पढ्नु र लेख्नु मुस्किल छ

- मैत्या घर्तीमगर

रुकुम तकसेराका लेकहरूमा स्कुल छन्, तर नाम मात्रका । संगीतकार आभासले त्यसै लेखेका होइनन्– कुहिरोभित्र स्कुल पढ्नु लेख्नु मुस्किल  चिसोबाट बच्न झ्याल साना राखिएका छन् । कक्षाकोठामै अँधेरोको साम्राज्य छ ।

स्थानीयले आफ्नै पहलमा बिजुली बत्तीको प्रबन्ध गरे । त्यो साँझ ७ देखि बिहान ७ बजेसम्म मात्रै बल्छ । तपाईं यो तस्बिरमा देख्न सक्नुहुन्छ– खुला चौरमा परीक्षा दिइरहेका छन्, विद्यार्थी । कोही सुतेर, कोही पल्टेर, कोही पलेटी कसेर ।

विकट गाउँका विद्यार्थीका लागि स्कुल मात्रै दिनचर्या हुने कुरै भएन । बारीमा फल्ने मकै–आलु तिनका गृहकार्य हुन् । चरनका भेडा–बाख्रा तिनका साथीसंगी ।

सहिद सुनिल मार्ग हुँदै तकसेरा प्रवेश गर्नुपूर्व बाटोको इलाका प्रहरी कार्यालयमा नाम टिपाउनुपर्छ । यहाँ माघे संक्रान्तिमा धनुषवाँण हान्ने प्रतियोगिता आयोजना गरिन्छ, त्यसमा बालकदेखि वृद्धसम्म सहभागी हुन्छन् ।

प्रदेश–५ को रुकुम–पूर्व समुद्र सतहबाट ६ हजार मिटर उचाइमा रहेको रमणीय हिमाली जिल्ला हो । यसको पूर्वमा म्याग्दी र बाग्लुङ, पश्चिममा रुकुम–पश्चिम, दक्षिणमा रोल्पा र उत्तरमा डोल्पा पर्छ । रुकुमकोटस्थित कमल दह, शिवालय, देउराली गुफा, मैकोटस्थित पुथा हिमाल, सामझाङ हिउँचुली, सिस्ने हिमाल, ढोरपाटन सिकार आरक्ष आदि रुकुमका प्रसिद्ध पर्यटकीय गन्तव्य हुन् । विशेषगरी खामभाषी मगर समुदायका सांस्कृतिक झलक अध्ययन–अनुसन्धान र पर्यटकीय दृष्टिले आकर्षक छन् ।

५२ पोखरी ५३ टाकुरीको जिल्लाको रुपमा पनि परिचित छ रुकुम । दुर्लभ नाउरलगायतका वन्यजन्तु अवलोकनका लागि मात्रै पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । जडिबुटी उपलब्धताका आधारमा मात्र नभई जीवनशैलीले पनि यस क्षेत्रलाई अन्य ठाउँका तुलनामा भिन्दै सौन्दर्य थपेको छ ।

हप्तौँसम्म कपास बिच्छ्याएजस्तै सेताम्य हिउँको तन्नाले मोहकता बढाउँछ नै, चिसोले कठ्यांग्रिने समस्या पनि उत्तिकै रहन्छ । तर स्थानीय हिउँमै खेलेर मजा लिन छाड्दैनन् ।

काठमाडौँबाट झन्डै तीन दिने यात्रामा पुगिने यो जिल्लामा बिस्तारै प्रविधि प्रवेश गर्दै छ । मोबाइलमा फिल्म हेरिरहेका बालकको कपाल कटाइको तौरतरिका देख्दा नयाँ पुस्ता फेसनमुखी हुने संकेत मिल्छ ।

तस्बिरहरु हेर्नुहोस् :

शब्द/तस्बिर : मैत्या घर्तीमगर

प्रकाशित: माघ २४, २०७५

ट्याग: दृश्य