प्रशासनयन्त्र बदल्ने पुस्तक

- भीमदेव भट्ट

पढ्ने–पढाउने सिलसिलामा घत लागेको किताब हो, थियरी अफ लोकल गभर्मेन्ट । एमए मुत्तालिब र मोहम्मद अकबर अली खानलिखित यो किताबमा स्थानीय प्रशासन र सरकारबारे सैद्धान्तिक व्याख्या गरिएको छ । किताबले संसारमा प्रचलित बेलायती, फ्रान्सेली र रुसी तीन मोडलबारे गहिराइमा बुझ्नुपर्ने कुरामा जोड दिन्छ । स्थानीय सरकारकै आधारमा केन्द्रीय सरकार उभिने सिद्धान्तलाई जोड दिएको यस पुस्तकले प्रशासनलाई दिशाबोध गराउन सक्छ । अंग्रेजी भाषा बोलिने र त्यसको प्रभावमा आएका दक्षिण अफ्रिका, अस्ट्रेलिया, उत्तरी अमेरिका र अफ्रिकामा बेलायती ढाँचा पाइन्छ, जसका विकेन्द्रीकरण र संसदीय परम्परा, समिति प्रथा आदि विशेषता हुन्छन् । फ्रान्सेली ढाँचा पश्चिमी युरोपका केही भाग, पश्चिम एसिया, उत्तर अफ्रिका र दक्षिण अमेरिकामा पाइन्छन्, जसमा राष्ट्रपतीय प्रणाली, केन्द्रीयकरण, कार्यकारीको प्रभुत्व, आदेशको शृंखला, पदसोपान संरचना र संसदीय आधिपत्य आदिलाई अंगीकार गरिन्छन् । रुसी ढाँचामा पूर्वी युरोप र संसारका समाजवादी मुलुक छन्, जसमा एकै नेताको नियन्त्रित हुने गर्छ । संसारमा प्रचलित प्रशासनको उद्भवबारे यो किताबले बलियो आधार दिन्छ तर कुन मोडललाई आत्मसात गर्ने भन्ने कुरा रुझान र दर्शनमा निर्भर रहन्छ नै ।

अहिले पनि कर्मचारी सोपानतन्त्रमा श्रेणीगत र तहगत विषयमा मतमतान्तर छ । श्रेणीको अवधारणा बेलायती हो भने तहको अवधारणा अमेरिकी । बेलायती उपनिवेशवादले प्रभाव क्षेत्रका शासन–प्रशासनमा आफ्नै मोडलको विचारलाई लाद्दै लगेको थियो । भारतमा बेलायती मोडल रहेकाले हाम्रोमा पनि श्रेणीगत सोपानतन्त्र लागू गरियो । कुन ढाँचामा जाने भन्ने स्पष्टताको अभावमा भाँडभैला देखा पर्छन् । अस्पष्टता चिर्न पनि यस्ता किताब पढ्नु उपयुक्त हुन्छ ।

फ्रेड डब्लु रिग्ग्सको इकोलोजी अफ पब्लिक एड्मिनिस्ट्रेसन  मलाई रोचक लागेको पुस्तक हो । चीनमा जन्मेर हङकङ हुँदै अमेरिका पुगेकाले पनि यी लेखकको अनुभव बहुआयामिक छ । अमेरिका बसाइमा सार्वजनिक प्रशासनको जिम्मेवारी र अध्ययनको अनुभव सँगालेकाले उनको ज्ञानमा आभ्यासिकता र प्रामाणिकता भेटिन्छन् । बन्द समाजको कठोर अनुशासनमा बाँधिएका व्यक्तिले अर्धबन्द तर मिश्रित समाजसम्म पुग्दा स्वतन्त्रताका केही अनुभूति टिप्न भ्याए । पछि ‘अवसरको भूमि’ को रुपमा परिचित अमेरिकाको विशाल र खुला समाजको शासन देखेपछि समाजहरुका प्रशासनबीच तुलनात्मक अध्ययन गरे । रिग्ग्सलाई पढेपछि लाग्छ– कोठामा थुनिएर मात्रै मानिस विद्वान् नहुने रहेछ, ज्ञानका लागि स्थलगत भ्रमण, अध्ययन–अनुसन्धानको खाँचो पर्दो रहेछ ।

