‘मिस–कास्टिङ’को सिकार

फिल्म : समर लभ | रेटिङ : २/५

- गोकर्ण गौतम

नेपाली साहित्य भन्नासाथ नाक खुम्चाउने सहरिया युवकयुवतीले समेत औधि रुचाए, सुविन भट्टराईलिखित उपन्यास समर लभ । युवकयुवतीको कथा तिनकै भाषा र लवजमा लेखिएको जो थियो । तन्नेरीको ढुकढुकी बनेको यही उपन्यासमाथि फिल्म बनेको छ । नेपाली साहित्य नरुचाउने र नेपाली फिल्म हेर्न हल नधाउने समूहको ध्यानाकर्षण गराउने ल्याकत भने मुस्कान ढकाल निर्देशित फिल्म समर लभले राखेन । 

उपन्यास पढ्दा कथा र पात्रले एकाकार गरेझैँ फिल्म हेर्दा दृश्य र कलाकारले आशातीत तान्दैनन् । सोझै भन्दा, फिल्मले उपन्यासलाई जीवन्त बनाउन नसक्नुमा मुख्य कलाकारद्वय आशिष पिया र रेवती क्षत्रीको भूमिका छ । तथापि अन्य स्वदेशी लभस्टोरी फिल्मभन्दा समर लभ निम्छरो छैन । ढकालले फिल्मको आधारभूत संरचना नाघेका छैनन् । उपन्यासको कदमा नपुग्ने मात्र हो ।

विराटनगरको अतीत शर्मा (आशिष) र काठमाडौँकी रैथाने साया शाक्य (रेवती)को स्नात्तकोत्तर पढ्नेक्रममा कीर्तिपुरमा भेट हुन्छ । सायालाई प्रत्यक्ष नदेखी नामबाटै मोहित हुन्छन् अतीत । उनीहरुको जात मिल्दैन, मन मिल्छ । लुकेर बिहे पनि गर्छन् । त्यसपछि सायाको परिवार बाधक बनिदिन्छ । सम्बन्धमा दरार आउँछ । अतीत र सायाको प्रेम यही टुंगिएला त ? यसको क्लाइमेक्स उपन्यासभन्दा अलग छैन ।

सुविनले शब्दमार्फत अतीत र सायाको सम्बन्ध प्रेमिल ढंगले पस्केका थिए । छोटा र अनुप्रास मिलेका संवादले उत्तिकै तान्थ्यो । पढिरहँदा पाठकको मस्तिष्कमा दृश्य आफैँ निर्माण हुन्थ्यो । सामीप्यराज तिमिल्सिना उपन्यासको यो शक्तिलाई पटकथामा उतार्न धेरै हदसम्म सफल छन् । मूलकथासँग सरोकार राख्ने घटनाक्रम छुटाइएको छैन । बरु अतीत र सायाबीच प्रेम बीजारोपण उपन्यासझैँ फिल्ममा रसिलो लाग्दैन । निर्देशकले पात्रलाई ती सबै ठाउँमा पुर्‍याएका छन्, जहाँ–जहाँ उपन्यास घुम्थ्यो, नेपाल यातायात, कीर्तिपुरको माहोल, क्यान्टिन, जय नेपाल हल, बानेश्वरको रोड । मिलन–विछोडको शैली पस्कने तरिका पनि कमसल लाग्दैन । तर समस्याको स्रोत उही हो, मुख्य पात्र । 

सामान्य प्रभावित नभई हुबहु उतारिएकाले समर लभलाई उपन्यासभन्दा अलग राखेर हेर्न सकिन्न । तर फिल्मका आशिष र रेवतीमा उपन्यास पढ्दा पाठकले कल्पना गर्ने अतीत र साया अपरिचितझैँ लाग्छन् । अभिनयमार्फत आशिष र रेवतीलाई यो अभावपूर्ति गर्ने अवसर थियो । विडम्बना ! यसमा पनि यो जोडी चिप्लेको छ । सुरुआती दृश्यबाटै अपरिपक्व र अस्वाभाविक अभिनयबाट प्रताडित छन्, आशिष । हुलिया मात्र होइन, भाववभंगिमा र संवाद बोल्ने शैली पनि विश्वसनीय लाग्दैन । यही अनुपातमा त होइन तर रेवती पनि सायालाई आत्मसात गर्न असफल छिन् । उनीहरुमा खट्कने पक्ष यत्ति मात्र होइन । उपन्यासका अतीत र सायालाई एकछिन बिर्संदा पनि आशिष र रेवतीको जोडी सुहाएको छैन । जबकि हिरो–हिरोइनको ‘केमेस्ट्री’ जमेन भने रोमान्टिक फिल्म समेत रोमान्टिक लाग्दैन ।

