सुगम यात्रा

- गोकर्ण गौतम

ठ्याक्कै पाँच वर्षपहिले । एउटा मन पोल्ने खबर डढेलोझैँ फैलियो, ‘गायक सुगम पोखरेल प्रतिबन्धित लागूपदार्थ प्रयोग गर्दागर्दै समातिए ।’ तिनताका सुगम सांगीतिक करिअरको शिखरमा थिए । त्यसैले अनेक अड्कलबाजी र ठोकुवा सुरु भयो, ‘सुगम अब सकिए’, ‘उनको ठाँउमा फलानो गायक आउँछ’, ‘पुन:स्थापना केन्द्रमै बित्ने भयो सुगमको जिन्दगी’ आदि–इत्यादि । त्यो बेलाको माहोल नै अप्रिय थियो, सुगमका खाँटी शुभेच्छुकले समेत ‘त्यस्तो हुन्न’ भन्न सकेनन् । तीन महिनादेखि कुलतमा थिए उनी । ‘ड्रग्स’ कै कारण गायन मात्र होइन, जीवन नै ध्वस्त भएका गायक कत्ति छन् कत्ति ! कतै सुगम पनि...अब अहिलेको कुरा गरौँ ।

अमेरिकामा १७ र अस्ट्रेलियामा ७ सो गरेर फर्किएको दुई महिना बित्न पाएको छैन, सुगमले नेपालको डडेल्धुरादेखि रामेछापसम्म २५ कन्सर्ट भ्याइसके । यही अवधिमा आधा दर्जन पाश्र्वगीत रेकर्डिङ गरे । एल्बमको काम सकाउने चटारो छ । सबैको अनुमान (सायद कतिपयको चाहना पनि) बमोजिम सुगम सकिएनन्, बरु रफ्तार अझ बढ्यो । रक्सी नछोएकै ६ महिना भयो । चुरोट घटाउँदै छन् । उनकै शब्दमा, मन शान्ति र सन्तुष्टिले भरिएको छ । जीवनमा यतिविघ्न सुखानुभूति कहिल्यै भएको थिएन । “ड्रग्सले मलाई चरम आनन्द दिएको थियो तर त्यो क्षणिक र भ्रम थियो,” सुगमले ती पल सम्झिए, “जब यो यथार्थबोध भयो, सबथोक बदलियो । नशालाई चटक्कै त्यागेँ ।”

समातिनु पहिल्यै उनलाई अनुभूत हुन थालिसकेको थियो, यसरी जीवन चल्दैन, म गाउन नसक्ने भइसकेको छु । तर कसरी कहाँबाट उम्कने मेलोमेसो मिलेको थिएन । थप्छन्, “कर्मप्रति इमानदार हुने र कसैको कुभलो नचिताउने हो भने जस्तै भड्खालोबाट पनि बाहिर निस्कन सकिँदो रहेछ । यसमा आत्मशक्तिको पनि भूमिका हुँदो रहेछ ।” यही कारण हुनुपर्छ, त्यो लत र संगतप्रति कुनै पछुतो छैन । जे भयो, हुनु नै थियो र राम्रै भयो ।

डेढ दशकअघि दरबारमार्गमा कन्सर्ट गर्दै


हरेक उमेर समूहले रुचाउने गायक असाध्यै कम हुन्छन् । तीमध्येमा पर्छन् सुगम । हरेक शैलीका गीतलाई उत्तिकै न्याय गरेर गाउन सक्ने ल्याकत सितिमिति कोहीसँग हुँदैन । सुगमसँग छ । राम्रो गायक गीत लेखन र कम्पोजमा पनि उत्तिकै पोख्त हुन्छ भन्ने हुँदैन । सुगमले तीनै विधामा अब्बलता देखाइसकेका छन् । स्टेजमा उक्लेपछि प्राय: गायकले गाउने गीत एउटै–एउटै हुन्छ । सुगमको ‘ब्लकबस्टर’ गीत दुई दर्जनभन्दा धेरै छन् । त्यसैले दर्शकको मागअनुसार स्टेजमै गीतको निक्र्योल गर्छन् । जबकि, उनका रेकर्डेड गीतको संख्या २ सय पनि पुग्दैन ।

