दुई हिरोको मित्रता

- नेपाल संवाददाता

बलिउडमा नायकद्वय शाहरूख खान र सलमान खानको टकरावजस्तै नेपाली चलचित्रमा दुई चर्चित नायकको टकरावले सधैँ चर्चा पाउँछ । स्टारडमको लडाइँले नायक अनमोल केसी र प्रदीप खड्काबीच मात्र होइन, प्रशंसकबीचमा समेत तिक्तता देखिन्छ । तर पछिल्लो समय भने यी दुई नायकको निकटताको चर्चा हुन थालेको छ । प्रदीपले नायक अनमोलको १७ फागुनदेखि रिलिज हुन लागेको फुटबल खेलको उतारचढावमा आधारित चलचित्र क्याप्टेनलाई फेसबुक स्टाटसमार्फत शुभकामना दिएका छन् । उनले चलचित्रको ट्रेलर आफूलाई निकै मन परेको भन्दै अनमोलको प्रशंसामा शब्द खर्चिएका छन् । यसअघि अनमोल र म साथी मात्र रहेकामा अब दाजुभाइ भएको धारणा व्यक्त गरेका छन् । त्यसको केही दिनपछि नायक अनमोलले पनि प्रदीपलाई धन्यवाद दिँदै उनको २२ चैतमा रिलिज हुने लभ स्टेसनलाई अग्रिम शुभकामना दिएका छन् ।

प्रकाशित: माघ २८, २०७५