बेथानमा खसालिएको पर्चा

- मीना पाण्डे

राणा शासन अवसान भएसँगै बाबा भक्तबहादुर खड्काको नेता बीपी कोइरालासँग २००८ देखि संगत थियो । बाबाले बीपीको नेतृत्वमा प्रजातन्त्रका लागि भएका संघर्षको इतिवृत्तान्त हामीलाई पनि घरमा सुनाउनुहुन्थ्यो । प्रजातन्त्रका लागि बीपीले पाएको दु:खका पोका बाबाले फुकाउँदा मैले धैर्यसाथ सुन्न छुटाउँदिनथेँ ।

०१६ जेठमा गठित कांग्रेसको बहुमतप्राप्त सरकारको नेतृत्व गरेका बीपीलाई राजा महेन्द्रले सैनिक बलमा अपदस्थ गरे । पञ्चायत व्यवस्थाका समर्थकहरुले कांग्रेस कार्यकर्तालाई अनेक दु:खकष्ट दिन थाले । प्रजातन्त्रवादीलाई अराष्ट्रिय तफ्वको पगरी भिराइन्थ्यो । राजा महेन्द्रले जनमतबाट चुनिएका बीपीलाई बिनाअभियोग बन्दी बनाए । कांग्रेसविरोधीलाई साथसमर्थन दिन र आफ्ना पक्षधरलाई उक्साउन पञ्चायती शासनका औजार प्रयोग गरिन्थ्यो ।

विसं २०१८ को घटना हो । त्यतिबेला म ४ कक्षामा पढ्थेँ, रामेछापको कुशेश्वर प्रावि, बेथानमा । हामीहरु कक्षा सकाएर दिउँसो १ बजेको खाजा खान स्कुल मैदानमा बसेका थियौँ । आकाशमा फन्को मार्दै हेलिकप्टर घुमिरह्यो, स्कुल वरपर । हेलिकप्टरले आकाशबाटै सेतो कागजमा लेखेका पर्चा छर्‍यो । छरिएकामध्ये केही स्कुलको मैदानमा पनि झरे ।  त्यसमा के लेखिएको रहेछ भनेर जान्ने उत्सुकता ममा बढ्यो । दुई प्रति हातमा लिएँ  । पछि कक्षाकोठामा गएर झोलामा राखेँ ।

स्कुल बिदा भएपछि झोलामा राखेका ती पर्चा पहिले बाबा र दाजु शिवबहादुर खड्कालाई देखाएँ । दाजुचाहिँ त्यतिबेला काठमाडौँको त्रिचन्द्र कलेज पढ्थे । उबेला स्ववियु अस्तित्वमा आइसकेको थिएन । अञ्चलस्तरीय विद्यार्थी संगठन भने हुन्थे । दाजु पहिलो पटक  २०२० मा त्रिचन्द्रमा भएको चुनावमा कांग्रेस समर्थक विद्यार्थीबाट अध्यक्ष चुनिएका थिए ।

त्यो पर्चामा कांग्रेसलाई अराष्ट्रिय तत्त्व भनेर लेखिएका संकेत चिह्न थिए । कांग्रेस समर्थक र प्रजातन्त्रवादीलाई सहयोग नगर्न स्थानीय जनतालाई चेतावनीसहितको पञ्चायती शासनले उबेला नेपालभर हेलिकप्टरमार्फत खसाएर प्रचार गरेको रहेछ । यो कुराको जानकारी मलाई बाबाले दिनुभयो । त्यसपछि मात्र मैले कांग्रेस र प्रजातन्त्रबारे अलिअलि चासो दिन थालेकी हुँ । मंगलादेवी सिंह, शैलजा आचार्य, साहाना प्रधानजस्ता नेतृहरुका त्याग र बलिदानीका संघर्षका कथा पनि बाबाबाटै सुनेँ । त्यसकारण मलाई बच्चैदेखि प्रजातन्त्र र कांग्रेसप्रति लगाव बढेको हो ।

बेथानमा ५ कक्षा सकाएपछि म दाजुसँगै अध्ययन गर्न काठमाडौँ आएँ, २०२५ मा । त्यसपछि ६ कक्षामा भर्ना भएँ । दाजु शिवबहादुरसँग हालका कांग्रेस सभापति शेरबहादुर देउवाको हिमचिम गाढा थियो । दाजुको संगत कांग्रेसका नेताहरुसँग पनि रहनुले मलाई नेविसंघको राजनीति गर्न त्यति धेरै झमेला मोल्नुपरेन । नेविसंघ होस् वा कांग्रेस, राजनीतिक रुपमा अगाडि बढ्न पारिवारिक सहयोग र साथ हरदम पाइरहेँ ।

माध्यमिक विद्यालयको पढाइपछि ०३२ मा महिलाले मात्र अध्ययन गर्न पाउने काठमाडौँ बागबजारको पद्मकन्या क्याम्पस (पीके) मा भर्ना भएँ । ०३७ मा पीकेबाट स्नातक सकाएँ । पञ्चायती शासनको मध्य समय, ०३६ मा विद्यार्थी आन्दोलन भयो । हामीले शिक्षामा सुधार, कलेजमा स्ववियु गठनलगायतका ३६ सूत्रीय माग राखेर त्रिभुवन विश्वविद्यालयविरुद्ध आन्दोलन गर्‍यौँ । त्यो आन्दोलनमा म पक्राउ परेँ । दुई महिनाजति सेन्ट्रल जेलमा बन्दी बनाइएँ । जेल बस्दा तनाव पनि भोग्नुपर्‍यो, कांग्रेस समर्थक भएकै कारण । विद्यार्थीले उठाएका माग सुन्न बाध्य भए, पञ्चायती शासक र त्रिवि प्रशासन । त्यसैको परिणाम– सरकारी तथा निजी कलेजमा स्ववियुले वैधानिकता पायो । ०३६ को पहिलो स्ववियु निर्वाचनमा म पीकेबाट अध्यक्ष चुनिएँ ।

(पाण्डे नेपाली कांग्रेसकी नेतृ हुन् ।)

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: माघ २८, २०७५

ट्याग: स्मरण