‘ओरिजिनल साउन्ड ट्रयाक’ (ओएसटी) राख्ने पहिलो नेपाली फिल्म हो, लक्ष्य । गायकचाहिँ सुगम । मेरो एउटा साथी छ... पछि उनले नेपाली फिल्मी संगीत युवापुस्तामाझ पुर्याए, आधुनिक र पप मिश्रण गरेर । अहिले यही शैली ‘मूलधार’ बनेको छ । सुगमले गाएकै गीत फिल्म प्रमोसनको पहिलो अस्त्र हुन्छ । उनको पाश्र्वगायनले शतप्रतिशत हिटको रेकर्ड बनाएका छन् । भन्छन्, “गीत छनोट नै मेरो सफलताको सूत्रधार हो । धेरै होइन, गुणस्तरीय गीत गाउन चाहन्छु ।” सुगम नेपाली संगीतमा लामो रेसको घोडा साबित भइसकेका छन् । तर गीत गाउन थाल्दा सोचेकै थिएनन्, यात्रा लामो होला ।

गायकका रुपमा सुगमको जन्म भएको थियो, ०५३ को सुरुआतमा । गीत रेकर्ड गरे तर चलेन । केही समयपछि सुदिन पोखरेलसँग मिलेर दुई गीत रेकर्ड गरे, फेरि पनि सुपर फ्लप । हरेश खाइसकेका थिए । विराटनगरबाट काठमाडौँ बसाइँ सारेका सुगमलाई तिनताका यहाँ बस्नै धौ–धौ थियो । रेकर्ड गर्ने पैसा कहाँबाट ल्याउने ? संगीतप्रेम यति घनघोर थियो कि सारा कष्ट झेल्न तयार भए । त्यसैले केही समय ‘अन्डरग्राउन्ड’ भए । त्यसकै प्रतिफल थियो, ‘मेरो संसार तिमी नै हौ...’ । उनको चाह यत्ति थियो, गीत हल्काफुल्का चलोस्, सुन्नेले मन पराऊन् । तर रातारात हिट भयो । अहिलेको भाषामा भन्दा ‘भाइरल’ । उनी भन्छन्, “यो गीत चल्यो, दुई–तीन वर्ष गीत गाएर अमेरिका जाने योजना थियो । त्यो बेलाको माहोल त्यस्तै थियो ।” तर यति लोकप्रिय र व्यस्त हुन थालेँ कि विदेश जानेबारे सोच्ने समय नै मिलेन ।

सुगमको आगमन हुँदा निमा रुम्बा, नवीन के भट्टराई, धीरज राईहरुले पपगीत गाएरै नाम कमाइसकेका थिए । तर दुई–चार वर्षभन्दा बढी हिट भइन्न, गाएर मात्र जीवन चल्दैन, विदेशतिर लाग्नुपर्छ भन्ने सोच हाबी थियो । कम्तीमा सुगमलाई यस्तै लाग्थ्यो । भन्छन्, “तर ती सबै मान्यता समयक्रमसँगै भत्कँदै गए । नाम मात्र होइन, दामका हिसाबले पनि गायक हुनुमा गर्व र सन्तुष्टि छ, मलाई ।” ‘मेरो संसारपछि...’ सुगमका हिट गीतका लस्कर लागे, ‘फेरि त्यो दिन...’, ‘मायाको बाटो...’, ‘कति दिन बिते...’, ‘तिमी मभन्दा कोसौँ टाढा...’ आदि–इत्यादि । सुगम आम गायकभन्दा विशिष्ट दर्जामा किन पनि दरिन्छन् भने दुई दशकअगाडि आएका यी गीत आज पनि उत्तिकै प्रिय छन्, दर्शक/श्रोतामाझ । स्टेजमा नगाई धरै पाउँदैनन् ।

सुगम पोखरेल | तस्बिरहरु : भास्वर ओझा


सुगमलाई हिट हुने हतारो छैन अब । ‘मेरो जीवन यस्तो होस्’, उनको पछिल्लो एल्बम हो । व्यावसायिक आँखाबाट हेर्दा यसका गीत खासै चलेनन् । “यस्तो हुन्छ भन्ने मलाई पहिल्यै थाहा थियो । तर संगीतप्रतिको दायित्व निर्वाह गर्न र आत्मसन्तुष्टिका लागि त्यो एल्बम निकालेँ,” सुगम भन्छन्, “जतिले सुनेका छन्, मन परेको प्रतिक्रिया दिए । यसमै खुसी छु ।” एल्बम बेचेर रोयल्टी आउने समय हरायो । कमाइका अरु भरपर्दा स्रोत छैनन्, सिवाय स्टेज कार्यक्रम । त्यसैले डान्सिङ बिटका गीत गाउनुपर्ने लहर (बाध्यता ?) छ । बजार निर्देशित गीतको बाहुल्य छ । सुगम सकेसम्म यसबाट उम्कने प्रयास गर्छन् । पहिलेझैँ सबै गाउनुपर्छ, भ्याउनुपर्छ भन्ने लालसा छैन । “म अब पैसाका लागि मात्र गाउँदिनँ । त्यो तह पार गरिसकेँ,” सुगम भन्छन्, “गीत राम्रो छ भने सित्तैमा गाइदिन्छु । मन परेन भने जति पैसा दिए पनि गाउँदिनँ ।”

