सन्दीपका बंगलादेशी फ्यान

- पर्वत पोर्तेल

करिब १२ घन्टा लामो रात्रि बस यात्राले थाकेको ज्यान ढाकाको स्यामोली फिल्म हल नजिकैको एउटा होटलमा लगेर बिसाइयो । होटल औसत खालको थियो । सस्तो/महँगो दुवै भन्न नमिल्ने । त्यही भएर होला, नेपालबाट आएको व्यवसायीको जम्बो टोलीले होटलका प्राय: कोठा बुकिङ गरेको रहेछ १५ दिनयता ।

ढाकामा बर्सेनि आयोजना हुन्छ, अन्तर्राष्ट्रिय स्तरको ट्रेड फेयर । फेयरमा टिमुरको छोपदेखि धागोका पस्मिना व्यापारीसम्मको जमघट थियो । मैले त्यो होटलको नाम बिर्सिएँ । तर होटलका एक कर्मचारी एमडी सान्तो शेखलाई बिर्सन सकिनँ । बंगाली मुस्लिम सान्तो हिन्दी पनि राम्रै बोल्थे । उनका कारण हिन्दी बोल्दा बंगला नजान्ने र नबुझ्ने धेरैलाई राहत मिल्यो ।

‘आप लोग कोन सी जगे से ?’, उनले सोधे । हाम्रो टिम अगुवा यादव पौडेलले ‘नेपाल से’ भनेर जवाफ फर्काएपछि सान्तो शेख थप उत्साहित बने । उनको गफको मुख्य केन्द्रमा थिए, नेपाली हिरो क्रिकेटर सन्दीप लामिछाने । त्यसपछि त बंगलादेशमा सन्दीपको लोभलाग्दो क्रेज थाहा पाउन बेर लागेन । सन्दीपले अघिल्लो महिना ढाकामा बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलेका थिए । इन्डियन प्रिमियर लिग (आइपीएल), बिग बास लिग (बीबीएल) मा तहल्का मच्चाएका सन्दीपले पछिल्लो समय धेरै बंगलादेशी फ्यान कमाएछन् । सम्भवत: त्यसमध्येकै जब्बर फ्यान हुन् सान्तो । सान्तो बंगला मिश्रित हिन्दीमा भन्दै थिए, ‘आप की देशमे प्रधानमन्त्री और राष्ट्रपति कौन है, मेरेको मालुम नही, मै ईन लोगोको नही जानता हुँ । लेकिन मै सन्दीपको जरुर जानता हुँ ।’

उनको कुरा सुनेर हाम्रो टिम मख्ख पर्‍यो । मेरो छाती गर्वले फुल्यो । हैट ! क्रिकेटको शक्ति ।

जिरो प्वाइन्टमा परेड

अन्तर्राष्ट्रिय सीमामा हुने दुई देशका सैनिकको परेड प्रत्यक्ष देखेको थिइनँ । खासगरी भारत–पाकिस्तानको बागा बोर्डरको परेड टीभीतिर मात्रै देखेको थिएँ । तर यसपटक आमनेसामने भएर हेरियो, भारत–बंगलादेशको जिरो प्वाइन्ट फूलबारी–बंगलाबन्धमा । संयोगवश त्यही दिन भारतको गणतन्त्र दिवस रहेछ । त्यही कारण सैनिक परेड अन्य दिनभन्दा अलि बृहत् र भिन्न थियो ।

भारतीय र बंगलादेशी दुवैतर्फका सैनिकको पोसाक उस्तै, रंग फरक थियो । दुवैका टाउकोमा सिउर ठाडो थिए तर सिउरको रंग बेग्लै । परेड जिरो प्वाइन्टको बीच सडकमा थियो । सडक दायाँ–बायाँ फलामे प्याराफिटमा दुवै देशका दर्शकको बाक्लो हूल थियो । सबै परेडमा रमाइरहेका ।

आ–आफ्ना देशका सैनिकले बुट बजारेर फर्किंदा उनीहरु कर्तलध्वनिका साथ ताली पिट्थे । तालीको तालसँगै सैनिक अझ हौसिन्थे । र, आक्रोशका साथ बुट बजार्थे । बुट बजार्ने त छँदै थियो । रोचक दृश्य अर्को पनि थियो । दुवै देशका सैनिकले एकअर्कातिर पिठ्युँ फर्काएर लात्ती उचाले । लात्तीले टाउको नघाए । करिब एक घन्टा लामो परेड सकियो । दुवै देशका सैनिक हात मिलाएर छुटे । 

‘पायोनियर’ पन्नालाल

काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध व्यापारिक मार्गबाट बंगलादेशसँग व्यापार सुरु भएको दुई दशक नाघिसक्यो । यो व्यापारिक नाका सञ्चालन र बंगलादेशसँगको व्यापारमा एउटा व्यक्तिको नाम पनि सधैँ जोडिन्छ, झापा धुलाबारीका व्यवसायी पन्नालाल जैन ।

बंगलादेशसँगको व्यापार थालनीसँगै यिनले एउटा संस्था जन्माए, नेपाल–बंगलादेश चेम्बर अफ ट्रेडर्स । अहिले पनि यो संस्थाले बंगलादेशसँगको व्यापारमा सेतुको काम गरिरहेको छ । “नेपाल–बंगलादेश व्यापार यो अवस्थामा आइपुग्नुका पछाडि पन्नालालजीको प्रत्यक्ष, परोक्ष भूमिका छ,” ढाकास्थित नेपाली कार्यवाहक राजदूत धनबहादुर वलीले नेपाली व्यवसायीमाझ भने, “उहाँ बंगलादेशसँगको व्यापारका पायोनियर नै हुनुहुन्छ ।”

पन्नालाल अझै बंगलादेशसँगको व्यापारमा सक्रिय छन् । खासमा उनको मूल ध्येय धेरैभन्दा धेरै नेपाली वस्तुलाई बंगलादेशी बजारमा पुर्‍याउनु थियो । तर भइदियो अर्कै । नेपाली वस्तु बंगलादेश निकासी कम र आयात ज्यादा । यसले पन्नालाल ज्यादै निराश छन् । “बंगलादेशसँगको व्यापार पनि भारतसँगको जस्तै आयातमुखी बन्दै गयो,” पन्नालालले चिन्ता गरे, “हामीसँग निकासी गर्ने वस्तु नै छैन, बंगलादेशले वस्तु थपेको थपै छ ।’

उनलाई डर छ– अब पनि नेपालले निकासी गर्ने वस्तुको पहिचान गरेर पठाएन भने बंगलादेशसँगको व्यापार सधैँ घाटामै हुनेछ । विगतमा दोब्बर–तेब्बर नाफाको नेपाल–बंगलादेश व्यापार अहिले दोब्बर–तेब्बर घाटामा छ । यस्तै चाल हो भने भारतसँग जस्तै बंगलादेशसँग पनि मुलुकले अर्बौं व्यापार घाटा बेहोर्ने दिन नआउला भन्न सकिन्न । तर त्यो दिन आउन नदिन पन्नालालजस्ता निकासी प्रवद्र्धनमा क्रियाशील अभियन्ताको सक्रियता झनै देखिन्छ ।

प्रकाशित: फाल्गुन २, २०७५

ट्याग: नोटबुक