अरुकै राम्रो

- लक्ष्मण गाम्नागे

हाम्रो त देशै खत्तम । अरूकै उत्तम, अरूकै राम्रो । हाम्रो जता हेर्‍यो, त्यतै नराम्रो । बिनाकामका अनकन्टार हिमाल, उराठलाग्दा पहाड, लमतन्न परेको तराई । पर्वत, खोलानाला, जंगल, ढुंगा, बगर, झाडी, चुरे, गरिबी, बेरोजगारी, असुरक्षा, अशिक्षा, असभ्यता । सबै नराम्रै नराम्रो । हाम्रा नेता नराम्रा, सरकार नराम्रा, कर्मचारी नराम्रा, जनता नराम्रा । हाम्रोबाहेक दुनियाँ कति राम्रो । त्यहाँको सरकार, नेता, प्रधानमन्त्री, मन्त्री, कर्मचारी सबै राम्रा । त्यहाँको शासन राम्रो । तिनीहरुका सडक राम्रा । भवन राम्रा । रुखबिरुवा राम्रा । त्यहाँको बालुवा, ढुंगा, बगर, पार्क, बगैँचा, चिहान सबै राम्रा । त्यहाँको शौचालय राम्रो, शौचालयभित्रको गन्ध पनि राम्रो । तिनीहरुको छालै राम्रो, गालै राम्रो, तिनीहरुले गाउने गीतको तालै राम्रो । तिनीहरुको सासै राम्रो, तिनीहरुले दिने घाँसै राम्रो ।

हाम्रा प्रधानमन्त्री कति नराम्रा । मन्त्रीहरु कति नराम्रा । यिनको अनुहारै नराम्रो, हाउभाउ नराम्रो, बोली नै नराम्रो, यिनले गरेका कामै नराम्रा । अमेरिका कति राम्रो । त्यहाँका राष्ट्रपति कति राम्रा । गोरा गाला । सुकिलो छाला । उनले अनेकन राष्ट्रहरुमा गरेको हस्तक्षेप कति राम्रो । सरकारले आत्मसुरक्षाका लागि जनतालाई दिएको बन्दुक राम्रो । कहिले बजार, कहिले भीड र कहिले विद्यालयका कक्षाकोठामा ती बन्दुकले निकाल्ने धुन कति राम्रो ।

युरोप राम्रो । युरोपियन युनियन राम्रो । उसले पठाउने सहायता र सहायतासँगै आउने चलखेल र दबाब झन् राम्रो । सबैतिर राम्रै राम्रो । कोरिया हेर्‍यो राम्रो, इजरायल हेर्‍यो राम्रो । अरु त अरु हाम्रोभन्दा बंगलादेशको धूलो–धूवाँ कति राम्रो । गाडीका हर्न, रिक्साका आवाज, टाँगाका टुकटुक सबै कति सुमधुर । चीनले हामीलाई पठाउने माल कति राम्रा । ‘मेड इन चाइना आज छ भोलि छैन’ भन्ने उखान त्यस्तै राम्रो । भारतको पनि सबै कुरा राम्रो । त्यहाँको चाहिँ हत्या, बलात्कार, जातीय हिंसा, महिला हिंसा, छूवाछूत र अन्धविश्वास पनि राम्रो । पाकिस्तानी प्रधानमन्त्री र उनले गरेका घोषणा कति राम्रा । त्यहाँ बेलाबेला हुने सैनिक कू पनि राम्रो । त्यहाँको भ्रष्टाचार र आतंक पनि एकदमै राम्रो ।

जति विचारेर ल्याउँदा पनि सबैथोक अरुकै राम्रो । हाम्रोमा त राम्रो भन्नु एउटा म र मैले समर्थन गर्ने पार्टीका एक–दुई नेता, त्यत्ति हो । मचाहिँ फेसबुके सर्वज्ञाता भइहालेँ । म भविष्यवेत्ता, म योजनाकार, म इन्जिनियर, म विकासविद्, म राजनीतिक विश्लेषक । देश कसरी अगाडि बढ्छ मलाई प्रस्टै थाहा छ । सबैलाई गाली गर्न पनि, अर्ती दिन पनि जान्ने मै मात्र । म यता देशमा बसेको पनि राम्रो, उता विदेशमा बसेको झनै राम्रो । उता कमाउन गएको भए पनि राम्रो, यतै कमाएको लिएर गएको भए अझ राम्रो । यताको नागरिकता लिएको भए पनि, उताको लिएको भए पनि, दुवैतिरको लिएको भए पनि मै राम्रो । नेपाल भन्ने देशका नेता, मन्त्री, कर्मचारी, जनता सबै भ्रष्ट, नालायक, असभ्य, मूर्ख । धन्य, यति एउटा म राम्रो भएकाले यो देश अहिलेसम्म बाँचेको हो, नत्र यिनीहरुले उहिल्यै बेचेर खाइसक्थे । धन्य म छु र देश छ ।

प्रकाशित: माघ २९, २०७५

ट्याग: झटारो