सुगमको आम छवि बनेको छ, गायकका रुपमा । तर उनी सुरुमा आफूलाई कम्पोजर मान्छन्, त्यसपछि गीतकार अनि मात्र गायक । उनको कम्पोजमा शिव परियारले गाएको ‘संगी...’ कालजयी मानिन्छ । धेरैले उनलाई यो गीत आफैँले गाउन सुझाएका थिए तर गाएनन् । कारण यस्तो रहेछ, “सबै प्रकारका गीतलाई गायकको रुपमा न्याय नगर्न सक्छु । यो सीमितता मैले बुझ्नुपर्छ ।” यही कारण हुनुपर्छ, गाउँदाभन्दा कम्पोज गर्दा ज्यादा आनन्द आउँछ उनलाई । यतिबेला नयाँ एल्बम ‘श्वेत हँसिनी’ को तयारीमा छन् । गीत लेख्छन्, कम्पोज गर्छन्, घरमा छोरी र पत्नीलाई सुनाउँछन् । उनीहरुले ‘ग्रिन सिग्नल’ दिएपछि मात्र रेकर्डिङमा लाग्छन् । सुगमका गीतका सबैभन्दा आलोचक छोरी र पत्नी हुन् ।

पाश्र्वगायनमा सुगमको माग उच्च छ । प्रतिगीत ५० हजार रुपैयाँ पारिश्रमिक लिन्छन् । फिल्म र एल्बममा गाउँदा खासै अन्तर गर्दैनन् । यत्ति हो, एरेन्ज उनले भनेजस्तो हुनुपर्छ, स्वतन्त्र भएर गाउन पाउनुपर्छ । गीतको प्रकारअनुसार स्वर परिवर्तन गर्छन् । फिल्ममा कुन हिरोले ‘लिप्सिङ’ गर्छन्, चासो हुन्न । नेपालभित्र प्रतिसो ८० हजार र विदेशमा प्रतिसो ३ लाख रुपैयाँसम्म लिन्छन् । रेकर्डिङ होस् वा स्टेज सो, भ्याइनभ्याई छ सुगमलाई । भन्छन्, “कुन स्थानमा छु भन्दा पनि कति स्तरीय काम गर्न सकेको छु भन्नेतिर ध्यान दिन्छु ।”

संगीतपारखीमाझ सुगम, ललितपुरमा 


सुगमले संगीतबाट जति चाहेका थिए, त्योभन्दा धेरै पाए । काठमाडौँमा आफ्नै घर बनाउने सपना थियो, त्यो छिट्टै पूरा हुँदैछ । आफ्नै रेकर्डिङ स्टुडियो खोल्दै छन् । ‘म्युजिक प्रोड्युसर’ बनेर नयाँ प्रतिभासँग सहकार्य गर्दैछन् । दुई दशकको अन्तरालमा कति कलाकार ‘हटकेक’ भए, कतिका गीत ‘भाइरल’ भए । निरन्तरता दिनेको संख्या भने नगन्य छ । निमा रुम्बा, नवीन के भट्टराई, दीपक वज्राचार्यको समेत सफलताको ग्राफ तल–माथि भइरहेको अवस्था छ । कति त पलायन नै भए । सुमगचाहिँ अविराम–अविराम ।  भन्छन्, “भर्‍याङबाट माथि उक्लेपछि तल झर्नैपर्छ । यो प्राकृतिक नियमलाई मैले मनन गरिसकेको छु ।” तर उही, सुगम तल झर्नुपरेको छैन, अहिलेसम्म ।

रेकर्डिङ स्टुडियोमा सुगम

प्रकाशित: फाल्गुन १, २०७५

ट्याग: रङ