फ्रेन्च निर्देशकको नेपाली नाटक

- नेपाल संवाददाता

१८ माघदेखि सर्वनाम थिएटरमा चलिरहेको छ, पिँजडाकी चरी । यद्यपि, यो नाटकका निर्देशक भने फ्रेन्चभाषी हुन् । सर्वनामका कलाकारसँग मिलेर फ्रान्सको थिएटर डेला अर्डिनेरका निर्देशक म्याक्सिम सिसडले नाटक मञ्चन गरेका हुन् । नाटकमा थारु समाजमा आधारित कमलरी प्रथालाई देखाइएको छ । नेपाली भाषामा नाटक बनाउनु चुनौतीपूर्ण भए पनि कलाकारको सहयोग र बुझाइले सहज भएको निर्देशकको अनुभव छ । “कलाको कुनै भाषा हुँदैन, यो एउटा नाट्य प्रस्तुति मात्र होइन, अभियान पनि हो,” सिसड भन्छन्, “विश्वकै रंगकर्मीलाई एउटै सूत्रमा बाँध्ने क्रमको निरन्तरता हो ।” मनोज महर्जन, भूमिका थारु, सुनिता बाडे र पाश्लाक्पा शेर्पाको अभिनय रहेको नाटक ४ फागुनसम्म चल्नेछ ।

प्रकाशित: माघ २८, २०७५

ट्याग: नाटक