गन्धर्वको गीतियात्रा

- पर्वत पोर्तेल

नेपालकै होचो स्थान केचना (कचनकवल) को वडा–२ मा छ, संगीत चोक । गन्धर्व समुदायको बसोबास क्षेत्र भएकाले यसको नामै संगीत चोक राखिएको हो । चोक आसपास ४२ घर गन्धर्वको बसोबास छ ।

शंकर गन्धर्वले ९ वर्षको उमेरमै हजुरबुबाको औँला समातेर पछि लाग्दालाग्दै सारंगी बजाउन सिके । पहिला रहरले बजाउन सिके, अहिले नबजाई नहुने बाध्यता छ । किनकि, परिवार पाल्ने पेसा भनेकै यही सारंगी हो ।

नेपाल तथा भारतका कुनाकन्दरामा सारंगीको मीठो धून सुनाउँदै यिनको आधा जीवन बितिसक्यो । तर जीवनस्तर भने जस्ताको तस्तै । शंकरले बिलौना गाए, “पहिला बाबुबाजेको जे हाल थियो, अहिले हाम्रो पनि त्यही छ ।”

कचनकवल–२ का गन्धर्व सारंगी बजाएरै परिवारको गर्जो टार्छन् । सारंगी रेट्दै भारतको दार्जिलिड, सिक्किम, असमदेखि भुटानसम्मै पुग्छन् । घरबाट निस्किएको महिना/दुई महिनापछि मात्रै फर्किन्छन् । शंकरका अनुसार घर फिर्दा ५–७ हजार रुपैयाँ गोजीमा हुन्छ । त्यही पैसाले छोराछोरीलाई नानादेखि दाना (खाना) सम्म टार्नुपर्छ ।

 गन्धर्व गाउँ | तस्बिरहरु : पर्वत पोर्तेल 


झापाली गन्धर्वहरू नेपालबाहिर जहाँजहाँ नेपालीको बसोबास छ, त्यहाँ पुग्छन् । नेपालको समाचार सारंगीको धूनबाट कहन्छन् । “नेपालतिर भन्दा भारततिर हाम्रो गीत बढी मन पराउँछन्,” लामो समयदेखि सिक्किममा बस्दै आएका टेकेन्द्र सुनाउँछन्, “हामीलाई यताभन्दा उतै महत्त्व दिन्छन् ।”

खासगरी बर्खामा धान रोपेर निस्किएका उनीहरू भित्र्याउने बेला मात्रै आइपुग्छन् । धान भित्र्याउँछन्, फेरि कमाउन गइहाल्छन् ।

भारतको सिक्किममा बसेर सारंगी रेट्दै आएका सन्तोष गन्धर्वलाई केही समयअघि भारतका लोकप्रिय संगीतकार प्रितमले मुम्बईसम्म पुर्‍याएका थिए । सन्तोषले सारंगीसहित गाएको अच्छा चल्ता हुँ दुवाओमे साथ रखना बोलको गीत सामाजिक सन्जालमा भाइरल भएको थियो ।

गन्धर्व परिवार


पहाडे दलित गन्धर्व नेपालकै अति कम जनसंख्या भएको लोपोन्मुख जाति हो । तर सरकारले लोपोन्मुख जातिमा सूचीकृत गरेको छैन । ०६८ को जनगणनाअनुसार गन्धर्व जातिको जनसंख्या ७ हजार ७ सय छ । झापामा ४२ घरधुरी छ भने जनसंख्या २ सय ७ । गन्धर्वको उद्गम थलो कास्कीको बाटुलेचौर भए पनि अहिले पूर्वको झापादेखि सुदूरपश्चिमसम्म छरिएका छन् । ०२७ मा झापाको झोडा फाँडेर बसोबास गरेका हर्कबहादुर गन्धर्व सम्झन्छन्, “हामी पूर्वी पहाडी जिल्ला भोजपुरबाट तराई झरेका हौँ ।”

गन्धर्व समुदायको उत्थान गर्ने उद्देश्यले ०६७ मा पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाज नामक संस्था स्थापना गरिएको छ । संस्थाका महासचिव रविन गन्धर्वका अनुसार यो समुदायमा कुल जनसंख्याको १७ प्रतिशत अल्पशिक्षित छन् ।

गन्धर्वहरूको मौलिक भाषा भने लोप हुने अवस्थामा पुगेको छ । “पछिल्लो पुस्ताले भाषा, संस्कृति सबै भुलिसके,” अगुवा गोविन्द गन्धर्व सुनाउँछन्, “हाम्रो अलग्गै भाषा छ भन्दा हाम्रैले पत्याउन छाडिसके ।”

यिनीहरूको भाषा छ, तर लिपि छैन । “पार्सी भाषाजस्तो छ,” अगुवा भूपाल गन्धर्व भन्छन्, “घरमा या परदेश गएका बेला एकआपसमा बोल्छौँ ।” गन्धर्वको संगीत पिङगुल स्वरलिपि पनि छ । जातीय बाजागाजा र संस्कृति जगेर्नाका लागि १ कट्ठा जमिनमा ‘जातीय संग्रहालय’ बनाउने कामको थालनी भए पनि अहिले अलपत्र छ । “वडा कार्यालयले विनियोजन गरेको २ लाख रुपैयाँ जग हाल्न पनि पुगेन,” अध्यक्ष कडक गन्धर्व दु:खेसो पोख्छन्, “बजेट आउला र काम अगाडि बढाउने भनेको कतैबाट आएन ।”

संगीत चोक


संग्रहालय निमार्णस्थल


सारंगी बजाउँदै शिव गन्धर्व

प्रकाशित: माघ २१, २०७५