फेरि रमण घिमिरे

पुस्तक : सूत्रधार | लेखक : रमण घिमिरे | प्रकाशक : वसन्त चौधरी फाउन्डेसन | पृष्ठ : २८४ | मूल्य : ३२५ रुपैयाँ

- राजकुमार बानियाँ

नागरिकको हकमा नेपाली होइनन् तर हुन्, नेपालको मिथिला रंगमञ्चका अवतारपुरुष । भारतको मघौनी जिल्लाबाट ०२२ मा भूगोल शिक्षकका रुपमा जनकपुर छिरेका उनको रंगयात्रा अद्यापि जारी छ । उनका नाटकमा मैथिल समाजको असंगति छर्लंग हुन्छ । नाटकमार्फत उनले महिलामुक्तिका तीन मन्त्र दिएका छन्– अड्नु, लड्नु र मर्नु ।

कलासमीक्षक रमण घिमिरेले ७३ वर्षीय रंगकर्मी महेन्द्र मलंगियालाई यसैगरी चिनाएका छन्, सूत्रधार (प्रतिनिधि रंगकर्मीका कुरा) मा । किताबमा नेपाली रंगमञ्चका १५ स्रष्टाका जीवन र संघर्ष, शिल्प र शैलीलगायत विविध प्रसंग समेटिएका छन् । रंगकर्म नै तिनको जीवन हो, जीवन नै रंगमञ्च । अलगअलग व्यक्तिचित्र नै भए पनि यो सिंगो नाट्यग्रन्थ बन्न पुगेको छ ।

‘ए फूल चुँडेर लाने हो...,’ ‘देउरालीका ठिटी हो...,’ ‘सारंगीको तारले...’ आदि जनजिब्रोमा बसेका गीत एउटै नाटकका हुन् । चार दशक पुरानो नाटक ‘अनि देउराली रुन्छ’ का स्रष्टा मनबहादुर मुखिया आफैँमा किंवदन्ती बनिसकेका छन् ।

स्कुले जीवनमा पढाइमा खासै जाँगर नचलाउने अनुप बरालले फिल्म नगरीका राजेश हमालदेखि बीएस राणासम्मलाई रंगमञ्चमा उतारेर उधुम मच्चाइदिए ०७२ मा । थिएटर भिलेजमा उनले देखाएको त्यो नाट्यकला उच्चकोटिको मानियो ।

पेन्टिङ पढेर अभिनयमा हाम फालेका वीरेन्द्र हमाल, ‘सेल्फ मेड’ अभिनेत्री लक्ष्मी श्रेष्ठ हुन् वा महिला भेषमा रंगमञ्चमा देखिने जमानाका हरिप्रसाद रिमाल र श्यामदास वैष्णव वा रेडियो नाटकका मदनदास श्रेष्ठ । मन लागेको नाटक, मन लागेका बेला गर्न अशेष मल्ल क्याम्प छाड्ने सुनील पोखरेल हुन् वा पुतलीघरकी नोरा निशा शर्मा पोखरेल, कदमा होचा तर रंगकर्ममा अग्ला प्रचण्ड मल्ल अनि ११ वर्षको उमेरमै रंगमञ्चसँग नाता जोड्ने शकुन्तला गुरुङ शर्मा, मालती–मंगलेका मंगले हरिबहादुर थापा, औपचारिक शैलीका हरिहर शर्मा, सर्वनामका अशेष मल्ल । सबै पात्रको आ–आफ्नै विशिष्ट योगदान छ नेपाली रंगमञ्चमा । आफैँले नाटक लेखेका छन्, खेलेका छन्, निर्देशनमा उत्रिएका छन् ।

१२–१३ सय वर्ष पहिले लिच्छविकालीन डबलीमा सुरु भएका रामायण, भैरवानन्द नृत्य अनि मल्लकालीन राघवानन्द, महाभारत नृत्यनाटक हुँदै अहिलेसम्म आइपुग्दा नेपाली नाटक समृद्ध भइसकेको अवस्था छ । दर्जनौँ कलाकार, थिएटर अनि नाट्यपाठशाला स्थापना यसका यथेष्ट प्रमाण हुन् । प्रविधिले नाटकलाई सुगम त बनाएको छ नै, चुनौती पनि उत्तिकै थपिदिएको छ ।

रमण घिमिरे यस्ता दीर्घसेवी कला समीक्षक हुन्, धेरैजसो नेपाली कलाकारको पहिलो अन्तर्वार्ता उनले नै लिएका रहेछन् । किताबमै मिथिला शर्मा र गौरी मल्लले त्यस्तो ‘क्रेडिट’ दिएका छन् पनि । पहिलो अन्तर्वार्ता लिने र दिएको सम्झने दुवैलाई गुणग्राही मान्नुपर्छ ।

घिमिरेको अर्को पक्ष पनि छ, यिनका बारेमा दशकौँदेखि पटक–पटक लेखिरहेका हुन्छन् । हरेकचोटि त्यही ‘पोजेटिभ टोन’ अभिव्यक्त हुन्छ । उनी यी पात्रहरुका आलोचनात्मक पक्ष ठ्याम्मै देख्दैनन् र लेख्दैनन् पनि । कतिपय अवस्थामा त प्रश्न पनि उठ्ला– के व्यक्तिका अनाकर्षक पक्ष नै हुँदैनन् ? तिनलाई आँखा चिम्लनु नै लेखकीय धर्म हो ? घुमिफिरी एकै व्यक्तिलाई कति प्रस्तुत गर्ने ?

अति शिष्ट र शालीन रुपमा प्रस्तुत हुनु रमणको वैयक्तिक विशेषता हो । उनका लेखनमा पनि त्यही लालमोहर लागेको छ । प्रश्नै सही, हरिहर शर्मा र शकुन्तला गुरुङ शर्मा, सुनील पोखरेल र निशा शर्मा पोखरेल दम्पती नै अटाउँदा समकालीन नाटककार सरुभक्त, मोहनराज शर्मा, अभि सुवेदीहरु उनका नजरमा ‘प्रतिनिधि’ नठहरिएकै हुन् ?

जसरी मानिसका गुण र अवगुण हुन्छन्, त्यसरी नै किताबका पनि शक्ति र सीमा भइहाल्छन् । शक्तिको चर्चा माथि प्रशस्त भइसकेको छ । फेरि पनि यस किताबको सीमा भनेकै पात्रहरुका अनाकर्षक पाटो केही पनि उल्लेख नहुनु हो । लेखकलाई पक्कै थाहा छ, लेखक र पात्रलाई अनाकर्षक लागेका पाटा नै पाठकका लागि ‘आकर्षक’ भइदिन्छन् । रंगकर्मी कुनै भगवान् होइन । उसका पनि सीमा पक्कै छन् । तिनको ‘कन्फेसन’ मा रमणजत्तिका पाका र मर्मज्ञले चासो नदिनु उचित होइन ।

र, यो पनि भन्नु मनासिव हुन्छ– रमणको अघिल्लो किताब एक दर्जन एक  पढिसकेकाका लागि ३० पृष्ठको रंगमञ्चको इतिहास र दुई पात्र मात्रै नौला रहनेछन् । दुई भाग्यमानी पात्रलाई अघिल्लो किताब पढेकाले चिनिहाल्छन् । खासमा यो किताब ‘एक दर्जन तीन’ पात्रप्रतिको कलमी अभिवादन हो ।

प्रकाशित: माघ २४, २०७५

ट्याग: पुस्तक