 उनले दक्षिण एसियाली समाजलाई परम्परागत र अमेरिकी समाजलाई औद्योगिक मानेका छन् । अशिक्षा र गरिबीका कारण यताको समाज अझै धामी–झाँक्रीमा विश्वास गर्छ । चेपाङजस्ता जाति जंगली युगमै रहेकाले स्वास्थ्य, शिक्षाबाट वञ्चित छन् । ‘आगो हातले समात्ने, पानी चिम्टाले समात्ने’ जुम्लामा बसेर फर्किंदा दस–बीस जुम्रा बोकेर आउनुपर्छ । रिग्ग्सले आफ्ना किताबमा यस्ता पिछडिएका क्षेत्रका अप्ठेरा मात्रै प्रस्तुत गर्दैनन्, उच्च आधुनिक समाजदेखि फिलिपिन्स र थाइल्यान्डजस्ता उदाउँदा नयाँ राज्यको पनि चर्चा गर्छन् । तेस्रो मुलुकको सभ्यता पुरानो र अत्याधुनिकताको दोसाँधमा रहेकाले उनीहरु संक्रमणमा हुने दाबी गर्छन् उनी । जनता चेतनशील नभएसम्म राजनीतिक ढाँचा फेर्न नसकिने भएकाले सामाजिक–सांस्कृतिक संरचना बदल्नु मुख्य कुरा हो । कुनै पनि समाजको उत्थानमा आसपास परिस्थितिको भूमिका महफ्वपूर्ण हुने धारणा छ रिग्ग्सको । पारिस्थितिलाई सार्वजनिक प्रशासनसँग जोडिएकाले सिद्धान्तमा नवीनताको आभास मिल्छ । युद्धलाई नकारभाव जनाउँदै शान्तिमा जाने कुरा आएपछि गरिबलाई धनीहरुले सहयोग गर्ने अवधारणाअनुरुप संयुक्त राष्ट्रसंघको जन्म भयो । विपन्न वर्गलाई अभावबाट बाहिर निकाल्न कसै न कसैले हात दिनुपर्छ । अनुदान र आर्थिक विकासजस्ता पक्षमा रिग्ग्सले पुस्तकमा छलफलको ढोका खोलेका छन् ।

प्रणाली–दृष्टिकोणबारे लेखिएको इरा सर्कान्स्कीको पब्लिक एड्मिनिस्ट्रेसन पोलिसी मेकिङ इन गभर्मेन्ट एजेन्सीज्मा सार्वजनिक प्रशासनमा हुने लगानी र प्रतिफलमाथि विमर्श चलाइएको छ । शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा गतिलो नतिजा नआएको गुनासो गरेर मात्रै हुँदैन, सुरुमै कस्ता सामग्रीलाई प्रक्रियामा हालेका छौँ भन्ने सोच्नुपर्छ । लक्ष्यअनुसार प्रतिफल आए–नआएको जाँच्नुपर्ने धारणा राख्ने सर्कान्स्की नतिजामा चित्त बुझाउनुभन्दा प्रशस्त पृष्ठपोषण लिनुपर्ने तर्क गर्छन् । उनले आफ्नो सिद्धान्तलाई सार्वजनिक प्रशासनसँग जोडेर विश्लेषण गरेका छन् । उनको सिद्धान्त थाहै नपाई हामीले दैनिक जीवनमा अभ्यास गरिरहेका हुन सक्छौँ ।

 संस्था र राज्य बलियो बनाउने काम जहिल्यै मस्तिष्कले गर्छ । त्यसका लागि योग्य र असल मानिसको खाँचो पर्छ । प्रशासन र लोकसेवाको मेरो अनुभवले भन्छ– राम्रा मान्छेलाई निजामतीमा भित्र्याउनै सकेनौँ । हिजोभन्दा आज झन्झन् सक्षम जनशक्ति विदेसिएको छ । देशभित्रका पूरै प्रशासन क्षेत्र विभाजित छ । दलीयकरणले प्रदूषित कर्मचारीतन्त्र भ्रष्ट हुँदै छ । जिम्मेवार जनशक्ति–उत्पादन अध्ययनबाट मात्रै सम्भव छ ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: माघ २४, २०७५

ट्याग: तीन किताब