मिसिसिपी, गंगा र तमोर

- हाङयुग अज्ञात

  अमेरिकी लेखक एड्ना फर्बरले सन् १९२६ मा उपन्यास सो बोट लेखेकी थिइन् । एक वर्षपछि त्यो उपन्यासलाई प्रख्यात संगीतकार जेरोम केर्न र गीतकार ओस्कार हर्मेन्स्टाइन दोस्रोले गीतिनाटकमा अनुरुपण गरेका थिए । त्यही गीतिनाटकमा एउटा प्रेरणादायी गीत छ– ओल् मेन रिभर...। अर्थात्, 

माथि नहेर, अनि तल नहेर

सेतो मालिकले निधार खुम्च्याउँछ

तिमी दुस्साहस नगर

घुँडा टेक, डोरी तानिराख मृत्युपर्यन्त

बूढो मान्छे नदी बगिरहन्छ

लामो बूढो नदी अविरल बगिरहन्छ

यौटा बूढो मान्छे मिसिसिपी

मिसिसिपी नदीमा गीत गाउँदै, डुंगामा रमिता देखाउँदै हिँड्नेहरुको कथा हो सो बोट । ट्रान्सएट्लान्टिक दास उद्योगद्वारा काला जातिलाई अफ्रिकाबाट गोरा जातिले युरोप–अमेरिका लगेर सुर्ती, उखु र कपासको खेतीमा दले, श्रमशोषण गरे । युरोप–अमेरिकाको समृद्धिमा ती अफ्रिकीहरुको खुन, पसिना र नीलो आँसु छ । अफ्रिकाले त्यसको बदलामा पायो– रोग, भोक, गरिबी र गृहयुद्ध । मानव इतिहासमै दासप्रथा एउटा दु:खद यथार्थ हो । ०४६ पछि राज्यले नै उक्साएर फस्टाएको ’वैदेशिक रोजगार’ ट्रान्सएट्लान्टिक दास उद्योगकै नयाँ रुप हो । यसमा हाम्रो देश फसिसकेको छ । खाडी मुलुकहरु, दक्षिण कोरिया, मलेसियातिर समृद्धि आउनेछ, हाम्रो देशमा एउटा जमातले मात्रै समृद्धि चाख्नेछ । ‘रेमिट्यान्स’ ले देशमा समृद्धि आउने भए दुई सय वर्षदेखि बेलायतलाई लाखौँ नेपाली बेचेको नगदले त्यो ‘समृद्धि’ किन आएन ?

‘ओल् मेन रिभर’ ले मनमा यस्तै प्रश्न उब्जाउँछन् । मिसिसिपी नदीलाई एउटा बूढो मान्छेसँग तुलना गरिएको छ । मिसिसिपी नदी बगिरहन्छ, त्यसको किनारमा बसेर एउटा गायक ‘निग्रो दु:ख’ गाउँछ । किन रोकिँदैन मिसिसिपी ? जबकि दासहरुको जीवन अत्यन्तै दु:खदायी छ । यो गीत अफ्रो–अमेरिकी गायक पाउल रोब्सनले गाएका छन्, जो निग्रो ‘एक्टिभिस्ट’ पनि थिए । यही गीतलाई आसामका गायक भूपेन हजारिकाले ‘गंगा बेहेती हो क्यूँ ?’ बनाएर गाए । भनिन्छ– सन् १९४९ मा भूपेन हजारिका न्युयोर्कमा विद्यावारिधि गर्न गएका बेला रोब्सनसँग भेटेका थिए । नैतिकता नष्ट हुँदा पनि र मानवता भ्रष्ट हुँदा पनि गंगा किन निर्लज्ज बगिरहन्छ ? नरेन्द्र शर्माले कवितामा प्रश्न गरे, भूपेन हजारिकाले संगीत भरे, गाए । छुवाछूत र मानवीय विभेदलाई इंगित गरी बनाइएको यो गीत सडक आन्दोलनभन्दा बलशाली लाग्छ, सीधै मस्तिष्क र मुटुलाई समात्छ ।

सन् १९७३ मा बैरागी काइँलाको कविता आयो– ‘गंगा नीलो बग्छु’ । काइँल्दाइको कविताले धेरैको मथिंगल हल्लायो । उनले यस कवितामा अभिव्यक्तिका केही नौला जुक्ति प्रयोग गरेका छन् । यही कवितामार्फत चित्रात्मक भाषा भित्रियो । तेस्रो आयामिक आन्दोलनले या काँल्दाइले ‘गंगा नीलो बग्छु’ को ’रचनासस्पेन्स’ औपचारिक रुपमा बताएका छैनन्, बताउनुपर्छ भन्ने जरुरी पनि छैन । त्यसैले यस कवितामा प्रयोग गरिएको भाषा, शैली र शिल्पमाथि मात्रै बहसहरु केन्द्रित हुँदै आएका छन् । लम्बाइ, चौडाइ र उचाइ भएको ‘थ्री डी’ आधुनिक कविता भन्यो, सकियोस् एउटा प्राध्यापकीय फम्र्याट । चित्रकलाका लागि नीलो प्राय: दु:खको रङ हो । ‘नीलो रङ शान्तिको रङ’ द्वारा तालिमप्राप्त मस्तिष्कलाई ’गंगाको दु:ख’ ले छुने कुरा पनि भएन ।

