बस्, कांग्रेसलाई नजिस्क्याए पुग्छ

- सुरेश किरण

संसद्को घम्साघम्सीपछि कांग्रेसका युवा सांसद गगन थापाले स्याँस्याँ गर्दै भने, “जसले कांग्रेसलाई जिस्क्याउँछ, त्यो सिद्धिन्छ !” त्यो सायद सत्तारुढ नेकपालाई भनेका होलान् । तर जसलाई भने पनि आशय उही हो– कांग्रेसलाई जिस्क्यायो भने राम्रो हुँदैन, सिध्याइहाल्छ । पहिले पनि त्यस्तै भएको थियो रे । तथापि कसले जिस्काएको कारणले को सिद्धिएको हो, थाहा भएन । मान्यता यही हो कि जसले कांग्रेसलाई जिस्क्यायो, त्यो सिद्धियो ।

कांग्रेसलाई नजिस्क्याएसम्म उसले केही पनि गर्दैन । भन्नुको अर्थ, जसले जे गरे पनि कांग्रेसले केही पनि गर्दैन । केवल उसलाई जिस्क्याउनु भएन । यदि तपाईं सरकारमा हुनुहुन्छ भने कांग्रेसलाई नजिस्क्याई जे गरे पनि हुन्छ । बजारभाउ बढाए पनि हुन्छ, बलात्कारीलाई छाडे पनि हुन्छ, भ्रष्टाचार गरे पनि हुन्छ, मान्छे अपहरण गरे पनि हुन्छ । जे गरे पनि हुन्छ । बस्, कांग्रेसलाई जिस्क्याउनु भएन । जिस्क्यायो भने त्यो रिसाउँछ । रिसायो भने सिध्याइदिन्छ ।

यसबाट सत्तापक्षलाई केही ज्ञान प्राप्त भयो होला । कांग्रेसलाई विरोधमा नउतार्न के गर्नुपर्छ । बरु उसलाई एक लातै हाने पनि केही गर्दैन । तर बाटोमा बसेर केटी जिस्क्याएजस्तो कांग्रेसलाई जिस्क्याउनचाहिँ हुँदैन । यत्ति हो ।

प्रकाशित: माघ २३, २०७५

ट्याग: परिहास