बाजेको शास्त्र–विचलन

- प्रमोद मिश्र

पौडेल बाजे पौडेल्नी बज्यैसँग हाम्रो गाउँमा बस्थे । साँझ होस् वा बिहान, स्कुल होस् वा बिदाको दिन– एकपल्ट पौडेल बाजेकहाँ नपुगी मेरो चित्तै बुझ्दैनथ्यो । मलाई देखेपछि बाँकी रहेका पहेँला दाँत देखाउँदै हाँसिरहन्थे र भन्थे, “लौ, परमत नानी आएछन् ।” हाँस्दा उनको छ्याके, नखौरिएको अनुहार, चिरा परेको मैलो भोटो र फुलेको टाउकामा कुच्चिएर बसेको टोपी धपक्कै बलेर आउँथ्यो । मजस्तो चकचकेलाई मान्छे नगन्ने ठाउँमा उनी ‘तपाईं’ भन्थे र सम्बोधन गर्दा ‘परमत बाबु’ वा ‘परमत नानी’ भन्थे । मेरा कुरा सुनेर बालकझैँ दंग पर्थे । यद्यपि, उनी वृद्ध र नि:सन्तान थिए । मैले उनलाई कहिल्यै क्रोधित वा उदास देखिनँ ।

मोरङको राजवंशी बाहुल्य गाउँमा पाए सानोतिनो पुरोहित काम गर्थे, नत्र आफ्ना र दाजु नाता पर्ने ठूला पुरेतका गाईवस्तु वाग्ले भान्जा सँगै हेर्थे । ठूला पुरेत नामीगामी थिए, बत्तीसै दाँत नक्कली लगाउँथे र हातमा बांगो बिँड भएको तेल–पुष्ट लट्ठी टेक्दै हिँड्थे । उनी हिउँदमा परिवारसहित मधेसको हाम्रो गाउँ झर्थे र औलो लाग्ने बेला गर्मी र बर्खा छल्न धनकुटाको पुख्र्यौली गाउँ सर्थे । मेरा पिताजी ठूला पुरेतलाई दाजु भन्नुहुन्थ्यो र ठूला पुरेतले पिताजीलाई तीर्थगुरु । दुवैबीच एकआपसमा ढोगाढोग स्नेह सम्बन्ध थियो । ओखलढुंगामा जन्मेका पौडेल बाजे बुढेसकालमा मधेस झरेका थिए  । वर्षभरि हाम्रो छिमेकी भई ठूला पुरेतको बाकलको बेरा, दाउरा, माटोको छत र खरको छाना भएको घरमा गुजारा चलाउँथे ।

पौडेल्नी बज्यै नाकमा बुलाकी लगाउँथिन्, कानमा अकबरी सुनको ढुंग्रीमुन्द्री । बाटेको कालै चुल्ठोमा उनी रातो रिबन लाउाथिन् । बत्तीसै सद्दे दाँतले उनी हिउँदमा कर्‍यामकर्‍याम मूलाका पात टोक्दै ढक्कीभरि सँग गुन्द्रुक हाल्न आँगनमा ल्याउँथिन् ।

“मूला त हामी पनि खान्छौँ तर कहीँ लोक मूलाके पात चिबाउँछ !” आमा भन्नुहुन्थ्यो । मेरी आमाजस्तै गाउँकी फोक्चो मसी (मेरी राजवंशी सानिमा) लाई दहीको व्यापार गरी दुई–चार पैसा कमाएको देखेर पौडेल्नी बज्यै पनि दही व्यापार गर्न थालिन् । माटाका आठ–दस हन्डी दही भएको ढक्की टाउकामा राखेर उनी एक–डेढ घन्टा लाग्ने दोहमाना बजार दगुरेरै पुग्थिन् । बाजे–बज्यै दुवै श्रम गर्थे र जसोतसो जीविका चलाउँथे । म जाँदा कहिलेकाहीँ बज्यै कानले कम सुन्ने आफ्ना बुढासँग मुसुमुसु हाँस्दै ठूलो स्वरले कुरा गरिरहेकी हुन्थिन् । उमेरमा निकै अन्तर भए पनि दुवैबीच ढुकुर जोडीजस्तै मायापिरती बसेको भान हुन्थ्यो ।