अस्ति झुमा लिम्बूले ’हाक्पारे गीत’ सुनाएको कार्यक्रममा काइँल्दाइले ‘गंगा नीलो बग्छु’ बाट सार खिचेर बोले– इन्द्रबहादुर राई हाम्रो त उमेरमा पनि जेठा, विचारमा पनि नेता । एक दिन मैले उनलाई सोधेँ, ‘अनि हामीले यसरी परम्परा त्यागेर चम्कियौँ । साँच्चै हामीले परम्परा त्यागेकै हो ?’ उनले भने, ‘कुरा त ठीकै हो, तर बुझ्नु के ! खोला छङछङ बग्दै आउँछ र एउटा थोपा पानी कस्तो मजाले उछिट्टिन्छ । र, त्यहाँ पूरै इन्द्रेणी देखिन्छ । घाम पनि त्यहीँ अटाएको हुन्छ, सबैले मन पराउाछन् । खुसी हुन्छन् । अनि उछिट्टिएका पानी कहाँ खस्ने ? एक ठाउँमा त खस्नुपर्‍यो । माथि भित्ताको ढुंगामा ट्याप्प बस्छ । कतिन्जेल ? घाम चर्किएपछि सुक्छ । नसुक्नका लागि त्यहीँ खोलामा पस्नुपर्छ ।’ काइँल्दाइले कवितामा यही लेखेका छन् ।

एउटा सांस्कृतिक सिद्धान्तले भनेको छ– ‘संस्कृति एक्लै उभिरहन सक्दैन । वरिपरिका विविध संस्कृतिसँग संवाद गरेर, मिसिएर नयाँ संस्कृति बन्दै जान्छ ।’ तमोर मिल्ने कोसीमा हो, कोसी मिल्ने गंगामै हो, गंगा मिल्ने महासागरमै हो, फेरि महासागरको पानी बादल हुँदै तमोरतिरै वर्षा हुने हो । हामी सबै यो चक्रमा छौँ । तमोरको पानी मिसिसिपी नदीमा यसरी नै झर्न सक्छ, मिसिसिपीको पानी गंगामा झर्न सक्छ । तर तमोरमा झरेपछि मिसिसिपी तमोर भइजान्छ, मिसिसिपी पनि गंगा भइजान्छ । सबै नदी महासागर भइजान्छन्, सबै महासागर बादल भइजान्छन् ।

काइँल्दाइको अर्को ‘हाइभोल्टेज’ कविता छ– ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसँग’ । केही आलोचकहरु यो कवितालाई बंगाली कविताबाट ल्याइएको आरोप लगाउँछन् । तर त्यो बंगाली कविता अहिलेसम्म भेटिएको छैन । आरोप निराधार छ । ‘गंगा नीलो बग्छु’ कविताचाहिँ ’ओल् मेन रिभर’ या ‘गंगा बेहेती हो क्यूा  ?’ बाट प्रेरित भएर लेखिएको होला कि ! या संयोग मात्रै हुन सक्छ । मैलेचाहिँ काइँल्दाइको यही कविताबाट प्रेरित भएर ‘तमोर हरियो बग्छु’ लेखेँ । हामी सिर्जनशील अराजकताको प्रारम्भिक अभियानमा थियौँ । पहिचान खोज्ने जब्बर आन्दोलनमा थियौँ । हाम्रो आन्दोलनको ‘स्पिरिट’ बमोजिम तमोरको विम्बद्वारा आफूलाई व्यक्त गरेँ । उँभोउँभो जाँदा, तमोर त फक्ताङ्लुङसम्मै पुग्दो रहेछ ।

मानव ज्ञानको मुहान भूतकालमा हुन्छ । यसरी ज्ञान पहिल्याउँदै जाँदा वैज्ञानिकहरुले ‘बेबी युनिभर्स’ को तस्बिर पनि खिचिसके । ‘मान्छेको मस्तिष्कमा भएका स्मृति न्युरोनहरु नै त्यो ज्ञानको संवाहक हुन्’, न्युरोवैज्ञानिक डा रामाचन्द्रन भन्छन् । त्यसैले सृष्टि उत्पत्तिको कथा हरेक मानव समुदायमा भेटिन्छ । जराको खोज त्यही हो, हाम्रो जरा मुन्धुम हो । अझै खोज्दै जाँदा पृथ्वीका सबै मान्छे इथोपिया पुग्छन्, सबै मान्छेका आमा ‘लुसी’ नामको बाँदर जो हुन् । तर, प्रश्न उब्जिन्छ– यदि हामी सबै एउटै आमाबाट आएका हौँ भने किन छन् त अनेकन विभेद ? विभेद प्राकृतिक होइनन्, मानव निर्मित हुन्, सत्ता र शक्तिद्वारा नियोजित हुन्, आस्था या अन्धविश्वासद्वारा पक्षपोषित हुन् । र, यहीँबाट हामीले हिँड्न सुरु गर्‍यौँ ।

