अखबार (कविता)

- रूपेश श्रेष्ठ

पहिलो पृष्ठमा छापिएको छ

‘चिसोबाट कसैलाई मर्न नदिने’

प्रधानमन्त्रीको तात्तातो दमदार भाषण

 

दोस्रो पृष्ठमा तातेका छन्

भुँडेमान मन्त्री र नेतागणका

चिल्ला दाबाहरु

 

तेस्रो पृष्ठमा ह्वांगै छ

नयाँ नायिकाको बाफिलो ठूलो फोटो

 

चौथो पानाभरि छ–

घर बनाउने सिमेन्ट

देश बनाउने छड

समयलाई उत्सव बनाउने रक्सी

र, सम्बन्ध बढाउने कण्डमको तात्तातो विज्ञापन

 

पाँचौँ पृष्ठमा

सत्तासँग तात्तिएको छ सम्पादक

सम्पादकसँग तात्तिएका छन् पाठक

 

बडेबडे विद्वानहरु छैटौँ पृष्ठभरि

भए/नभएका सबैसँग तात्तिएका छन्

लोकतन्त्रदेखि समृद्धि सबै–सबै त्यहीँ तातेको छ

 

सातौँ पृष्ठमा हिंस्रक बजारभाउ तातेको छ

सातौँमै गरिबीको निम्छरो अनुहार तातेको छ

दौरा–सुरुवाल लगाएको पुत्लामा लगाइएको आगो पनि छ

 

आठौँमा आन्दोलनको सानो फोटोभरि

बिछट्टै तात्तिएको छ, बेरोजगार

अन्यायको विरोधमा कुदेको राँके जुलुस पनि छ

 

नवौँ पृष्ठमा छ, देशको नयाँ मानचित्र

त्यही पृष्ठमा कानुन देखेर तातेका छन् बिचौलियाहरु

ब्याजदर बढेर उद्यमीको पारो पनि

त्यहीँ तात्तिएको छ

 

दसौँमा छ, चुनदेखि जहाज घोटालाको सूची

त्यतै कतै छापिएको छ, चिसोबाट जोगिने उपाय

खसीको तातो सुप पकाउने रेसिपी

र स्वास्थ्यमा सुधार आउने राशिफल

 

ऐजन–ऐजनले भरिएका रंगीन राष्ट्रिय अखबारले

आफूलाई न्यानो पार्न

ओढेको छ, मोटो ज्याकेट एड

 

देशभरि तापक्रम ख्वातखुत्तै घटेका बेला

खुब तातो छ, आजको अखबार

 

साँच्चि,

यही अखबारको कुनै कुनामा छापिएको छ

एउटा सरकारी सूचना

जसले भन्छ,

‘जनताले चिसोबाट जोगिएर बस्नू’

 

त्यही सूचना पढेर सायद

यो मुटु जमाउने ठिहीमा

अखबार ओढेरै सुतेको छ

फुटपाथमा मेरो देश ।

प्रकाशित: फाल्गुन २, २०७५

ट्याग: कविता