आमालाई छक्क पार्ने अर्को कुरा पनि थियो । पौडेल बाजेकहाँ दुई चुल्हामा भात पाक्थ्यो । “घरवालीले पकाएको घरवालाले नखाने दुनियाँमा कहीँ हुन्छ ! यो अचरज कुरा भएन !” आमाको टिप्पणी हुन्थ्यो ।

पौडेल बाजेले आफ्ना लागि भात पकाइसकेपछि मात्र पौडेल्नी बज्यै चुल्हामा भात पकाउँथिन् । त्यसपछि चुल्हो लोटाइपानी गरेपछि मात्र पौडेल बाजे अर्को छाकको भान्सा थाल्थे । यो उनीहरुको घरको दैनिकी नै थियो । ५–६ कक्षामा पढ्ने मलाई यी सब कुराको त्यति वास्ता हुन्थेन, यदि पौडेल बाजेसँग स्नेह र आदरको सम्बन्ध नभएको भए । फेरि मैले कुनै राजवंशीको घरमा स्वास्नीले पकाएको लोग्नेले नखाने चलन देखेको थिएन । स्वास्नी घरमा हुँदाहुँदै लोग्नेले भात पकाएको पनि देखेको थिइनँ । राजवंशी गाउँमा प्रसवकालमा पत्नी गुमाउने विधुर भने प्रशस्तै थिए । तिनीहरुमध्ये आमा, छोरी वा बुहारी नभएकाले मात्र स्वयं खाना पकाउँथे । हुन त, एकपल्ट ताजपुरिया जजमानकहाँ झापा जाँदा (बुबाको एउटा काम सर्वसाधारणलाई तीर्थ लैजानु पनि थियो) पिताजीले खानै नहुने नमीठो दालभात–तरकारी पकाएको मलाई सम्झना छ । बनारसमा ११–१२ वर्षको उमेरमा दुई जना बंगाली रेल कर्मचारीको भान्से भई पढेको कुरा किंवदन्तीझैँ सुनाउनुहुन्थ्यो । तर पौडेल बाजे त आफ्नै जहानले पकाएको भात नखाने ! हामीलाई बडो अचम्म लाग्थ्यो । 

एक दिन पौडेल बाजे बिरामी परे । मैले भाउजू भन्ने गरेकी ठूला पुरेतकी बुहारी पनि बिरामी परिन् । हुन त, ती भाउजू महिनैपिच्छे तीन–चार दिन बिरामी परिरहन्थिन् र बाजेले तिनका श्रीमानलाई सघाउनुपथ्र्यो । तर त्यो दिन बिरामी भई सकीनसकी पौडेल बाजेले भात पकाए । मेरो मन खिन्न भयो । उनको घरअगाडिको चौतारोमा बसेर पर्खिरहेँ । तर बाजे भान्सामै व्यस्त रहे । सोध्दा, ‘भात पकाउँदै हुनुहुन्छ’ उत्तर पाएँ । घर फर्केपछि आमालाई मैले सोधेँ, “पौडेल्नी बज्यैले पकाको भात पौडेल बाजे किन खाँदैनन्, माई ?”

