टुटल र पठाओको उल्टै प्रचार

- गोकर्ण गौतम

टुटल र पठाओ सुरु भएको वर्ष दिन बितिसकेको थियो, ट्राफिक प्रहरीलाई मतलबै थिएन । के सनक चढेछ कुन्नि, पुस अन्तिम साता चार जना ‘राइडर्स’ लाई प्रहरीले पक्रियो । मोटरसाइकलले यात्रु ओसार्न नपाइने जिकिर गरियो । कसैबाट छिपेको थिएन, प्रहरीको यो ‘एक्सन’ ट्याक्सीधनीबाट प्रेरित थियो । यसरी एकाध ‘राइडर्स’ को कठालो समात्दा अरु बिच्किने लालसा हुँदो हो तर त्यसो भएन । बरु टुटल र पठाओको समर्थनमा सामाजिक सन्जालमा अभियान चल्यो । यसो हुनुमा टुटलप्रतिको प्रेमभन्दा ट्याक्सीप्रतिको विरक्तिले भूमिका खेलेको थियो ।

सडकभरि ट्याक्सी हुन्छन् तर भनेको ठाउँमा जाने भेटिनु भाग्यको कुरा हो । मिटरमा जान मरिगए मान्दैनन्, ठाडै ‘यति दिने हो भने मात्र जान्छु’ भन्छन् । कि नचढ्नुपर्‍यो, नत्र नाइँनास्ती गर्न पाइँदैन । साँझ परेपछि भाडा दोब्बर नतिरी सुखै हुँदैन । नियमित प्रयोगकर्ता जोकोहीलाई सोध्नुस्, ट्याक्सी सास्ती र अपमानको मुहान भइदिन्छ, प्राय: । त्यसमाथि प्रविधि र सीप प्रयोग गरेर आत्मनिर्भर हुँदा सरकार नै बाधक बन्दा सहनु कसरी ?

टुटलमार्फत लाजिम्पाटबाट वनस्थली जाँदै गर्दा मोटरसाइकल चालकलाई सोधेँ, “प्रहरीले समातेर दु:ख दियो है ?” उनको जवाफले मलाई अचम्मित पार्‍यो, “दु:ख होइन, फाइदा भयो । हाम्रो सित्तैमा प्रचार भयो । सेवाग्राही अझ बढे ।” हो त है ! उदाहरण म नै थिएँ, चालक पक्रेपछि हो, टुटल र पठाओ प्रयोग गर्न थालेको । त्यसपछि बानी लागेको छ ।

अब एउटा कुरा निश्चित छ, कि ट्याक्सी सुध्रिन्छन्, कि किनारा लाग्छन् ।

कुरा कसले नबुझेको ?

सबैभन्दा पुरानो महानगर, काठमाडौँ । सबैभन्दा विवादित मेयर पनि काठमाडौँकै । विद्यासुन्दर शाक्य जता पाइला राख्छन्, उतै लफडा हुन्छ । सम्पदा संरक्षणका अभियन्तामाझ ‘भिलेन’ को छवि रहेछ उनको । काष्ठमण्डपबाट सुरु शाक्यको अनुदार र सम्पदावैरी नीति बागदरबारदेखि  रानीपोखरीसम्म छताछुल्ल भयो । वसन्तपुर दरबार क्षेत्रभित्र महर्जन बिजनेस कम्प्लेक्सको अनधिकृत रुपमा नक्सा पास गरेपछि त शाक्यविरुद्ध सम्पदाप्रेमी आगो भए । तर यी गुनासाको मेयरलाई वास्तै छैन । गैरउत्तरदायी भावमा भनिदिन्छन्, “अभियन्ता र विज्ञको कामै विरोध गर्ने मात्र हो ।”

