टुहुराका अभिभावक

- अजित तिवारी

जनकपुर– घरछेउकै कल्भर्टमुनि बम राखिएको हल्लापछि जनकपुर, वाल्मीकिनगरका सत्यनारायण महतो  तर्सिए, २९ साउन ०६६ बिहान । हो/होइन बुझ्न उनी कल्भर्टमै पुगे । कल्भर्टको पानीमा हात देखियो । महतोले हिम्मत गरे र हात ताने । कल्भर्टमुनि त नवजात शिशु फ्याँकिएको रहेछ । बाहिर निकालेपछि शिशु रुन थाल्यो । महतोले अस्पताल पुर्‍याए । सामान्य उपचारपछि बच्चालाई निको भयो । काखमा नवजात शिशु च्यापेर घर फर्किंदा उनलाई धुकचुक भयो, कहाँ राख्ने र कसरी हुर्काउने ?

त्यो शिशुलाई आफ्नै घरमा राखेर हुर्काउन थालेका महतोलाई ११ साउन ०६७ मा अर्को खबर आयो– जनकपुरको बाह्रबिघा मैदानमा नवजात शिशु फालिएको छ । त्यहाँ पुग्दा उनले खुर्सानी झारमुनि नवजात शिशु रोइरहेको भेटे । छोरी शिशुलाई पनि घरमै ल्याएर राखे ।

 जनकपुरको कवीर अनाथ बालाश्रममा अहिले नौ वर्षदेखि दुई महिनासम्मका ११ जना यस्तै बेवारिसे बच्चाको पालनपोषण भइरहेको छ । तीमध्ये नौ छोरी छन् भने दुई छोरा । सबभन्दा जेठी देशना नौ वर्षकी भइन् । आश्रम सञ्चालक महतोलाई सबै बच्चाले आफ्नो ‘बुबा–आमा’ ठान्छन् । जनकपुर धनुषाको वीरेन्द्रबजार, महोत्तरीको बर्दिबास, रामगोपालपुर, औरही र जलेश्वरको बखरीखोलामा फ्याँकिएका ती बच्चालाई महतोले पुनर्जन्म मात्र दिएका छैनन्, पालनपोषण र शिक्षादीक्षामा व्यस्त पनि बनाएका छन् ।

जनकपुरको निजी कलेजमा अंग्रेजी पढाउने महतो कविरका भक्त हुन् । वाल्मीकिनगरको एक कठ्ठा जग्गामा आश्रम बनाएर सत्संगकै प्रचारप्रसारमा जुटेका यी सत्संगप्रेमीले दुई नवजात शिशुलाई आश्रममा ल्याएपछि समिति नै बनाएर बेवारिसे शिशुलाई जिम्मा लिन थालेका हुन् । “जन्मिँदै बेवारिसे बनाइएका बच्चालाई आश्रममा राखेर पालनपोषण गर्छु,” उनी भन्छन्, “प्रहरीले पनि उद्धार गरेर त्यस्ता बच्चा मेरै आश्रममा पठाइदिन्छन् ।”

कविर आश्रमका दुई जना अक्षर विद्यामन्दिर र चार जना ज्ञानकूप विद्यालयमा पढिरहेका छन् । अन्य अझै शिशु नै छन् । बेवारिसे बच्चाको लालनपालनमा महतोलाई आश्रममा मिरा माँले सघाउँछिन् । बच्चाहरू बिहानै उठेर योग गर्छन् । योगाभ्यास महतोले नै गराउँछन् । ७ बजे आश्रममै ट्युसन पढ्छन् । खाना खाएर स्कुल जान्छन् । बाँकी बच्चा आश्रममै लडिबुडी खेल्छन् । अपराह्न ४ बजे फेरि आश्रममै बच्चालाई ट्युसन पढाउन शिक्षक आउँछन् । ५ बजे संगीत कक्षामा रमाउँछन् । त्यसपछि गृहकार्य गर्छन् अनि खाना खाएर सुत्छन् ।

अनिच्छामा जन्मिएका शिशुलाई बेवारिसे छाडिदिने घटना मध्यपूर्वी तराईमा बढ्दो छ । अशिक्षाका कारण छोरी हुँदा परिवार खुसी नहुने, दाइजो दिनुपर्ने, भागी बिहे गर्दा प्रतिष्ठा गुम्ने डरका साथै पति वैदेशिक रोजगारमा हुँदा अवैध सम्बन्धबाट जन्मिएका शिशुलाई एकान्त ठाउँमा झाडीमुनि लुकाइदिने, माटो खनेर गाडिदिने र पोखरी–कल्भर्टको पानीमा फ्याँकिदिने प्रवृत्ति देखिएको छ । “धेरैजसो नवजात शिशु त मृतावस्थामै भेटिन्छन्, मैले अधिकांश शिशुलाई जीवितै पानीमा फ्याँकिएको अवस्थामा उद्धार गरेको हुँ,” महतो भन्छन्, “मानिस कति कठोर भइसके, अहिलेसम्म यो बच्चा मेरो हो भनेर कोही आएका छैनन्, यसरी बच्चा फ्याँक्नुपर्ने विकृति रोक्ने दायित्व समाजकै हो ।” 

प्रकाशित: फाल्गुन ५, २०७५