“तोरा ई सब बात से की मतलव  ?” आमाले भन्नुभयो र थप्नुभयो, “जवान मौगी रहते बुढ मुन्सा कहीँ अप्ना खाना अप्ने पकाउँछ ?” यो ठूलो मान्छेको पेचिलो संसारबाट टाढै बस् भन्ने आदेश थियो । पक्कै कुनै गोप्य कुरा होला भनेर मेरो मनमा झन् खुल्दुली मच्चियो । आमालाई पनि खट्केको रहेछ । तर मेरो कौतूहल मेट्ने कुनै बाटो थिएन । ‘आज म भातै खान्नँ’ भनेँ र पलेटी मारेर बसिराखेँ । त्यो उमेरमा म हठी थिएँ । खानेकुरा वा अरु केही पुगेन भने म आकाश–पाताल एक पार्थें । तर मेरो सबभन्दा ठूलो अस्त्र पस्किसकेको थालभरिको भोजन नखाने जिद्दी हुन्थ्यो । त्यतिखेर पनि त्यही भयो । अरु कतिपल्ट त आमाले मलाई यस्तो बेलामा कुट्नु पनि हुन्थ्यो । अहिलेचाहिँ आमालाई पनि मनको भारी बिसाउनु थियो सायद । त्यसैले भन्नुभयो, “पौडेल बुढा पौडेल्नीके दोसर मरद ने छै । तेही से बुढालाई दु:ख खेप्नुपरेको ।” आमाले भनेअनुसार पौडेल्नी बज्यैको पहिले अर्कै मान्छेसँग विवाह भएको थियो । पौडेल बाजेकी पनि अर्कै श्रीमती थिइन् । एउटीको लोग्ने र अर्काकी स्वास्नी मरेपछि उनीहरुको एकअर्कासँग भेट भएछ र घरजम गर्ने निधो गरेका रहेछन् । तर स्वास्नीले पकाएको लोग्नेले खान नहुने कुरा मेरा लागि बुझिनसक्नु थियो ।

एक दिन साँझ खान बसेका बेला पिताजीले भन्नुभयो, “आज बडा अचम्म भयो । ६  महिना, वर्ष दिनदेखि म पौडेल दाजुलाई बिरामी परेको देख्दै छु । तर बिरामीमा पनि आफैँ भात पकाउनुपर्ने । कुवाबाट आफैँ पानी झिक्नुपर्ने । आज बिहान पनि उनलाई ज्वरो आउँदा–आउँदै भात पकाउन बसेको देख्दा थाम्न सकिनँ र भनेँ, ‘दाजु, यस्तो दु:ख किन गर्नुहुन्छ  ? भाउजूलाई भात पकाउन दिनु नि ।’ पहिले त तिनी अचम्मित भए तर एकछिनपछि भने, ‘के गर्नु, पण्डितजी, शास्त्रले मान्दैन ।’ त्यसपछि मैले एउटा श्लोक भनेँ । त्यो श्लोकअनुसार आफ्नो जहानले पकाएको भोजन पवित्र हुन्छ। बरु नखाँदा अपहेलना हुन्छ । एकछिन सोचेर पौडेल दाजुले भन्नुभो, ‘म के भनूँ ! तपाईं भन्नुहुन्छ भने त्यसै होला तर दाजुको डर लाग्छ । मान्नुहुन्न होला ।’”

पिताजीले ठूला पुरेतसँग कुरा गर्नुभएछ । ठूला पुरेतले भने, “ विधवालाई बिहे गर्दा तिनले पकाको नखाने चलन छ हाम्रोमा । तर खाँदा दोष लाग्दैन भन्नुहुन्छ र यो शास्त्रसम्मत छ भने ठीकै होला । त्यसमा म के भनूँ  ! यो उचित पनि लाग्छ । भाइले कति दु:ख पाउने  !” सन्तोष मान्दै पिताजीले सुनाउनुभयो, “आजैदेखि पौडेल दाजुले भाउजूको हातको भात खान थाल्नुभयो ।”

“अब बुढालाई आराम हुन्छ,” आमाले भन्नुभयो । म मनमनै खुसी भएँ । पौडेल बाजेसँग आजउपरान्त अघाउन्जेल बात मार्न पाउने भएँ भनेर ।

मिश्र संयुक्त राज्य अमेरिकास्थित लुइस विश्वविद्यालयमा अंग्रेजीका विभागाध्यक्ष हुन्

प्रकाशित: फाल्गुन २, २०७५

ट्याग: संस्मरण