अभिमान मुल्मी बताउँछन् । भन्छन्, “दुई वर्षपछि कालोपत्रे सडकमा  पूर्वबाट पहाडै पहाड भएर काठमाडौँ पुग्न सक्छौँ ।”

पूर्वी नाका पाँचथरको याङवरक गाउँपालिका केन्द्र थर्पु बजारदेखि तेह्रथुम जोड्ने फिदिम नगरपालिकाको माझीटारसम्म कालोपत्रे भएको छ । थर्पुदेखि चिवाभन्ज्याङसम्म स्तरोन्नति चलिरहेको छ । च्याङथापुदेखि मेची राजमार्ग गणेशचोकसम्मको सडकमा पुल बनिसकेकाले बर्खामा पनि अवरोध हुँदैन । भोजपुरसम्मको सडक हेर्न फिदिममा आयोजना कार्यालय स्थापना भएको छ ।

यो सडकको सुरुआती बिन्दु चिवाभन्ज्याङदेखि झुलाघाटसम्मको दूरी १७ सय ७६ किलोमिटर छ । चिवाभन्ज्याङदेखि करिब ७ सय ९० किलोमिटरमा काठमाडौँ पुगिने पूर्वभौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमी बताउँछिन् । चिवाभन्ज्याङदेखि खुर्कोटसम्म मध्यपहाडी लोकमार्ग पर्छ । खुर्कोटदेखि काठमाडौँ बीपी राजमार्ग भएर पुगिन्छ । खुर्कोटबाट रामेछाप हुँदै धुलिखेलसम्म लोकमार्ग लैजान ट्रयाक खोल्ने काम भइरहेको छ ।

प्रदेश १ को पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, उदयपुर र सिन्धुली जिल्लालाई यो सडकले छोएको छ । सडकले नछोएका हिमाली जिल्ला ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बुलाई पनि अप्रत्यक्ष लाभ हुनेछ ।

ओलाङचुङगोला र चिवाभन्ज्याङ दुवै नाकामा सशस्त्र प्रहरीको बेसक्याम्प सीमानजिकैको मौवाटारमा राख्ने तयारी छ । अहिलेसम्म चीनतर्फ एक दिनको पैदलमा रहेको गोलाको बस्तीमा मात्रै नेपाल प्रहरीको सीमा प्रहरी चौकी थियो । तत्कालका लागि ओलाङचुङगोलाकै केक्यापको कार्यालय भवनमा राख्ने र संरचना निर्माणपछि माथि सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी बताउँछन् ।

चिवाभन्ज्याङ छेउमा पनि तत्काल सशस्त्रको क्याम्प बस्ने जानकारी पाएको याङवरक गाउँपालिका अध्यक्ष घिमिरे बताउँछन् । प्रहरी बसे एकअर्को देशमा आवतजावत गर्ने नागरिकदेखि वन्यजन्तु तथा वनस्पति चोरीसिकारी पनि नियन्त्रण हुने अपेक्षा छ ।


चीनले जोड्यो, भारतको बाँकी

सीमा नाकामा चीनले नेपालसँगको सडक जोडेको छ । तिब्बत सरकारले नेपाल सरकारको अनुरोधमा स्काभेटर पनि भाडामा दिएको छ । त्यसैको सहयोगमा स्थानीयले बस्तीसम्म सडकको ट्रयाक खोलेका छन् । सिक्किमले भने चिवाभन्ज्याङसम्म अझै सडकले जोडेको छैन । करिब १७ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको चिवाभन्ज्याङका भारतीय सुरक्षा अधिकारी बताउँछन् ।

अहिले चीनका गाडी नेपालको उत्तरतर्फको नाका भएर बस्तीसम्म आउन सक्छन् । तर सिक्किमतर्फ सडक नजोडिएकाले सिमानादेखि बस्तीसम्म हिँड्नुपर्छ ।

प्रकाशित: फाल्गुन ५, २०७५