पूर्वाधारमा फड्को

- जे पाण्डे/नेपालगन्ज

दाङ देउखुरी उपत्यकास्थित लमहीमा महिला क्रिकेट मैदान निर्माण भएसँगै सुदूरपश्चिम प्रदेशकी क्रिकेटर मन्जु बोगटी उत्साहित छिन् । पहाडी जिल्ला बैतडीकी मन्जुले देउखुरी क्रिकेट मैदानमा छक्कासमेत हानिसकिन् । क्रिकेट मैदान भारतीय स्तरको छ । थोरै लगानी थपे अन्तर्राष्ट्रिय मापदण्ड चुम्न सक्छ । वरपरको प्राकृतिक सौन्दर्यले मैदानलाई झनै मनमोहक तुल्याएको छ । क्युरेटर प्रफुल्ल प्रधान भन्छन्, “यसले व्यावसायिक क्रिकेट खेलको मार्गप्रशस्त गरेको छ, दक्षिण एसियाकै नमुना बन्न सक्छ ।”

सुपादेउराली, अर्घाखाँचीको प्रख्यात धार्मिक स्थल हो । सडकबाट निकै माथि चट्टानमा लाहुरे टाँसिएको निशान देखिन्छ । तल अर्को पहरो छ । त्यही पहरो खुर्केर भलिबल मैदान बनाइएको छ, जहाँ बाँसका दुई खम्बामा जाली झुन्डाएर खेलाडीहरू आफ्नो सीप तिखार्छन् । यसले खेल विकासप्रतिको भावना र लगाव छर्लंग पार्छ ।

दाङको कराँते एकेडेमी त खोलामाथि छ । सानो खोलाको प्राकृतिक प्रवाह अवरुद्ध नहुने गरी १ करोड लागतमा एकेडेमी निर्माण थालिएको हो । तुलसीपुर उपमहानगरपालिका–६ स्थित एकेडेमीमा अन्य खेलका स्पर्धासमेत हुन सक्छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगी भन्छन्, “खोलामाथिको एकेडेमीमा इन्डोर सबै खेल खेल्न मिल्छ ।”

बर्दिया भुरिगाउँस्थित हात्ती, गैँडा र बाघजस्ता वन्यजन्तु विचरण गर्ने जंगलछेउ खोखो एकेडेमी निर्माणपछि खेलाडी गोपीप्रसाद तिमिल्सिना अचम्मित छन् । भन्छन्, “कि राजधानी कि त सहर, सबै लगानी उतै केन्द्रित हुन्थ्यो । यसपालि सपनामा पनि सोच्न नसक्ने कुरा भयो ।”

महेन्द्र राजमार्ग नजिकैको जंगलछेउमा १ करोड ७६ लाख लगानीमा खोखो एकेडेमी निर्माणले ठाकुरबाबा नगरपालिकाअन्तर्गतका २५ विद्यालयका विद्यार्थी पनि हौसिएका छन् ।

नेपालगन्जस्थित महेन्द्र रंगशालाको त स्वरूपै फेरिएको छ । फुटबल मैदान होस् वा प्यारापिट, सबै नयाँ । त्यसमाथि पनि चीनबाट ल्याइएको ग्रान्ड स्ट्यान्ड प्यारापिटले खेलाडी र दर्शकको मनै लोभ्याउँछ । ३ हजार ५ सय दर्शक क्षमताको उक्त प्यारापिट नेपालकै पहिलो हो ।

यी केही उदाहरण मात्र हुन् । खेल इतिहासमै प्रदेश ५ का बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही, पाल्पालगायतका जिल्लामा खेलकुदका धेरै पूर्वाधार जोडतोडसाथ निर्माण भइरहेका छन् । अधिकांश पूर्वाधार सम्पन्न भइसकेका छन् भने कुनै निर्माणाधीन अवस्थामा छन् । खेलकुद समीक्षकहरू भन्छन्, “शरदचन्द्र शाहले १४ वर्षमा नगरेको विकास ३ वर्षमा भयो ।”

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिँदा प्रदेश ५ खेलमा छलाङ मार्ने भाग्यशाली भएको छ । झन्डै डेढ अर्ब रुपैयाँ यसै प्रदेशमा खन्याइएको छ । बुटवलमा लङटेनिस कोर्ट निर्माण भएको छ भने दाङमा बास्केटबलको । पहिले काठमाडौँलाई केन्द्र मानेर गरिने खेल विकासको बजेट अहिले समानुपातिक रूपमा बाँडफाँट गरिएको छ । “जहाँ जुन खेलका खेलाडी बढी छन्, त्यहाँ त्यसैको पूर्वाधार निर्माण गर्दै छौँ,” राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट भन्छन्, “बितेका ५० वर्षमा २ अर्ब रुपैयाँ खेलमा लगानी भएको इतिहास छैन, अहिले ४ वर्षमा ५ अर्ब लगानी भएको छ ।”

विष्टका अनुसार प्रदेश ५ कै गुल्मीमा ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा ३० हजार दर्शक क्षमताको लखन थापा रंगशाला निर्माण भइरहेको छ । त्यसका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने तीन वर्षभित्र सबै भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य छ । राष्ट्रिय खेलकुद परिषद् प्रदेश ५ का अध्यक्ष भीम ओली भन्छन्, “पूर्वाधार निर्माणमा छलाङ त मारेकै छौँ । पदक चुम्ने प्रतिस्पर्धामा पनि अग्रगामी हुने दौडमा छौँ ।”

प्रकाशित: माघ २७, २०७५