‘म्यान अफ द सिरिजमा मेरो नाम बोलाउँदा विश्वासै लागेन’– अविनाश बोहरा

- मनबहादुर बस्नेत

सल्यानका अविनाश बोहरा, २१, तीन दिवसीय टी–ट्वान्टीको डेब्यु खेलमै दुबईको घरेलु टिमलाई हराउँदा ‘म्यान अफ द सिरिज’ भए । अविनाशसँगको कुराकानी :

घरेलु लिगमा ठूलो सफलताबिनै एक्कासि अन्तर्राष्ट्रिय उपलब्धि हात लाग्यो नि ?

चार वर्षदेखि निरन्तर मिहिनेत साथ क्रिकेट खेलिरहेको छु । घरेल लिग खेल्दा राम्रा टिम र खेलाडी प्रतिस्पर्धी थिए । यसले आत्मबल दियो । सिक्ने मौका मिल्यो । पारस खड्काले सधैँ सकारात्मक कुरा मात्रै सिकाउनुभयो ।

राष्ट्रिय टिमबाट डेब्यु खेलमै यत्रो व्यक्तिगत सफलता पाउने अपेक्षा थियो ?

मैले नै पाउँछु भन्ने सोचेको थिइनँ । म्यान अफ द सिरिजमा मेरो नाम बोलाउँदा विश्वासै लागेन ।

क्रिकेटर बन्नुको खास कारण ?

बच्चादेखि खेल्थेँ । तर म आर्मी (भारतीय) बन्न चाहन्थेँ ।

आर्मीको सपना देख्ने ठिटो कसरी बल ब्याट समात्न पुग्यो ?

सेनामा भर्ना हुने केही कागजात बनेनन् । त्यसपछि पूर्ण रुपमा क्रिकेट खेल्न लागियो ।

आर्मी बन्न नपाएकामा दु:लाग्दैन ?

बिल्कुल लाग्दैन । सेनामा भर्ती भएको भए यो तहको सफलता पाउँदिनथेँ होला ।

आजीवन क्रिकेटमै बिताउने ?

क्रिकेटबाहेक अर्थोक सोचेकै छैन ।

खेलेर जीवन निर्वाह गाह्रो हुन्न ?

छ,बिस्तारै आर्थिक र पारिवारिक जिम्मेवारी बढ्छ । सरकारले खेलमा राम्ररी लगानी गरिदिए हुन्थ्यो । किनभने, खेल र खेलाडीले विश्वमा देशलाई चिनाउने गर्छन् । नेपालको नामै नसुनेकाले पनि क्रिकेटमा पाएको उपलब्धिले चिनिरहेका छन् ।

आफ्नो खेलमा कुनै कमजोरी ?

हाम्रो फिटनेस अन्य अन्तर्राष्ट्रिय खेलाडीको दाँजोमा राम्रो छैन । ममा त्यो कमजोरी देख्छु ।

अबको लक्ष्य के ?

विश्वकपट्रफी उचाल्ने ।

प्रकाशित: माघ २७, २०७५

ट्याग: अचानक