तमोरको दु:ख त गंगासम्म मात्रै होइन, मिसिसिपीसम्म मात्रै होइन, चीनको पहेँलो नदीसम्म रहेछ । चिनियाँ कवि ग्वाओङले सन् १९३९ मा ‘पहेँलो नदी’ नामक प्रसिद्ध कविता लेखेका थिए, जसलाई संगीतकार सियान सिङ्हाइले गीतको रुप दिए । ग्वाओङले यो कविता त्यतिबेला लेखेका थिए, जतिबेला जापानले चीन कब्जा गरेको थियो । यो गीतले चीन–जापान युद्धमा महत्त्वपूर्ण भूमिका खेल्यो । पहेँलो नदीको गीत गाउँदै हिँडेका चिनियाँ सेनाले अन्तत: जापानलाई पराजित गरिछाड्यो ।

तमोरको कविता पहिलोचोटि मैले ‘सिर्जनशीलहरुको नादङ’ राँकेमा सुनाएाजस्तो लाग्छ । भेलामा थाम्सुहाङ पुष्प सुब्बा, भवानी तावा, बसन्त बस्नेत आदि थुप्रै साथीहरु सहभागी थिए । चिसो राँकेको त्यस भेलामै साहित्य लेखनबारे तातो बहससमेत भएको थियो । ‘सिर्जनशील उत्तरवर्ती’ हरु यहीँबाट तात्तिए । थाम्सुहाङ पुष्पको दु:खेसो यहीँ सुन्न पाएा– ‘मलाई त तेस्रो आयामको कार्बनकपी भनेर सुरुमै बिताइहाले । त्यसपछि तेस्रो आयामको कविता चलाउन छाडेँ ।’ अग्रजका कविता चलाउनु भनेको यथास्थितिलाई चिर्दै अगाडि बढ्नु हो भन्ने नै लाग्यो । र, मैले इन्द्रबहादुर राई, बैरागी काइँला, ईश्वरवल्लभ र तुलसी दिवसका कवितालाई चलाइदिएँ ।

अन्त्यमा, उपनिषदमागुरुले चेलाहरुलाई अगाडि राखेर ज्ञान दिन्छन् । चेलाहरु सुन्छन्, थाहा पाउँछन्, त्यही ज्ञान हुन्छ । ‘केन उपनिषद्’ मा त चेलाहरु प्रश्न गर्छन्, गुरु उत्तर दिन्छन्, त्यही ज्ञान हुन्छ । ग्रीसेली ज्ञान परम्परा पनि प्रश्नोत्तर शैलीबाटै सुरु भएको पाइन्छ । विभिन्न व्यक्तिहरुले सोधेका प्रश्नको सोक्रेटसले जो उत्तर दिएका छन्, त्यो नै पाश्चात्य ज्ञान आर्जनको संरचना हो । मुन्धुममा ज्ञान आर्जनको संरचना प्रश्नोत्तर होइन, वर्णन कथा हो । त्यसैले हामीले भन्यौँ– ‘ज्ञानका निम्ति प्रश्न पनि गर्नुपर्छ है । वर्णनले चित्त बुझेन भने आफ्नै बाउलाई पनि प्रश्न गर्नुपर्छ है ।’ दहीजस्तो जमेको मस्तिष्कबाट ‘घिउ’ निकाल्न विचारको मन्थन जरुरी हुँदो रहेछ, बौद्धिक संस्कृतिमा बहस निर्विकल्प रहेछ । मञ्जुश्री थापाले ‘कार्निभल’ भनेर ‘हर्षोल्लास’ को संज्ञा दिन खोजे पनि इन्द्रबहादुर राईको प्रसिद्ध उपन्यास आज रमिता  एड्ना फर्बरकै सो बोट  चढेर आइरहेको देखिन्छ, जसमा टिस्टा अविरल बगिरहेकै देखिन्छ । किनारमा मान्छेहरु सुसाइरहेकै भेटिन्छन् । मिसिसिपीले निग्रोको आँसु पुछेको एक शताब्दी नाघ्यो, रेखिँदै लहरले स्वरहरु पानी भएर बैरागी काइँला गंगामा नीलो बगेको पनि आधा शताब्दी पुग्नै लाग्यो । तर, ’गंगा’ उस्तै बगिरहेछ–

अनपढ जन अक्षरहीन,

अनगिन जन खाद्य विहीन

अज्ञ विहीन नेत्र विहीन,

देख मौन हो क्यूँ ?

व्यक्ति रहे व्यक्ति केन्द्रित,

सकल समाज व्यक्तित्व रहित

निष्प्राण समाज को तोडती न क्यूँ  ?

– नरेन्द्र शर्मा   

प्रकाशित: माघ २४, २०७५

ट्याग: निबन्ध