अब यथार्थ नियालौँ । सम्पदाप्रेमी हुँदैनथे भने प्रताप मल्लकालीन रानीपोखरी कंक्रिटले ढाकिन्थ्यो, भीमसेन थापाले बनाएको ऐतिहासिक बागदरबार नास भइसक्थ्यो । वसन्तपुरको स्वरुप बिग्रदैनथ्यो मात्र, वरपरका मूर्त/अमूर्त सम्पदा नष्ट हुन्थे । तर, मेयरले साथ दिएको भए स्थानीयकै अमानतमा काष्ठमण्डप पुनर्निर्माण हुन्थ्यो । धरहरा मासिएर कंक्रिटयुक्त भ्युटावर बनाउने योजना बन्दैनथ्यो । स्थानीय भूकम्पले क्षतिग्रस्त सम्पदालाई पुरानै स्वरुपमा फर्काएर मौलिकता जोगाउन मरिहत्ते गर्दैछन्, मेयरसाबको दिलचस्पीचाहिँ कंक्रिट र ठेक्कापट्टातिर ज्यादा छ ।

यहीबीच महानगरले नयाँ भवन मापदण्ड ल्यायो । संस्कृति मन्त्रालय, पुरातत्व विभाग र काठमाडौँ उपत्यका विकास प्राधिकरणले सम्पदा क्षेत्रमा लागू नगर्न कडा निर्देशन दिए । तर मेयरसाबको सुध्रने छाँटकाँट छैन । उनको रटान छ, ‘कसैले कुरै बुझ्दैनन् ।’

फ्लपको लस्कर

दसैँयता झन्डै २० नेपाली फिल्म प्रदर्शन भए । प्रसादले जेनतेन लगानी उठायो । बाँकी सबै घाटामा । अधिकांश फिल्म शुक्रबार हलमा लागेर आइतबार उत्रिए । मल्टिप्लेक्स मात्र होइन, सिंगल थिएटरमा पनि सुक्खा लाग्यो । जोकोही फिल्मकर्मीलाई भेट्नुस्, दु:खेसो एउटै हुन्छ, ‘फिल्म चल्नै छाडे, खडेरी लाग्यो ।’ निराशा छ सर्वत्र ।

गाँठी कुरातिर कसैको ध्यानै छैन । सबै भन्छन्, फिल्म चलेनन् । कोही भन्दैनन्, चल्नुपर्ने कुन फिल्म चलेन । स्क्रिप्टभन्दा स्टारलाई महत्त्व दिइएका, कमेडीको नाममा कन्टेन्टलाई बेवास्ता गरिएका, बनाउनभन्दा चलाउन हतार गरिएका, कलाभन्दा बजारको पछाडि दौडिएका फिल्म फ्लप भए भनेर दु:खमनाउ गर्नु किन !

खासमा स्वदेशी फिल्म मात्र ‘डब्बा’ भएका हुन् । हिन्दी फिल्म केदारनाथसिम्बाको व्यापार लोभलाग्दो रह्यो । दक्षिण भारतीय फिल्म केजिएफ हेर्नेको भीड लाग्यो । तर यहीसँगै आएको जिरो ठन्डाराम भयो । प्रस्ट हुन्छ, राम्रो फिल्मलाई दर्शक अभाव छैन । नेपाली फिल्मकर्मीको रबैया भने जस्ताको तस्तै छ । केही दिनअगाडि एक निर्माता भेटिए, उनलाई हिरो पनि हुनु रहेछ । ६ महिनाभित्र फिल्म हलमा पुर्‍याउनु पनि छ । तर हातमा स्क्रिप्ट छैन । उनलाई सोधियो, “किन यति हतार ?” आफ्नो दु:ख बिसाए, “यूकेबाट ६ महिनाको छुट्टीमा आएको । फर्कने बेला फिल्म चलाइसक्नुपर्छ ।” हालत यस्तो छ । अनि, फिल्म नडुबोस् कसरी ? 

प्रकाशित: माघ २१, २०७५

ट्याग: नोटबुक