उपन्यासमा साया नेवार हुन्छिन् । त्यो पात्रको जात मात्र थिएन, कथानकमा पनि भूमिका थियो । तर व्यवहार, लुक्स, लवज कहीँकतैबाट साया नेवार लाग्दिनन् । न उनका बाबु बनेका ओम प्रतीकमै नेवारको झल्को आउँछ । उपन्यासको पात्रप्रति निर्देशक ढकालको अन्यायको रुपमा बुझ्नुपर्छ यसलाई । पात्र चयनमा चुकेपनि दृश्यलाई सिलसिलेवार शैलीमा बुन्ने मामलामा ढकाल सफल देखिन्छन् । उपन्यासको ‘रोडम्याप’भन्दा बाहिर गएका छैनन्, न त फिल्मको आधारभूत संरचनालाई नै भुलेका छन् । नेपालमात्र होइन, विदेशमा पनि झारा टार्ने नियतले खिचिएको छैन । यसका लाागि सिनेमाटोग्राफर सञ्जय लामा प्रशंसाका हकदार हुन् । आफ्नो खिचाइमार्फत दृश्यको भाव प्रभावकारी बनाउन यथासक्य प्रयास देखिन्छ उनको । मध्यान्तरपछि भने ज्यादै तन्काइएका छन् । ‘फ्ल्यासब्याक’ले ठाउँ–ठाउँमा झर्को लाग्छ । उस्तै आशय दिने केही दृश्य दोहोरिएका छन् । ढकाल निर्देशित नाई नभन्नु ल ३ मा पनि यस्तै समस्या थियो । 

नम्रता सापकोटाको भूमिका छोटो भए पनि अभिनय स्वाभाविक छ । सुरजसिंह ठकुरीको उपस्थिति पनि शानदार लाग्छ । आशिष र रेवतीलाई पनि दर्शकले यसरी मायालु पाराले आत्मसात् गर्न सक्ने स्थिति बनेको हुँदो हो त, समर लभको शानै बेग्लै हुन्थ्यो तर मुख्य कलाकारको अभिनय बनावटी हुँदा निर्देशकले भन्न खोजेको कुरै अपुरो हुँदोरहेछ । कलाकारकै पर्फमेन्स सहज नभएका यस्ता दृश्य भरमार छन् फिल्ममा । फलत: न पात्र रुँदा दर्शकमा करुणा जाग्छ, न त प्रेम गर्दा उत्साह नै । बरु गीतलाई ‘न्यारेटिभ’कै एउटा भागका रुपमा प्रयोग गरिएको छ । पाश्र्व ध्वनिचाहिँ ‘लाउड’ लाग्छ । फिल्मको गुण–अवगुणको पहिलो भागीदार निर्देशक हो । ‘मिस–कास्टिङ’को जिम्मेवार पनि उनै हुन् । त्यसैले समर लभबाटै ढकाललाई धाप मार्न सकिने अवस्था छैन । तर पात्र सुहाउँदो र क्षमतावान कलाकारलाई काम गराउने हो भने उनले अब्बल फिल्म बनाउन सक्छन् भन्ने छनकचाहिँ प्रशस्त मिल्छ ।

उपन्यासझैँ फिल्मले मायावी संसारमा लाँदैन । त्यसैले समर लभ पढेकालाई फिल्मले सन्तुष्ट नबनाउन सक्छ । उपन्यास नपढेका र अहिले बनिरहेका नेपाली लभस्टोरी फिल्मका पारखीलाईचाहिँ रुचिकर लाग्नसक्छ ।

 

प्रकाशित: माघ २५, २०७५